हर्क शैलीले धरान र पूर्वमा बढायो चुनावी तापक्रम

हर्क साम्पाङको आफ्नै रचना र स्वरमा रहेको ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ गीत घन्किन थालेपछि मतदाताहरूले बुझ्छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष यहीं कतै आइपुगे।

माघ ४, २०८२

पर्वत पोर्तेल, गौरव पोखरेल, एलिना राई

Hark style raises election temperature in Dharan and East

What you should know

काठमाडौँ — नजिकै इटहरी र विराटनगरमा कुनै चुनावी चहलपहल छैन, धरानमा भने एकाबिहानै हर्क साम्पाङको गीत घन्किन्छ, श्रम संस्कृति पार्टीका नेता, कार्यकर्ता भोट माग्दै सडकमा निस्किन्छन् । हर्कको आफ्नै स्वरमा रहेको ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ गीतको धुनले मतदाताले बुझ्छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष यहीं कतै आइपुगे । 

धरान–९, दुर्गा चोकमा शुक्रबार दिउँसो ११ बजे यो गीत बज्दा कार्यकर्ता छमछमी नाचे, मेयर हर्क दुई हात जोडेर अभिवादन गर्दै निस्किए । तीन वर्षअघि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिँदा उनी यसैगरी धरानका गल्लीहरूमा देखिन्थे, तर त्यस बेला मोटरसाइकलमा हाते माइक बोकेर उनी एक्लै भाषण गरी हिँड्थे । 

अहिले पनि उनको साथबाट मोटरसाइकल छुटेको छैन, तर माहोल फेरिएको छ । उनी जता जान्छन्, त्यहीं भीड लाग्छ । त्यस बेला उनको भाषण सुन्ने कोही हुन्थेनन्, अहिले उनले गाएको आधुनिक गीतको धुन सुन्नेबित्तिकै घरघरबाट मानिस सडकमा निस्किन थाल्छन् । 

काँधमा हाते माइक, ‘हर्क साम्पाङ– अ रिभोलुसन’ लेखिएको टिसर्ट अनि कालो ट्र्याक सुटमा हर्क मतदाता भेट्दै हिँडिरहेका छन् । ‘माटोमा भोट हाल्नुपर्छ ल यसपालि’ भन्दै चाँदनी चोकको एउटा किराना पसलभित्र उनी छिरे, ४२ वर्षका अमृत राई फिस्स हाँसे । लोकतन्त्र, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीसहितका एजेन्डा समेटिएको पर्चा थमाएर साम्पाङ निस्किहाले । 

सडक किनारमा एक महिला स्कुटरमा बसिरहेकी थिइन्, हर्क दुई हात जोडेर त्यहीं पुगे । भने, ‘स्कुल जान ढिला भयो है !’ उनी शिक्षिक रहिछिन् । सायद हर्कले पोसाकका कारण उनलाई चिनेका थिए, माटोलाई मत दिन भन्दै पर्चा थमाए । 

हर्क अगाडि बढिसकेपछि कान्तिपुरसँग संक्षिप्त कुरा गर्दै हेमा लिम्बू (३१) ले सुनसरी–१ बाट हर्कले नै चुनाव जित्ने बताइन् । ‘अहिलेसम्म पार्टीका नेताहरू त हिँडेको देखेको छैन, उहाँचाहिँ भोट माग्दै हिँड्न थालिसक्नुभयो,’ एक्वा सेकेन्डरी स्कुलकी शिक्षक लिम्बूले भनिन्, ‘हुन त अचेल भोट पनि व्यक्ति हेरेर हालिन्छ, पार्टीलाई दिने भन्ने हुँदैन ।’ 

धरानको आँपगाछी चोकमा पुग्दा माइकमै नारा घन्कियो, ‘भोट केमा ? भोट केमा ?’ कार्यकर्ताले जवाफ फर्काइरहे, ‘माटोमा ।’ टोलीमा हर्क र उनका कार्यकर्ताले भोट मात्र मागिरहेका थिएनन, बोरा बोकेर सरसफाइ पनि गरिरहेका थिए ।

Hark style raises election temperature in Dharan and East

‘म त उहाँले पहिले पानी माग्दै गरेको आन्दोलनमा पनि सहभागी हुन्थें, अहिले पनि उहाँका लागि भोट मागिरहेकी छु,’ धरान–३, भानु स्मृति चोककी उषा लिम्बू (५०) ले भनिन्, ‘चुनाव त उहाँले यसरी नदौडिए पनि जित्नुहुन्छ, तर गाउँटोल सफा होस् भनेर सरसफाइ गर्दै घरदैलोमा हिँडेका हौं ।’ धरानमा राम्रो काम गरेकाले हर्कलाई अब प्रधानमन्त्री बनाउने धोको रहेको लिम्बूले बताइन् । 

हर्क अर्को घरमा छिरे, माटोको ‘स्टिकर’ टाँस्दै तिलमा खातुन (६५) सँग मत मागेर हिँडे । चुनावी टोली हिँडिसकेपछि खातुनले कान्तिपुरसँग कुरा गर्दै आफूसँग नागरिकता नै नभएको बताइन् । 

प्रचारप्रसार टोलीको गति अलि बढी भयो, हर्कचाहिँ पछिल्तिरै छुटे । कार्यकर्ताले बिस्तारै हिँड्न संकेत गरे । हर्क आफ्नै सुरमा थिए, प्रत्येक घरमा प्रवेश गरिरहेका थिए । सडकछेउ केरा बेचिरहेका धरान–१६ का वृद्ध महिमान बस्नेतलाई उनले ‘पम्प्लेट’ दिन खोजे । बस्नेतले पहिल्यै आफूसँग एउटा भएको बताए । तर हर्कले यो पनि राख्नु भन्दै थमाउन खोजे । फेरि उनले अरूलाई दिनू नि भने तर हर्कले मानेनन् ।

जबर्जस्ती कार्टुन बक्समा राखिदिएपछि बस्नेतले ‘पम्प्लेट’ फ्याँकिदिए । हर्क अगाडि बढे । उनी अर्को पसलतिर छिरेर मत माग्न थाले, कार्यकर्ताले भने ‘नफ्याँकेको भए हुन्थ्यो’ भन्दै बस्नेतलाई सम्झाउन खोजे । ‘अरूलाई दिएको भए हुन्थ्यो,’ अर्का कार्यकर्ताले भनेपछि उनले आफूले पहिल्यै पाइसकेको भन्दै मुख बंग्याए । प्रचार टोली गइसकेपछि कान्तिपुरसँग बस्नेतले भने, ‘चुनाव त उनैले जित्छन् तर उनी हठी छन् ।’ 

घरदैलोमा हिँडिरहँदा हर्कले ‘मलाई मत दिनू’ भनेको चाहिँ सुनिएन, माटो चिह्नको ‘ब्रान्डिङ’मै उनी बढी जोड दिइरहेका थिए । हर्कले जेन–जी आन्दोलनपछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी खोलेका हुन् । 

झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई हराउने दाबी गर्दै आएका उनले धरानबाहिरबाट उठ्ने पो सोचेका छन् कि भन्ने चर्चा पनि चलेको छ । तर उनले आफू आफ्नै माटोबाट चुनाव लड्ने बताए । ‘मैले सुनसरी–१ बाहेक अरू सोचेको छैन, झापा–५ मा हाम्रा उम्मेदवार समीर तामाङ नै काफी छन्,’ चुनावी अभियानकै क्रममा हर्कले कान्तिपुरसँग भने । हर्कले मेयरबाट राजीनामा दिन भने बाँकी छ । 

Hark style raises election temperature in Dharan and East

पशुपति चोकको एउटा घरभित्र हर्क प्रवेश गरे । भित्रबाट ४९ वर्षीय अमर गुरुङ ‘नमस्कार’ गर्दै निस्किए, हर्कले अन्यत्र जस्तै प्रचार सामग्री बाँडे, सहयोग गर्न आग्रह गरे । गुरुङले मुन्टो हल्लाए, हर्क गएपछि उनले अहिलेसम्म अरू पार्टीका उम्मेदवार घरमा नआएको बताए । ‘उहाँको सबैतिर राम्रो छ, यहाँ जित्नुहुन्छ, फरक नै पर्दैन,’ गुरुङले भने, ‘पानीको समस्या समाधान गरेकाले उहाँलाई भोट फरक नै पर्दैन ।’ 

ठ्याक्कै तीन वर्षअघिसम्म धरानको अवस्था काकाकुल थियो, धरानवासी पानी लिन सिटी सफारी, टेम्पो चढेरसमेत २/३ किलोमिटर टाढा जानुपर्थ्यो । धेरैले महिनामा ५/६ पटक ट्यांकरको पानी किन्नुपर्थ्यो । त्यतिबेला हर्कले धराने जनतालाई निःशुल्क खानेपानी पिलाउने नारा नै अघि सारेर चुनाव जिते । ‘अरू नेताले चुनावका बेला यो गर्छु, त्यो गर्छु भन्थे, तर कहिल्यै पूरा गर्थेनन् । तर उहाँले जे भन्नुभयो, त्यो पूरा गरिछाड्नुभयो,’ स्वामी चोकका ६८ वर्षीय राधे कार्कीले भने, ‘त्यतिबेला टाढाबाट पानी ल्याउनुपर्थ्यो, अहिले धारामै पानी आउँछ ।’ 

हर्क मेयर भएपछि अरू जनप्रतिनिधिजस्तो प्रशासनिक काममा मात्र अल्झिएर आफ्नो कार्यालयमा बसिरहेनन् । जनताको तिर्खा मेटाउन आफैंले श्रमदान अभियान चलाउन थाले, हरेक शनिबार आफैं ढुंगा बोकिरहेको देखिन थाल्यो । ‘कति दिन त मेरो हातमा ठेला हुन्थे, तर त्यो देख्दा मलाई ढुंगाको मान्छे हुँ कि जस्तो लाग्थ्यो,’ हर्क स्वयम् भन्छन्, ‘पानी माग्दै सिंहदरबार पुगें, अनेकतिर धाएँ । तर सहयोग नभएपछि स्थानीय स्रोतबाट व्यवस्थापन गर्न लागिपरें ।’ 

Hark style raises election temperature in Dharan and East

हर्कको नेतृत्वमा ९९ दिनसम्म चलेको श्रमदानपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको जंगल हुँदै धरानमा पानी ल्याइयो । कोकाहा खोलाको पानी ४० किलोमिटर परबाट ल्याएपछि जेठ २०८० मा धरानवासीले नाचगान गरेका थिए, खुसियाली मनाउँदै टोलको धारामा आएको पानीमा नुहाएका थिए । ‘उहाँले गरेको त्यो काम त सबैले मान्नैपर्छ,’ कार्कीले भने, ‘त्यसैले पनि होला, अहिलेसम्म अरू पार्टीका मान्छे पनि आएका छैनन् ।’ 

मेयर भएपछि हर्क एक पटक धरानमा विमानस्थल बनाउने भन्दै कस्सिएका थिए । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट साथ पाएनन् । अनेक पटक सिंहदरबार धाउँदा पनि सकारात्मक जवाफ नआएपछि उनी फर्किएका थिए । धरानबाट ५५ किलोमिटरको दूरीमा रहेको विराटनगरमै विमानस्थल हुँदाहुँदै अर्को विमानस्थल थप्नु व्यावहारिक नहुने सिंहदरबारले बताए पनि मतदाता उनको प्रयासप्रति मक्ख नै देखिन्छन् । ‘उहाँले हाम्रा लागि धेरै प्रयास गर्नुभएको छ,’ सडक व्यवसायी मणिकुमार राउत (५२) ले भने, ‘उहाँसँग जनता खुसी छन् ।’ 

राउतले भने आउने चुनावमा कसलाई मत दिने भन्ने टुंगो गरिसकेका छैनन् । पुरानो अस्पताल चोकमा मकै बेचेर गुजारा चलाउँदै आएका उनी पहिले जस्तो पार्टीलाई भने भोट नदिने बताउँछन् । ‘व्यक्तिलाई नै दिने हो, को–को उठ्छन्, त्यो पनि हेरौं न,’ उनी भन्छन् । 

Hark style raises election temperature in Dharan and East

गंगामाया कार्की (५६) ले भने हर्कप्रति गुनासो सुनाइन् । ‘क्षेत्री, बाहुनले भोट हालेनन् भन्छन्, उनीहरूका मान्छेले हामीलाई सहयोग गर्दैनन्,’ उनले भनिन्, ‘जनजातिलाई मात्र उनले हेरेका छन् ।’ आफूलाई कस्तो किसिमको सहयोग चाहिएको थियो र कसले सहयोग गरेन भन्नेचाहिँ उनले खुलाइनन् । 

धरान–६, पानबारीका ७० वर्षीय रामप्रसाद रिजाल भने राष्ट्रवादी शक्तिलाई भोट दिने बताउँछन् । ‘कांग्रेस, एमाले कसैले केही गरेनन्, म राष्ट्रवादी शक्तिलाई भोट दिन्छु,’ उनी भन्छन् । धरानमा हर्कले गरेको कामप्रति भने आफू सन्तुष्ट रहेको उनको भनाइ छ । 

नग्मा फेन्सी स्टोर चलाइरहेका मोहम्मद सोयब (३१) धरानमा हर्कले गरेको कामबाट नेताहरूले के गर्नुपर्छ भन्ने देखिएको बताउँछ । बालेन्द्र शाहको समेत प्रसंग जोड्दै उनी भन्छन्, ‘काठमाडौंमा बालेन दाइ, यहाँ हर्क दाइ, नयाँलाई छान्दा के हुने रहेछ भन्ने सबै बुझिसकेका छन्, यसपालि कसैले दायाँबायाँ गर्छन् जस्तो लाग्दैन ।’ आफूले पहिले कांग्रेसलाई भोट दिने गरेको पनि उनले सुनाए । 

Hark style raises election temperature in Dharan and Eastधरानको घण्टाघरछेउमा सिलाइ व्यवसाय गरिरहेका २४ वर्षीय विक्की परियारले रोजगारीको सवाल उठाए । आफ्नो ठाउँमा रोजगारीको अवसर नपाएपछि कतारको ग्यास प्लान्टमा दुई वर्ष काम गरेर फर्किएका विक्कीले नेपालमै कमाएर बस्न सक्ने वातावरण बनाउने उम्मेदवार चाहिएको बताए । यस क्षेत्रमा भने हर्क आइपुगेका छैनन् । उनले भने, ‘अहिलेसम्म कोही उम्मेदवार आएका छैनन् तर एक पटक म हर्कलाई नै भोट दिन्छु ।’ 

परियारले हर्कको विचार राम्रो लागेको तर आफूहरूका समस्या समाधान हुन बाँकी रहेको बताए । ‘यहीं घण्टाघरमा हेर्नुस् न, हामी दैनिक कर तिरेर बस्छौं, तर पानी पर्दा मेसिन उठाएर भाग्नुपर्ने स्थिति छ,’ उनले कान्तिपुरसँग भने, ‘कसैले यहाँ टिनसम्म हालिदिएको छैन, नगरपालिका पैसा उठाउँछ मात्र, हामीलाई केही गर्दैन ।’ 

धरान–१५ का मनीष महराले भने हर्कले जातीय राजनीति गरेको आरोप लगाए । ‘उहाँका पक्षमा राई, लिम्बू मात्रै छन् । दलित, मजदुरलाई यो पार्टीमा नल्याऊ भन्नुहुन्छ । पहिले उहाँ राम्रो हुनुहुन्थ्यो तर पछिल्लो समय जातीय कुरा बढी छ,’ पाइप र ड्रमको उद्योग चलाउँदै आएका उनले भने, ‘देश बनाउने भए उहाँ पनि बालेन दाइहरूसँगै एकजुट हुन सक्नुहुन्थ्यो तर हुनु भएन । उहाँ अलिकति घमण्डी पनि हुनुहुन्छ ।’ 

Hark style raises election temperature in Dharan and East

उनले हर्कको आलोचना गरिरहँदा छेउमा रहेका अरू भने मुखामुख गरिरहेका थिए । केहीबेरमा सुनिता परियार (४३) ले भनिन्, ‘अहिलेसम्म उहाँले गरेका काममा भन्ने ठाउँ केही छैन तर उहाँले गर्नुपर्ने काम अझै छन् ।’ 

हर्कको उदय हुनुअघि सुनसरी–१ लाई एमालेको आधार क्षेत्र मानिन्थ्यो । एमालेबाट जो चुनाव उठे पनि जित्छ भनिन्थ्यो । हुन पनि बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४८ सालमा भएको चुनावमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी सुनसरी–१ बाट निर्वाचित भएका थिए । २०५१ मा एमालेबाटै लीला श्रेष्ठ सुब्बाले जितिन्, जो पछि उपसभामुख भइन् । चर्चित कवि कुन्ता शर्मा एमालेबाट सुनसरी–१ मै उठेर २०५६ सालमा विजयी भएकी थिइन् । 

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका किरणकुमार राई विजयी भएका थिए । त्यसयता एमालेले जित्दै आएकामा २०७९ को चुनावमा एमालेले समर्थन गरेर जसपाका अशोक राईलाई जितायो । 

यसपालि भने हर्कको उम्मेदवारीले एमाले, कांग्रेस र वैकल्पिक राजनीतिमा उदाएको रास्वपासमेत दबाबमा परेका छन् । गएको निर्वाचनमा रास्वपा उम्मेदवार गोमा तामाङ (सरिन) १६ हजार ६०६ मतसहित दोस्रो स्थानमा आएकी थिइन्, माओवादी उम्मेदवार मुक्सामहाङ सुब्बाले १३ हजार ०८७ मत पाएका थिए । विजयी हुने अशोक राईको मत १७ हजार ५९ थियो । 

अहिले धरानमा रास्वपाको चुनावी गतिविधि देखिएको छैन । रास्वपा नेता तामाङ यसपालि पनि सुनसरी–१ बाट आकांक्षी छिन् । ‘उम्मेदवारको टुंगो लगाउने विषयमा पार्टीभित्र छलफल भइरहेको छ, सम्भवतः भोलि (आइतबार) टुंगो लाग्छ, त्यसपछि चुनावी गतिविधि अघि बढ्छ,’ उनले कान्तिपुरसित भनिन् । 

एमालेले सूर्य पन्धाकलाई सुनसरी–१ को टिकट दिएको छ । शनिबारको सचिवालय बैठकबाट उनको नाम टुंगो लगाइएको हो । पन्धाक लामो समय मोरङमा शिक्षक थिए । उनी दुई कार्यकालदेखि एमालेको प्रदेश कमिटी सदस्य छन् । ‘पार्टीले भर्खर उम्मेदवार टुंगो लगाउँदै छ, अब चुनावी अभियान सुरु हुन्छ,’ एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले भने ।

Hark style raises election temperature in Dharan and East

कांग्रेसबाट कोशी प्रदेश महामन्त्री उमेश थापासहित विनोद राई, माधव घिसिङ, सन्दीप श्रेष्ठ सिफारिस भएका छन् । पार्टीभित्र देखिएको समस्याले उम्मेदवार टुंग्याउने विषयमा अलमल भएको कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ बताउँछन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेदवार बनाएको छ ।

नेकपा कोशी प्रदेश कमिटीले शनिबार भट्टराईलाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारीको टिकट दिएको नेकपा धरान संयोजक उद्धव लिम्बूले बताए । भट्टराई धरान–१७ बाट दुई पटक निर्वाचित वडाध्यक्ष हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् अध्यक्ष सुदन किरातीसमेत यहीं उठ्ने चर्चा छ । उनी २०७९ को निर्वाचनमा तत्कालीन माओवादीको उम्मेदवारका रूपमा भोजपुरबाट विजयी भएका थिए । 

 अरू पार्टीले भर्खर उम्मेदवार टुंगो लगाइरहेका बेला हर्क हर्क आफैं पनि आफू नियमित बस्ने र शुभेच्छुकसँग भेटघाट गर्ने चिया पसल ‘ग्रिन टी’ बाट देशभरिका लागि टिकटसमेत बाँडिरहेका छन् । दलका कार्यक्रममा खाना खाने कुपनझैं लाग्ने कागजका चिकर्टोमा नाम र हस्ताक्षरसहित उनी चिर्कटो दिन्छन् । त्यो लिएर नजिकै रहेको सचिवालय गएपछि उम्मेवारले मनोनयन पत्र पाउँछन् । 

शुक्रबार बेलुकी कान्तिपुरसँग कुराकानी गर्ने क्रममा हर्कले देशभरि उम्मेदवारी दिने तयारी भइरहेको सुनाउँदै ओखलढुंगाका लागि उद्धवकुमार राईलाई टिकट दिए । ‘माटोबाट चुनाव लड्न पाउने भएँ, खुसी छु,’ राईको प्रतिक्रिया थियो । 

Hark style raises election temperature in Dharan and East

श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले पुरानो राजनीतिक दलबाट चुनाव लड्न उम्मेदवारले टिकट लिन काठमाडौं धाउने गरेकामा अहिले धरानमा लाइन लाग्ने गरेको सुनाए । ‘हाम्रो पार्टीले सबथोक काठमाडौंमा मात्र हुन्छ भन्ने भाष्य चिरेको छ, हाम्रो पार्टीका आकांक्षी अहिले टिकट लिन धरान आइरहेका छन्,’ उनले भने, ‘सुदूरपश्चिम र कर्णालीका लागि समेत अध्यक्षले यहींबाट टिकट बाँडिराख्नुभएको छ ।’

राई कुनै बेला राष्ट्रवादी केन्द्र नेपालमा थिए । उनले पहिले मंगोल नेसनल अर्गनाइजेसनमा समेत रहेर राजनीति गरेका थिए । ‘कैलाली, डडेलधुरा, सुर्खेत, जाजरकोट सबैतिर टिकट बाँडिसक्यौं,’ उनले भने, ‘यसपालि देशैभरिबाट जितेर राष्ट्रिय पार्टीका रूपमा उदाउँछौं ।’ 

श्रम संस्कृति पार्टीले चुनावी अभियान तीव्र पारेको सुनसरी–१ मा धरान उपमहानगरपालिकाका २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा छन् । यस क्षेत्रमा १ लाख ५० हजार २३२ मतदाता छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully