मतदाताको पाउमा उम्मेदवारको ‘शिर’

तराई–मधेशमा ढोगेर आशीर्वाद लिनु संस्कार र श्रद्धा भएपनि निर्वाचनको बेला भने यसको फरक ‘महत्त्व’ हुने राजनीति विश्लेषक प्रेमचन्द्र झा बताउँछन् ।

माघ २८, २०८२

अजित तिवारी

What you should know

जनकपुर — मुलुकभर चुनावी चहलपहल बढ्दै छ । आ–आफ्नो क्षेत्रमा उम्मेदवार घरदैलोमा व्यस्त छन् । भेटघाटका क्रममा मतदाता समक्ष शिर निहुराएर उम्मेदवारहरू आफ्नो कुरा सुनाउँछन् । कतिपय उम्मेदवार झुक्दैनन् मात्र, उनीहरू मतदाताको हातपाउ छापेर ढोग्दै ‘आशीर्वाद’ थाप्छन् ।

चुनावका बेला यस्ता दृश्य आम बनेका छन् । त्यसैको उदाहरण धनुषा–१ बनेको छ । उक्त निर्वाचन क्षेत्रको हंसपुर प्रदेश राजधानी जनकपुरसित जोडिएको नगरपालिका हो । धनुषा–१ को दक्षिणमा हंसपुर भए पनि विकास निर्माणका आधारमा नगरपालिका अगाडि रहेको छ । त्यहाँको हंसपुर–३ ‘जमिन्दारको बस्ती’ हो । हंसपुरलाई जनकपुरसित जोड्ने तीनवटा सडक छन् । हुलाकी राजमार्ग हुँदै हंसपुरबाट जनकपुर आउजाउ गर्न सकिन्छ । जनकपुरबाट सिधै हंसपुर जोड्ने पुराना सडक अहिले स्तरोन्नति भइरहेका छन् ।

राजपुत, मुस्लिम, मण्डल र कुम्हाल समुदायको बाक्लो बसोबास रहेको हंसपुर–३ को कठपुल्ला, हंसपुर र कुम्हालटोलमा विकासका आधारभूत संरचना निर्माण भएका छन् । आधा दर्जन सरकारी विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, कालोपत्रे तथा ढलान गरिएका चिल्ला सडक र निजीस्तरमा बनेका ‘सपिङ कम्प्लेक्स’ले जनकपुरनजिकको हंसपुर आधुनिक सहरजस्तै लाग्छ ।

धनुषा-१ को कठपुल्लामा मतदातालाई ढोग्दै कांग्रेस उम्मेदवार रामपल्टन साह । तस्बिर : अजित तिवारी/कान्तिपुर

धनुषा–१ का कांग्रेस उम्मेदवार रामपल्टन साह सोमबार दिनभर हंसपुर–३ स्थित कठपुल्ला, हंसपुर र कुम्हालटोलमा घरदैलोमा व्यस्त रहे । त्यसक्रममा कांग्रेस कार्यकर्ताले बोकेको ‘साउन्ड सिस्टम’ मा उम्मेदवार साहले अघि सारेका शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, समयमै मल–बीउ लगायत एजेन्डा बजिरहेका थिए । जानकी मन्दिरलाई धनुषाधाम हुँदै सतोषरसम्म जोड्ने बताइएको थियो ।

धनुषा-१ को कठपुल्लामा मतदातालाई ढोग्दै कांग्रेस उम्मेदवार रामपल्टन साह । तस्बिर : अजित तिवारी/कान्तिपुर 

यही बेला उम्मेदवार साह भने पाका मतदाताको खुट्टा ढोग्दै ‘आशीर्वाद’ मागिरहेका थिए । ‘हम रामपल्टन, मिथिलेश्वर मौवाही वाला,’ उनी भन्थे, ‘आशीर्वाद दिअ ।’ कांग्रेसमा साह यस क्षेत्रमा पहिलोपटक उम्मेदवार बनेका हुन् । प्रदीप गिरीको सान्निध्यमा रहेका साह विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत चुनिए । ‘ठूलावडाको खुट्टा ढोगेर आशीर्वाद लिनु हाम्रो संस्कार हो,’ उनले कान्तिपुरसित भने, ‘बा, आमा, काकाको उमेरका मानिस देख्दा श्रद्धाले निहुरिनै पर्छ ।’

सर्लाही-४ मा मतदातालाई ढोग्दै रास्वपा उम्मेदवार अमरेशनारायण सिंह । तस्बिर : सामाजिक सञ्जाल

सेतो ‘ट्र्याकसुट’मा गत बिहीबार सर्लाही–४ मा घरदैलोमा व्यस्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेशनारायण सिंह पनि पाका मतदाताको पाउमा ढोग्दै मत मागिरहेका थिए । मतदातालाई ढोगेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उम्मेदवार सिंहले लेखे, ‘अग्रज बुवा–आमासँग अन्तरक्रिया कार्यक्रम ।’

सर्लाही-४ मा मतदातालाई ढोग्दै रास्वपा उम्मेदवार अमरेशनारायण सिंह । तस्बिर : सामाजिक सञ्जाल 

आम जनता पार्टीबाट रौतहट–४ का उम्मेदवार ऋषि धमलाले मतदातालाई अंगालो हालेको, ढोगेको तस्बिर र भिडिओ भाइरल भइरहेका छन् । रौतहट–४ अन्तर्गत पर्ने चन्द्रपुर–१० को बालचनपुर, ७ को नयाँबस्ती र ४ नम्बर वडा चोकमा धमलाले मतदातासँग अंगालो मारेर खुट्टा ढोग्दै मत मागेका थिए । मधेशका ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । यहाँ प्रायः उम्मेदवारले मतदाताको खुट्टा ढोग्दै मत माग्ने परम्पराजस्तै बनेको छ । मतदाता पनि घण्टैपिच्छे आउने उम्मेदवारलाई ‘आशीर्वाद’ दिँदै पठाउँछन् ।

तराई–मधेशमा ढोगेर आशीर्वाद लिनु संस्कार र श्रद्धा भए पनि निर्वाचनको बेला भने यसको फरक ‘महत्त्व’ हुने राजनीति विश्लेषक प्रेमचन्द्र झाले बताए । ‘०७९ को चुनावमा धनुषा–३ मा केही मतदाताले तत्कालीन लोसपा उम्मेदवार अनिल झालाई मत दिने मन बनाएका थिए,’ झाले भने, ‘तर उम्मेदवार झाले नढोगेकै कारण उनीहरूले अन्तिम समयमा मत परिवर्तन गरे ।’ त्यसबेला गरिएको एक अध्ययनअनुसार पनि ढोग्ने उम्मेदवारको पक्षमा पाका मतदाता प्रभावित भएको देखिएको थियो । ‘तराई–मधेशमा ढोग परम्पराले पनि मतदातालाई आफूतिर तान्ने गरेको छ,’ विश्लेषक झाले भने, ‘समाजको अगाडि उम्मेदवारले आफूलाई ढोगेर आदर गरेको बुझाइ यहाँ रहेको छ ।’

कांग्रेस धनुषाका पूर्व सचिव राजकिशोर सिंहले निर्वाचन क्षेत्रमा प्रायःजसो पाका मतदाता, नाता–सम्बन्ध, कुटुम्ब, मितबुवातिरका मान्नुपर्ने व्यक्तित्व भेटिने भएकाले ढोग्नु संस्कारसँग मात्र जोडिएको बताउँछन् । ‘मतदातालाई ढोग्दैमा मत आउने त होइन नि,’ सिंहले भने, ‘उम्मेदवारले मतदातालाई ढोगेर आफ्नो सम्मान र श्रद्धा प्रकट गर्नु पुरानै चलन हो ।’ 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully