एमालेको आरोप : रास्वपाको विजयमा सेनादेखि एनजीओसम्मको भूमिका

संसदीय दलका नेता रामबहादुर थापाले 'टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरुले समृद्धिका नायकहरुलाई हत्याराका रूपमा स्थापित गरेर देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाएको' आरोप लगाए ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

UML's allegations: Role of army and NGOs in RSVP's victory

काठमाडौँ — एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न 'दृश्य-अदृश्य' शक्तिको निर्णायक भूमिका रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले मुख्यत: सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाएका हुन्। 

'यो जादूमय विजयका ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,' उनले भने, 'अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुँखार खलनायक र  हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।'

रास्वापको विजयलाई चामत्कारिक भन्दै उनले यसले केही असधारण प्रश्न जन्माएको पनि उल्लेख गरे । 'कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी, पार्टी कार्यालय सुनियोजित ढंगले जलाइयो ? कसले अबोध विद्यार्थी लाई निषेधित क्षेत्र तोड्न उक्सायो ?' उनले भने, 'हतियारबद्ध टीओबीहरु भदौ २३- २४ गते तिलस्मी रुपमा प्रकट भए ।'

थापाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएको भनाइ राखे ।

कान्तिपुर

Link copied successfully