एमालेले टुंग्यायो १४० उम्मेदवार, नेकपाका २१, र रास्वपाका ८ उम्मेदवार पनि निश्चित 

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही–२ बाट पाल्पा–२ र सचिव भानुभक्त ढकाल मोरङबाट तेह्रथुम उक्लिए, धनुषा–३ र ४ बाट पूर्ववत् जुली महतो र रघुवीर महासेठ, किसान श्रेष्ठले पाए बारा–४ बाट टिकट, गोरखा–२ बाट मिलन (चक्रे) गुरुङ उम्मेदवार

माघ ४, २०८२

गंगा बीसी

UML finalizes 140 candidates, 21 from NCP, and 8 from RSVP also confirmed

What you should know

काठमाडौँ — फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । जेन–जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलहरूले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् ।

दलहरूले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सिफारिस नामहरूमा दलका उम्मेदवार छनोट समितिले अन्तिम सूची बनाउने तयारी गरिरहेका छन् । कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा नेपाललगायत दल प्रत्यक्षतर्फका १६५ क्षेत्रका उम्मेदवारको अन्तिम सूची बनाउने गृहकार्यमा जुटेका छन् । हालसम्म कुनै पनि प्रमुख दलहरूले निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका छैनन् । 

कांग्रेसमा संसदीय बोर्ड गठन गरी उम्मेदवार छनोट

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले सभापति गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन गरी प्रत्यक्षका उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । शुक्रबार मात्र निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएकाले आइतबारदेखि उम्मेदवार छान्न गृहकार्य गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी विवादका कारण निर्वाचन रोकिन नहुने भन्दै कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टुंग्याउने बताए । १६५ वटै क्षेत्रमा उम्मेदवार‍ टुंग्याउने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी दिए । ‘अबको दुई दिनभित्र उम्मेदवार टुंग्याउने गरी हाम्रो टिमले काम गरिरहेको छ,’ उनले भने । 

कांग्रेस सभापति थापाले काठमाडौं ४ बाट उम्मेदवार बन्ने चाहना भएको कान्तिपुरलाई बताएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार सिफारिस भए पनि उनले विश्राम लिनु उचित हुने थापाले सुझाव दिएका छन् । महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ र तनहुँ–२ बाट सिफारिस भएका छन् । २०७९ को निर्वाचनमा उनी काठमाडौं–५ बाट विजयी भएका थिए । 

त्यस्तै, नेता शेखर कोइराला मोरङ–६ बाट उम्मेदवार भएकाले यस पटक पनि त्यही क्षेत्रबाट उठ्ने तयारी गरेका छन् । विशेष महाधिवेशनको विपक्षमा उभिएको उनको समूहले सभापति थापाको नेतृत्वमा चुनावमा भाग लिने निर्णय गरिसकेको छ । उपसभापति विश्वप्रकाश शर्माले झापा–१ बाट आफू उम्मेदवार नबन्ने बताएका छन् । कांग्रेसमा विग्रह आउनुअघि सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भइसकेको छ ।

एमालेका १४० उम्मेदवारको टुंगो 

एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बैठकपछि अधिकांश उम्मेदवार टुंगो लागेको उपमहासचिव लेखराज भट्टले बताए । एमाले उम्मेदवारको नामावलीमा यसअघि ताप्लेजुङबाट जितेका उपमहासचिव योगेश भट्टराई, काठमाडौं–५ बाट उम्मेदवार भएका नेता ईश्वर पोखरेलको नाम परेको छैन । तीलगायत बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो अध्यक्ष केपी शर्मा ओलीले लगाउने भएका छन् । उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट पाल्पा–२ मा सरेका छन् । महासचिव शंकर पोखरेलले दाङ–२ मा आफ्नो उम्मेदवारी टुंग्याएका छैनन् । बैठकमा उपमहासचिव भट्टराईले उम्मेदवार छनोटमा फरक मत राखेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ नाम एकल सिफारिस भएकाले उनको त्यहींबाट उठ्ने पक्का भएको छ । यस्तै, गुल्मी–२ बाट उपाध्यक्ष गोकर्ण बिष्ट, लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ उम्मेदवार भएका छन् । सचिव भानुभक्त ढकाल मोरङबाट तेह्रथुम उक्लिएका छन्,  धनुषा–३ र ४ बाट पूर्ववत् जुली महतो र रघुवीर महासेठ उम्मेदवार भएका छन् । बारा–४ बाट किसान श्रेष्ठ र गोरखा–२ बाट मिलन (चक्रे) गुरुङ उम्मेदवार निश्चित भएका छन् । 

यस्तै, कैलाली–४ बाट उपमहासचिव लेखराज भट्ट, भक्तपुर–२ बाट सचिव महेश बस्नेत, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही–५ बाट खिमलाल भट्टराई, प्यूठानबाट सूर्य थापा एकल सिफारिस भएका थिए । इलाम–२ बाट सुहाङ नेम्वाङ, सिरहा–३ बाट लीलानाथ श्रेष्ठ, सल्यानबाट गुलाबजंग शाह, बाँके–१ बाट सूर्य ढकाल, सुर्खेत–१ बाट ध्रुव शाही, सुर्खेत–२ बाट कुलमणि देवकोटा, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्ना उम्मेदवार भएका छन् । 

नेकपामा ५० प्रतिशत युवा उम्मेदवार बन्ने दाबी

नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने भएको छ । नेकपा नेता वर्षमान पुनले सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष उम्मेदवार बनाइने बताए । नेकपाले यस पटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने उनले जानकारी दिए । ‘यस पटक ५० प्रतिशत युवा उम्मेदवार पुर्‍याइनेछ,’ उनले भने, ‘एकभन्दा बढी उम्मेदवार भएका क्षेत्रमा छलफलबाट सहमति निकालिनेछ ।’ नेकपाका अर्का नेता बेदुराम भुसालले एकल सिफारिस भएका र एकभन्दा बढी भएका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण थालिएको बताए । 

नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित भएको छ । गत आम निर्वाचनमा दाहाल गोरखा–२ बाट र नेपाल रौतहट–१ बाट विजयी भएका थिए । दाहाललाई नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुमपूर्व र कैलाली–३ बाट प्रतिनिधिसभाका लागि सिफारिस गरिएको थियो ।

नेकपाका अन्य नेताहरू नारायणकाजी श्रेष्ठ सर्लाही–३, वामदेव गौतम बर्दिया–१ बाट उम्मेदवार हुने निश्चित जस्तै छ । एमाले पूर्वउपाध्यक्ष एवं नेता भीम रावल अछाम–१ बाट उम्मेदवार हुने निश्चित छ । नेता वर्षमान पुन रोल्पाबाट उम्मेदवार हुने भएका छन् । त्यस्तै, प्रकाश ज्वाला पुरानै स्थान सल्यानबाट उम्मेदवार हुने भएका छन् । पुन र ज्वालाले गत निर्वाचनमा ती क्षेत्रबाट जितेका थिए । 

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चितवन–३ मा नेकपाबाट उम्मेदवार बन्ने तयारी छ । संयोजक दाहाल–पुत्री उनले मेयरबाट राजीनामा दिएर उम्मेदवार दिने तयारी गरेकी छन् । २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट संयोजक दाहाल विजयी भएका थिए । दाहालकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट उठ्ने निश्चित छ । 

नागरिक उन्मुक्तिबाट एकता भई नेकपामा आएका लालवीर चौधरी बर्दिया–२, राष्ट्रिय मुक्ति पार्टीबाट समाहित भएका अभियन्ता सुमन सायमी काठमाडौं–८ बाट उठ्ने तयारी छ । झापा–५ मा ओलीको क्षेत्रमा नेकपाले अखिलका पूर्वअध्यक्ष रञ्जित तामाङ, जुम्लामा नरेश भण्डारी, कैलाली–५ मा प्रेम आले, बाजुरामा प्रकाश शाह, डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको थियो ।

त्यस्तै पवर्तबाट मनहरि तिम्सेना, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल उम्मेदवार हुने भएका छन् । दोलखाबाट विशाल खड्का, सिन्धुली–२ बाट राजन दाहाल, ललितपुर–३ बाट राजकाजी महर्जन, भक्तपुर–२ बाट रामप्रसाद सापकोटा, रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने निश्चित छ । त्यस्तै गोरखा–१ बाट हरिराज अधिकारी र गोरखा–२ बाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले टिकट पाएका छन् । नेता देव गुरुङ लमजुङबाट सिफारिस भएका छन् ।

रास्वपामा उम्मेदवार छनोट तीव्र

रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोट तीव्र पारेको छ । रास्वपाले उम्मेदवारीका लागि पार्टीभित्रैबाट खुला दरखास्त मागेको थियो । २६ पुससम्मको समयसीमाभित्र १६५ क्षेत्रकै लागि करिब ७ सयले निवेदन दिएको रास्वपा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए । रास्वपाले यसअघि रूपन्देही–३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचन स्थगित भए पनि उनी त्यो क्षेत्रको स्वतः उम्मेदवार हुनेछन् । ‘उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको छ,’ उपसभापति वाग्लेले भने ।

रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बन्नेछन् । उनी २०७९ को निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार बन्दै छन् । मेयरबाट राजीनामा दिएर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । रास्वपा उपसभापति डीपी अर्याल काठमाडौं–९, विराजभक्त श्रेष्ठ काठमाडौं–८, शिशिर खनाल काठमाडौं–६, उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१, महामन्त्री कबिन्द्र बुर्लाकोटी गोरखा–२, दीपक बोहरा कञ्चनपुर–२, हरि ढकाल चितवन–१ बाट उम्मेदवार बन्नेछन् । 

राप्रपा, जसपा नेपाल, जनमत र उज्यालो नेपाल आआफ्नो तयारीमा

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ बाट उठ्नेछन् । राप्रपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने उनले बताए । ‘सबै क्षेत्रमा उम्मेदवार उठाउनेछौं,’ उनले भने । जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्तिबीच मोर्चा बनाएर चुनावमा जाने सहमति भएको छ । जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा उम्मेदवार छनोट भइरहेको नेता शरतसिंह भण्डारीले जानकारी दिए । ‘हामी मोर्चाबाट उम्मेदवार बनाउँछौं । छलफल हुँदै छ,’ उनले भने ।

कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी पनि उम्मेदवार छनोटमा लागेको छ । घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने निश्चित छ । जनमत पार्टी पनि प्रत्यक्ष उम्मेदवार छान्ने प्रक्रियामा लागेको छ । जनमत अध्यक्ष सीके राउत सप्तरी–२ बाट उम्मेदवार बन्नेछन् । प्रगतिशील लोकतान्त्रिक पार्टी पनि उम्मेदवार छनोटमा लागेको छ । प्रलोपाका जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवार बन्नेछन् ।

दलहरूबाट हालसम्म निश्चित भएका उम्मेदवार

एमाले 

कोशी

अइन्द्रसुन्दर नेम्वाङ, पाँचथर

काजिमान कागते, इलाम–१

सुहाङ नेम्वाङ, इलाम–२

रामचन्द्र उप्रेति, झापा–१

देवराज घिमिरे, झापा–२

मनोज ताम्ली, झापा–४

केपी शर्मा ओली, झापा–५

डा. अर्जुन कार्की, संखुवासभा

राजेन्द्र राई, धनकुटा

शेरधन राई, भोजपुर

भानुभक्त ढकाल, तेह्रथुम

सूर्य पन्दाक, सुनसरी–१

भगवती चौधरी, सुनसरी–४

घनश्याम खतिवडा, मोरङ–१

दिलीप बगेडिया, मोरङ–२

दिलीप राई, मोरङ–३

जीवन घिमिरे, मोरङ–४

कल्पना राई, सोलुखुम्बु

अस्मिता थापा, ओखलढुंगा

दुर्गा थापा स्वोती, उदयपुर–१

अमर रायमाझी, उदयपुर–२

देवविक्रम राई, खोटाङ

मधेश

सुमन प्याकुरेल, सप्तरी–१

सतिश सिंह, सप्तरी–२

ताराकान्त चौधरी, सप्तरी–३

बालकृष्ण चौधरी, सप्तरी–४

केदार यादव, सिरहा–१

नवीनकुमार यादव, सिरहा–२

लीलानाथ श्रेष्ठ, सिरहा–३

बिल्टु यादव, सिरहा–४

रामचन्द्र मण्डल, धनुषा–१

उमाशंकर अग्रहरि, धनुषा–२

जुली महतो, धनुषा–३

रघुवीर महासेठ, धनुषा–४

लक्ष्मी महतो कोइरी, महोत्तरी–१

रामपरीक्षण यादव, महोत्तरी–२

सरोज यादव, महोत्तरी–४

हरि उप्रेती, सर्लाही–३

अजय गुप्ता, रौतहट–१

शैलेन्द्र साह, रौतहट–२

कुन्दन कुशवाहा, रौतहट–३

रामजी शाह, रौतहट–४

अच्युत मैनाली, बारा–१

बलवीर चौधरी, बारा–२

ज्वाला शाह, बारा–३

किसान श्रेष्ठ, बारा–४

प्रमोद जैसवाल, पर्सा–३

जालिम मियाा अन्सारी, पर्सा–४

बागमती

प्रदीप केसी (कटुवाल), सिन्धुली–१

मनोजजंग थापा, सिन्धुली–२

माधवप्रसाद ढुंगेल, रामेछाप

पार्वत गुरुङ, दोलखा

आङदोर्जे शेर्पा, सिन्धुपाल्चोक–१

शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२

अमित लामा, काभ्रे–१

भूमि त्रिपाठी, धादिङ–१

धनबहादुर घले, धादिङ–२

बद्री मैनाली, नुवाकोट–१

केशव पाण्डे, नुवाकोट–२

प्रेमबहादुर तामाङ, रसुवा

रामेश्वर राना, मकवानपुर–१

महेश बर्तौला, मकवानपुर–२

कृष्णराज (कमल) पाठक, चितवन–१

अस्मिन घिमिरे, चितवन–२

शंकरराज थपलिया, चितवन–३

मोहन रेग्मी, काठमाडौं–१

मणिराम फुयाल, काठमाडौं–२

रामेश्वर फुयाल, काठमाडौं–३

अमनकुमार मास्के, काठमाडौं–६

राजेश शाक्य, काठमाडौं–८

विनोद श्रेष्ठ, काठमाडौं–१०

चेतनाथ सञ्जेल, ललितपुर–१

प्रेमबहादुर महर्जन, ललितपुर–२

सोमप्रसाद मिश्र, भक्तपुर–१

महेश बस्नेत, भक्तपुर–२

गण्डकी

भागीरथ सापकोटा, नवलपुर–१

तिलबहादुर महत क्षेत्री, नवलपुर–२

आर.सी. लामिछाने, गोरखा–१

मिलन गुरुङ, गोरखा–२

पृथ्वी सुब्बा गुरुङ, लमजुङ

भगवती न्यौपाने, तनहुँ–१

केदार सिग्देल, तनहुँ–२

मीनप्रसाद गुरुङ, स्याङ्जा–१

खिमबहादुर थापा, स्याङ्जा–२

हरिकृष्ण श्रेष्ठ, म्याग्दी

वैणबहादुर क्षेत्री, कास्की–१

कृष्ण थापा, कास्की–२

दामोदर बैरागी, कास्की–३

हिरा केसी, बागलुङ–१

मञ्जु शर्मा चालिसे, बागलुङ–२

इन्द्रधारा बिष्ट, मुस्ताङ

पोल्देन सोताङ गुरुङ, मनाङ

पदम गिरी, पर्वत

लुम्बिनी

रामप्रसाद पाण्डे, नवलपरासी–१

भगवतीप्रसाद यादव, नवलपरासी–२

बासुदेव घिमिरे, रूपन्देही–३

खिमलाल भट्टराई, रूपन्देही–५

विश्राम चौधरी, कपिलवस्तु–१

वीरेन्द्र कनौडिया, कपिलवस्तु–२

घनश्याम पाण्डे, दाङ–३

सूर्य ढकाल, बाँके–१

दलबहादुर सुनार, बाँके–२

सालिकराम अधिकारी, बर्दिया–१

विमला विक, बर्दिया–२

नारायण आचार्य, पाल्पा–१

विष्णुप्रसाद पौडेल, पाल्पा–२

गोकुल घर्ती, रोल्पा

सूर्यबहादुर थापा, प्यूठान

पीताम्बर भुसाल, अर्घाखाँची

प्रदीप ज्ञवाली, गुल्मी–१

गोकर्ण बिष्ट, गुल्मी–२

कर्णाली

गुलाबजंग शाह, सल्यान

नन्दराम देवकोटा, रुकुम पश्चिम

ध्रुव शाही, सुर्खेत–१

कुलमणि देवकोटा, सुर्खेत–२

नागेन्द्र शाही (नेसनल), कालिकोट

शान्तिलाल महत, जुम्ला–१

शान्तिबहादुर महत, जुम्ला–२

पूर्णबहादुर रोकाया, मुगु

दल फडेरा, हुम्ला

लंक रोकाया, डोल्पा

रवीन्द्रराज शर्मा, दैलेख–१

लक्ष्मीराज शर्मा, दैलेख–२

डम्मरबहादुर सिंह, जाजरकोट

सुदूरपश्चिम

द्वारिका न्यौपाने, कैलाली–१

सूर्यबहादुर थापा, कैलाली–२

गौरीशंकर चौधरी, कैलाली–३

लेखराज भट्ट, कैलाली–४

यज्ञराज ढुंगाना, कैलाली–५

कमला बोहरा, कञ्चनपुर–१

वचनबहादुर सिंह, कञ्चनपुर–२

दीपक भट्ट, कञ्चनपुर–३

झपटबहादुर बोहरा, अछाम–१

यज्ञ बोगटी, अछाम–२

लालबहादुर थापा, बाजुरा

दीपक धामी, डोटी

चक्र स्नेही, डडेलधुरा

अफिलाल ओखेडा, बझाङ

दामोदर भण्डारी, बैतडी

गणेशसिंह ठगुन्ना, दार्चुला

 - बाँकी निर्वाचन आयोगले टुंग्याउने

नेकपा

पुष्पकमल दाहाल, रुकुम पूर्व

माधवकुमार नेपाल, रौतहट–१ 

नारायणकाजी श्रेष्ठ, सर्लाही–३

वामदेव गौतम, बर्दिया–१ 

भीम रावल, अछाम–१ 

वर्षमान पुन, रोल्पा 

प्रकाश ज्वाला, सल्यान

रेणु दाहाल, चितवन–३ 

सुमन सायमी, काठमाडौं–८ 

बिना मगर, कञ्चनपुर–१ 

रञ्जित तामाङ, झापा–५ 

नरेश भण्डारी, जुम्ला 

प्रेम आले, कैलाली–५ 

माधव सापकोटा, सिन्धुपाल्चोक–१ 

युवराज दुलाल, सिन्धुपाल्चोक–२ 

विशाल खड्का, दोलखा

राजन दाहाल, सिन्धुली–२

रामप्रसाद सापकोटा, भक्तपुर–२

गोपाल शर्मा, रुकुम पश्चिम

हरिराज अधिकारी, गोरखा–१

लेखनाथ न्यौपाने, गोरखा–२ 

रास्वपा

रवि लामिछाने, चितवन–२ 

बालेन्द्र शाह, झापा–५

डीपी अर्याल, काठमाडौं–९ 

स्वर्णिम वाग्ले, तनहुँ–१ 

कवीन्द्र बुर्लाकोटी, गोरखा–२

विराजभक्त श्रेष्ठ, काठमाडौं–८ 

दीपक बोहरा, कञ्चनपुर–२ 

हरि ढकाल, चितवन–१ 

राप्रपा

राजेन्द्र लिङ्देन, झापा–३ 

जनमत

सीके राउत, सप्तरी–२ 

उज्यालो नेपाल पार्टी

कुलमान घिसिङ, काठमाडौं–३

गंगा

Link copied successfully