नेताहरुले स्वतन्त्र तथा सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले आक्रमण गरेर राष्ट्रपतिलाई अपहरण गरेकोमा आपत्ति जनाउँदै उनको तत्काल रिहाइको माग गरेका छन् ।
काठमाडौँ — अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।
अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको अद्यावधिक विवरण आइसकेको छैन ।
यसै सन्दर्भमा नेपालका विभिन्न राजनीतिक दल एवं पार्टीका नेताहरुले स्वतन्त्र तथा सार्वभौमसत्तासम्पन्न मुलुक भेनेजुएलामाथि अमेरिकाले आक्रमण गरेर त्यहाँका राष्ट्रपतिको अपहरण गरेकोमा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन् । उनीहरुले कुनै एउटा देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लंघन भएको टिप्पणी गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टीले अमेरिकाको ट्रम्प प्रशासनले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि हालै गरेको सैन्य कारबाही तथा आक्रमणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको नेकपाको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलाका संवैधानिकरूपमा निर्वाचित राष्ट्रपति निकोलस मदुरो मोरोसलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको नेकपाले जनाएको छ । ‘हामी राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं । भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफै तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ,' नेकपा केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य कारबाही र हस्तक्षेप तत्काल रोक्न नेकपाले संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी पहलकदमीका लागि अपिल गरेको छ ।
झलनाथ खनाल– नेता, नेकपा
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले भेनेजुएलामाथि भएको हिंस्रक आक्रमणको निन्दा र विरोध जनाएका छन् । खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– 'हिजो अमेरिकाको ट्रम्प प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि १५० लडाकु एयरक्राफ्टबाट नांगो र क्रूर हमला गरेको छ । त्यहाँका कैयौँ नागरिकको हत्या गरेको छ, सैनिकहरूको हत्या गरेको छ, सैनिक संरचनाहरूलाई ध्वस्त पारेको छ । भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्त अपहरण गरेर अमेरिका पुर्याइएको छ ।'
उनले यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन भएको र अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य भएको समेत जनाउँदै अत्यन्त लज्जास्पद ढंगले गरिएको घोर अपराधपूर्ण कार्य भएको बताएका छन् । उनले भनेका छन्– 'म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारबाहीको कडा शब्दमा निन्दा र भत्सना गर्दछु ।'
साथै भेनेजुएलाका राष्ट्रपति तथा प्रथम महिलाको सकुशल रिहाइको मागसमेत उनले गरेका छन् ।
घनश्याम भूसाल– कार्यवाहक अध्यक्ष, नेकपा (संयुक्त)
नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भूसालले स्वतन्त्र तथा सार्वभौमसत्तासम्पन्न मुलुक भेनेजुएलामाथि अमेरिकाले आक्रमण गरेर त्यहाँका राष्ट्रपतिको अपहरण समेत गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्– 'अमेरिकी साम्राज्यवाद विश्व शान्तिमाथि मडारिरहेको खतरा हो भन्ने कुरा यसले फेरि पुष्टि गरेको छ । सम्पूर्ण नेपाली जनताको तर्फबाट हाम्रो पार्टी त्यस साम्राज्यवादी नांगो आक्रमणको घोर निन्दा तथा भर्त्सना गर्दछ र अमेरिकी आक्रमण तत्काल बन्द गर्न तथा भेनेजुएली राष्ट्रको स्वतन्त्रताको सम्मान गर्न माग गर्दछ ।'
शंकर पोख्रेल– महासचिव, एमाले
एमाले महासचिव शंकर पोख्रेलले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लंघन भएको बताएका छन् । फेसबुकमा उनले लेखेका छन्– 'यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।'
भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ । उनले थप लेखेका छन्– 'यस प्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।'
महेश बस्नेत–सचिव, एमाले
एमाले सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय भएको बताएका छन् । फेसबुकमा उनले लेखेका छन्– 'सार्वभौमिकता जनतामा निहित हुन्छ, शक्तिमा होइन । विश्वशान्ति र स्वाधीनताको पक्षमा एकताबद्ध प्रतिरोध आवश्यक छ ।'
