प्रधानमन्त्री शाहले सांसदहरूसँग किन गर्दैछन् प्रत्यक्ष संवाद ?

सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहले छलफल गरेका छन् । सो क्रममा शाहले चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा लेखेको ‘सुदूर अब दूर नाई,’ ‘झिक्कै झिक्कै माया तम्लाई’ स्टाटस बारे सांसदहरूले सम्झाएका थिए ।

चैत्र १७, २०८२

गंगा बीसी, जयसिंह महरा

Why is Prime Minister Shah having a direct dialogue with MPs?

What you should know

काठमाडौं — दुई दिनयता प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री कार्यालयमै बाेलाएर सुझाव लिइरहेका छन्न । उनले सोमबार र मंगलबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै भेट र छलफल गरी विकास निर्माण, सुशासनलगायतका विषयमा सुझाव मागेका छन् ।

प्रधानमन्त्री शाह सातै प्रदेशका सांसदहरूबाट सुझाव लिएर सोहीअनुसार बजेट निर्माण, शासकीय सुधारलगायत विषयमा वृहत योजना बनाउने तयारीमा छन् । प्रधानमन्त्रीको रुपमा उनले सांसदहरूसँग प्रत्यक्ष संवाद गरी त्यहाँको मनोविज्ञान, भौतिक आवश्यकता बुझ्ने प्रयास गरिरहेका छन् ।

यसअघि प्रधानमन्त्री र सांसदहरूबीच संसद् बैठकमा प्रश्नोत्तर हुने गरेकोमा शाहले त्यसअघि नै सांसदहरूका सुझाव लिएका छन् । संसद् बैठक बस्नु अघि नै उनले सांसदहरूको सुझाव लिन सुरु गरेका हुन् ।

संसद्‍मा प्रतिनिधित्व गर्ने रास्वपा, कांग्रेस, एमाले, नेकपा, रास्वपा, श्रम संस्कृति पार्टीका सांसद्हरूसँग प्रत्यक्ष छलफल गरी वृहत योजना बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम साहले सुशासन, विकास निर्माणलगायतका विषयमा सुझाव लिने उद्देश्यले छलफल सुरु गरेको बताए । प्रधानमन्त्रीले पहिलो चरणमा गर्न सक्ने कामबारे सुझाव दिन सांसदहरूसँग आग्रह गरेका थिए । सांसदहरूको सुझाव सुनिसकेपछि उनले पहिलो एक वर्ष सुशासन स्थापित गर्दै प्रदेशका आवश्यकताका आधारमा बजेट विनियोजन गर्दा विभेद नहुने बताएका थिए । 

काेशी प्रदेशका सांसदहरूको सुझाव : अघिल्ला सरकारले सुरु गरेका विधेयकमा जाेड  दिनुहाेस्

प्रधानमन्त्री शाहसँग हिजो भेट गरेका कांग्रेसबाट (इलाम १) निर्वाचित सांसद निश्कल राईले आफ्नो क्षेत्रलगायत समग्र विकासका लागि सुझाव दिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पहिलो चरणको के गर्न सकिन्छ ? भनेर सुझाव माग्नु भएको थियो । हामीले संविधान कार्यान्वयन विषयमा धेरै कानुन बनाउनु पर्नेछ । अघिल्लो सरकारले प्राथमिकतामा राखेका विधेयकहरू अघि बढाउनु पर्नेछ । त्यसमा ध्यान दिन आग्रह गर्‍यौं ।’  उनले सरकारले अघि सारेका १०० बुँदे कार्यसूची कार्यान्वयन गर्न नयाँ कानुन आवश्यक भएको सुझाव दिएकाे बताए । 

प्रधानमन्त्री शाहले यस वर्ष बजेट योजनाबद्ध ढंगले अघि बढ्ने बताएको सुनाए । ‘प्रधानमन्त्रीले यसपटक नियोजित ढंगले बजेट निर्माण गछौं भन्नुभयो । सरकारले पहिलो वर्ष सुशासनमै जोड दिने जानकारी गराउनुभयो’ उनले भने ।

एमालेबाट निर्वाचित धनकुटाका सांसद राजेन्द्र राईले प्रधानमन्त्रीले तत्काल जिल्लामा गर्न सक्ने कामबारे सुझाव मागेको जानकारी दिए । ‘जिल्लामा के के काम गर्न सकिन्छ भन्नुस्, दीर्घकालीन काम बजे‍ट भाषणको बेला गरौंला भन्नुभयो,’ उनले प्रधानमन्त्रीको भनाइ सुनाए, ‘तपाईं (प्रधानमन्त्री) लाई जनताले जनादेश जाहेर गरेका छन् । विकास निर्माणमा जुटिरहनु भएको छ । यसमा हाम्रो सहयोग हुनेछ । त्यसका लागि शान्ति कायम हुनुपर्छ भन्ने कुरा मैले राखेँ ।’

जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिको छानबिन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको सन्दर्भमा रिहाइ गर्न आग्रह गरेको पनि उनको भनाइ छ ।

‘हाम्रो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेकोमा खेद व्यक्त गरेर तत्काल रिहाइ गर्नुपर्छ भन्ने कुरा राखेँ’ राईको भनाइ थियो, ‘मुलुकमा शान्ति स्थापना हुन अध्यक्षलाई रिहाइ गर्नुपर्छ ।’ यसबारे प्रधानमन्त्री शाहले प्रतिक्रिया नदिएकाे उनकाे भनाइ छ ।

प्रधानमन्त्रीले दीर्घकालीन योजनाबारे आगामी दिनमा छलफल गर्ने बताएका थिए । सांसदहरूका कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले दीर्घकालीन विषयमा पछि कुरा गरौंला । अहिले सुशासन कायम गर्न लागिरहेको छु र त्यसपछि विकासका काममा लाग्छौं भनेकाे उनले सुनाए ।

बजेट विनियोजनमा विभेद नगर्न कार्णाली प्रदेशका सांसदहरूकाे सुझाव 

कार्णालीका सांसदहरूले प्रधानमन्त्रीसँगको भेटमा बजेट विनियोजनमा कर्णालीलाई विभेद हुँदै आएकाे र अबदेखि त्यस्तो नगर्न आग्रह गरेका थिए । रुकुम पश्चिमका सांसद गोपाल शर्माले सांसदहरूबाट प्रधानमन्त्रीले प्रदेशको विकास निर्माणलगायत विषय प्रत्यक्ष रुपमा जान्न चाहेको आफूले पाएको बताए ।

‘हामीले कर्णाली पछि पर्नुको कारणबारे जानकारी गराएका थियौं । कर्णालीलाई विगतको जस्तो विभेद नहोस् भन्यौं । प्रधानमन्त्रीले बजेटमा विभेद हुँदैन भन्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रदेशहरूका अवस्था के छ ? भनेर प्रत्यक्ष बुझ्न खोजेको देखिन्छ । सांसदहरूसँग छलफल, सल्लाह लिन खोजेको देखिन्छ ।’

कर्णालीका सांसदहरूसँग कुनै समस्या भए सचिवालयमा जानकारी गराउन आग्रह गरेका थिए । ‘तपाईंहरूलाई केही समस्या पर्‍यो भने सचिवालयमा जानकारी दिनुहोला । हामी त्यहीअनुसार हल गर्छौं,’ प्रधामनन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने ।

राप्रपा (जुम्ला) का सांसद ज्ञानबहादुर शाहीले मुख्यगरी कर्णालीको विकास निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

बजेट विनियोजनका क्रममा कर्णाली बारे ध्यान दिइयोस् । आवश्यक परेका बजेट खुलाउनु पर्‍यो । अघिल्लो सरकारले बजेट रोकेका कारण काम हुन नसकेको बताएकाे उनकाे भनाइ छ ।

छलफलमा के भने सुदूरपश्चिमका सांसद्हरूले ?

चुनाव प्रचारका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘सुदूर अब दूर नाई,’ ‘झिक्कै झिक्कै माया तम्लाई’ भनेको कुरा पनि सुदूरपश्चिमका सांसदहरूले सम्झाएकाे बताएका छन् ।

बझाङ एमालेबाट निर्वाचित सांसद ऐनबहादुर महरका अनुसार चुनावका बेला गरेको वाचा र मायाको कुरा व्यवहारमा उतारेर विकास निर्माणमा नजर लगाउन प्रधानमन्त्री शाहलाई सांसदले आग्रह गरेका थिए । 

‘प्रधानमन्त्रीले प्रदेशका आवश्यकता र समस्या बुझ्न चाहेको देखियो । विकास निर्माणका लागि के गर्न सकिन्छ ? भनेर सुझाव माग्नुभयो,’ उनले भने । हामीले युवा प्रधानमन्त्रीलाई असफल हुने छुट नभएको सुझाव दिएको पनि सुनाए । ‘युवा प्रधानमन्त्रीलाई असफल हुने छुट छैन । तपाईं सफल हुनका लागि ५ वर्ष नेतृत्व गर्नुपर्छ भन्ने सुझाव दिएँ,’ उनले भने ।

महरले एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेकोको सन्दर्भमा प्रतिशोध साँध्नु गलत हुने बताएको जानकारी पनि दिए ।  ‘पूर्वाग्रह, प्रतिशोध साँध्नेभन्दा राष्ट्रिय एकता कायम गरे सफल हुनुहोस्,’ उनले प्रधानमन्त्रीलाई भनेको कुरा सुनाए, ‘विगतमा बहुमत पाए पनि सरकारहरू पूर्ण कार्यकाल टिकेका छैनन् । यसमा ध्यान दिनुहोला । सबै दललाई समेटेर अघि जानुहोस् ।’

कैलाली-५ बाट रास्वपाका सांसद आनन्दबहादुर चन्दका अनुसार प्रधानमन्त्रीसँग विकास निर्माणका काममा बढी केन्द्रित भएको जानकारी दिए । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नतीलगायत विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएकाे बताए । त्यस बारे प्रधानमन्त्री सकारात्मक भएको चन्द जानकारी दिए । 

कैलाली-२ रास्वापबाट निर्वाचित सांसद केपी खनालले गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मेडिकल शिक्षा सञ्चालनका लागि कुरा राखेको बताए । ‘प्रधानमन्त्रीले कहिले हस्ताक्षर गर्नुपर्छ म तयार छु भन्नुभयो,’ उनले प्रधानमन्त्री शाहको भनाइ सुनाए, ‘यसका लागि मैले शिक्षा र अर्थमन्त्रीलाई आग्रह गरेको थिए, प्रधानमन्त्रीले पनि अगाडि बढाउने भन्नुभएको छ ।’

गंगा

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully