दक्षिण एसियाली वामपन्थी दल
किन धक्का खाँदैछन् ?

दक्षिण एसियाली वामपन्थी दलहरू चुनावी समर्थन र जनविश्वास गुमाइरहेका छन् । भ्रष्टाचार, अस्थिर गठबन्धन, वृद्ध नेतृत्व र युवा असन्तुष्टिले उनीहरू धराशायी बनेका छन् । उदारवादतर्फ झुक्दा वैचारिक आधार कमजोर भयो । नयाँ राजनीतिक विकल्प उदाउँदा उनीहरूको प्रभाव घट्यो । वामपन्थी आन्दोलनको पुनरुत्थानका लागि युवासँग संवाद अपरिहार्य छ ।

पछिल्लो समय नेपाल मात्र होइन समग्र दक्षिण एसियामै वामपन्थी दलहरू अस्तित्वको संकटमा छन् । नेपाल र भारतका वाम दल ओरालो यात्रामा छन् भने अन्य दक्षिण एसियाली देशमा अस्तित्वकै लडाइँमा । कुनै समय सत्ता र शक्तिको केन्द्रमा रजगज गरेका वाम दलहरू अहिले चुनावी समर्थन प्राप्त गर्न सकिरहेका छैनन् । वामपन्थी दलहरूको उतारचढावबारे दक्षिण एसियाका सार्वजनिक बौद्धिक, वाम बुद्धिजीवी र वामपन्थी नेतासँग कान्तिपुरका उपेन्द्रराज पाण्डेयले गरेको अन्तर्वार्ताको संक्षेप :

दीपंकर भट्टाचार्य

पछिल्लो हार नेपालका वामपन्थीका लागि गम्भीर चेतावनी हो

नेपालको लोकतान्त्रिक आन्दोलनमा वामपन्थी दलको महत्त्वपूर्ण योगदान छ । नेपालका वामपन्थी दलले संवैधानिक राजतन्त्रदेखि बहुदलीय गणतन्त्रसम्मको संक्रमणमा महत्त्वपूर्ण भूमिका निभाए । सेप्टेम्बरको जेन-जी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको बिदाइलाई चुनावी समर्थन मिलेको छ ।

नेपालको अवस्था श्रीलंका र बंगलादेशसँग तुलना गर्न सकिन्छ । तीनै देशमा जेन-जी आन्दोलन भयो । नेतृत्वप्रति व्यापक असन्तुष्टि देखियो । श्रीलंकाको परिवर्तनले किनारामा रहेको दललाई केन्द्रमा ल्याइदियो । बंगलादेशमा सत्तारूढ दलमाथिको प्रतिबन्ध र नयाँ राजनीतिक गठबन्धनले परिदृश्य बदलिदियो । नेपालमा पुराना दलहरू चुनावी मैदानमा त उत्रिए, तर नयाँ विकल्पसामु पराजित भए । २०७९ मा काठमाडौंको मेयरमा बालेन्द्र शाहको जितले नै जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेका छन् भन्ने संकेत दिएको थियो ।

२०६५ मा गणतन्त्रात्मक मुलुक बनेपछि नेपालमा १४ वटा सरकार बने, कुनै पनि सरकारले पूरा कार्यकाल चलाउन सकेनन् । भ्रष्टाचार, अस्थिर गठबन्धन राजनीति, वृद्ध नेतृत्व र युवा मतदाताबीच बढ्दो दूरीले व्यापक असन्तुष्टि पैदा गर्‍यो । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा पुलिसको गोलीबारीले आक्रोश बढायो । परिणामस्वरूप मतदाताले नयाँ अनुहार र सुशासनको वाचामा भरोसा देखाए ।

यो चुनावले राजतन्त्र पक्षधरलाई व्यापक समर्थन देखाएको देखिएन । भारतको आरएसएस र नरेन्द्र मोदी सरकारको वैचारिक दबाब र चीनमाथि बढ्दो आर्थिक निर्भरताबीच सन्तुलन बनाउन नयाँ सरकारको लागि चुनौती हुनेछ ।

नेपालका वामपन्थी दलका लागि यो चुनावी हार एक गम्भीर चेतावनी हो । ऐतिहासिक रूपमा उनीहरूले गणतन्त्र स्थापनाका लागि अग्रणी भूमिका निभाए । सन् १९९० पछि पटक पटक सत्तामा गए । अब उनीहरूले आत्मन्थन गर्नु जरूरी छ । नयाँ पिढीको आकांक्षालाई बुझेर संगठनात्मक पुनर्निर्माण गर्नु आवश्यक छ ।

स्थिरता र परिवर्तनको यो संगममा उभिएको नेपाललाई आर्थिक र विदेश नीतिको कठिन चुनौती सामना गर्नु परिरहेको छ । दुई शक्तिशाली छिमेकीबीच भू-परिवेष्ठित देशका रूपमा नेपालले सन्तुलित कूटनीति र बलियो लोकतान्त्रिक आधार तय गर्नुपर्ने देखिन्छ । यसले नै उसको स्थायी र प्रगतिशील भविष्यको दिशा तय गर्छ ।

आदम पाल

सहरी युवा पनि क्रान्तिकारी विचारकै खोजीमा छन्

वामपन्थी दलले उदारवादी विचारधारा अपनाए, मार्क्सवादी लेनिनवादी मूल सिद्धान्तसँग सम्झौता गरे । उनीहरूले क्रान्तिकारी आधार छाडेर संसदीय संशोधनवादी बाटो हिँडे । अहिलेको आवश्यकता भनेको पुन: मार्क्सवादी सिद्धान्तमा फर्कने र वामपन्थी आन्दोलनलाई फर्काउने नै हो ।

पाकिस्तानमा सन् १९६८-६९ को जनक्रान्तिका बेला र १९८० को दशकमा वामपन्थी दलहरूलाई नेतृत्व गर्ने सुनौलो मौका थियो । तर स्टालिनवादी टु स्टेज थ्योरीका कारण उनीहरूले राष्ट्रिय बुर्जुवा बर्गको समर्थन गरे, जुन अन्तत: साम्राज्यवादीकै सहयोगी सावित भयो । यो रणनीतिले मजदुरहरूको स्वतन्त्र क्रान्तिकारी भूमिका कमजोर भयो ।

वामपन्थी दलले लियोन ट्रोट्स्कीको स्थायी क्रान्तिको अवधारणाबाट पाठ सिक्नुपर्छ । यस सिद्धान्तले भन्छ कि आर्थिक रूपमा पछि रहेका मुलुकले पनि लोकतान्त्रिक र समाजवादी जिम्मेवारी अलगअलग चरणमा नभई एक निरन्तर प्रक्रियामा पूरा गर्न सकिन्छ ।

वास्तवमा भन्ने हो भने सहरी युवाहरू नै क्रान्तिकारी विचारको खोजीमा छन् । उनीहरूको व्यवस्थाबाट निराश छन् र एक वैकल्पिक दृष्टिकोणको खोजीमा छन् । जब कम्युनिस्ट पार्टीहरू स्वयं उदारवादतर्फ झुक्छन् र मूल सिद्धान्तबाट भाग्छन्, युवा वर्ग अन्य वैचारिक ध्रुवमा क्रान्तिकारी विकल्प खोज्न बाध्य हुन्छन् ।

चुनावी परिणामले नेपालमा जेन-जी क्रान्ति जारी छ भन्ने सन्देश दिएको छ । जनताले सबै परम्परागत दलहरूमाथि विश्वास गरेनन्, त्यसैले नयाँ नेता र दल उदाए । जोहरान ममदानीदेखि बालेन्द्र शाहसम्म वर्ग विभाजन र धनीहरूविरुद्ध संघर्षको कुरा गर्छन् । यो पूरै विश्वमा देखिइरहेको छ । तर नयाँ अनुहारका पनि केही सीमितता छन् । किनकि उनीहरू आफ्नो राजनीति पुँजीवादकै सीमामा राख्छन् ।

कम्युनिज्मकै विचारमा आधारित क्रान्तिकारी दलले क्रान्तिकारी आन्दोलनको नेतृत्व नगरेसम्म पुँजीवाद ढाल्न नसकिने उनको मत छ ।

मन्जूर मोइन

वामपन्थी आन्दोलनमा यो अस्थायी झट्का मात्र हो

नेपाल, बंगलादेश, भारत, पाकिस्तान वा श्रीलंकामा वामपन्थी दलहरू खिइँदैछन् भन्नु वा पकड गुमाउँदैछन् भन्नू सामान्यीकरणको गल्ती हुन्छ । हामीले श्रीलंका, बंगलादेश, र नेपालमा ठूला जनआन्दोलन देख्यौँ । यी तीनवटै आन्दोलन एउटै परिस्थितिमा भएका होइनन् । त्यसपछिका घटनाक्रम पनि उस्तै छैनन् । त्यसैले सबैलाई एउटै दृष्टिकोणमा हेर्न मिल्दैन ।

बंगलादेशमा कथित प्रगतिशील राजनीतिक शक्ति करिब १७ वर्ष सत्तामा रह्यो । जुन तानाशाही र स्वेच्छाचारी पनि थियो । यस्तो सत्ताले दक्षिणपन्थी साम्प्रदायिक शक्तिको उभारलाई मलजल गर्छ । दुर्भाग्य भन्नुपर्छ बंगलादेशमा आन्दोलनपछि विदेशबाट आएका तानाशाही समर्थकको सहयोगमा साम्प्रदायिक शक्ति मजबुत हुँदै गए । नयाँ राजनीतिक ध्रुवीकरणका बीच वामपन्थी, स्वतन्त्र र वैकल्पिक शक्तिले अपेक्षित चुनावी परिणाम निकाल्न सकेनन् ।

टाढाबाट हेर्दा नेपालको हालैको आन्दोलनलाई नेतृत्व र समर्थन गर्ने शक्तिले जनतामा आशा र भरोसा जगाउन सकेको देखिन्छ । नेपालको छोटो लोकतान्त्रिक राजनीतिक अभ्यासमा पटक-पटक सरकार बनाए पनि वामपन्थी दलले जनतालाई विश्वासमा लिन सकेनन् ।यो त समयले नै बताउला कि नयाँ सरकार वा राजनीतिक शक्तिले जनताको दैनिकी र नेपालको समग्र विकासमा कस्तो योगदान देला ?

यस क्षेत्रको एक वामपन्थी कार्यकर्ताका रूपमा म आत्मालोचना गर्न चाहन्छु कि हामीले नयाँ पुस्ताको भाषा बुझ्न सकेनौँ । उनीहरूको सोच्ने तरिकाअनुसार आफूलाई ढाल्न सकेनौँ । साथै यो पनि दृढताका साथ भन्न सक्छु कि यो समाजको आवश्यकता पूरा गर्नु छ भने वामपन्थी सिद्धान्त नै विकल्प हो । हामीले आफ्ना प्राथमिकतालाई पुन:परिभाषित गर्न आवश्यक छ । आशावादी छु कि यो अस्थायी झट्काले हामी नयाँ सोच र दृष्टिकोणका साथ फेरि उदाउनेछौँ ।

डा.दम्मिका पटाबेन्दी

नेपालका वामपन्थी दल रूपान्तरकारीभन्दा पनि सत्तामोही देखिए

नेपालमा वामपन्थी दल वैचारिक कारणले खस्केका होइनन्, उनीहरू आन्तरिक र संरचनाका कारण कमजोर भएका हुन् । त्यस्तै विभाजन र आन्तरिक शक्ति संघर्षले पनि उनीहरू कमजोर भए । एकता भए पनि गुट-उपगुट र आन्तरिक द्वन्द्वका कारण उनीहरूमाथिको जनविश्वास घट्यो । मतदाताले उनीहरूलाई रूपान्तरकारी भन्दा पनि सत्तामोही देख्न थाले । कुनै बेला क्रान्तिकारी छवि देखाए पनि राजतन्त्रपछि जब उनीहरू सत्तामा आए, पुरानै पाराले सरकार चलाए । समाज रूपान्तरणभन्दा 'इलिट' वर्गलाई नै पोसेको देखियो । यसले उनीहरूको क्रान्तिकारी छवि धुमिल बन्यो । बढ्दो भ्रष्टाचार, कमजोर सेवा प्रवाह र राजनीतिक अस्थिरताले वामपन्थी नेतृत्वप्रति जनताको असन्तुष्टि बढ्यो । भ्रष्टाचार, नातावाद र आर्थिक असमानताले उब्जाएको निराशाले नै युवाहरू प्रदर्शनमा उत्रिए । दक्षिण एसियाका युवाहरू दलका परम्परागत संरचना पनि मन पराउँदैनन् । युवा मतदाताले वामपन्थी दललाई शैलीका हिसाबले 'आउटडेटेड' र आर्थिक समृद्धिको आधुनिक आकांक्षासँग सम्बन्धविच्छेद भएका दलका रूपमा हेर्न थाले । अभ्यासका रूपमा वामपन्थी दलले मिश्रित र नवउदारवादी नीति लिँदा पनि भनाइ र गराइमा फरक देखियो, विश्वास गुमाउन पुगे ।

आर्थिक संकट नै श्रीलंकाको राजनीतिको 'टर्निङ पोइन्ट' बन्यो । २०२२ मा टाट पल्टिएपछि जनप्रदर्शन (अरगलाया) भयो । भ्रष्टाचार, महँगी र सत्तामा धनाढ्यहरूकै हालीमुहालीका कारण युवाहरू आक्रोशित बन्यो । यसले पनि सत्ताविरोधी राजनीतिका लागि मलजल गर्‍यो । वंशवादी सत्ता, नवउदारवादी नीति र भ्रष्टाचारविरुद्ध मानिसहरू सडकमा ओर्लिए, वैकल्पिक राजनीतिका लागि मैदान खुला भयो, 'रिब्रान्डेड लेफ्ट'को उदय भयो । पुरातन वामपन्थी विचारधारा त्याग्दै समयानुकूल नीति अपनाएकाले पनि अनुरा कुमारा दिसानायके नेतृत्वको एनपीपी सफल भएको हो । साथै भ्रष्टाचारको विरोध, जवाफदेहिता र सुशासनको मुद्दामा खरो उत्रियो । श्रमिक, मध्यम वर्ग र युवाहरूबीच एउटा बलियो सम्बन्ध बनाउन सफल भयो । भुईंतहमा जनपरिचालन भयो । स्थानीय तह र सामुदायिक नेटवर्कहरूले नागरिकसँग सीधा सम्बन्ध बनाउन सहयोगी भूमिका खेले । आन्दोलनमा पनि वामपन्थी दलको समर्थन सर सहभागिता रह्यो । त्यसैले पनि एनपीपीलाई 'आन्दोलनकारी दल' का रूपमा वैधता प्राप्त भयो । श्रीलंकाली राजनीतिमा पहिलोपल्ट विभिन्न जातीय र सीमान्त समुदायबाट वामपन्थी मोर्चाले साथ पायो ।

वामपन्थी राजनीति अब विचारको मात्र हुनु हुँदैन, विश्वसनीयता र सेवाप्रवाहको कुरा पनि हो । रोजगारी, पारिश्रमिक, महँगी नियन्त्रण र स्वास्थ्य, शिक्षा र यातायातजस्ता सार्वजनिक सेवामा सुधार गर्नैपर्छ । पारदर्शिता, जवाफदेहिता र र सुशासनमा कुनै सम्झौता गर्न हुँदैन । जमिनी तहमा पुगेर समुदायको सहभागिता, स्थानीयको समस्या समाधानका लागि नागरिकसभा गर्नुपर्छ । यसले मात्र अपनत्व र विश्वास जगाउन सकिन्छ । वामपन्थी दलहरूले डिजिटल अर्थतन्त्र र गिग वर्क(स्थायी सरकारी वा निजी रोजगारीभन्दा लचिलो, स्वतन्त्र र सीपमा आधारित काम) लाई सम्बोधन गर्नुपर्छ । अहिले पहिलेजस्तो असमानता छैन । असमानताका स्वरूप फेरिएका छन् । डेटा र प्रविधिमा देखिएको असमानतालाई सम्बोधन गरे मात्र युवालाई विश्वासमा लिन सकिन्छ । युवा पुस्ता पारदर्शिता, अवसर र सामाजिक न्याय चाहन्छन् । साँघुरो वर्गीय राजनीति छाडेर मजदुर, मध्यम वर्ग, पेशागत र सीमान्त समूहलाई समेत जोड्न सक्नुपर्छ ।

बिन्दा पाण्डे

वामपन्थी आन्दोलनमा ओली र प्रचण्ड अब रोलमोडेल बन्न सक्दैनन्

-वर्गीय मुक्तिको कुरा, श्रमजीवी र सीमान्तकृत तहमा रहेकाहरूको मुक्तिको कुरा गरेर आइयो । अन्यायमा परेका समुदायहरूको कुरा गरेर आइयो तर पछिल्लो समय न त उनीहरूसँग सम्बन्ध, सम्पर्कमा रहियो न त उनीहरूका कुरा सुनियो । समय परिवर्तन भएसँगै भएका परिवर्तनहरू आत्मसात गर्न सकिएन । हिजो जुन नागरिकहरूले सहयोग गरेर पार्टी निर्माण गरे, तिनै नागरिकसँग पार्टीका कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको पहुँच कम हुँदै गयो । हिजो पार्टी निर्माणका क्रममा त्याग र समपर्ण हुन्थ्यो । योगदानको कुरा हुन्थ्यो । तर अहिले प्राप्ति र अवसरका कुरा हाबी हुँदै गए । जसको सम्बन्ध र सम्पर्क नजिक छ उनीहरू नै प्राप्तिका कुरामा उनीहरू अगाडि बढ्दै गए । हिजो पार्टी निर्माण गर्ने मतदाता नै टाढा हुँदै गए । त्यसैको परिणाम अहिलेको निर्वाचनको नतिजा पनि हो । हामीले जुन ढंगबाट समावेशी, सहभागिता र सामाजिक न्यायको कुरालाई स्थापित गरेका थियौँ, व्यवहारमा कार्यान्वयन गर्ने कुरामा हामी कतै न कतै चुक्यौँ । त्यो चुकेको कुरालाई हामीले आत्मसात र करेक्सन गर्ने कुरा हामीले स्वीकार्न सकेनौँ ।

हिजो हामी आन्दोलनमा लाग्दा खेरी हाम्रा पुष्पलालको कुरा गर्थ्यौँ । रोलमोडेलका रूपमा मदन भण्डारी र मनमोहन अधिकारीहरूलाई मान्थ्यौँ । तर आजको पुस्ता बहुदलपछि जन्मिएका पुस्ता हाम्रा मतदाताका मेजोरिटी पुस्ता भइसकेको छ । तर हाम्रो पार्टीका रोल मोडेल केपी ओली र प्रचण्ड । कमरेड केपी ओली र प्रचण्डले आफूलाई जुन ढंगले प्रस्तुत गर्नु भएको छ, गाउँ वा सहर दुवैले रोलमोडेलका रूपमा पछ्याउने खालको छैन । समानताको कुरा गर्ने, सामाजिक न्यायको कुरा गर्ने खालको स्थिति रहेन । जहिलेपनि उहाँहरूले आफूलाई केन्द्रविन्दुमा राखेर आलोचना गर्नेभन्दा पनि प्रशंसा गर्नेलाई निकट ठान्ने र जसले बिग्रँदै छ र गलत हुँदै छ भन्छ उसलाई विकट ठान्नुभयो । यही प्रवृत्ति र पात्रको विकासले नै यस्तो नतिजा आएको हो ।

चन्द्रकिशोर

कम्युनिस्टहरू कर्पोरेटका कारिन्दाजस्तै भए

मदन भण्डारी वामपन्थी राजनीतिलाई संसदीय राजनीतिमा ल्याउन अवधारणागत र प्रयोगका रूपमा सफल हुनु भएको हो । तर यहाँका वामपन्थीहरू न त सैद्धान्तिक रूपमा आफ्ना विचारधाराप्रति निष्ठावान भए न त व्यवहार र चरित्रका रूपमा प्रतिबद्ध रहे ।

पञ्चायतकालमा बरू भूमिगत रहँदा उनीहरूका आहारविहार र जीवनशैलीले सामाजिक रूपान्तरणका लागि योगदान गरेको थियो । पछिल्ला वर्षहरूमा उनीहरू कर्पोरेटका कारिन्दा जस्ता भए । एमाले वा माओवादी एउटा कर्पोरेट कम्पनीजस्तो भए । कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली सुविधाभोगी भयो । राज्यका प्रत्येक अंगबाट सुविधा लिए । कमरेडले पहिले क्रान्तिकारिता झल्काउँथ्यो, अहिले कमरेडहरू बिचौलियाजस्ता देखिए । यसले पनि आम जनतामा वितृष्णा भयो । कम्युनिस्ट मेनिफेस्टोभन्दा फरक हुनु स्वाभाविक हो तर वामपन्थ भनेको केन्द्रबाट बायाँ जाने हो । समाजलाई केन्द्रबाट देब्रेतिर लैजानुपर्ने हो तर उनीहरूले दक्षिणपन्थी भासमा भासिँदै गए । नागरिकलाई सार्वभौम बनाउनेभन्दा ठोरीका रामको 'मिथ' खोज्न थाले उनीहरू । यसले पनि आम जनताले यहाँ कम्युनिस्ट भन्ने पनि छैनन् वामपन्थी भन्ने पनि छैनन् भन्ने ठाने । नेपालजस्तो असमान र अन्याय र शोषण व्याप्त भएको मुलुकमा वामपन्थी राजनीति सहज हुनुपर्ने हो । यहाँ उनीहरूले वर्गका कुरा मात्र गरे । यहाँ जात र समुदायमा आधारित विभेद पनि उस्तै छ, त्यसलाई सम्बोधन गर्ने काम गरेनन् । जनजाति, मधेशी दलितका आन्दोलनबाट उनीहरू वञ्चित भए वा उनीहरू विरोधीका रूपमा चित्रित भए ।

वामपन्थहरू दीर्घकालीक रोगबाट ग्रसित छन् । पथ्य र कथ्यमा फरक देखिए । २ सय वर्षअघिको सिद्धान्त बोकेर र मदन भण्डारीको जप गरेर मात्र हुँदैन । जडसूत्रका कुरा गरेर मात्र हुँदैन । वैश्विक रूपमा एक्लो टापुका रूपमा रहन सकिन्न, त्यसैले कथ्य र पथ्य दुवैमा सुधार आवश्यक छ । नत्र यसबाट पार पाउन मुश्किल छ । नामका पछाडि वा अगाडि फुर्को जोड्दैमा उनीहरू कम्युनिस्ट हुँदैनन् । दलका रूपमा रहन सक्छन् तर वामपन्थी राजनीतिलाई टिकाउन गाह्रो छ ।

घनश्याम भूसाल

वामपन्थी आन्दोलनको महापुनर्गठन आवश्यक छ

राज्य केही पुँजीपतिको मात्र भयो, संगठित शक्ति भएन भन्ने महसुसले नै वाम आन्दोलन जन्मिएको हो । जहाँ-जहाँ वाम आन्दोलनले त्यो काम गरेन र राज्यकै सरकार पछाडि लाग्यो । यस अर्थमा उसले आफ्नो वर्ग र धरती बिर्स्यो त्यहाँचाहिँ वाम आन्दोलन कमजोर भयो । हामीकहाँ पनि धेरै लामो समयदेखि हुँदै आएको थियो । त्यो खतराबारे भन्दै आएको हो बोल्दै आएको हो । तर हाम्रो नेतृत्वले पार्टीलाई अराजनीतिकरण र गैरवामपन्थीकरण गर्‍यो । र यो अवस्था आयो । पछिल्लो १० वर्षमा मैले दुर्घटनाबाट सिक्नका लागि तेस्रो मौका हो भन्दै आएको छु । वामपन्थी कार्यकर्ता र वामपन्थी बुद्धिजीवीले सिके भने यो आन्दोलन उठाउन सकिन्छ । किनकि अहिलेकै लिडरसिपले अब थेग्न सक्दैन । यो पटक अरूले सिक्नुपर्छ । अहिलेको लिडरसिपले वामपन्थी आन्दोलन अगाडि बढाउन सक्दैन । अहिले नेतृत्वमा रहेकाहरू विचार र आचरणले गैरवामपन्थी भइसकेका छन् । वामपन्थी आन्दोलन अगाडि जानका लागि एउटा महापुनर्गठन आवश्यक छ । सजिलोचाहिँ छैन, समयले बताउँछ ।

युवा पुस्ताले समाजलाई छिटो बुझ्छ र बुझ्न खोज्छ । युवाहरूलाई वामपन्थ के हो भन्ने कुरा हामीले बुझाउनुपर्थ्यो । दलहरूले वामपन्थ के हो के होइन भन्ने बुझाउन सकेनन् । युवाहरूले वामपन्थीहरूले वामपन्थी काम नगरेको देखे । यसबाटै उनीहरू बिच्किएका होइनन् । वामपन्थी मात्र होइन, दोहोरो कुरा गर्ने विषयमा हामी अलमलिएको हो जस्तो लाग्छ । कुन वामपन्थी हो कुन लोकतान्त्रिक हो भन्ने कुरामा हामीले अलमलायौँ । हामीले आफ्नो आन्दोलन र आचरण पनि त्यसैअनुसार गर्नुपर्थ्यो । भन्ने एउटा गर्ने अर्को गर्दा युवाहरूले छिटो प्रतिक्रिया देखाउँछन् ।

मणीन्द्रनाथ ठाकुर

कम्युनिस्ट पार्टीहरूले एसियाली समाज बुझ्न सकेनन्

कम्युनिस्ट पार्टीहरूले एसियाली समाजको विशेषतालाई बुझ्न सकेनन् । सोभियत युनियन र युरोपमा जुन मार्क्सवादी अवधारणाले कुनै बेला काम गरेको थियो, त्यसैलाई यहाँ पनि प्रयोग गर्न खोजियो । एसियाको समाज बिल्कुलै भिन्न छ । धर्मका बारेमा यहाँका कम्युनिस्टको धारणा निकै कमजोर छ । यिनीहरू धर्मलाई अफिम पनि भन्छन् । भारत र नेपालका मानिस धेरै धार्मिक छन्, यसकारण पनि यिनीहरू रिजेक्ट हुन्छन् । दोस्रो समस्या यो हो कि समुदायको बीचमा द्वन्द्व हुँदा बहुसंख्यामा रहेको समुदायलाई पनि कुनै समस्या छ भन्ने कुरा यिनीहरू स्वीकार्दैनन् । जब अल्पसंख्यकका पक्षमा मात्र उभिन्छन्, तब बहुसंख्यक समुदाय यिनीहरूसँग रिसाउँछन् । यसमा सन्तुलन मिलाउन नसकेको देखिन्छ ।

अल्पसंख्यक समुदाय पनि यिनीहरूको साथमा आउँदैनन् । चुनावी राजनीतिमा यो ठूलो समस्याका रूपमा रहेको छ । जब यिनीहरू राजनीति गर्छन्, राज्यकै तहबाट मात्र समस्या समाधान हुन्छ भन्ने सोच्छन् । जब चुनाव हुँदैन, यिनीहरू चुपचाप बस्छन् । गान्धीहरूले रचनात्मक कार्यक्रम सुरू गरेका थिए । यिनीहरूसँग कुनै कन्स्ट्रक्टिभ प्रोग्राम छैन । जब कार्यकर्ता नै संकटमा हुन्छन्, त्यसबेला पनि साथ पाउँदैनन् । तेस्रो कारण- संगठनमा यस्तो हाइरार्की बनाउँछन् कि तलका कार्यकर्ता र माथिल्ला नेताबीचको संवाद नै टुट्छ । सोभियत युनियनमा त यसले काम गर्‍यो, तर हाम्रो समाज त संवादले चल्ले समाज हो । मार्क्सले पनि संसदीय राजनीति गर्नुपर्छ भनेका थिए । तर चुनावी जित वा हारभन्दा जनतासम्म पुग्ने गरी काम गर । तर उनीहरू आफ्नो सारा राजनीति नै संसदीय राजनीतिमा केन्द्रित रहे ।

कम्युनिस्टहरूको अलिकति विश्वास हिंसामा पनि छ, त्यसले पनि दीर्घकालीक रूपमा काम गर्दैन । दक्षिण एसियाली समाज हिंसालाई राजनीतिक रणनीतिका रूपमा स्वीकार्न चाहन्न । दक्षिण एसियामा मार्क्सलाई नयाँ ढंगबाट पढिनुपर्छ । त्यतिमात्र होइन, नयाँ ढंगबाट संगठनात्मक स्वरूप पनि बदल्नुपर्छ । राजनीति र समाजनीतिलाई एकसाथ डोर्‍याउनुपर्छ । यिनीहरूको कुनै समाजनीति छैन, केबल राजनीति छ ।

पुँजीवादको स्वरूप बदलिएको छ । नयाँ स्वरूप बुझ्ने र त्यसमा एडजस्ट हुन सकिरहेका छैनन् । मजदुरलाई संगठित गर्न सक्दैनन्, चुनावका बेला पुँजीपतिहरूसँग हात मिलाउँछन् । बंगालमा कम्युनिस्टहरूको पतन हुनुको कारण एउटा यो पनि हो । उनीहरूले टाटा समूहलाई सिंगुरमा यति धेरै उब्जाउ जमिन सित्तैमा दिए । सरकारी निर्णयको विरोधमा ठूलो आन्दोलन पनि भयो । त्यसपछि कम्युनिस्ट पार्टी फर्किनै सकेको छैन ।

पुँजीवादले परम्परागत श्रमिक संगठनको स्वरूप नै भत्काइदिएको छ, जुन वामपन्थी राजनीतिको प्रमुख आधार हो । आउने दिनमा एआईका कारण व्यापक बेरोजगारी बढ्दै छ भनिएको छ । अब केवल मजुदरलाई संगठित गरेर क्रान्ति गर्छु भन्ने सोच्नु हुन्छ भने त्यो सम्भव छैन । जेन-जी साथै नवपुस्तासँग कसरी कनेक्ट हुन्छन् कम्युनिस्ट पार्टी ? यिनीहरूसँग कुनै रणनीति छैन । वामपन्थी राजनीतिमा लागेका व्यक्तिहरूको उमेर माथिल्लो तहको धेरै छ । युवा पुस्ता आकर्षित नै हुन सकिरहेको छैन ।

नयाँ विचार (आइडियोलोजी) बनाउनुपर्छ । यसमा धेरै कुरा जोड्नुपर्छ । यतिबेला राज्य धेरै बलियो भइरहेको छ । राज्यले सत्ताधारी वर्गको विचारधारा नै फैलाइरहेको छ । यसमा लुई अल्थुसरले 'आइडियोलोजिकल स्टेट एपरेटस' अवधारणका रूपमा अघि सारेका थिए । सिनेमादेखि सिरियलसम्म राज्यको उपस्थिति छ । सबैको हातमा मोबाइल छ । मोबाइलमा हामी रिल हेर्छौं । अल्गोरिथमिक कन्ट्रोल भइरहेको छ हाम्रो मस्तिष्क । हाम्रो मस्तिष्कलाई अल्गोरिदमले नियन्त्रण गरिरहेको छ । पोलिटिक्स अफ इम्यानिजिनेसनलाई यसले नियन्त्रण गरिरहेको छ । यसलाई कम्युनिस्ट पार्टीले केही काम गर्न सकेको छैन । मध्यम वर्गलाई त तिमी पनि धनी बन्न सक्छौ भनिएको छ । त्यसैले पनि वामपन्थीहरू उनीहरूसँग सम्बन्ध बनाउन सकेका छैनन् । नयाँ प्रविधिसँगै अघि बढ्न सकेनन् भने वामपन्थी राजनीति पनि अघि बढ्न सक्दैनन् ।

वामपन्थीहरूमा अहिले वैचारिक संकट देखिएको हो । यथार्थमा समस्या के छ ? वास्तवमा के हुनुपर्ने हो ? र के यो सम्भव छ ? भन्ने कुरामा वामपन्थीले ध्यान दिनुपर्छ । समस्या ज्युँका त्युँ छ । बेरोजगारी बढिरहेको छ । तर संगठनलाई नयाँ तरिकाबाट हिँडाउने, विचारधारालाई समयानुकूल बदल्ने हो भने वामपन्थी पुनर्जागरण सम्भव छ । दक्षिण एसियामा मात्र होइन, अन्य ठाउँमा पनि यो सम्भव छ ।

इन्द्रेश मैखुरी

लोकतन्त्रमा लोक नै बलियो हुनुपर्छ

पुँजीवादी संसदीय प्रणालीमा कम्युनिस्टहरूका लागि चुनाव एउटा असमान संघर्ष हुन्छ । असमान संघर्षको यो रणमैदानमा निकै धेरै मोर्चासँग जुध्नुपर्छ । यो असमान संघर्षविरुद्ध लड्नका लागि वामपन्थीहरूसँग एक मात्र तरिका छ-आफ्नो वर्गीय आधारलाई सशक्त बनाउने ।

भारतमा ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्तिपछि भएको पहिलो र दोस्रो संसदीय चुनावमा कम्युनिस्ट पार्टी सबैभन्दा ठूलो विपक्षी दल बन्यो । देशका केही राज्यमा कम्युनिस्ट सरकार पनि बने । तर कालान्तरमा कम्युनिस्टको चुनावी शक्ति कमजोर हुँदै गयो । २०२४ को लोकसभा चुनाव र २०२० को बिहार विधानसभा चुनावमा कम्युनिस्ट पार्टीको प्रदर्शनमा आंशिक सुधार भयो । जुन बेला भारतमा भारतीय जनता पार्टी(भाजपा) राजकीय संयन्त्रमा आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ, नागरिकलाई हरेक हक-अधिकारबाट वञ्चित गराउँदैछ । यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिहरू एकजुट भएर लाग्नुको विकल्प छैन । संसदीय मोर्चामा कम्युनिस्टहरूको शक्ति घट्दो होस् वा बढ्दो, तर श्रमजीवी वर्गको सडक संघर्षमा कम्युनिस्टहरू नै सर्वथा अग्रपंक्तिमा रहेका छन् । नेपालमा पनि कम्युनिस्टहरूकै अगुवाइमा जनताले सयौं वर्ष पुरानो राजतन्त्र फ्याँके । नेपाल गणतन्त्रात्मक मुलुक बन्यो, एउटा प्रगतिशील संविधान पनि जारी भयो । तर लोकतन्त्रको स्थापनापछि लोक अर्थात आम नागरिक सशक्त हुनुपर्ने हो, त्यो हुनै बाँकी देखियो । नेतृत्वमा पुस्तान्तरण पनि यो समयको माग हो ।

back to eKantipur