आफ्नै गढमा जनार्दनलाई चुनौती

२०६४ यताका निर्वाचन सजिलै जित्दै आएका माओवादी पृष्ठभूमिका जनार्दन शर्मा यसपालि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिमको चुनावी मैदानमा छन्, विगतमा सहयोद्धा र चुनावी कमान्डर रहेका नेकपा उम्मेदवार गोपाल शर्माले उनलाई चुनौती दिइरहेका छन्

फाल्गुन १५, २०८२

कुलचन्द्र न्यौपाने, महेश केसी, विवेक पोख्रेल

Challenge to Janardan in his own stronghold

What you should know

रुकुम पश्चिम — तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका दुई प्रभावशाली कमान्डर पुष्पकमल दाहाल र जनार्दन शर्माबीच बेमेलको पहिलो दिन कुन थियो ? चुनावको चटारोबीच रुकुम पश्चिमको मुसीकोट बजारमा हामीले नेता शर्मालाई सोध्यौं । उनले छोटो जवाफ फर्काउँदै भने, ‘भेटेकै दिनदेखि ।’

दाहालसँग तपाईंको पहिलो भेट कहिले भएको थियो भन्ने प्रतिप्रश्नमा शर्माले खुलाए, ‘२०४२ सालमा । जतिबेला दाहालले वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहलाई कारबाही गर्ने कुरा झिके । मैले क्रान्तिमा अघि बढ्न लागेका बेला राम्रो हुन्न भनेर फरक मत राखेको थिएँ ।’ तर, दाहालले त्यतिबेला दिएको तर्कबाट शर्मा प्रभावित भए । ‘हो त्यतिबेलै यो मान्छेले अब देश खाने भयो भनेर मैले पहिलोपल्ट भनेको’ उनले सुनाए ।

एकअर्कासँगको आरोह/अवरोहका मीठा–नमीठा अनुभवबाट गुज्रँदै आएका यी दुई नेता ४२ वर्ष पछाडि भने फरक पार्टी र फरक झन्डामुनि उभिएका छन् । हुन त माओवादी टुटफुटको इतिहास यो नै नयाँ भने होइन । शान्ति प्रक्रियामा आएपछि २०६९ मा तत्कालीन माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने मुद्दामा असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा नेत्रविक्रम चन्द, रामबहादुर थापा, सीपी गजुरेल, जयपुरी घर्तीलगायत ठूलो पंक्ति पार्टीबाट अलग भएको थियो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा एकल बहुमत नजिक विजयी भएको माओवादी त्यही फुटका कारण २०७० को दोस्रो संविधानसभा निर्वाचनमा खुम्चियो । वैद्य नेतृत्वको समूहले निर्वाचनमा भाग लिएन । २०७२ मा संविधान जारी हुनासाथ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा दोस्रो पटक पार्टी विभाजन भयो ।

पछिल्लो समय विधि, पद्धति र पुस्तान्तरणका मुद्दामा दाहालसँग शर्माको मतभेद बढिरहेकै बेला २३–२४ भदौमा जेन–जी आन्दोलन भयो । त्यसपछि उनीहरू एउटै पार्टीमा रहन सकेनन् । जेन–जी विद्रोहको पृष्ठभूमिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चल्दै आएको सत्ताको ‘म्युजिकल’ चियर पनि एउटा कारण थियो । यी नेताको विकल्प पार्टीभित्रै खोजिन थालेपछि एक कदम अघि बढेर दाहालले तत्कालीन माओवादी केन्द्रको कार्यसमिति विघटन गरिदिए । र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसहित विभिन्न कम्युनिस्ट घटक मिलाएर गत कात्तिकमा नयाँ पार्टी बनाए, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) । माओवादी झल्काउने नाम र झन्डा परिवर्तन गरे ।

