अमेरिकी अदालतमा मदुरोको बयान: म निर्दोष छु, घरबाटै अपहरणमा परेँ

मदुरोको सुनुवाई चलिरहदाँ अदालतबाहिर एउटा सानो समूहले भेनेजुएलाको झन्डासहित अमेरिकी कदमको विरोध गरिरहेको थियो। वामपन्थी नेता मादुरो र उनकी श्रीमतीयालागू औषध तस्करहरूसँग मिलेर अमेरिकामा हजारौं टन कोकिन अवैध रूपमा ढुवानी गरेको आरोप लगाइएको छ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Maduro's statement in US court: I am innocent, I was kidnapped from my home

What you should know

काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्क शहरको संघीय अदालतमा आफू 'निर्दोष' रहेको बताएका छन् । उनले आफूलाई ‘शिष्ट मानिस’ बताउँदै ३ जनवरीमा काराकासस्थित घरबाटै अपहरण गरिएको बताए।

मादुरो र उनकी पत्नीलाई ‘लागु औषध आतंकवाद’का विभिन्न अभियोगमा बयानका लागि अदालतमा उपस्थित गराइएको हो। अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टाइनको इजलासमा सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजे उनीहरूको पहिलो बयान भएको थियो।

हथकडी लगाएर र खाकी पोशाक लगाएका मादुरो र उनकी श्रीमतीलाई अधिकारीहरूले अदालतमा लगे। न्यायाधीशले अंग्रेजीमा बोलेका कुरा स्पेनिशमा अनुवाद गर्नका लागि उनीहरूलाई हेडसेट दिइएको थियो। मादुरोले आफूलाई दोषी नभएको बताए, 'मलाई अपहरण गरिएको थियो। म निर्दोष र एक सभ्य मानिस हुँ। मेरो देशको राष्ट्रपति हुँ,' उनले भने।

मदुरोको सुनुवाई चलिरहदाँ अदालतबाहिर एउटा सानो समूहले भेनेजुएलाको झन्डासहित अमेरिकी कदमको विरोध गरिरहेको थियो। वामपन्थी नेता मादुरो र उनकी श्रीमतीयालागू औषध तस्करहरूसँग मिलेर अमेरिकामा हजारौं टन कोकिन अवैध रूपमा ढुवानी गरेको आरोप लगाइएको छ। उनका छोरा र अन्य तीन सहयोगीमाथि पनि यस अभियोगमा मुद्दा दायर गरिएको छ। दोषी ठहर भएमा उनीमाथि आजीवन कारावास हुनसक्छ।

केही पर्यवेक्षकहरू भन्छन् कि मादुरोलाई कार्टेलहरूसँग जोड्ने कुनै प्रमाण छैन। मदुरोका वकिलहरूले उनको गिरफ्तारीको वैधतामाथि प्रश्न उठाउने बताएका छन्। उनीहरूले विदेशी राज्यको सार्वभौम प्रमुख भएकाले यस्ता अभियोजनबाट मदुरो मुक्त रहेको तर्क गरेका छन्। यद्यपि अमेरिका र अन्य केही राष्ट्रहरूले उनलाई भेनेजुएलाको वैध नेताको रूपमा मान्यता दिएका छैनन्।

राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा सोमबारका महासचिव एन्टोनियो गुटेरेसले मदुरोमाथिको कब्जालाई लिएर चिन्ता व्यक्त गरेका छन्। 'जनवरी ३ को सैन्य कारबाहीको सन्दर्भमा अन्तर्राष्ट्रिय कानूनका नियमहरूको सम्मान नगरिएकोमा म गहिरो चिन्तित छु। राष्ट्रसंघको बडापत्रले कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोगलाई निषेध गर्छ,' गुटेरेसले भने।

संयुक्त राष्ट्रसंघका लागि भेनेजुएलाका राजदूत स्यामुएल मोनकाडाले अमेरिकाले आफ्नो देशविरुद्ध अवैध सशस्त्र आक्रमण गरेको आरोप लगाए। भेनेजुएलामा बम विस्फोट, नागरिक पूर्वाधारको विनाश, नागरिक र सैन्य जीवनको क्षति र मादुरो र उनकी श्रीमतीको ‘अपहरण’ भएको मोनकाडाले बताए। उनले बहालवाला राष्ट्रप्रमुखको अपहरणले अन्तर्राष्ट्रिय कानूनको मूल मान्यता, पदमा रहेका नेताहरूको व्यक्तिगत उन्मुक्तिलाई उल्लङ्घन गरेको बताए। उनले यस्ता कार्यहरूले सबै देशहरूको लागि खतरनाक उदाहरण स्थापित गर्ने चेतावनी दिए।

रुस र चीनले मादुरोको अपहरणको कडा निन्दा गरे। उनीहरूले मदुरोको रिहाइको लागि आह्वान गरे। त्यसैगरी, अमेरिकी सहयोगी फ्रान्स र कोलम्बियाले पनि विशेष गरी चिन्ता व्यक्त गरेका छन्। वासिङ्टनको सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानूनलाई कमजोर बनाएको उनीहरूले बताएका छन्।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले मादुरोको अपहरणको बचाउ गर्दै यसलाई कानुनी अपरेशनका रूपमा व्याख्या गरे। 'संयुक्त राज्य अमेरिकाले एक लागूऔषध तस्करलाई पक्राउ गरेको छ। अब संयुक्त राज्य अमेरिकामा मुद्दा चलाइनेछ,' उनले भने।

कान्तिपुर

Link copied successfully