समावेशी समूह नमिले सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिने
काठमाडौँ — रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिकबाट निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले आइतबार सूची बुझाएका हुन् ।
समानुपातिकतर्फको १ सय १० सिटमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । निर्वाचन आयोगले सिट तोकेरै समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम तीन दिनभित्र पठाउन बिहीबार दलहरूलाई पत्र लेखेको थियो ।
दलबाट प्राप्त सूचीमा समावेशी समूहअनुसार नाम मिले/नमिलेको सोमबारदेखि रुजु गरिने आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘सूचीमा नमिलेको पाइए मिलाएर ल्याउन सम्बन्धित दललाई फेरि पत्राचार गर्छौं,’ उनले भने, ‘त्यसपछि मात्रै निर्वाचित हुने सांसदहरूको सूची प्रकाशन हुन्छ ।’
सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्यको टुंगो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि रास्वपालाई सरकार बनाउने बाटो खुल्छ । ‘एक साताभित्रै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने लक्ष्य राखेका छौं,’ आयोगका प्रवक्ता भट्टराईले भने ।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० (६) मा ‘दलले प्राप्त गरेको सिट संख्याका आधारमा दलित (१३.८ प्रतिशत), आदिवासी जनजाति (२८.७ प्रतिशत), खस–आर्य (३१.२ प्रतिशत), मधेशी (१५.३ प्रतिशत), थारू (६.६ प्रतिशत) र मुस्लिम (४.४ प्रतिशत) को प्रतिनिधित्व हुने गरी बन्दसूचीमा समावेश भएको क्रमअनुसार’ दलहरूले आयोगमा सूची बुझाउनुपर्ने व्यवस्था छ । छनोट गरिएका नाममा कम्तीमा ४.३ प्रतिशत व्यक्ति पिछडिएको क्षेत्रबाट हुनुपर्छ । संघीय संसद्मा सम्बन्धित दलबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी समेत समानुपातिक कोटाबाटै मिलाउनुपर्छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाको समानुपातिकबाट समेत गरी १ सय ८२ सिट छ । त्यसको एक तिहाइ अर्थात् ६१ जना महिला हुनुपर्छ । राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व छैन । रास्वपामा प्रत्यक्षबाट निर्वाचित महिलाको संख्या १३ छ । त्यसैले समानुपातिकबाट कम्तीमा ४८ महिला हुने गरी रास्वपाले आदिवासी जनजातिबाट १६, खस–आर्यबाट १८, थारूबाट ४, दलितबाट ८, मधेशीबाट ९, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व गराउनुपर्छ ।
रास्वपाले समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नाम सचिवालय बैठकबाट टुंगो लगाएको हो । सचिवालय बैठकअघि समानुपातिकबाट क–कसलाई सांसद बनाउने भन्ने विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएको थियो । बैठकको निर्णयपछि महामन्त्री कबिन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा सूची बुझाएका थिए ।
रास्वपाका प्रवक्ता मनीष झाले कानुनी व्यवस्थाअनुसार नै सूची तयार गरेर निर्वाचन आयोगमा पठाइएको जानकारी दिए । उनका अनुसार खस–आर्यमा १६ महिला र १ पुरुष गरी १७ जनाको नाम सिफारिस गरिएको छ । थारूमा २ महिला र २ पुरुष, मधेशीमा ७ महिला र २ पुरुष तथा मुस्लिममा ३ महिलाको नाम बुझाइएको छ । दलित ‘क्लस्टर’ बाट ७ महिला र १ पुरुष, आदिवासी जनजातिबाट १३ महिला र ३ पुरुष छानिएका छन् । ‘राजनीतिक र कानुनी रूपमा आयोगले प्रमाणित नगरेसम्म ती नाम हाम्रोतर्फबाट प्रस्तावित मात्र हुनेछन्,’ झाले भने ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ । संघीय संसद्का दुवै सदनमा गरेर कांग्रेसबाट ६२ सदस्य हुन्छ । कांग्रेसका सांसद राष्ट्रिय सभामा २४ जना छन्, प्रतिनिधिसभामा प्रत्यक्षबाट १८ जना निर्वाचित भएका छन् । कुल सदस्य संख्या (६२) को ३३ प्रतिशत अर्थात् २१ महिला कांग्रेसले प्रतिनिधित्व गराउनुपर्छ । कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक र राष्ट्रिय सभामा पाँच महिला छ । अपुग १५ जना समानुपातिकबाट कांग्रेसले छनोट गरेको हो ।
समानुपातिकतर्फ कांग्रेसले पाउने सिटमा सर्वसम्मतिले नाम टुंगो लगाइएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेका नाम नदोहोर्याउने नीति लिएका कारण कांग्रेसको सूचीमा नयाँ अनुहारको बाहुल्य छ । खस–आर्यबाट पटक–पटक मन्त्री भएका र समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका अर्जुननरसिंह केसी खस–आर्य ‘क्लस्टर’बाट छानिएका छन् । उनको छनोटलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा खस–आर्य समूहको पुरुषतर्फ पहिलो नम्बरमा रहेका ७८ वर्षीय केसी पार्टी सभापति गगन थापाका ससुरा हुन् ।
पुस्तान्तरणको मुद्दा झिकेर तत्कालीन सभापति शेरबहादुर देउवामाथि कटु आलोचना गर्ने केसी आफैंले पालो नछाडेको भन्दै आलोचना भएको छ । विद्यार्थी राजनीतिमा छँदा कांग्रेसमा रहे पनि २०३८ सालमा राष्ट्रिय पञ्चायतमा प्रवेश गरेर केसीले चुनाव लडेका थिए । त्यतिबेलै उनी राज्यमन्त्री पनि भए । २०४३ मा दोस्रो पटक चुनाव लड्दा पराजित भए । २०४५ मा जिल्ला पञ्चायतका सभापति भए । पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नजिक भएर उनले काम गरे । २०४६ पछि उनी कांग्रेसमा फर्किए । २०४८, २०५१, २०७० र २०७९ मा चुनाव जिते । त्यस कालखण्डमा पटक–पटक मन्त्री भए । उनी चुनाव लड्दै आएको नुवाकोट–२ मा यस पटक भाइ जगदीशनरसिंह केसी उम्मेदवार थिए, तर पराजित भए ।
आदिवासी जनजाति समूहबाट समानुपातिक सांसद बन्दै गरेका भीष्मराज आङ्दम्बे पनि पुराना नेता हुन् । पाँचथरका उनी २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका थिए । उनी २०७४ र २०७९ मा भने पराजित भएका थिए । उनी देउवा नेतृत्वको कार्यसमितिमा सहमहामन्त्री थिए ।
आदिवासी जनजाति समूहअन्तर्गत छनोट गरेका मदनकृष्ण श्रेष्ठ भक्तपुर निवासी हुन् । बन्दसूचीमा आदिवासी जनजाति समूहको १६ औं नम्बरमा रहेका उनलाई अपांगताबाट छनोट गरेको हो । मधेशी समूहबाट छानिएका चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । खस–आर्य महिलाबाट प्रतिनिधित्व गर्ने रिना उप्रेती पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती हुन् । एमालेले उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ । प्रत्यक्षमा प्रतिस्पर्धा गरेका सबै (११) पदाधिकारी पराजित भएकामा एमालेले समानुपातिकबाट भने दुई पदाधिकारी सांसद बनाउन लागेको हो ।
एमालेबाट पूर्वउपाध्यक्ष गुरु बराल, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष पुष्पराज कँडेल पनि सिफारिस भएका छन् । त्यसबाहेक भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, कुलभक्त शाक्य, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र) परेका छन् । कृपाराम राना, विष्णुमाया विक, नीता घतानी, रिंगला यादव, यशोधा कुमारी, चन्द्रेश्वर मण्डल र साजिदा सिद्दिकीलाई पनि एमालेले छनोट गरेको छ । एमालेले प्रत्यक्षमा नौ सिट जितेको छ, जसमा महिला छैनन् । राष्ट्रिय सभामा एमालेका १० सांसद छन् । उनीहरूमध्ये ७ जना महिला हुन् । समानुपातिकबाट निर्वाचित हुने १६ उम्मेदवार टुंगो लगाउने क्रममा एमालेले एक तिहाइ महिला प्रतिनिधित्व पुर्याएको छ ।
नेकपाले प्रमेश हमाल, बलावती शर्मा, परशुराम तामाङ, भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती विक, गणेश विश्वकर्मा र निराशा चौधरीको नाम निर्वाचन आयोगमा बुझाएको छ । हमाल पूर्वराजदूत हुन् । संविधानसभा सदस्य बनिसकेकी शर्मा नेता देवेन्द्र पौडेलकी पत्नी हुन् । पौडेल प्रत्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ मा पराजित भएका थिए । बयक अपांगताबाट छानिएका हुन् ।
नेकपाको सूची संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले टुंगो लगाएका हुन् । प्रत्यक्षमा नेकपाले आठ सिट जितेको छ । राष्ट्रिय सभामा नेकपाका १७ सांसद छन्, तीमध्ये ८ जना महिला हुन् । श्रम संस्कृति पार्टीले आइतबार धरानमा केन्द्रीय कमिटी बैठक गरेर चार उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुविकुमारी ठाकुर छानिएका छन् ।
प्रत्यक्षतर्फ श्रम संस्कृतिले ३ सिट (सबै पुरुष) जितेको छ । राष्ट्रिय सभामा श्रम संस्कृति पार्टीको प्रतिनिधित्व छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भरत गिरी, खुस्बु ओली, सरस्वती लामा र ताहिर अलीलाई छानेको छ । प्रत्यक्षमा राप्रपाले एक सिट (पुरुष) मात्रै जितेको छ । राष्ट्रिय सभामा राप्रपाको उपस्थिति छैन ।
आदिवासी जनजाति
रास्वपा : बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुज, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुस्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा
कांग्रेस : मदनकृष्ण श्रेष्ठ (अपांगता), भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा
एमाले : भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य
नेकपा : परशुराम तामाङ र भीमकुमार बुढा
श्रम संस्कृति : पूर्णप्रसाद लिम्बू
राप्रपा : सरस्वती लामा
खस–आर्य
रास्वपा : प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाास्कोटा, श्रद्धा कुावर क्षेत्री, टीका संग्रौला (पिछडिएको क्षेत्र), क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मन्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईं
कांग्रेस : अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया
एमाले : पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कँडेल
नेकपा : प्रमेश हमाल, बलावती शर्मा र प्रेम बयक (अपांगता)
श्रम संस्कृति : अम्बिकादेवी संग्रौला
राप्रपा : भरत गिरी र खुस्बु ओली
दलित
रास्वपा : रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र दर्जी
कांग्रेस : हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा
एमाले : विष्णुमाया विक र निता घतानी
नेकपा : पार्वती विक र गणेश विश्वकर्मा
श्रम संस्कृति : राधिका रम्तेल
मधेशी
रास्वपा : पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण
कांग्रेस : चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव
एमाले : रिंगला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल
नेकपा : जोगकुमार बर्बरिया यादव
श्रम संस्कृति : रुविकुमारी ठाकुर
मुस्लिम
रास्वपा : समिना मियाँ, अफ्सना बानु, गजाला शमिम मिकरानी
कांग्रेस : साहजान खातुन
एमाले : साजिदा सिद्दिकी
राप्रपा : ताहिर अली
थारू
रास्वपा : गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी
कांग्रेस : प्रमिलाकुमारी गच्छदार
एमाले : कृपाराम राना
नेकपा : निराशा चौधरी