त्यही विन्दुबाट अलग भएका शर्माले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रास्वपाबाट अलग भएका तत्कालीन प्रमुख सचेतक सन्तोष परियारसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरे । यद्यपि उनी पार्टीको नेतृत्वमा छैनन् । पार्टी सञ्चालनका लागि पाँच सदस्यीय अध्यक्ष परिषद् छ । जसमा परियार, ओजस्वी भट्टराई, दुर्गा सोब, सुदन किराती र अशोक जयसवाल छन् । उनीहरूमध्ये ओजस्वी जेन–जी हुन् । जयसवाल माओवादी युद्धका सहिद परिवारका सदस्य हुन् । सोब नयाँ शक्तिकी संयोजक ।

Challenge to Janardan in his own stronghold

बाटो फरक समाते पनि दाहाल र शर्माबीचको राजनीतिक प्रतिस्पर्धा रुकुमकै मैदानमा यतिबेला आमनेसामने भएको छ । रुकुम पूर्वबाट उम्मदेवार रहेका दाहाल घरदैलो सकेर काठमाडौं फर्केका छन् भने शर्मा मनोनयन दर्तादेखि नै रुकुम पश्चिम छाडेका छैनन् । जिल्लाका सबै पालिकाका गरी कुल ७३ वडामध्ये अझै १० वटामा पुग्न बाँकी नै रहेको उनले बताए ।

माओवादी जनयुद्धका घाइते र सहिद परिवारको मत आकर्षित गर्न नेकपा र प्रलोपा दुवै एकअर्कालाई माओवादी छाडेको आरोप लगाउँदै आएका छन् । जनार्दन माओवादी विघटन गरेर पुष्पकमल दाहालले पार्टीलाई दक्षिणपन्थ भासमा पुर्‍याएको आरोप लगाउँछन् । दाहालले शर्मालाई भगौडाको उपमा दिएका छन् ।शर्मा अहिले पूर्वसहयोद्धा तथा नेकपा उम्मेदवार गोपाल शर्मासँग चुनावी प्रतिस्पर्धामा छन् । रुकुम पश्चिममा एमालेका नन्दराम देवकोटा प्राविधिक उम्मेदवार मात्रै हुन् । उनले शर्मालाई समर्थन गरेर चुनाव परिचालन कमान्डर बनेका छन् । कांग्रेसले युवा राजु केसी र रास्वपाले पूर्वमाओवादी पृष्ठभूमिकै मानबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । 

यसअघिका चुनावमा शर्माले रुकुम पश्चिममा खुट्टा राखेपछि पुग्थ्यो । प्रचारमा गए पनि, नगए पनि निर्धक्क चुनाव जित्थे । उनलाई यो सहज अवस्थामा पुर्‍याउन आफूहरूले दिएको राजनीतिक त्यागको टेको मुख्य कारण रहेको नेकपाका उम्मेदवार गोपाल बताउँछन् । उनी तीनै व्यक्ति हुन्, जसले २०६४ देखि २०७९ सम्मको निर्वाचनमा जनार्दनकै कमान्डर बनेका थिए ।

पार्टीभित्र रहेर विधि, पद्धति र वैचारिक अन्तरविरोधको संघर्षसम्म जनार्दनलाई साथ दिएको उनी बताउँछन् । ‘जनार्दनले पार्टीभित्रै बसेर वैचारिक लडाइँ लडेको भए अहिले म उम्मेदवार हुने थिइनँ । जनार्दनलाई नै फेरि उम्मेदवार बनाएर भावी अध्यक्ष र प्रधानमन्त्री बनाउने अभियानमा लागिरहेका हुन्थ्यौं,’ गोपाल भन्छन्, ‘एक कार्यकाल पनि कुर्न नसकेर हतारो गर्दा अहिले उनैसँगै चुनावी मैदानमा आउनुपरेको छ ।’

पार्टी छाड्नुअघिसम्म जनार्दन जिल्लाका निर्विकल्प नेता थिए । स्थानीय संगठनमा एकछत्र पकड थियो । त्यसैको बलमा केन्द्रमा राजनीतिक हैसियत बढाएका थिए । यतिसम्म कि, पार्टीभित्र दाहालसँगको चर्केको अन्तरसंघर्षमा पनि सिंगो जिल्ला नै उनको साथमा उभिएको थियो । गोपालका अनुसार एक वर्षअघि जिल्ला कमिटीले जनार्दनको लाइनलाई साथ दिने औपचारिक निर्णय नै गरेको थियो । त्यसबाट हौसिएरै उनले पार्टीबाट अलग हुने बाटो रोजे । माओवादीबाट अलग भएपछि जनार्दनले १७ वर्षदेखिको सांगठनिक पकड गुमाएका छन् । बाआमाका नाममा स्थापित फाउन्डेसनबाट चलाइएको मुसीकोटको पार्टी कार्यालय त पाएका छन् । तर, धेरै नेता र सहयोद्धा टाढिएका छन् ।

जनार्दनको राजनीतिक यात्रा २०३४ देखि सुरु भएको हो । उनले जनमोर्चाबाट २०४८ मा यसै क्षेत्रबाट चुनाव लडेका थिए । त्यतिबेला कांग्रेसका गोपालजीजंग शाहसँग उनी पराजित भएका थिए । त्यसपछि माओवादी सशस्त्र युद्ध सुरु भयो । उनी त्यतै लागे, चुनावी ‘ब्याटल’ मा आएनन् । तत्कालीन माओवादीको सशस्त्र संघर्षताका गठन गरिएको ‘जनमुक्ति सेना’ को उनी डेपुटी कमान्डर थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य भए । २०६४ मा सेना समायोजन विशेष समितिका सदस्य हुँदै संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय यात्रा सुरु गरे । २०६५ मा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । २०७० मा दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि सार्वजनिक लेखा समिति सभापति र ऊर्जामन्त्री भए । २०७४ को निर्वाचनपछि गृहमन्त्री र २०७८ मा अर्थमन्त्री भए ।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा जनार्दनलाई सुदूरपश्चिम क्षेत्रको कमान्डर तोकिएको थियो । शान्ति प्रक्रियामा प्रवेश भएपछि अधिकांश नेताहरू जनयुद्ध कालमा तोकिएकै क्षेत्रतिर चुनाव लड्न पुगे । ‘तर जनार्दनलाई रुकुम ल्याउने र त्यो राजनीतिक उचाइमा पुर्‍याउने काम हामीले नै गरेका हौं,’ गोपाल भन्छन्, ‘अहिले उनले माओवादी आन्दोलन र सहिद परिवारलाई धोका दिएका छन् ।’

Challenge to Janardan in his own stronghold

तर, शर्मा आफूले लिएको बाटोबाट कुनै पछुतो नभएको बताउँछन् । केही पूर्वसहयोद्धा नभए पनि रुकुमका जनता आफ्नो पक्षमा रहेको उनको भनाइ छ । २०६४ देखिका चार निर्वाचन जितेका शर्मा अधिकांश कालखण्डमा शक्तिशाली मन्त्री भए । सत्ता उलटपलट गर्ने हैसियतमा पुगे । प्रभावशाली मन्त्रालय चलाइरहे । त्यसको लाभ रुकुमले पायो । विकासको मानकमा रुकुमको स्थान अहिले जुन ठाउँमा आइपुगेको छ, त्यसको योगदान जनार्दनलाई नै जान्छ ।

सशस्त्र युद्धपछिका १९ वर्षमा रुकुमको अनुहार फेरिएको छ । २०६४ को चुनावसम्म वर्षाका बेला सदरमुकाममा गाडी आउँदैन थिए । सदरमुकामबाट दुई/तीन दिन हिँडेर जानुपर्ने गाउँहरू थिए । अधिकांश ठाउँमा बिजुली थिएन । विद्यालय भवन भत्किएका थिए । ‘अहिले सदरमुकामसम्म बाटो पिच छ । मध्यपहाडी राजमार्ग छ । उज्यालो रुकुमअन्तर्गत ३८ साना जलविद्युत् आयोजना सम्पन्न भई गाउँ–गाउँमा बिजुली पुगेको छ । मैले गरेका निर्णयले जलविद्युत्को क्षेत्रमा अर्बौंको लगानी भित्रँदै छ, आज बाटो नपुगेको कुनै टोल र गाउँ छैन,’ शर्मा भन्छन्, ‘भर्खरै स्थापना भएकाले पार्टीको बलियो संगठन छैन । तर, जनता मेरो पक्षमा छन् । मैले चुनाव हारें भने यहाँको विकासले हार्छ र जनताले पनि हार्छन् ।’

Challenge to Janardan in his own stronghold

चुनाव जितेर बारम्बार शक्तिशाली मन्त्रालय चलाए पनि रुकुमको विकासमा जनार्दनले गर्न नसकेका कामलाई नेकपाले मुख्य चुनावी मुद्दा बनाएको छ । दस वर्षदेखि चौरजहारीस्थित भेरी नदीमाथि पुल निर्माण अलपत्र परेको नेकपा उम्मेदवार गोपाल बताउँछन् ।  चुनाव जित्ने नाममा गलत कुरालाई समर्थन गर्न नसक्दा नै आफू पार्टीबाट अलग हुनुपरेको भन्दै उनले मतदातालाई सम्झाउँदै आएका छन् । ‘प्रचण्डले पार्टीको विधि, पद्धति र विधान मान्नु भएन । पार्टी अभियानलाई अगाडि लैजान दिनु भएन । यहीँ रुकुममा गरेको विकास पनि उहाँलाई मन परेन,’ जनार्दनले भने, ‘बाहिर सुशासनको कुरा गर्नुभयो । पार्टीमा भ्रष्टाचार मुद्दा खेपेका माधवकुमार नेपाललाई लैजानुभयो । भित्रभित्र असुली धन्दा गर्नुभयो । जेन–जी आन्दोलनले त्यसलाई पुष्टिसमेत गर्‍यो ।’ 

चुनाव जितेर बारम्बार शक्तिशाली मन्त्रालय चलाए पनि रुकुमको विकासमा जनार्दनले गर्न नसकेका कामलाई नेकपाले मुख्य चुनावी मुद्दा बनाएको छ । दस वर्षदेखि चौरजहारीस्थित भेरी नदीमाथि पुल निर्माण अलपत्र परेको नेकपा उम्मेदवार गोपाल बताउँछन् । पुल नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट आउने सवारी भेरी करिडोरको बाटो मोडिएर जानुपर्छ । अर्को रिम्ना दोभान नजिकै सानीभेरी नदीमाथि पुल नबन्दा रुकुमका बासिन्दा मर्कामा छन् । ‘ऊर्जामन्त्री हुनुभयो तर रुकुमका सबै गाउँमा अझै पनि बिजुली पुगेको छैन,’ गोपाल भन्छन्, ‘प्रदेश र पालिकाले गरेका कामलाई समेत जनार्दनले गरेको भनेर प्रचार गरियो । नेता भनेर सधैं साथ दिइयो । तर, विकासकै कुरा गर्ने हो भने उहाँले भन्दा बढी प्रदेश र पालिकाहरूले गरेका छन् ।’

रुकुमका कैयौं युवा मानव तस्करको प्रलोभनमा परी झन्डै करोड रुपैयाँसम्म खर्च गरेर अवैध बाटो हुँदै अमेरिका जाने गरेको घटना हालै सार्वजनिक भएको थियो । त्यस क्रममा कैयौं युवा बाटोमै अलपत्र पर्ने र दुःखसास्ती भोग्नुपर्ने अवस्था छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि यसमा केही कमी आएको छ । तर पूर्ण रोकिएको छैन । रुकुम पश्चिमका विभिन्न भागबाट रोजगारीका लागि भारत जानेको संख्या पनि ठूलो छ । तर, यस्ता विषय नेताहरूको चुनावी मुद्दा बनेका छैनन् । नेकपा र जनार्दनबीच रुकुमको विकासको जस लिने होड छ । जनार्दन रुकुमको मुहार फेर्ने मुख्य हकदार आफू नै भएको ठान्छन् भने नेकपाका उम्मेदवार गोपाल आफूहरूले गर्दा नै जनार्दनले त्यस्तो भन्ने मौका पाएको बताउँछन् ।

रुकुमको चुनाव जित–हारभन्दा माओवादी विरासतको धेरै गहिरो सम्बन्ध छ । माओवाद सम्झाउने पार्टीको नाम, झन्डा र चुनाव चिह्न न त दाहालले नेतृत्व गरेको दलसँग छ, न त जनार्दनले बनाएको पार्टीसँग । माओवादी जनयुद्धका घाइते र सहिद परिवारको मत आकर्षित गर्न दुवैले एकअर्कालाई माओवादी छाडेको आरोप लगाउँदै आएका छन् । चुनावी मैदानमा माओवादी समर्थक मतदाताको प्रश्नमा पनि उनीहरू आरोप/प्रत्यारोप गरिरहेका छन् ।

Challenge to Janardan in his own stronghold

जनार्दन माओवादी विघटन गरेर दाहालले पार्टीलाई दक्षिणपन्थ भासमा पुर्‍याएको आरोप लगाउँछन् । दाहालले शर्मालाई भगौडाको उपमा दिएका छन् । ‘जनार्दन भगौडा हुन्, उनी विदेशीको इसारामा परिचालित छन्’ गत २६ माघमा पश्चिम रुकुमको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले भनेका थिए । दाहाल रुकुम आइरहँदा जनार्दनमाथि दबाब बढेको माओवादीका पुराना नेताहरू बताउँछन् । ६ फागुनको चुनावी सभामा दाहालले नेकपा उम्मेदवार गोपाललाई चुनाव जिताए मन्त्री बनाइदिने उद्घोषसमेत गरेका थिए ।

गठबन्धनबाट चुनाव लडेका कारण २०७९ मा जनार्दनले कांग्रेसको मत पनि पाएका थिए । उनी ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका थिए ।पूर्वमाओवादीभित्रको अन्तरसंघर्षको कारण यस पटक कांग्रेस पनि जुर्मुराएको छ । कांग्रेसबाट राजु केसी उम्मेदवार छन् । २०५१ सम्म यस क्षेत्र कांग्रेसकै प्रभावमा थियो । जनयुद्ध सुरु भएपछि एकाएक कांग्रेस र एमाले दुवैको संगठन यस क्षेत्रमा धराशायी बन्न पुगेको हो । यसपालि पनि यहाँ अन्यत्रजस्तो नयाँ र पुरानाबीचको प्रतिस्पर्धाको माहोल छैन । रास्वपाका उम्मेदवार मानबहादुर शाही संगठनको भन्दा कांग्रेस, एमाले र माओवादीभित्रको असन्तुष्टिको मत आउनेमा आशावादी छन् । 

२०६४ र २०७० को निर्वाचनमा गठबन्धनबिना नै जनार्दनले ठूलो अन्तरमा चुनाव जितेका थिए । माओवादीले २०७४ मा एमाले र २०७९ मा कांग्रेससँग गठबन्धन गरेको थियो । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ माओवादीले ३४ हजार ३ सय ४७ मत प्राप्त गरेको थियो भने एमाले र कांग्रेसले क्रमशः ८ हजार ७ सय ६९ र ८ हजार ७ सय ६६ मत पाएका थिए । रास्वपाले १ हजार ८ सय ६१ मत पाएको थियो ।

गठबन्धनबाट चुनाव लडेका कारण २०७९ मा जनार्दनले कांग्रेसको मत पनि पाएका थिए । उनी ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका थिए । त्यसपछि स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५ सय ६७ मत प्राप्त गरेका थिए । त्यो चुनावमा यहाँ प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार थिएनन् ।

आफूले पाएको आधा मात्रै मत आफूतिर तान्ने र त्यसमा एमालेको मत थपिएर जित्न सक्ने आकलनमा छन्, जनार्दन । करिब ८ हजार मतको अन्तरमा आफूले चुनाव जित्ने आकलन उनको छ । नेकपा उम्मेदवार गोपाल पनि ७/८ हजारकै अन्तरमा चुनाव जित्ने दाबी गर्छन् । ‘जनार्दनले आधा मत भने पनि उनको पक्षमा ठूलो मत जाँदैन । मतदाताले तपाईंले पनि जनार्दनले जस्तै त गर्ने हो कि भनेर खबरदारी गरेका छन्,’ उनले भने ।

यसपालि चुनावी मैदानमा १२ उम्मेदवार छन् । कांग्रेसका उम्मेदवार केसी स्थानीय तहमा कांग्रेसले सबैभन्दा बढी मतदाता रहेको मुसीकोट नगरपालिका र अर्को बाफीकोट पालिकाको नेतृत्व जितेको र पूर्वमाओवादीभित्र चर्किएको अन्तरसंघर्षले आशावादी देखिएका छन् । उनी पूर्वमाओवादी नेताहरूले जनताका नाममा व्यक्तिगत लाभ लिँदै आएकाले यस पटक आफ्नो पक्षमा माहोल फर्केको केसीले बताए ।

‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटनको योजनाबद्ध विकासलाई मैले चुनावी एजेन्डामा राखेको छु । विगतमा आफ्नो विचारधाराका व्यक्तिहरूलाई लाभ हुने काम मात्रै पूर्वमाओवादीका नेताहरूले गर्नुभएको छ । जनताको सोझोपनलाई प्रभावित पारेर लाभ लिनुभयो, यस पटक माहोल त्यस्तो छैन,’ उनी भन्छन्, ‘जनचेतना धेरै आइसकेको छ । २०४८ र २०५१ का निर्वाचन कांग्रेसले जितेको हो । यस पटक ३२ वर्ष पछाडि हामी आफ्नो विरासत फर्काउँछौं ।’

रास्वपा उम्मेदवार शाही कांग्रेसभित्र पनि आन्तरिक द्वन्द्व रहेको र नेकपाभित्र आरोप/प्रत्यारोप चलिरहेको अवस्थामा त्यसको लाभ लिएर चुनाव जित्ने बताउँछन् । ‘जनता कुनै पार्टीका छैनन् । हिजो पुराना पार्टीलाई समर्थन गर्नेहरूको आज नयाँ पार्टीतिर झुकाव छ,’ शाहीले थपे, ‘यस पटक देशभरै नयाँ पार्टीको लहर फैलिएको छ ।’ रुकुम पश्चिममा आसन्न निर्वाचनका लागि १ लाख ६ हजार ६ सय ६० मतदाता छन् । यो संख्या अघिल्लो निर्वाचनभन्दा २ हजार ३ सय ८० ले बढी हो ।

Challenge to Janardan in his own stronghold

२१ निर्वाचन स्थल अति संवेदनशील

रुकुम पश्चिमका २१ निर्वाचनस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । दलबीच विवाद र सम्भावित झडप हुन सक्ने अवस्थालाई सुरक्षा निकायले प्रमुख चुनौतीका रूपमा लिएको जनाएको छ । जिल्लामा दुई अस्थायीसहित ७८ निर्वाचनस्थल छन् । जहाँ १ सय ४२ मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समितिका अनुसार ४३ स्थल संवेदनशील तथा दुई अस्थायीसहित १४ स्थललाई सामान्य निर्वाचनस्थलका रूपमा राखिएको छ ।

‘दूरी, विकटता र विगतका घटनालाई मध्यनजर गरेर जिल्लाका यी क्षेत्रलाई वर्गीकरण गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) प्रमुख डीएसपी वेदबहादुर पौडेलले भने, ‘नयाँ राजनीतिक घटनाका कारण राजनीतिक दलभित्रको आन्तरिक संघर्ष पनि सुरक्षा चुनौती भएको छ ।’ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन सुरक्षाकर्मीबीच समन्वयात्मक रूपमा सुरक्षा योजना कार्यान्वयन भइरहेको सुरक्षा समितिले जनाएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको माथिल्लो भेग स्यालाखदी र गोतामकोट क्षेत्रमा भौगोलिक विकटता र यातायात पहुँचले पनि सुरक्षा व्यवस्थापनमा थप चुनौती थपिएको छ । यो जिल्लाको हिउँ पर्ने क्षेत्र पनि हो ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully