कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘हामीले टुंगो लगाउने होइन, नेतृत्वले टुंगो लगाउने हो। किन यसो गरिएको हो, मलाई के थाहा।’
What you should know
काठमाडौँ — एमालेभित्र आगामी निर्वाचनका अधिकांश उम्मेदवार टुंगो लागिसक्दा पनि सचिवालयले केही निर्वाचन क्षेत्रमा भने निर्णय गर्न बाँकी राखेको छ।
अध्यक्ष केपी शर्मा ओलीले अन्तिम निर्णय गर्ने बताएपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित गोकुलप्रसाद बाँस्कोटाले टिकट पाउने–नपाउने विषयमा अन्यौलमा परेको छ।
लगातार दुई पटक काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित बाँस्कोटाको टिकट अध्यक्ष ओलीले ‘होल्ड’ गराएका छन्। बाँस्कोटाले काभ्रे–२ को टिकट किन रोकियो भन्नेबारे आफूलाई जानकारी नभएको बताए। कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘हामीले टुंगो लगाउने होइन, नेतृत्वले टुंगो लगाउने हो। किन यसो गरिएको हो, मलाई के थाहा।’
काभ्रेकै क्षेत्र नं. १ मा भने एमालेले अमित लामालाई उम्मेदवार बनाइसकेको छ। क्षेत्र नं. २ मा अध्यक्ष ओली निकट नेताहरूको नाम पनि चर्चामा रहेको छ। कुनै समय ओलीका विश्वासपात्र मानिने बाँस्कोटाले सो क्षेत्रबाट तीन पटक निर्वाचन लडेका छन्। वि.सं. २०७० मा पराजित भए पनि २०७४ मा भारी मतसहित विजयी भएका उनी २०७५ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए। मन्त्री भएका बेला सुरक्षा मुद्रण प्रेस खरिदसँग जोडिएको घुस प्रकरणमा मुछिएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।
७० करोड रुपैयाँ मागिएको भनिएको अडियो सार्वजनिक भएपछि उत्पन्न विवादका कारण उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। यद्यपि २०७९ को निर्वाचनमा भने उनी पुनः सोही क्षेत्रबाट विजयी भएका थिए।
पछिल्ला दुई वर्षयता ओली–बाँस्कोटा सम्बन्ध चिसिएको बताइन्छ। पार्टीभित्र फरक मत राख्दै आएका बाँस्कोटा गत मंसिरमा भएको एमाले महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवार बनेर पराजित भएका थिए।
अध्यक्ष ओलीले हाल ईश्वर प्यानलका नेताहरूको टिकट होल्ड गरिरहेको आरोप पनि पार्टीभित्र उठ्न थालेको छ। यसबारे बाँस्कोटाले भने, ‘हामीले गरेको विकासका कामलाई नेतृत्वले बुझ्नुपर्छ। लोकतान्त्रिक पार्टीमा हिजो उहाँहरूले नै फरक मत राख्नुभएको थियो, हामीले पनि त्यही गरेका हौं। शक्तिमा रहेकाहरूलाई टिकटको विषयमा प्रश्न सोध्नुस्।’
