कार्यवाहक अध्यक्ष थापाको अभिव्यक्तिप्रति उपाध्यक्ष पौडेल पक्षको आपत्ति, आफ्नो अभिव्यक्तिले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्स्पोज गरेको थापाको भनाइ
What you should know
काठमाडौँ — नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा संसदीय दलको नेता चयन भएपछि सुरु भएको अन्तरसंघर्ष चर्किंदै गएको छ । नेताहरू सार्वजनिक रूपमै एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
संसद्को पहिलो बैठकमा सम्बोधनका क्रममा विवादास्पद अभिव्यक्ति दिएका थापाले पोखरामा बुधबार आयोजित कार्यकर्ता भेलामा आफ्नो अभिव्यक्तिको बचाउ गर्दै उपाध्यक्ष विष्णु पौडेललगायत नेताको विरोध गरेका छन् । पार्टीको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न संसद्मा धारणा राखेको उल्लेख गर्दै उनले उपाध्यक्ष पौडेलले आपक्ति जनाएकोमा विरोध गरे ।
कार्यवाहक अध्यक्षले बोल्नुभएका धारणा पार्टीकै हुन्, संकटका बेला पार्टीलाई गाली गर्नु एमालेकै नेताको दैनिकी जस्तो बनेको छ।-भानुभक्त ढकाल, एमाले सचिव ‘को–को मान्छेहरू त्यो वत्तव्यबाट उत्तेजित भए । भित्र लुकेका थिए, बाहिर देखिए । पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्स्पोज गरेको मात्र हो,’ थापाको भनाइ थियो, ‘पार्टीको उपाध्यक्ष (पौडेल) ले सार्वजनिक रूपमा स्टाटस सार्वजनिक गरेर आपत्ति जनाउनुभयो । अन्तरसंघर्ष यसरी देखिएको हो ।’ थापाले सरकारलाई ‘शत्रु’ को संज्ञा दिँदै कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनका प्रमुख नेताहरूलाई सिध्याउने लक्ष्य देखिएको आरोप पनि लगाए ।
अर्कातर्फ उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् थापाको आलोचना गरेका छन् । पाण्डेले माओवादी ‘जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य नभएको बताएका छन् । ‘जनताको बहुदलीय जनवाद (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ’ उनले फेसबुकमा झनेका छन्, ‘संसद्मा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यत्तिगत भावनाहरूलाई पार्टी लाइन भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ । त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन् ।’
उपमहासचिव योगेश भट्टराईले छोटो कविता लेख्दै पार्टीमा बादल (कार्यवाहक अध्यक्ष थापाको टेक नाम) मडारिएको बताएका छन् । ‘बादल मडारियो, मुसलधारे वर्षा भयो । जबज निथ्रुक्कै भिज्यो’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘मदन (भण्डारी) तीन छक्क पर्नुभयो । हामी हेरेको हेर्यै भयौं ।’
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थापालगायत नेता एकातर्फ देखिएका छन् भने अर्कोतर्फ उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेलगायत नेताहरू छन् । थापाले संसद्को पहिलो बैठकमा निर्वाचन परिणामलाई लिएर तत्कालीन सरकार, नेपाली सेना, कर्मचारीतन्त्र र केही गैरसरकारी संस्थाप्रति विवादास्पद टिप्पणी गरेका थिए । त्यसको एमालेभित्रैबाट विरोध भएको थियो ।
माओवादी पृष्ठभूमि भएका थापा फागुन २०७७ देखि एमालेमा रहेपछि ओलीको विश्वासपात्रका रूपमा काम गर्दै आएका छन् । ओली पक्राउ परेपछि थापा सरकारविरुद्ध खरो उत्रिँदै आएका छन्, जुन कार्यशैली उपाध्यक्ष पौडेललगायत केही नेतालाई मन परेको छैन । थापाले संसद्मा राखेको भनाइप्रति उपाध्यक्ष पौडेललगायत नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि पार्टीको सचिवालयले सबै सुरक्षा निकाय, कर्मचारीतन्त्रप्रति पूर्ववत् सम्बन्ध कायम रहेको बताएको थियो ।
उपाध्यक्ष पौडेलनिकट नेता खिमलाल भट्टराई कार्यवाहक अध्यक्ष थापाको भाषा शैलीप्रति आपत्ति जनाउँदै संसदीय दलको नेताको हैसियत धान्न गाह्रो भएको बताउँछन् । ‘थापाको अभिव्यक्तिले पार्टीको गरिमा धान्न सक्दैन’ उनले भने, ‘त्यो पार्टी नीति र एमाले स्कुलिङविरुद्ध छ । कब्जा, आक्रमण, दुस्मन शब्दावलीहरू एमालेका होइनन् । यो जबजको मार्गदर्शन होइन ।’
देवकाटाले युद्धकालीन पुरानो धङधङी एमालेको नीति हुन नसक्ने भन्दै आपत्ति जनाए । ‘उहाँ (थापा) मा बिलकुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो । वास्तवमा मलाई दुःख लाग्यो । उहाँले पार्टीको अवस्था र दृष्टिकोण दुवै बुझेको देखिएन । फर्स्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो ।’
उहाँ (रामबहादुर थापा) मा युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो, उहाँले पार्टीको अवस्था र दृष्टिकोण दुवै बुझेको देखिएन ।- खिमलाल भट्टराई, एमाले नेता ओलीनिकट एमाले सचिव भानुभक्त ढकाल कार्यवाहक अध्यक्ष थापाको शैली अलि फरक भए पनि पार्टी र आन्दोलनको पक्षमा धारणा भएको दाबी गर्छन् । ‘कार्यशैली आआफ्नो होला । कार्यवाहक अध्यक्षले बोल्नुभएका धारणा पार्टीकै हुन्’ उनले भने, ‘संकटको बेला पार्टीलाई गाली गर्नु एमालेकै नेताको दैनिकी जस्तो बनेको छ । आगामी बैठकमा यसबारे छलफल होला ।’
कार्यवाहक अध्यक्ष थापाको भनाइलाई जबजसँग मेल नखाएको भन्ने नेताहरूलाई ढकालको जवाफ छ, ‘फेसबुकमा लेखेर आन्दोलन कमजोर बनाउने धारणा राख्नु पनि जबजभित्र पर्छ त ? कार्यवाहक अध्यक्षले पार्टीको धारणा बोलेको भनेपछि अरूको कसरी हुन्छ ?’
एमालेमा विशेष महाधिवेशन माग गर्दै अनौपचारिक रूपमा हस्ताक्षर संकलन पनि चलिरहेको छ । एमालेका जनवर्गीय संगठनहरू अनेरास्ववियु, युवा संघ, बुद्धिजीवी परिषद्का नेताहरूले अनौपचारिक हस्ताक्षर अभियान सुरु गरेका हुन् । एमाले संस्थापन पक्षले भने विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका नेताहरूलाई मंगलबार बोलाएर उक्त अभियान रोक्न निर्देशन दिएको छ ।
सम्बन्धित अरु समाचार
