प्रतिनिधिसभा चुनावमा पहिलो पटक सहभागी हुन लागेका २६ नयाँ दल के गर्दैछन् ?

पुराना दल कांग्रेस र एमाले महाधिवेशनमा तथा नेकपा सभाहरूमा केन्द्रित भइरहँदा नयाँ दलहरू भने चुनावी मोर्चाबन्दीमा जुटिसकेका छन्, श्रम संस्कृति पार्टीले त चुनावी अभियानलाई तीव्र बनाइसकेको छ ।

मंसिर १६, २०८२

जयसिंह महरा

What are the 26 new parties doing that are participating in the House of Representatives elections for the first time?

What you should know

काठमाडौँ — २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा चुनावमा पहिलो पटक सहभागी हुन लागेका २६ नयाँ दलमध्ये धेरैजसोले संगठन विस्तारसँगै चुनावी गठबन्धन र सहकार्यको रणनीति लिएका छन् । नयाँ दल गठन गरेर चुनावी तयारी गर्नेमा समाजका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिदेखि जेन–जी आन्दोलनमा संलग्न अगुवासम्म रहेका छन् ।

पुराना दलमध्ये कांग्रेस र एमाले महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउने वा पुरानै नेतृत्वलाई पुनर्जीवन दिने तयारीमा छन् भने माओवादी र एकीकृत समाजवादीलगायत मिलेर बनेको नेकपाले प्रदेशमा चुनावलक्षित एकता सभा गरिरहेका छन् । तर, नयाँ दलहरू कोही चुनावी गठबन्धन र सहकार्यको कसरतमा छन् भने कोही जनतामा गएर संगठन विस्तारका लागि एजेन्डा बाँडिरहेका छन् ।

अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी (उनेपा) दर्ता भएको छ । अनुपकुमार उपाध्याय अध्यक्ष रहेको यो दलले संगठन निर्माणसँगै चुनावी तयारी थालेको छ । मन्त्रीबाट हटेपछि उनेपाको अध्यक्ष बन्ने घिसिङ स्वयं र हालका अध्यक्ष उपाध्यायले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उपाध्याय पूर्वऊर्जा सचिव हुन् । यो दलमा इन्जिनियरिङ क्षेत्रका व्यक्ति र पूर्वकर्मचारीको बाहुल्यता छ । वातावरणविद् सागर ढकाल, डा. अभिषेकराज सिंहलगायतका अभियन्ता पनि यसमा समावेश छन् ।

१७ मंसिरमा पार्टी गठन घोषणा गर्न लागेको उज्यालो नेपालले केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लामा संगठन निर्माणका लागि खटाएको छ । शंकर ढकालको नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति गठन गरिएको छ भने तारा जोशीको संयोजकत्वमा विभिन्न पार्टीसँग वार्ता गर्न समिति बनाइएको छ । घोषणापत्र लेखन समितिका प्रमुख ढकाल पेसाले इन्जिनियर हुन् भने वार्ता समिति सदस्य जोशी सुदूरपश्चिम प्रदेशसभामा स्वतन्त्र सांसद छन् ।

उनेपाले संगठन निर्माण र उम्मेदवार चयन प्रक्रियासँगै अन्य दललाई पार्टीमा जोड्ने अभियान जारी राखेको छ । मन्त्री घिसिङले कहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह त कहिले धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग चुनावी एकताका लागि छलफल चलाइरहेका छन् । उनले रास्वपासित एकता नभए पनि चुनावी गठबन्धनसम्म गर्ने प्रयास गरिरहेका छन् ।

उनेपाका प्रवक्ता राजु थापाका अनुसार वैकल्पिक राजनीतिक शक्तिलाई जोड्ने विषयलाई पार्टीले तत्कालीन प्राथमिकतामा राखेको छ । ‘सकेसम्म सबै वैकल्पिक र नयाँ शक्तिलाई जोड्न खोजिरहेका छौं, त्यो प्रयास जारी छ,’ उनले भने, ‘संगठन निर्माणलाई पनि अभियानका रूपमा अगाडि बढाएका छौं । बागमती प्रदेशमा अभियान नै चलाएका छौं भने काठमाडौंमा वडा तहमा पनि समिति गठन गरिसकेका छौं ।’

जेन–जी आन्दोलनका घाइते राजेश प्रतेलको संयोजकत्वमा राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएको छ । उनले जेन–जी आन्दोलनका क्रममा दायाँ खुट्टा गुमाएका छन् । यो दलमा २१ केन्द्रीय सदस्य छन् । सबै जाति, लिंग, क्षेत्र र समुदायको समावेशी दल बनाउने संयोजक पोर्तेलले बताएका छन् । चुनावमा भाग लिएर जेन–जीको आवाज केन्द्रीय राजनीतिमा स्थापित गराउने उनले बताए । यो दलले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलगायतसँग सहकार्यको प्रयास गरिरहेको छ । अन्य दलसँग पनि चुनावी सहकार्य गर्ने रणनीति रहेको पोर्तेलले बताए । ‘गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता हाम्रो दलको सिद्धान्त हो,’ उनले भने ।

 अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा जनादेश पार्टी गठन भएको छ । सर्वोच्च अदालत बार एसोसिएसनका सचिवसमेत रहेका कर्णको दलमा अभिनेत्री तथा सञ्चार उद्यमी एलिजा गौतम, अधिवक्ता जस्मिन ओझालगायत छन् । ‘एलजीबीटीआईक्यू कम्युनिटी’का लक्ष्मी घलान, जेन–जी आन्दोलनका घाइते मदन कार्की, पोखराकी जेन–जी नेता विप्लवी न्यौपानेलगायत पनि यस दलमा आबद्ध छन् ।

 यो दलमा चुनावमा कसरी जाने भन्ने विषयमा छलफल चलिरहेको छ । अन्य दलसँग पनि गठबन्धन गरेर जानेबारे परामर्श भइरहेको जनादेश पार्टीकी संस्थापक नेता ओझाले बताइन् । ‘हामी सकेसम्म अलायन्स निर्माण गरेर चुनावमा जाने विषयमा छलफलमा छौं, विभिन्न दलसँग संवाद चलिरहेको छ,’ ओझाले भनिन्, ‘आफैं एक्लै चुनावमा जानुपर्ने अवस्थाको पनि तयारी गरिरहेका छौं । संगठन विस्तारको काम भइरहेको छ । पहिलो केन्द्रीय समिति बैठकले चुनावी एजेन्डा र पार्टीको सिद्धान्तबारे छलफल गरेको छ ।’

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ दल गठन गरेका छन्, समुन्नत नेपाल पार्टी । प्रहरी सेवाबाट बाहिरिएपछि खनाल एमाले प्रवेश गरेका थिए । उनले एमालेबाट दुई पटक चुनाव लडे तर जित्न सकेनन् । एमालेबाट २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–६ बाट पराजित भएका खनाल वैशाख २०८० मा भएको उपचुनावमा तनहुँबाट पनि पराजित बने । 

अध्यक्ष खनालले सुशासन र समृद्धिको एजेन्डासहित चुनावमा जाने बताएका छन् । समुन्नत नेपालले चुनावका लागि संगठन निर्माण र अन्य दलसँगको छलफललाई सँगसँगै अघि बढाएको छ । उनले धेरै दल बनेर चुनावमा जानुभन्दा मिलेर अगाडि बढ्दा राम्रो हुने धारणासहित अन्य दलसँग चुनावी तालमेलको संवाद चलिरहेको जानकारी दिए । ‘पार्टी गठनपछि संगठन निर्माण गरिरहेका छौं, चुनावी घोषणापत्र लेख्ने काम अगाडि बढेको छ,’ खनालले भने, ‘चुनावका लागि अरू दलसँग संवाद पनि भइरहेको छ ।’

सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग्गिएका नेताहरूले सर्वोदय पार्टी खोलेका छन् । दीपककुमार साहको अध्यक्षतामा यो दल गठन गरिएको हो । साह जनमत पार्टीका उपाध्यक्ष तथा संस्थापक थिए । यो दलमा जनमत पार्टीमा कोषाध्यक्ष रहेका सुरेन्द्रनारायण यादव, विदेश विभाग प्रमुख रहेका शम्भुनाथ साहलगायत छन् । ‘जुन उद्देश्यले जनमत पार्टी खोलेका थियौं, त्यसबाट नेतृत्व विचलित भएपछि नयाँ पार्टी गठन गरेका हौं, त्यो पार्टी नेतृत्व व्यक्तिवादमा लागेकाले हामी अर्को बाटो लाग्यौं,’ अध्यक्ष साहले भने, ‘एक्लै भन्दा पनि अरू दलसँग सहकार्य गरेर जाने तयारी भइरहेको छ । कोसँग सहकार्य हुन्छ, त्यो टुंगो लागिसकेको छैन ।’

२०७९ को चुनावमा मोरङ–५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित योगेन्द्र मण्डलले पनि नयाँ दल गठन गरेका छन्, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल । उनी प्रतिनिधिसभामा निर्वाचित भएपछि एमालेमा प्रवेश गरेका थिए । तर, जेन–जी आन्दोलनपछि संसद् विघटन भयो र उनी एमालेतिर नलागी नयाँ पार्टी गठनतिर लागेका हुन् । 

What are the 26 new parties doing that are participating in the House of Representatives elections for the first time?यस्तै, बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको सक्रियतामा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) गठन भएको छ । यो दलको अध्यक्ष होटल व्यवसायी दिनेश प्रसाईं हुन् । पदाधिकारीले चुनाव नलड्ने घोषणा गरेको यो दलका हर्ताकर्ता बस्नेत भने केन्द्रीय सदस्यमा मात्र बसेका छन् । उनी चुनाव लड्ने योजनासहित पदाधिकारी नबनेको दलका नेताहरूको भनाइ छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका विज्ञ छन् । महासचिवमा व्यवसायी पीयूष कायस्थ छन् । उनी कृषि विज्ञ हुन् भने आरजु राइस उद्योगका एक साझेदार हुन् । पाँच महासचिवमा दुई महिला छन् ।

गलोपाले संगठन निर्माण, चुनावी एजेन्डा र विभिन्न क्षेत्रका व्यक्तिसँग संवाद गरिरहेको छ । गलोपाका अध्यक्ष प्रसाईंका अनुसार आर्थिक एजेन्डा तय गर्ने र संगठन निर्माण तथा विस्तारलाई अगाडि बढाउने काम भइरहेको छ । ‘पार्टी एजेन्डा तयार गरिरहेका छौं, मूलतः आर्थिक रूपान्तरणका एजेन्डालाई महत्त्व दिएका छौं । विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालासँग छलफलको काम पनि भइरहेको छ,’ उनले भने, ‘संगठन विस्तारको कार्यलाई चुस्त पारिरहेका छौं ।’

What are the 26 new parties doing that are participating in the House of Representatives elections for the first time?

पार्टीले पर्यटन, शिक्षा, स्वास्थ्य, मुलुकको राजनीतिक स्थायित्व, विकासलगायतका क्षेत्रबारे विभिन्न ठाउँमा सार्वजनिक कार्यक्रम गरिरहेको पनि प्रसाईंले बताए । ‘चुनावका लागि उम्मेदवार बन्ने मापदण्ड केही साताभित्रै सार्वजनिक गर्दै छौं, उम्मेदवार चयन सुरु भएपछि हाम्रो सम्पर्कमा भएका व्यक्तिलाई ल्याउने र सार्वजनिक रूपमै उम्मेदवारी आह्वान गर्ने विधि पनि तयारी भइरहेको छ,’ अध्यक्ष प्रसाईंले भने, ‘अहिले तुरुन्त नयाँ दलहरूसँग एकताको छलफलमा हामी छैनौं । संगठन निर्माणमा नै लागेका छौं । पुराना दलका राम्रा र इमानदार व्यक्तिलाई पनि ल्याउने तयारी छ । एमाले र कांग्रेसको महाधिवेशन पनि कुरिरहेका छौं ।’ पुराना दलमा रहेका केही नेतालाई ल्याएर उम्मेदवार बनाउने तयारी रहेको उनले बताए । 

धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि पार्टी गठन गरेर चुनावी अभियानमा होमिएका छन् । साम्पाङको श्रम संस्कृति पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ छन् । केन्द्रीय समितिमा अधिकांश व्यक्ति जनजाति समुदायका छन् । समाजमा ख्याति कमाएकादेखि सामाजिक सञ्जालमा भाइरलसम्मलाई आफ्नो पार्टीमा स्वागत गर्ने स्टाटस साम्पाङले सामाजिक सञ्जालमा लेख्दै आएका छन् । 

What are the 26 new parties doing that are participating in the House of Representatives elections for the first time?

