लामिछानेले बालेनसँग प्रारम्भिक चरणको मात्र छलफल भएको बताएका छन्, चितवनमा उनले भने, ‘अहिले कसलाई के दिने भन्ने चरणमा कुरा पुगेकै छैन, तपाईंले आफ्नो स्वादअनुसार लेख्दै गर्नुस्’
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनले निम्त्याएको फरक राजनीतिक परिस्थितिमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच सहकार्यको गृहकार्य भइरहेको छ । दुवैबीच सोमबार बेलुकी ७ बजेदेखि राति साढे १ बजेसम्म चलेको भेटवार्तामा एक ठाउँमा उभिएर अघि बढ्ने समझदारी भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार अरू वैकल्पिक शक्तिलाई समेत साथमा लिएर पुराना राजनीतिक दलहरूविरुद्ध निर्वाचनमा जाने छलफल भएको छ । ती नेताका अनुसार बालेनलाई रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा सहभागी हुने विकल्पबारे समेत छलफल भएको छ ।
लामिछानेले भने बालेनसँग प्रारम्भिक चरणको मात्र छलफल भएको बताएका छन् । ‘बालेनलाई प्रधानमन्त्री बनाउने गरी सहमति भएको हो ?’ मंगलबार चितवनमा सञ्चारकर्मीहरूको प्रश्नमा लामिछानेले वार्ता त्यस चरणमा प्रवेश गरिनसकेको बताए । ‘अहिले त्यो चरणमा कुरा पुगेकै छैन, कसलाई के दिने भनेर तपाईंले आफ्नो स्वादअनुसार लेख्दै गर्नुस्,’ उनले भने, ‘छलफल अरू शक्तिसँग पनि भएको छ, सुधनजीसँग पनि कुरा भएको छ, कुलमानजीसँग पनि कुरा गर्छौं ।’
सोमबार रातिको भेटवार्तामा सहभागी रास्वपा उपसभापति डीपी अर्यालले जेन–जीको मागअनुसार नयाँ शक्ति र समूहहरूसँग छलफल गरेर र सबैलाई समेटेर जाने विषयमा बालेनसँग सौहार्दपूर्ण संवाद भएको बताए । सभापति लामिछाने कारागारमुक्त भएको र बालेन पितृशोकमा रहेको अवस्थामा हार्दिकतासाथ भेट भएको उनको भनाइ छ । ‘उहाँहरूबीच व्यक्तिगत, पारिवारिक कुराकानी भयो । त्यसपछि २३–२४ भदौको घटना र आगामी चुनावदेखि नेपालको अहिलेको राजनीतिक विषयमा छलफल चल्यो,’ उनले कान्तिपुरसँग भने, ‘जनताको अपेक्षा बालेन र रवि मिले हुन्थ्यो, नयाँ शक्ति मिलेर गइदिए हुन्थ्यो भन्ने छ, त्यही अपेक्षाबारे पनि समग्रमा संवाद भएको छ ।’
बालेनसँग संवादको ढोका खुलेको र त्यसलाई निरन्तरता दिइने अर्यालको भनाइ छ । ‘यसले राम्रो नतिजा दिन्छ भन्ने आत्मविश्वास छ,’ उनले भने, ‘रास्वपाले नयाँ राजनीतिक शक्तिबीच एकताका लागि मन्त्री कुलमान घिसिङ र श्रम, संस्कृति पार्टीका हर्क साम्पाङसँग पनि छलफल गर्नेछ ।’
बालेनका सहयोगीका अनुसार, लामिछाने र बालेनबीच पहिले सामूहिक अनि छुट्टाछुट्टै भेट भएको थियो । ‘रविजी कारागारबाट छुट्नुभएपछि यो दोस्रो भेट थियो, आपसमा विश्वासको वातावरण बनाउने किसिमको कुराकानी भयो,’ स्रोतले भन्यो, ‘सबै वैकिल्पक शक्तिलाई एउटै छातामा ल्याउन अधिकतम प्रयास गर्न दुवै जना सहमत हुनुभएको छ ।’ बैठकमा रास्वपा सभापति लामिछानेले नयाँ शक्तिलाई एकत्रित गर्न हदैसम्मको लचकता अपनाउने बताएका थिए ।
बैठकमा सहभागी पूर्वसांसद शाहले मुलुकको वर्तमान अवस्था परिवर्तन गर्ने र राजनीतिक समस्याको निकास दिने विषयमा सोमबार राति छलफल भएको जानकारी दिए । ‘हामी दाजुभाइ भयौं, छौं । एकअर्कासँग मिलेर राजनीतिक यात्रा तय गर्छौं । देशको अवस्था बुझेका छौं । वैकल्पिक शक्तिलाई नेपाली राजनीतिको मूलधार बनाउनुपर्छ भन्ने एजेन्डा अगाडि बढेको छ,’ उनले भने, ‘त्यो बैठक आइसब्रेक हो । दुवै मिलेर जाने भन्नेमा सैद्धान्तिक सहमति भयो ।’
लामिछाने र बालेनबीच यति लामो छलफल यसअघि भएको थिएन । ‘यस तहमा दुई जना यसअघि बस्न पाउनुभएको थिएन । मेयर साब महानगरमा व्यस्त हुनुहुन्थ्यो । रवि दाइ पहिले सरकारमा र पछि कारागारमा धेरै हुनुभयो,’ शाहले भने, ‘दाजुभाइको हिसाबले बस्ने मौका पनि जुरेको थिएन, त्यस हिसाबले एकअर्काबीच लामो कुराकानी भएको हो ।’
लामिछाने र बालेनबीच यो भेट यत्तिकै जुरेको भने होइन । रास्वपा र बालेनसम्बद्ध स्रोतका अनुसार लामिछाने कारागारमा भएका बेलासमेत अनौपचारिक छलफल भइरहेको थियो । ‘पहिले कुलमान घिसिङसँग पनि कुराकानी भएको थियो, उहाँ सभापति बन्ने गरी पार्टीमा भित्रिन तयार हुनुभएको थियो,’ रास्वपाका एक नेताले भने, ‘बालेनजीसँग पनि त्यतिबेलादेखि नै विभिन्न मोडालिटीमा समानान्तर कुराकानी भइरहेको थियो ।’
रास्वपा र बालेनको टिमसँग संवादमा रहेका घिसिङको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले नयाँ राजनीतिक दल र जेन–जी प्रतिनिधि एक ठाउँमा आउनुपर्ने प्रतिक्रिया दिए । जेन–जी आन्दोलनको ‘म्यान्डेट’ अनुसार वैकल्पिक शक्ति निर्माण गरेर सुशासन कायम गर्न लामिछाने, घिसिङ र शाह मिलेर जानुपर्ने उनले बताए ।
‘जेन–जीका माग र मुद्दा सम्बोधन गर्न चुनावबाट बहुमतसहित अनुमोदित भएर आउनुपर्छ । छिन्नभिन्न भएर जाँदा अनुमोदित हुने सम्भावना कम हुन्छ । त्यसका लागि बालेन, रास्वपा र उज्यालो नेपालका तीनै जना एक ठाउँमा ल्याउन घनिभूत छलफल भइरहेको छ,’ सिंहले भने, ‘एउटै समानुपातिक सूची तयार पार्ने र एउटै चुनाव चिह्नमा लड्ने सम्भावना छ । वैकल्पिक शक्ति र सुशासनको एजेन्डा तय गर्ने उत्तम विकल्प यही नै हो । यसैका लागि कुरा भइरहेको छ । दुई–तीन दिनमा केही ब्रेक थ्रु हुन्छ ।’
भविष्यमा प्राप्त हुने पदलाई ख्याल नगरी अहिले जेन–जीसहित एक ठाउँमा उभिनुपर्ने सिंहको भनाइ छ । लामिछानेले कारागारबाहिर आएपछि खेलेको भूमिकाले पनि तीन शक्ति एक ठाउँमा आउने सम्भावना बढेको उनले बताए । ‘रविजीले जेलबाट निस्किएपछि सबैलाई समेट्न छोटो समयमा सकारात्मक भूमिका खेल्नुभएको छ । त्यसलाई सार्थक निष्कर्षमा पुर्याउन हामीले पनि भूमिका खेलिरहेका छौं,’ सिंहले भने ।
