प्रधानमन्त्री शाहले सुदूरपश्चिमका संघीय सांसदसँग स्वास्थ्य, विमानस्थल, प्राविधिक शिक्षालय र रंगशालाबारे विस्तृत छलफल गर्दै प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । यसअघि कोशी र कर्णालीको प्रतिनिधित्व गर्ने संघीय सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले मंगलबार भने सुदूरपश्चिमबाट निर्वाचित सांसदहरूसँग कुराकानी गरेका हुन् ।
छलफलमा सहभागी रास्वपा सांसद आनन्दबहादुर चन्दका अनुसार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नति एवं आगामी योजनाबारे कुराकानी भएको थियो । सांसद चन्दका अनुसार प्रधानमन्त्री शाहले अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा निर्माण गरिएका विमानस्थल सञ्चालनबारे पनि छलफल भएको छ । एउटा ट्वीनअटर विमान धनगढी विमानस्थलमा राख्ने र अन्य जिल्लामा उडान भर्नेबारे पनि कुरा भएको चन्दले जानकारी दिए । सुदूरपश्चिमका सांसदहरूले प्राविधिक शिक्षालय खोल्नका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । त्यस्तै फाप्ला क्रिकेट रंगशाला निर्माणबारे पनि कुराकानी भएको थियो ।
