कांग्रेसको नीति र नेतृत्वको संघर्षले निर्वाचनको कार्यतालिका प्रभावित गर्न हुँदैन : राजनीतिक दलका नेताहरू

एमाले, नेपाली कम्युनिस्ट पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालका नेताहरूले कांग्रेस विवादले निर्वाचन प्रभावित गर्न नहुने उल्लेख गर्दै भरपर्दो निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Congress's policies and leadership struggles should not affect the election schedule: Political party leaders

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनले अन्य राजनीतिक दलको ध्यान खिचेको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलहरू निर्वाचनको तयारीमा लागिरहेका बेला कांग्रेसमा संस्थापन र इतर पक्ष नेतृत्व लिन रस्साकस्सी छ । 

प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका निर्धारित मितिमै अघि बढिरहेका बेला कांग्रेसमा नीति र नेतृत्व चयनका लागि विशेष महाधिवेशन जारी छ । यसै सन्दर्भमा एमाले, नेपाली कम्युनिस्ट पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालका नेताहरूले कांग्रेस विवादले निर्वाचन प्रभावित गर्न नहुने उल्लेख गर्दै भरपर्दो निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन् । दलभित्र अन्तरसंघर्ष हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनीहरूले त्यसलाई व्यवस्थापन गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

एमालेले सरकार र दलहरूले निर्वाचनको वातावरण बनाउन भूमिका खेल्नुपर्ने जनाएको छ । एमाले सचिव महेश बस्नेत सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको अवस्थामा कांग्रेसको अन्तरसंघर्षले निर्वाचनमा प्रभावित पार्न खोजेको आशंका भएको बताए । 

‘सरकारले अझै पनि निर्वाचनको वातावरण बनाउन सकेको छैन । कांग्रेसको अन्तरसंघर्षले कुन रुप लिने हो । त्यसले जटिलता थप्न सक्छ । निर्वाचनको वातावरण बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘एमालेको संसद् पुन:स्थापनाको माग कायम छ । निर्वाचनको तयारी पनि सँगै गरेका छौँ । हामी दुवै अवस्थाको सामना गर्न तयार छौं ।’

एमाले नेता प्रदीप ज्ञवालीले लोकतान्त्रिक पार्टीमा विभाजन आउन नहुने उल्लेख गर्दै निर्वाचन कार्यतालिकालाई प्रभाव पार्न नहुने बताए । ‘कांग्रेसले आन्तरिक संघर्षलाई समाधान गरी निर्वाचनमा जानु उपयुक्त हुन्छ,’ उनले भने ।

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले लोकतन्त्रका लागि कांग्रेस विभाजन हुन सक्ने उल्लेख गर्दै आन्तरिक मामला समाधान गरी निर्वाचनको तयारीमा जानु उचित हुन्छ । ‘कांग्रेसको आन्तरिक द्वन्द्व, मामला र अन्य कुराले निर्वाचन कार्यतालिका प्रभावित हुनुहुँदैन,’ उनले भने, ‘कांग्रेसले प्रतिनिधि र कार्यकर्ताको भावना अनुसार आन्तरिक मामला समाधान गर्दा राम्रो हुन्छ । लोकतन्त्रका लागि लडेका पार्टी विभाजन हुनु दुर्भागय हुन्छ । यतिबेला आन्तरिक एकता बलियो बनाएर जानु राम्रो हुन्छ ।’

नेकपा अर्का नेता देव गुरुङले कांग्रेसभित्रको द्वन्द्व पेचिलो भएकाले त्यसको प्रभाव निर्वाचनमा पर्न नहुने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोबिता गौतमले मुलुक निर्वाचनमा अघि बढिसकेकाले कांग्रेसले आन्तरिक चुनौती समाधान गरी अघि बढ्नुपर्ने बताए ।

‘मुलुक निर्वाचनमा अघि बढिसकेको छ । रास्वपाले तोकिएकै समयमा निर्वाचनका लागि तयारीमा लागिसकेको छ,’ उनले भनिन्, ‘कांग्रेसले आन्तरिक चुनौती पार गरी निर्वाचनको तयारीमा लाग्नु उचित हुन्छ ।’

उनले निर्वाचन कार्यतालिका परिवर्तन गरी गलत नजिर बसाल्न नहुने बताइन् । 

‘निर्वाचन कार्यतालिका परिवर्तन भए गलत नजिर बस्छ । त्यसैले तोकिएकै समयमा निर्वाचन हुनुपर्छ,’ उनले भनिन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले कांग्रेसको विशेष महाधिवेशनको विवाद भए पनि निर्वाचन प्रभावित हुने सम्भावना नभएको बताए । ‘महाधिवेशनले एउटा निर्णय गर्ला नै । तर मुलुक निर्वाचन हुने बाटोमा अघि बढ्छ,’ उनले भने ।

जनता समाजवादी नेपाल प्रवक्ता मनिष सुमनले राजनीतिक संकटको निकास निर्वाचन भएकाले कांग्रेस संस्थापन र इतर पक्ष यसबारे जानकार भएको बताए । 

‘कांग्रेस विवाद चुनावमा प्रभाव पार्नु हुँदैन । पार्टीको विवाद आन्तरिक विषय हो । यसले चुनाव टार्नु हुँदैन,’ उनले भने, ‘चुनाव समयमै हुनुपर्छ । राजनीतिक संकटको एक मात्र निकास निर्वाचन हो ।’

कान्तिपुर

Link copied successfully