'कोरा राजनीतिको कुरा मात्र गरेर कहीँ पुगिँदैन । लोकतन्त्रलाई अलिकति भरिलो, अलिकति कामकाजी बनाउने हो भने तपाईंको एउटा पुँजी निर्माण गर्नुपर्छ ।'
What you should know
काठमाडौँ — बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ पार्टी गठन गरेको छ- गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) । बिहीबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएर फर्किएपछि कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष दिनेश प्रसाईंले जेन-जी आन्दोलनका कारण चाँडै पार्टी घोषणा गर्नुपरेको बताएका छन् ।
‘निकै पहिलेदेखि तयारी गरिरहेका थियौं, ०८४ को चुनावमा सहभागी हुने गरी तयारी थियो,’ समाजशास्त्रीसमेत रहेका प्रसाईंले भने, ‘तर, नयाँ परिस्थितिमा आजै पार्टी दर्ताका लागि निवेदन दिएका छौं ।’ उनीसहितको समूहको यो पार्टी अरुभन्दा किन फरक छ ? प्रसाईंसँग कान्तिपुरका गौरव पोखरेलले गरेको कुराकानी :
गतिशील लोकतान्त्रिक पार्टी अरु पार्टीभन्दा किन फरक छ ?
नामबाट पनि थाहा हुन्छ, यो पार्टी लोकतन्त्रमै विश्वास गर्ने पार्टी हो । २०७२ सालमा जारी भएको संविधानको आधारभूत सिद्धान्तलाई मान्छौं । त्यही विषयमा स्पष्टता चाहिन्छ भन्ने हिसाबले नै हामीले पार्टीको नाम नै लोकतान्त्रिक राखेको हो ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा छैनौं । किनभने, हाम्रा संस्था बलियो नभइन्जेल एकैचोटि त्यसमा जाँदा एउटा अधिनायकवादको समस्या सिर्जना गर्ने सम्भावनालाई हेर्नुपर्छ ।अर्को गतिशील पनि राखेका छौं । त्योचाहिँ लोकतन्त्र एकदम स्थिर भयो, जमेको तलाउजस्तो भयो भनेर त्यसलाई सम्बोधन गर्नेगरी राखेका हौं । नेतृत्वमा सधैं उही व्यक्ति देखिराख्दा तपाईंले राम्रै काम गरिरहेको अवस्थामा पनि जनताले परिवर्तन चाहिरहेका हुन्छन् । यद्यपि, नेतृत्वको अनुहार मात्रै होइन कि नीति, कार्यक्रम, राजनीतिक संस्कृति आदि पनि हुन्छन् ।
सरकार त परिवर्तन हुन्छ, तर उही विधि उही किसिमका मान्छे उही संरचना हुँदा देशमा विकास गर्न गाह्रो हुन्छ भन्ने रियलाइज भएर हामीले गतिशील लोकतान्त्रिक पार्टी बनाएका छौं । हाम्रो पार्टीले केही नयाँ सन्देश दिनेछ । हामीले पार्टीलाई रोजगारीसँग पनि जोड्न खोजेका छौं ।
अहिले संघीयता खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय पनि आइरहेका छन्, त्यसमा पार्टीको धारणा के हो ?
पार्टीको आधिकारिक छलफल गर्न बाँकी नै छ । तर, अहिलेसम्मको बुझाइ ०७२ को संविधान लामो संघर्षपछि बनेको हो ।यसको लिमिटेसनका बीचमा धेरै समूहसँग नेगोसिएसन गरेर बनेको हो । संघीयताको पनि कारण छ, कमजोरी छन् । तर, त्यो अहिले मधेशको मुद्दा, जनजातिको मुद्दा क्षेत्रीय मुद्दा सम्बोधन गर्न ल्याइएको हो । कम खर्चिलो, कम भड्किलो भन्नेमा छलफल गर्न तयार छौं । तर, संविधानको सिद्धान्तलाई स्वीकार्छौं ।
निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्छ भन्ने हामीलाई पनि लागेको छ । जसरी संसद्मा प्रतिनिधित्व भइरहेको छ, त्यसमा विभिन्न समस्या छन् । कसरी चुस्त बनाउने भन्ने छलफल गर्न सकिन्छ, तर प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा छैनौं । किनभने, हाम्रा संस्था बलियो नभइन्जेल एकैचोटि त्यसमा जाँदा एउटा अधिनायकवादको समस्या सिर्जना गर्ने सम्भावनालाई हेर्नुपर्छ ।
भूराजनीतिक अवस्थाले गर्दा पनि त्यो नेपालका लागि उपयुक्त छैन भन्ने बुझाइ हो । स्थायित्वका नाममा मात्र धेरै जोखिम लिनुहुँदैन, तर धेरै घनीभूत छलफल गर्नुपर्छ । हामी लोकरिझ्याइँमा विश्वास गर्दैनौं ।
पार्टी खोल्ने तयारी जेन-जी आन्दोलनभन्दा अगाडि नै थियो कि पछिल्लो तयारी हो ?
