रामेछापमा एमाले उम्मेदवार माधवप्रसाद ढुङ्गेल

जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका आठ जना सम्भावित उम्मेदवारमध्ये अन्ततः केन्द्रीय सचिवालयले ढुङ्गेललाई उम्मेदवार चयन गरेको हो ।

माघ ४, २०८२

नवराज श्रेष्ठ

UML candidate Madhav Prasad Dhungel in Ramechhap

रामेछाप — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रामेछापमा माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ढुङ्गेललाई आधिकारिक उम्मेदवार तोकेको हो ।

ढुङ्गेल एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्जसमेत हुन् । जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका आठ जना सम्भावित उम्मेदवारमध्ये अन्ततः केन्द्रीय सचिवालयले ढुङ्गेललाई उम्मेदवार चयन गरेको हो ।

जिल्ला कमिटीले माधवप्रसाद ढुङ्गेलसहित पूर्व पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईं गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, निवर्तमान प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य परशुराम बस्नेत र पूर्व प्रदेश सदस्य केशर बुढाथोकीलाई उम्मेदवार सिफारिस गरेको थियो । सोही सूची बागमती प्रदेश कमिटीले पनि जस्ताको त्यस्तै केन्द्रमा पठाएको थियो ।

शनिबारको केन्द्रीय सचिवालय बैठकले रामेछापमा एमालेका तर्फबाट ढुङ्गेललाई उम्मेदवार बनाउने अन्तिम निर्णय गरेको एमाले रामेछाप प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए । रामेछाप प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र भएकाले यस निर्णयसँगै जिल्लामा चुनावी माहौल थप तातेको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully