एमाले उपमहासचिव लेखराज भट्टले भेनेजुएलामा अपनाइएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको पनि बताए।
काठमाडौँ — एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामाथि गरेको व्यवहारको एमालेले विरोध गर्ने बताएका छन्। उनले मंगलवार बसेको सचिवालय बैठकमा यस विषयमा कुराकानी भएको बताए।
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सैनिकले घरबाटै उठाएर लगेको विषयमा बैठकमा कुरा भएको बताउँदै उनले भने, 'मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ। अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन। यस्तो घटनाको हामी विरोध गर्दछौं। विश्व व्यवस्थातर्फ फर्किन हामी आह्वान गर्दछौं।'
भट्टले भेनेजुएलामा अपनाइएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको पनि बताए।
यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल देखि नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भूसालसम्म र एमाले महासचिव शंकर पोख्रेल देखि एमाले सचिव महेश बस्नेतसम्मले भेनेजुएलामाथि आक्रमणको निन्दा र विरोध गरेका थिए ।
गत शनिबार अमेरिकाले 'अपरेसन एब्सोल्युट रिजोल्भ' नाम दिइएको सैन्य मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सेफ हाउसबाट पक्राउ गरेको थियो । सोमबार न्यूयोर्क शहरको संघीय अदालतमा पेश गरिएका मदुरोले आफू 'निर्दोष' रहेको बताएका छन् । उनले आफूलाई ‘शिष्ट मानिस’ बताउँदै आफुलाइ काराकासस्थित घरबाटै अपहरण गरिएको पनि बताएका छन् ।
