गत वर्ष भण्डारीले तत्कालीन प्रधानमन्त्री ओलीलाई हराउन पर्याप्त शक्ति जुटाउन सकिनन् । अहिले उनै ओली राजनीतिक रूपमा कमजोर देखिएपछि भण्डारी पार्टी राजनीतिमा फर्किन पुन: सक्रिय भएकी छिन् ।
काठमाडौँ — भदौ २३ र २४ को जेन-जी विद्रोहको केही दिनअघिसम्म पनि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा आउन नदिन सक्रिय थिए । तर ७ महिनापछि पार्टीकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमाले नेतृत्वमा आउनका लागि दौडधुपमा छिन् ।
राजनीतिक रूपमा ओली पहिलेको तुलनामा कमजोर भएका छन् । फागुन २१ को चुनावमा ओलीले झापा-५ बाट मात्र हारेनन्, पार्टी नै २५ सिटसहित तेस्रो दलका रूपमा खुम्चियो । युवा विद्रोह दबाउन दमन गरेको आरोपको अनुसन्धानका लागि उनी केही दिन न्यायिक हिरासतमा समेत बस्नुपर्यो ।
एमालेको पुनर्जागरणका लागि पार्टीभित्रै विशेष महाधिवेशनको माग चर्को भएपछि भण्डारीले पनि राजनीतिक सक्रियता बढाएकी हुन् । 'उहाँ निरन्तर एमाले नेताहरूसँगको सम्पर्क र भेटवार्तामा हुनुहुन्छ,' भण्डारीनिकट मानिने नेता कृष्णबहादुर राईले भने, 'तर म भेटघाटमा रहेका नेताहरूको नाम भने खुलाउन चाहन्नँ ।'
गत शुक्रबार भण्डारीले नयाँ बानेश्वरस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा सम्पादकहरूसँग अन्तरक्रियासमेत गरेकी थिइन् । एमालेभित्र विशेष महाधिवेशनका पक्षमा आवाज जोडतोडले उठिरहेका बेला भण्डारीले सम्पादकहरूसँग भेटेकी हुन् । भण्डारी एमाले उपाध्यक्ष हुँदा उनी निकट रहेका नेताहरू भने भण्डारीको भेटघाटलाई राजनीतिक सक्रियताको नवीकरणका रूपमा हेर्न नहुने बताउँछन् ।
राजनीतिक रूपमा समस्यामा रहँदा मौन बस्नु उपयुक्त नहुने ठानेरै भण्डारी सक्रिय भएको उनीहरूको भनाइ छ । 'आफैंले पसिना र रगत बगाएको पार्टीको यो हालत देख्दा पनि उहाँ चुप बस्नु न्यायोचित हुँदैन,' भण्डारीनिकट एक नेताले भने । राईको विचारमा पनि भण्डारी सक्रिय भएर एमालेलाई ब्युँताउनुपर्छ । उनी भन्छन्, 'मलाई लाग्छ पार्टीको नेतृत्व लिने अवस्था आएमा उहाँ पछि हट्नु हुँदैन । तर यो मेरो निजी विचार हो । यसबारेमा मैले कुरा गरेको पनि छैन ।'
भण्डारीका स्वकीय सचिव राजकुमार राई भने अहिलेको भेटघाट एमालेको आन्तरिक राजनीतिसँग कुनै अर्थ नरहेको बताउँछन् । यसअघि भण्डारी सक्रिय राजनीतिमा आउन खोज्दा एमाले केन्द्रीय कमिटीले नै रोकेको थियो । भदौ २०-२२ मा भएको दोस्रो महाधिवेशनमै भण्डारीलाई रोक्ने ओलीको कदमलाई धेरैले समर्थन गरे । उक्त सम्मेलनले दुई कार्यकालभन्दा अध्यक्ष हुन नपाउने र ७० वर्षीय उमेरहदको व्यवस्था पनि हटायो । यो प्रावधान ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुलाउन हटाइएको थियो । त्यो कदमले एमाले नेतृत्वमा पुस्तान्तरणको मुद्दालाई पन्छाएको थियो । साथै जेन-जी आन्दोलनको मर्मअनुसार रूपान्तरणको बाटोमा पनि पार्टी हिँडेन । जेन-जी आन्दोलनलगत्तै पनि भण्डारीले प्राप्त अवसर सदुपयोग गर्न सकिनन् ।
