कांग्रेस विशेष महाधिवेशनमाथि टिप्पणी : योगेशको ‘सलाम’ देखि महेश बस्नेतको ‘कटाक्ष’ सम्म

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्रैबाट सुरु गरेको वैचारिक र संगठनात्मक 'विद्रोह'ले यतिबेला राजनीति तरंगित बनेको छ । एमाले नेताहरू र जेन-जी अगुवाहरूले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा रोचक टिप्पणी गरेका छन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Comments on the Congress Special General Convention: From Yogesh's 'Salute' to Mahesh Basnet's 'Satirical'

What you should know

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर राजनीतिक वृत्त तरंगित बनेको छ । विशेषतः थापा र शर्माको पार्टीभित्रैबाट सुरु गरेको वैचारिक र संगठनात्मक 'विद्रोह'ले यतिबेला राजनीति तरंगित बनेको हो ।

'कांग्रेस लास र दासहरूको पार्टी होइन' भन्दै विशेष महाधिवेशनको पक्षमा उभिएका महामन्त्रीद्वयको कदमलाई लिएर प्रमुख प्रतिपक्षी एमालेका नेताहरू र नयाँ पुस्ताका 'जेन-जी' अगुवाहरूले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा रोचक टिप्पणी गरेका छन् ।

एमालेका उपमहासचिव योगेश भट्टराईले कांग्रेस महामन्त्रीद्वयको कदमप्रति ऐक्यबद्धता जनाउँदै प्रशंसा गरेका छन् । विगतमा आफूहरूले पनि पार्टीभित्र आवाज उठाएको स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले बोल्यौँ, केही गर्‍यौँ । तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो । सलाम मित्रहरू !'

त्यस्तै, एमालेकी पूर्व केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले कांग्रेसका युवा नेताद्वयलाई 'परिवर्तनका पक्षधर' भन्दै शुभकामना दिएकी छन् । उनले गगन र विश्वप्रकाशले आफ्नो काँधमा आएको युगीन राजनीतिक दायित्व सफलतापूर्वक पूरा गरेको भन्दै प्रशंसा व्यक्त गरेकी छन् ।

एमालेका नेतासँगै जेन-जी अगुवाहरुले विश्व गगनको विद्रोहप्रति सम्मान जनाएका छन् । जेन-जी अगुवा भावना राउतले कांग्रेसभित्रको यो हलचललाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरणको अवसरका रूपमा व्याख्या गरेकी छन् । उनले लेखेकी छन्, 'गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जवाफदेहीता हो । नेतृत्व प्रश्नबाट असहज हुनु र आलोचनात्मक आवाज दबाउन शक्ति प्रयोग गर्नुले परिवर्तनको आवश्यकता झन् स्पष्ट पार्छ ।' राउतका अनुसार यो साहस नेपाली कांग्रेसका लागि मात्र नभई देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात हुन सक्छ ।

अर्का जेन-जी अगुवा अर्णव चौधरीले कांग्रेसको विशेष महाधिवेशनले नागरिकमा आशा जगाएको भन्दै भविष्यको कार्यदिशाबारे प्रश्न गरेका छन् । 'कांग्रेसका नेताहरूले नागरिकसँग सिधा संवाद गर्न खोजेको र जेन-जीले उठाएका सुशासनका मुद्दा आत्मसात् गरेको महसुस भइरहेको छ,' उनले लेखेका छन्, 'भविष्यको सम्भावनातर्फ डोर्‍याउन उनीहरू तयार देखिएका छन्, तर अबको ठोस कदम के त ?'

गगन र विश्वको कदमलाई प्रशंसा मात्रै गरेका छैनन् एमाले भित्रकै नेताहरुले उनको टिप्पणीलाई लिएर विरोधसमेत गरेका छन् । एमाले सचिव महेश बस्नेतले भने गगन-विश्वप्रकाशको पछिल्लो अभिव्यक्तिप्रति कडा कटाक्ष गरेका छन् । संकटको बेला नेतृत्वको बचाउ नगरेको भन्दै उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'मानवीयतासमेत भुलेका एउटा 'लास' जसलाई हामीले आस र सास भरिदिएपछि आज केही मास जम्मा गरेर भन्न थालेछन् हामी लास र दास होइनौँ । इतिहासले अवश्य सोध्नेछ, लास होइन भने आस र सास कसले भरिदियो ?' उनले पार्टी नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता नभएको टिप्पणीसमेत गरेका छन्।

यस्तै, एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको आन्तरिक कलहलाई 'दासता' र 'स्वाभिमान'को कसीमा राखेर व्याख्या गरेका छन् । भूराजनीतिक स्वार्थ र अराजकताकाविरुद्ध उभिनु नै साहस भएको बताउँदै पोखरेलले लेखेका छन्, 'हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि 'दास' जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्, जसले आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।'

कान्तिपुर संवाददाता

Link copied successfully