२५ क्षेत्रको टिकट किन ‘होल्ड’ राखे ओलीले?

चुनावी तालमेल र शक्ति केन्द्रीकरणका लागि उम्मेदवार होल्ड गर्ने ओलीको निर्णयले स्थानीय कार्यकर्ता र एमाले मतदातामा असन्तोष पैदा भएको छ।

माघ ४, २०८२

पर्वत पोर्तेल

Why did Oli put the tickets of 25 constituencies on hold?

What you should know

विराटनगर — एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका २५ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा नगरी ‘होल्ड’ राखेका छन् ।

यी क्षेत्रहरूको विगतको चुनावी इतिहास, हालको राजनीतिक समीकरण र एमालेभित्रको आन्तरिक शक्ति संघर्ष हेर्दा यो निर्णय चुनावी जितभन्दा बढी सत्ता, नियन्त्रण र सौदाबाजी केन्द्रित रणनीतिजस्तो देखिन्छ। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको मात्रै टुंगो लगाएको थियो ।

ओलीले सार्वजनिक रूपमा ‘कसैसँग चुनावी तालमेल नगर्ने’ बताउँदै आएका छन्। तर, होल्ड गरिएका अधिकांश क्षेत्रमा तालमेल हुन सक्ने सम्भावना देखिन्छ। त्यही कारण ती क्षेत्रका उम्मेदवार ‘अध्यक्षले टुंग्याउने’ भनिएको हो।

ओलीको गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ३ ‘होल्ड’ हुनु सबैभन्दा अर्थपूर्ण निर्णय हो। अघिल्ला दुई चुनावमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग गठजोड गरेर ओलीले आफ्नो राजनीतिक स्वार्थ सुरक्षित गरेका थिए। यसपटक पनि सोही समीकरण दोहोरिने सम्भावनाका कारण झापा–३ लाई अन्तिम निर्णयबाट टाढा राखिएको एमालेभित्रै चर्चा छ।

झापा जिल्ला कमिटीले वसन्त बानियाँ र हरि राजवंशीको नाम सिफारिस गरिसकेको भए पनि केन्द्रले त्यसलाई बेवास्ता गरेको छ। यसले स्थानीय कार्यकर्ता र मतदातामा गहिरो आक्रोश जन्माएको छ।

झापा–३ का एमाले मतदाता दीपक काफ्ले भन्छन्, ‘१० वर्षदेखि हामीले सूर्यमा मत हाल्न पाएका छैनौँ। यसपटक पनि नपाइने सम्भावना बढ्दै गएको छ।’

बाह्रदशीका अर्का एमाले मतदाता रामप्रसाद चम्लागाईं अझ कडा प्रतिक्रिया जनाउँछन्, ‘अब पनि तालमेल भयो भने हाम्रो मत अर्को नयाँ शक्तिलाई जान्छ। बारम्बार हामीमाथि यस्तो धोका दिन पाइन्छ?’

झापा–३ मा देखिएको असन्तोष ओलीको रणनीतिले परम्परागत एमाले मतदाता आधार नै चिराचिरा बनाउँदै लगेको संकेत हो।

बालेन्द्र शाहको चर्चासँगै यसपटक ओलीले आफूलाई ‘असुरक्षित’ मानिरहेका छन्। त्यही कारण पनि उनले झापा-३ मा पुरानो समीकरणलाई दोहोर्‍याउने लभगभ पक्का जस्तो देखिन्छ।

त्यति मात्रै होइन, नेकपा संयोजक पुष्पकमल दाहाल उम्मेदवार बन्ने रुकुम पूर्वमा समेत ओलीले टिकट 'होल्ड' गरेका छन्। झापा- ५ सँग रुकुम पूर्वको चुनावी कनेक्सन हुन सक्ने सम्भावनासमेत रहेको एमालेका एक केन्द्रीय सदस्यले जनाए।

इतर समूहलाई ‘बाइपास’

ओलीले कोशी प्रदेशमा झापा-३ सहित ताप्लेजुङ–१, सुनसरी–२ र ३, मोरङ–५ र ६ लाई होल्ड राखेका छन्। अन्य प्रदेशमा समेत इतर समूहका नेतालाई उनले टिकटमा बाइपास गरेका छन्।

ताप्लेजुङ–१ उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचनमा जितेको क्षेत्र हो। तर महाधिवेशनपछि ओलीका निर्णयहरूमा खुलेर असहमति जनाउँदै आएका भट्टराईलाई यसपटक टिकट नदिने मनस्थितिमा ओली देखिएका छन्। उनलाई ‘आफूविरुद्ध लाग्ने नेता’को रूपमा हेरेर क्षेत्र होल्ड गरिएको एमाले स्रोत बताउँछ।

मोरङ–६ मा पूर्वमन्त्री लालबाबु पण्डितसहित आधा दर्जन नेताहरू सिफारिसमा परेका थिए। त्यसमध्ये विनोद ढकाल ओली इतर समूहका बलिया उम्मेदवार हुन्। मोरङ–५ बाट पनि उद्धव पोखरेलसहित धेरै नाम सिफारिस भए। तर दुवै क्षेत्र होल्ड गरेर ओलीले चुनावी जितभन्दा बढी इतर समूह रोक्ने गणितलाई प्राथमिकता दिएका छन्।

सुनसरी–२ मा अघिल्लो निर्वाचनमा भीम आचार्य विजयी भएका थिए। सुनसरी–३ बाट निर्वाचित भगवती चौधरीलाई ४ नम्बर क्षेत्रमा सारेर ३ लाई होल्ड गरिएको छ।

काभ्रे–२ मा अघिल्लो निर्वाचनमा विजयी गोकुल बास्कोटा ११औँ महाधिवेशनमा इतर समूहबाट सचिवमा उम्मेदवार बनेर पराजित भएका थिए। यसपटक उनलाई टिकट नदिने संकेतसहित क्षेत्र होल्ड गरिएको छ।

काठमाडौं–९ मा ओली इतर समूहमा सक्रिय भएको भन्दै कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिने तयारी छ। एक वेला ओलीलाई ‘राजनीतिको पेले’ भनेर प्रशंसा गर्ने श्रेष्ठ यतिवेला टिकटविहीन बनेका हुन्।

काठमाडौं–४, ५, ७ र ललितपुर–३ पनि विपक्षी बलिया उम्मेदवारका कारण होल्डमा छन्। 

लुम्बिनी प्रदेशमा मात्रै ७ टिकट होल्ड गरिएको छ। रुपन्देही–१ अघिल्लो पटक एमाले सचिव छविलाल विश्वकर्माले जितेका थिए। तर यसपटक यो क्षेत्र पनि होल्डमा छ। उनलाई टिकट नदिने उनको रणनीति छ। विश्वकर्माले यो क्षेत्रबाट २०७४ र २०७९ मा जितेका थिए।

रुपन्देही–२ मा विजयी उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा–२ मा सरुवा गरेर यो क्षेत्र पनि खाली राखिएको छ। पाल्पा–२ ठाकुर गैरेले जितेको क्षेत्र हे। उनको टिकट खोसेर पौडेललाई त्यहाँ पठाइएको छ। रुपन्देही–४ लोसपाका सर्वेन्द्रनाथ सुक्लाले जितेका थिए।

कपिलवस्तु–२ कांग्रेसका सुरेन्द्र आचार्यले जितेका थिए। यी सबै क्षेत्रमा ओलीले ‘अध्यक्षले पछि टुंग्याउने’ भन्दै सम्भावित तालमेल र अन्तिम क्षणको सौदाबाजीको ढोका खुला राखेका छन्।

शंकर पोखरेल र ‘दाहाल फ्याक्टर’

दाङ–१ र २ मा अघिल्लो निर्वाचनमा मेटमणि चौधरी र रेखा शर्माले जितेका थिए। यी दुवै क्षेत्र ‘महासचिवको इच्छा बुझेर अध्यक्षले निर्णय गर्ने’ भनिनुको मुख्य कारण महासचिव शंकर पोखरेललाई सुरक्षित बनाउने प्रयास हो।

रुकुम पूर्व अघिल्लो पटक नेकपाका पूर्णबहादुर घर्तीले जितेको क्षेत्र हो। यसपटक नेकपा संयोजक पुष्पकमल दाहाल स्वयं उम्मेदवार बन्ने तयारीमा छन्। एमालेले यहाँ उम्मेदवार नटुंग्याउनु अघोषित तालमेलको सबैभन्दा स्पष्ट संकेत मानिएको छ।

महोत्तरी–३ (महन्थ ठाकुर विजयी क्षेत्र) लगायत मधेशका क्षेत्रहरू एमाले–लोसपा वा एमाले–जसपा तालमेलको सम्भावित केन्द्र बनेका छन्।

विश्लेषकहरूले अनुसार २५ क्षेत्रमा टिकट होल्ड गरिनुमा ओलीका चार मुख्य उद्देश्य देखिन्छन्।

पहिलो, अघोषित चुनावी तालमेलको ढोका खुला राख्नु; दोस्रो, इतर समूहका नेताहरूलाई दबाब र अनिश्चिततामा राख्नु; तेस्रो, निकट नेताहरूलाई सुरक्षित अवतरण गराउनु; र उम्मेदवार छनोटको सम्पूर्ण शक्ति अध्यक्षमा केन्द्रीकरण गर्नु। तर, यही रणनीतिले कार्यकर्ता निराशा, मतदातामा विद्रोह र पार्टीभित्र खुला असहमति चुलिने प्रष्ट छ।

‘२५ क्षेत्रमा उम्मेदवार ‘होल्ड’ गर्नु ओलीको अधिनायकवादी राजनीतिक चाल हो,' राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘ओलीलाई आफ्नो र आफ्ना कोटरीका मान्छेको सुरक्षा कसरी गर्ने भन्ने मात्रै चिन्ता छ, अरूको मतलब छैन।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully