सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई दियो बधाई
काठमाडौँ — एमालेले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायबारे दिएको अभिव्यक्ति सच्याएको छ ।
शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले थापाको भनाइ सच्याएको हो । ‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ,’ बैठकमा निर्णयमा भनिएको छ ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले दल नेता थापाको भनाइ गलत नभए पनि केही अन्तरविरोध देखिएको बताए । ‘संसद्मा जे आयो, त्यसमा गम्भीर छलफल भयो, थापाको भनाइ गलत थिएन । यसमा देखिएको अन्तरविरोधहरुमा गम्भीर छलफल भयो,’ उनले भने, ‘दल नेताले संसद्मा जे बोल्नुभयो, त्यसमा जनमतलाई नस्वीकारेको जस्तो देखिएको हुनाले जनताको मतको सम्मान गर्छौ भनेर स्पष्ट पारेको हो । सेना, कर्मचारी र अन्तर्राष्ट्रिय सम्बन्ध विगतमा जे थियो, अहिले त्यो कायम रहन्छ ।’
बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई र निर्वाचन सम्पन्न गर्ने सबैलाई धन्यवाद दिएको छ ।‘गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको संक्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी भएका सम्पूर्णलाई बधाई ज्ञापन गरेको छ ।
'भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल भएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ महासचिव शंकर पोखरेल जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।’
बिहीबार कार्यवहाक उपाध्यक्षसमेत रहेका थापाले नेपाली सेना, कर्मचारीतन्त्र र विदेशी शक्ति मिलेर ‘जादुमयी विजय’ हासिल गरेको आरोप लगाएका थिए ।
भदौ २३ को जेन–जी आन्दोलन, भदौ २४ को विध्वंस र फागुन २१ को निर्वाचन परिणामको विषयलाई लिएर थापाले तत्कालीन सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारी, विदेशी शक्ति र केही गैरसरकारी संस्थाको हात रहेको बताएपछि एमालेभित्र ठूलै तरंग ल्याएको थियो ।
अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमै रहेको बेला थापाले बुधबार संसदीय दलको नेता बनेर बिहीबार संसदको बैठकमा एमालेको धारणा राखेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन ‘राज्य र विभिन्न शक्ति लागेको’ आरोप उनले लगाएका थिए ।
‘यो जादूमय विजयमा क-कसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,’ थापाले भनेका थिए, 'अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुाखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आˆनो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’
एमाले संस्थापनइतर थापाको प्रस्तुति ‘युद्धकालीन माओवादी’ जस्तो भएको, आधारबिना नै सेना, कर्मचारीलाई आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । ओली निकट नेताहरुले थापाको भनाइप्रति मौन छन् । उपाध्यक्ष विष्णु पौडेलले थापाले ‘दल नेताको हैसयितले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापति नीति र मान्यता विपरीत’ भएको टिप्पणी गरेका थिए । तर, संसद्मा बोल्नुअघि उनले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसाग परामर्श गरेका थिए । थापाले बोलेका विषय राजनीतिक रुपमा सही भए पनि राज्यका अङगहरुहरु सेना, कर्मचारीलाई विवादमा तानेको विषय ‘निजी भएको’ संस्थापनइतर नेताहरुको भनाइ छ ।
उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । संस्थापन पक्षले भने थापाले संसद्मा राखेका राजनीतिक विषय पार्टी नीतिअनुसार भए पनि राज्यका अंगहरुप्रति लक्षित आरोप निजी भएको जनाएको छ ।
सचिव पदमा अर्यालले दल नेता थापाले भदौ २३ र २४ का घटना, निर्वाचनमा विषयमा राजनीतिक विषय गलत नभए पनि राज्यका अंगहरु सेना, कर्मचारीप्रति लक्षित विषय निजी भएको बताइन् ।
‘दल नेता रामबहादुर थापाले संसद्मा राखेका राजनीतिक विषय छलफलबाटै आएका हुन्,’ उनले भनिन्, ‘राज्यका स्टेक होल्डरबारे उठाएका विषय उहाँका निजी कुरा हुन् ।’
अर्का सचिव खगराज अधिकारीले सचिवालय बैठकमा संसद् र बाहिर राजनीतिक र अन्य मुद्दामा एउटै धारणा बनाउनेबारे सचिवालयमा छलफल भएको थियो ।