अन्य दलसँग चुनावी तालमेल गर्नेभन्दा पनि एक्लै चुनाव लड्ने र श्रम संस्कृति अभियान फैलाउने उद्देश्यले दल गठन गरिएको प्रवक्ता अरुण गुरुङले बताए । ‘गठबन्धन गर्ने होइन, हामी एक्लै चुनावमा जाने हो । जहाँ जनताले बोलाउँछन्, त्यहाँ जान्छौं । काभ्रेलगायतका जिल्लामा बोलाएका छन् र पश्चिममा पनि बोलाएका छन्, त्यहाँ जान्छौं,’ गुरुङले भने, ‘काम गर्दै जाने हो । सामाजिक रूपान्तरण हाम्रो अभियान हो । श्रम संस्कृति बसाउने हो, संगठन बनाउँदै जाने हो ।’

उनले अध्यक्ष साम्पाङ धरानको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने निश्चित भएको जानकारी दिए । ‘अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवार बन्नुहुन्छ, सकेसम्म सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं,’ प्रवक्ता गुरुङले भने ।

माओवादी र एकीकृत समाजवादीलगायत वाम घटक एकता भएर नेकपा गठन हुँदा माओवादीका जनार्दन शर्मा र एकीकृत समाजवादीका घनश्याम भुसाल एकतामा सहभागी भएनन् । शर्मा र भुसालले केही समय सँगै मिलेर जानेबारे छलफल गरे पनि अहिले आ–आफ्नो बाटो लागेका छन् ।

शर्माले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा परित्याग गरेका सन्तोष परियार लगायतसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) दर्ता गरेका छन् । यो पार्टीको नेतृत्वमा शर्मा पक्षका सुदन किराती, राम कार्कीलगायत सहभागी छन् । प्रलोपाको कार्यकारी भूमिकामा भने शर्मा छैनन् । प्रलोपामा पाँच सदस्यीय अध्यक्ष परिषद् गठन गरिएको छ । जसमा ओजस्वी भट्टराई, दुर्गा सोब, सन्तोष परियार, सुदन किराती, अशोक जयसवाल छन् । ‘अहिले हामी संगठन निर्माण र विस्तारमा छौं, आधारभूत तहमा संगठन बनाउने कुरा छ । संगठन निर्माणको पफर्मेसन बनाएर जिल्ला र पालिकासम्म जान्छौं,’ शर्माले भने । 

निर्वाचन नजिक आइसकेकाले अन्य दलसँग एकतामा लाग्नेभन्दा पनि आफ्नै संगठन निर्माण र अन्य पार्टीसँग चुनावी सहकार्यमा जोड दिने कार्यदिशामा पार्टी अघि बढेको शर्माको भनाइ छ । ‘अरू पार्टीहरूसँग एकताको कुरा छैन, चुनावी सहकार्यबारे भने छलफल भइरहेका छन्,’ उनले भने ।

प्रलोपाले नेकपामा सहभागी नभएका माओवादी र एकीकृत समाजवादीका नेतालाई समेट्ने अभियान चलाइरहेको छ । यसै अभियानअन्तर्गत माओवादी केन्द्रीय सदस्य रहेका वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलाई हालै मात्र पार्टीमा सहभागी गराएको छ । केन्द्रदेखि जिल्ला तहसम्मका असन्तुष्ट नेतालाई प्रलोपाले फकाउने प्रयास थालेको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल भने अहिले नेकपा (संयुक्त) को नेतृत्वमा पुगेका छन् । चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) को कार्यवाहक अध्यक्ष भुसाललाई बनाइएको छ । चुनाव चिह्न पनि संयुक्तकै लिने निर्णय भइसकेको छ ।

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully