क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयलाई लिएर कांग्रेसको ‘लेटरहेड’ नै प्रयोग गरी पूर्वकार्यवाहक सभापति खड्काले गरे विरोध, उनीमाथि कारबाही गर्न संस्थापन पक्षले डाक्यो अनुशासन समिति बैठक
What you should know
काठमाडौँ — कांग्रेस केन्द्रीय अनुशासन समितिले सचेत गराइसक्दा पनि समानान्तर गतिविधि नरोकिएपछि संस्थापन पक्षले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी थालेको छ । त्यसका लागि बुधबार अनुशासन समितिको बैठक बोलाइएको छ । अनुशासन समितिको बैठक बस्नुअघि मंगलबार सभापति गगन थापासहितका पदाधिकारीको अनौपचारिक बैठकसमेत बस्दै छ ।
खड्काले सोमबार क्रियाशील सदस्यताको अद्यावधिलाई लिएर कार्यवाहक सभापतिकै हैसियत प्रयोग गरी दुई पेजको विज्ञप्ति सार्वजनिक गरेका छन् । पुराना क्रियाशील सदस्यता खारेज गरेर नयाँ अद्यावधि गर्न लागिएको बारेमा विरोध गर्दै खड्काले पार्टीको लेटरहेडसमेत प्रयोग गरी विज्ञप्ति निकालेपछि संस्थापन पक्ष उनीमाथि कारबाही गर्ने मनस्थितिमा पुगेको हो ।
‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा कांग्रेस पार्टी प्रतिबन्धित रहेका बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज हुन सक्दैन,’ खड्काले भनेका छन्, ‘यो सदस्यता कुनै नेताको हार–जितसँग होइन । नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो ।’
कुनै नेताले आवेग, उत्तेजना वा लहडको भाषणबाट क्रियाशील सदस्यता खारेज हुन सक्दैन: पूर्णबहादुर खड्का, कांग्रेसका पूर्वकार्यवाहक अध्यक्ष असोज १६–१९ मा हुन लागिरहेको १५ औं महाधिवेशनका लागि कांग्रेसले मंगलबारदेखि देशव्यापी पार्टी क्रियाशील सदस्यता अद्यावधि सुरु गर्दै छ । यसअघि नवीकरण भएका सदस्यताको समेत नयाँ अद्यावधि गर्न लागिएको हो । भविष्यमा पार्टीका सबै तहका उम्मेदवार छनोट क्रियाशील सदस्यहरूबाटै गर्ने योजना रहेकाले कांग्रेस परिचयपत्रसमेत बनाएर सदस्यता व्यवस्थित गर्न लागेको महामन्त्री गुरुराज घिमिरेले बताए ।
तर पुरानो नवीकरण खारेज नहुने उनको भनाइ छ । ‘हामीले सदस्यता खारेज गर्न खोजेको होइन,’ घिमिरेले भने, ‘चुनावमा कम्तीमा डेढ दर्जन निर्वाचन क्षेत्रमा सक्रिय सदस्यताको संख्याभन्दा कम मत पार्टीका उम्मेदवारलाई प्राप्त भएको छ, त्यसैले कति क्रियाशील सदस्य छन्, कति छैनन् भनेर अद्यावधि गर्ने हो । अद्यावधि नगरेकाको सदस्यता क्रियाशील रहने छैन, तर उनीहरूको विवरण अभिलेखमा रहनेछ ।’ खड्काको समानान्तर गतिविधिबाट पार्टी गम्भीर भएको उल्लेख गर्दै उनले उनीमाथि अनुशासनको कारबाही हुन सक्ने संकेत गरे ।
खड्काले ‘केन्द्रीय कार्यसमिति’ का नाममा २४ र २५ चैतमा समानान्तर बैठक बोलाएका थिए । तर, नेता शेखर कोइराला पक्षले आपत्ति जनाएपछि औपचारिक बैठकमा रूपान्तर नगरी भेलामा परिणत भएको थियो । त्यसअघि खड्काले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेता एवं पूर्वमन्त्री रमेश लेखक पक्राउको विरोध गर्दै कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेका थिए । त्यसलाई लिएर केन्द्रीय अनुशासन समिति बैठकले खड्कालाई सचेतसमेत गराएको थियो । ‘कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइएको छ’ अनुशासन समितिको निर्णयमा भनिएको थियो ।
सोमबार त्यस्तै घटना दोहोरिएकाले पदाधिकारीको मंगलबार बस्ने अनौपचारिक बैठकबाट अनुशासन कारबाही गर्ने/नगर्नेबारे निष्कर्षमा पुगिने एक पदाधिकारीले बताए । केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि नै अनुशासन समितिको बैठकबाट यसबारे निर्णय लिने तयारी छ । महामन्त्री घिमिरेले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अनुशासनको विषय र संसदीय दलको नेता चयनबारे छलफल हुने बताए । संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया बुधबारदेखि नै सुरु हुँदै छ ।
पार्टीको मर्यादा, परम्परा र अनुशासनविरोधी क्रियाकलापलाई अब धेरै छुट दिन सकिन्न: गुरुराज घिमिरे, कांग्रेस महामन्त्री अनुशासन समितिले सचेत गराउँदा पनि खड्काको समानान्तर गतिविधि नरोकिएको सम्बन्धमा घिमिरेले भने, ‘यस विषयमा पार्टीका शीर्ष तहबीच छलफल हुन्छ । त्यसले एउटा धारणा तय गर्छ । पार्टीको मर्यादा, परम्परा र अनुशासनविरोधी क्रियाकलापलाई धेरै छुट दिन अब सकिन्न । ढिलोचाँडो टुंगोमा पुग्नुपर्छ । पार्टीको आधिकारिकता, वैधानिकताको अदालती प्रक्रिया भोलिका कुरा हुन् । आजको दिनमा संवैधानिक निकायबाट आधिकारिकता दिइसकेको विषय हो । हामी सानेपामा दौडिएर आफैं पार्टी सम्हालेको होइन । वैधानिकताका आधारमा सम्हालेको हो । यो विषयलाई पनि स्विकार्न नसक्ने कसरी प्रजातान्त्रिक भइन्छ ? विधि र पद्धतिको कसरी वकालत गर्न मिल्छ ?’
अदालती निर्णय आउनुअगाडि नै संवैधानिक निकायले दिएको वैधानिकतालाई चुनौती दिएर पार्टीको समानान्तर गतिविधि गर्नु पार्टीको मर्यादा र अनुशासनभित्रको काम नभएको उनले बताए । गत पुस २७–३० मा भृकुटीमण्डपमा भएको दोस्रो विशेष महाधिवेशनबाट आएको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ मा गरेको मान्यता दिने निर्णयका विरुद्ध पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति खड्काले सर्वोच्चमा रिट हालेका छन् । यस विषय अदालतमा विचाराधीन छ । अदालतको फैसला नआउँदासम्म निर्वाचन आयोगको निर्णय नै वैधानिक रहेकाले नयाँ कार्यसमिति १५ औं महाधिवेशन तयारीमा जुटेको घिमिरेले बताए ।
खड्काले पनि अदालतबाट आधिकारिकताको फैसला आउनुअघि नै महाधिवेशन तयारीमा लागेको भन्दै आपत्ति जनाएका छन् । ‘पार्टीको आधिकारिकता सम्बन्धमा विवाद विचाराधीन रहेको अवस्थामा तथाकथित विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका लागि विधानबमोजिम गरिएको क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई सार्वजनिक भाषणबाट खारेजीको घोषणा गर्नु आपत्तिजनक र गम्भीर विषय हो’ खड्काले भनेका छन् ।
