आयोगका कर्मचारीका अनुसार राति १२ बजेसम्म निस्सा लिन पाइनेछ ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । रामशाहपथस्थित निर्वाचन आयोगमा दलहरूले निस्सा लिने एक स्थान तोकिएको छ । त्यहाँ एक दर्जनभन्दा बढी कम्प्युटर र प्रिन्टरसहितका सामग्री राखेर कर्मचारीहरू बसेका छन् । निस्सा लिएपछि मात्र दलहरूले समानुपातिक सूची बुझाउने पालो पाउँछन् । आयोगका कर्मचारीका अनुसार राति १२ बजेसम्म निस्सा लिन पाइनेछ ।
साना दलका नेता तथा कार्यकर्ताहरू चौरभरि स–साना समूह बनाएर चारैतिर छरिएका छन् । त्यसरी बसेका नेता तथा कार्यकर्ताले समानुपातिक सूचीमा परेका व्यक्तिको नाम निर्वाचन आयोगले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा उल्लेख गरिएको फारममा चढाइरहेका छन् ।
उम्मेदवारका नागरिकतामा भएका नाम, मतदाता नम्बर र पार्टीको मिनेटसहित उनीहरू बसेका छन् । विभिन्न अनुसूचीहरू भरेर बुझाइरहेका छन् ।
नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले निस्सा लिएपछि सम्पत्ति विवरण, स्वघोषणा लगायतका प्रक्रिया पूरा गर्नुपर्ने र क्लस्टर मिलाउँदा समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न समय लागिरहेको बताए ।
हालसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, गतिशील लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी, नेपालले पनि सूची बुझाइसकेका छन् ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाकै सूची बुझाएका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जनाको सूची आयोगमा बुझाएका छन् ।गतिशील लोकतान्त्रिकले ११ र जसपा नेपालले १०१ जनाको सूची बुझाएका छन् ।
कांग्रेस, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतले निस्सा लिइसकेका छन् । रास्वपा, एमाले, राप्रपा लगायतका दलहरूले भने निस्सा लिन नै बाँकी छ ।
