पार्टी सभापति गगन थापालाई नेता अर्जुननरसिंह केसीको दाबीले अप्ठ्यारो बनाएको छ । केसी थापाका ससुरा हुन् । केसीलाई संसदीय दलको नेतामा अघि सार्दा त्यसको सन्देश राम्रो नजाने भन्दै थापाले केसीको विकल्पमा भीष्म आङ्देम्बे वा मोहन आचार्यमध्ये एक जनालाई अघि सार्ने प्रयास गरिरहेका छन् ।
What you should know
काठमाडौँ — संसदीय दलको नेता कसलाई बनाउने विषयमा कांग्रेसभित्र किचलो सुरू भएको छ । पुराना नेतालाई बनाउने कि युवालाई ? समानुपातिकबाट बनाउने कि प्रत्यक्ष निर्वाचितलाई भन्ने जस्ता बहस पार्टीभित्र चलिरहेका छन् ।
खासगरी पार्टी सभापति गगन थापालाई नेता अर्जुननरसिंह केसीको दाबीले अप्ठ्यारो बनाएको छ । केसी थापाका ससुरा हुन् । केसीलाई संसदीय दलको नेतामा अघि सार्दा त्यसको सन्देश राम्रो नजाने भन्दै थापाले केसीको विकल्पमा भीष्म आङ्देम्बे वा मोहन आचार्यमध्ये एक जनालाई अघि सार्ने प्रयास गरिरहेका छन् । केसी र आङ्देम्बे दुवै समानुपातिकबाट निर्वाचित सांसद हुन् भने आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
पार्टीका एक पदाधिकारीका अनुसार केसीलाई मनाउन सभापति थापाका तर्फबाट उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे तथा प्रवक्ता देवराज चालिसे मंगलबार केसी निवासमै पुगेर छलफल गरेका थिए ।
केसीले पदाधिकारीहरूसँगको छलफलमा सहमतिका लागि आफू पछि हट्न सक्ने तर ससुरा–ज्वाइँ सम्बन्धको भाष्य बनाएर आफूलाई रोक्न खोजिए स्वीकार्य नहुने बताएका थिए ।
‘पदाधिकारीहरू आउनुभयो । कसरी सहमति सिर्जना गर्न सकिन्छ भन्ने विषयमा गम्भीर कुराकानी भयो,’ केसीले कान्तिपुरसँग भने, ‘तर पारिवारिक नाता जोडेर गगन थापाको ससुरा भनेर मेरो राजनीतिक पहिचानलाई कमजोर बनाउने प्रयास भयो भने म स्वीकार्दिनँ । अन्यथा सहमतिका आधारमा अघि बढ्न सकिन्छ ।’
अर्का नेता भीष्म आङ्देम्बे तत्कालीन सभापति शेरबहादुर देउवा पक्षका नेता मानिन्छन् । हाल भने उनी विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिसँग नजिकिएका छन् । संसद्को पहिलो बैठकमा सम्बोधन गर्ने जिम्मेवारी पार्टीले आङ्देम्बेलाई दिएको थियो । त्यस क्रममा उनले संसद्को रोस्ट्रमबाट थापाको नेतृत्वमा कांग्रेस बदलिएको सन्देश दिएका थिए ।
‘मेरो दाबी छ, तर पार्टीले कसलाई बनाउँछ भन्ने अहिले नै थाहा छैन,’ उनले भने, ‘सर्वसम्मति बनाउने प्रयास भइरहेको छ । नेताहरू छलफलमा हुनुहुन्छ । छिट्टै टुंगो लाग्ला भन्ने आशा छ ।’
पार्टीभित्र कतिपय नेताहरू भने पुराना नेताबीच प्रतिस्पर्धा भइरहँदा दलको नेता युवालाई दिनुपर्ने तर्क गरिरहेका छन् । संसदीय दलको नेताका लागि युवा नेताहरूमा निश्कल राई, योगेश गौचन थकाली र बासना थापाको नाम चर्चामा छ । गौचन दोस्रो पटक संसद्मा पुगेका हुन् भने राई र थापा पहिलो पटक निर्वाचित भएका हुन् ।
‘३६ वर्षको युवाले देश हाँकिरहेको बेला कांग्रेसले त्यही उमेर समूहका नेतालाई किन संसदीय दलको नेता नबनाउने ?’ पार्टीका एक पदाधिकारीले भने, ‘संसद्लाई प्रभावकारी बनाउन युवालाई जिम्मेवारी दिनुपर्छ भन्ने आवाज पनि बलियो छ । निर्वाचन भयो भने युवाबीच प्रतिस्पर्धा हुन सक्छ ।’
यदि युवालाई संसदीय दलको नेता बनाइयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । कांग्रेसका ३८ जना सांसद सबै योग्य छन् । अहिले युवालाई जिम्मेवारी दिँदा पार्टीभित्र र बाहिर सकारात्मक सन्देश जान्छ । हामी मज्जाले चलाउन सक्छौं ।
‘दलको नेता बन्नेगरी लागेको छैन’
युवालाई दलको नेता दिनुपर्छ भन्ने चर्चा भइरहेको छ । तर म व्यक्तिगत रूपमा यसका पछि लागेको छैन । पार्टीले गर्ने निर्णय नै मेरो लागि महत्त्वपूर्ण हो ।
अहिले पार्टी आफैं चुनौतीमा छ । समस्या समाधान गर्दै समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था छ । युवाको प्रतिनिधित्व आवश्यक भन्ने कुरा जायज हो । तर पार्टी एकतालाई पनि ध्यान दिनुपर्छ । आकांक्षा राखेर मात्रै हुँदैन, परिस्थितिलाई बुझेर अघि बढ्नुपर्छ ।
‘जुनसुकै जिम्मेवारी दिए पनि सम्हाल्न सक्छौं’
यस विषयमा पार्टीभित्र छलफल जारी छ । नेताहरू परामर्शमा हुनुहुन्छ । बैठक छिट्टै बस्ने अपेक्षा छ । जेनजी विद्रोहपछिको विशेष परिस्थितिमा चुनाव भएकाले त्यसअनुसारको प्रतिनिधित्वको आवाज पार्टीभित्र पनि उठेको छ ।
यसको अर्थ सिनियर नेताहरूलाई पन्छाएर युवामात्र अघि बढ्नुपर्छ भन्ने होइन । हामी ३८ जना सांसद सबै योग्य छौं । संसदीय दलको नेताको पद एउटै भएकाले पार्टीले छलफल गरेर निर्णय गर्नेछ ।
यदि युवामध्ये जसलाई जिम्मेवारी दिइयो भने पनि सम्हाल्न सक्छौं भन्ने आत्मविश्वास छ । राजनीतिमा आउने सबैको लक्ष्य नेतृत्वमा पुग्ने नै हुन्छ । पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि निभाउन तयार छौं ।
