जनकपुरमा कृषि क्षेत्रका विषयमा बहस र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विकाससम्बन्धी छलफल गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।
भैरहवा — गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले आफ्नो पहिलो अवधारणा भैरहवामा सार्वजनिक गरेको छ ।
पार्टीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिनेश प्रसाईं, सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा लगानी बोर्डका पूर्वसीईओ राधेश पन्त र पर्यटन क्षेत्रका अध्येता ज्ञानेश्वर महतो भैरहवामा आइपुगेका छन् ।
पार्टीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गरी पर्यटन प्रवर्द्धन र आर्थिक विकास कसरी सम्भव छ भन्ने विषयमा आफ्नो अवधारणा सार्वजनिक गरेको हो ।
अध्यक्ष प्रसाईंले राजनीतिक दलहरूले समयानुकूल परिवर्तनलाई सम्बोधन गर्न नसक्दा समाजमा असन्तोष र आन्दोलन उत्पन्न भएको बताए । 'समाजमा भइरहेको ग्यापले विग्रह ल्याएको छ, त्यसैले हाम्रो पार्टीले आर्थिक रूपान्तरण र सुशासनलाई मुख्य मन्त्र बनाएको हो,' उनले भने ।
गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ । दर्ता प्रक्रियाका लागि करिब ५ सय सदस्यको प्रस्ताव तयार पारिएको पार्टी स्रोतले जनाएको छ ।
सदस्य बस्नेतले भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याएर क्षेत्रीय पर्यटन कसरी विस्तार गर्न सकिन्छ भन्नेबारे विस्तृत रूपमा जानकारी दिएका छन् ।
पार्टीले आगामी चरणमा जनकपुरमा कृषि क्षेत्रका विषयमा बहस र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विकाससम्बन्धी छलफल कार्यक्रम गर्ने तयारी गरेको पनि अध्यक्ष प्रसाईंले बताए ।