सक्रिय रूपमा राजनीतिमा फर्कन नसकेपछि मंसिरमा आयोजित ११औं महाधिवेशनमा भण्डारीले बाहिरबाटै आफ्नो प्रभाव देखाउन खोजेकी थिइन् । अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भण्डारीले समर्थन गरेको पनि नेताहरू बताउँछन् । ओलीविरुद्ध प्यानलै उठाए पनि पोखरेललाई महाधिवेशन प्रतिनिधिले भने पत्याएनन् । १९ सदस्यीय सचिवालयमा पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहाचसिवमा योगेश भट्टराई विजयी भए । पोखरेल आफैं पनि ओलीसँग भारी मतान्तरले नै पराजित भए ।
फागुन २१ गते भएको संसदीय चुनावमा प्रत्यक्षतर्फका १६५ मध्ये एमालेले ७ सिट मात्रै जित्यो । समानुपातिकतर्फ ११० मध्ये १८ सिटसहित समग्रमा एमालेले २५ सिट जित्यो । पार्टीले जनसमर्थन गुमाइरहादा विशेष महाधिवेशनको माग उठिरहेको हो । त्यसैबीच भण्डारीको राजनीतिक सक्रियतालाई चासोका साथ हेरिएको छ ।
विश्लेषकहरू नेपाली वामपन्थी आन्दोलन इतिहासकै कमजोर अवस्थामा पुगेको बताउँछन् । आधारभूत पुनर्संरचनाकै खाँचो रहेका बेला भण्डारीको पुनरागमनले मात्र कम्युनिस्ट आन्दोनल माथि उठ्न नसक्ने उनीहरूको बुझाइ छ । 'यदि एमालेले पार्टी पुनर्संरचना गर्ने हो भने, दोस्रो वा तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ,' राजनीतिक विश्लेषक केशव दाहाल भन्छन्, 'पार्टी हाँक्नका लागि भण्डारी उपयुक्त पात्र होइनन् ।'
उपमहासचिव भट्टराई पनि पार्टीमा युवा पुस्ताबाट विशेष महाधिवेशनको प्रस्ताव आएको बताउँछन् । तर यसलाई मूर्त रूप दिने काम गर्न भने बाँकी नै रहेको उनको भनाइ छ । एमालेको विधानअनुसार ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा विशेष महाधिवेशन आह्वान गर्नुपर्नेछ । 'पार्टीको पुनर्गठन वा विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वमा भण्डारीलाई ल्याउनेबारेमा भने कुनै छलफल भएको छैन,' उनले भने । त्यस्तै एमाले विशेष महाधिवेशन हुने झिनो सम्भावना मात्र रहेको पनि उनको भनाइ छ ।
एमाले केन्द्रीय कमिटीले नै पूर्वराष्ट्र प्रमुख सक्रिय राजनीतिमा फर्कंदा राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश नजाने निष्कर्ष निकालेको थियो । 'लामो समयदेखि भण्डारी सक्रिय राजनीतिमा आउन चाहेको देखिन्छ तर ओलीकै कारण रोकिएको छ,' राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन् । भण्डारीलाई एमालेमा प्रवेश दिँदा आफू कमजोर हुने आकलनसहित ओलीले भण्डारीलाई रोकेको पनि उनको भनाइ छ । अहिले पार्टीभित्र ओली कमजोर अवस्थामा पुगेका कारण पनि भण्डारीले राजनीतिमा फर्कन पुन: प्रयास गरिरहेकी छिन्,' प्राध्यापक पोखरेल भन्छन् ।
भण्डारीको सक्रियताले वाम आन्दोलन झन् कमजोर हुन सक्ने विश्लेषक दाहालको भनाइ छ । 'आउने दिनहरूमा राजनीति व्यक्तिकेन्द्रित भन्दा पनि सामूहिक र संस्थागत रूपमै अगाडि बढ्नुपर्छ,' उनी भन्छन् । जेन-जी आन्दोनलपछि पुराना दलहरूलाई राजनीतिक अस्तित्वकै संकट देखिएको छ । पछिल्लो चुनावी नतिजा पनि व्यक्तिकेन्द्रित राजनीतिको परिणाम भएको विश्लेषकहरूको भनाइ छ ।
एमालेको नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया विशेष महाधिवेशनको माग कुनै नेताविरुद्धको अभियान नभएको बताउँछन् । साथै कुनै नेतालाई स्थापित गर्न पनि अभियान नचलाइएको उनले बताए । 'हाम्रो अभियान पार्टीको समग्र पुनर्संरचनाका लागि हो, जुन अहिलेको समयको माग पनि हो ।'