खासमा तयारी सुरु गरेको दुई वर्षजति नै भइसक्यो । तर, पछिल्लो ६ महिनामा एकदम घनीभूत रुपमा तयारी गरिरहेका थियौं । हाम्रो योजना ०८४ सालको चुनावलाई लक्षित गरेर माघमा दर्ता गर्ने भन्ने थियो । तर, जेन-जी आन्दोलनले राजनीतिक परिस्थिति पनि परिवर्तन भयो । निर्वाचन मिति घोषणा भएकाले चाँडै अघि बढ्यौं । निर्वाचन आयोगले आह्वान गरिसकेको अवस्थामा पनि छिट्टै दर्ता गर्नुपरेको हो ।
पछिल्लो ६ महिना पार्टीको राजनीति कस्तो हुने ? पार्टी संरचना कस्तो हुने ? हाम्रा एजेन्डा के हुने ? भन्नेमा छलफल गरिरहेका थियौं ।
पार्टीमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतको भूमिकाचाहिँ के हुन्छ ?
उहाँ हाम्रो टिममा हुनुहुन्छ । टिममा धेरै जना हुनु पनि पर्छ र फरकफरक पृष्ठभूमिका हुनुहुन्छ । म आफैं त्रिभुवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र पढाएर बसेको १०-१२ वर्ष भइसक्यो । मेरो इन्ट्रेस्ट भनेको समाज र राजनीतिलाई कसरी सँगसँगै अगाडि बढाउन सकिन्छ, त्यसको डाइनामिक्स के हुन्छ ? भन्ने हो । वेस्टर्न युरोपको उदाहरण के हो भने त्यहाँ खेतीपानी र विजनेस केही हुँदैनथ्यो । त्यस्तोमा मुख्यगरी एन्टरप्रेनरसिपको संस्कृतिका कारण विकसित भएको हो ।
त्यसैले कोरा राजनीतिको कुरा मात्र गरेर कहीँ पुगिँदैन । लोकतन्त्रलाई अलिकति भरिलो, अलिकति कामकाजी बनाउने हो भने तपाईंको एउटा पुँजी निर्माण गर्नुपर्छ भन्ने मान्यता हो । त्यसैले हाम्रो प्राथमिकता नै समृद्धि समता र स्वाभिमान हो । हामीले सुशासनको कुरा पनि गरेका छौं, त्यसका लागि हाम्रा संस्था बलियो बन्नुपर्छ भन्ने मान्यता हो ।
हामीले उद्यमशीलतालाई प्राथमिक विषय बनाएको छौं । त्यसलाई प्रोत्साहित गर्ने भन्ने हो । यसमा उहाँ (वीरेन्द्रबहादुर बस्नेत) को अनुभव पनि छ । उहाँ अहिले केन्द्रीय सदस्य मात्र रहनुहुन्छ ।
पार्टीको संरचनाचाहिँ कस्तो हुन्छ ?
नेतृत्वमा एकजना अध्यक्ष, ५ जना महासचिव र एकजना कोषाध्यक्ष बन्नुहुन्छ । बाँकी सबै सदस्य हुन्छन् । महासचिवचाहिँ एउटा संगठन हेर्ने, अर्को एजेन्डा, सुशासन, उद्यमशीलता र समता छुट्टाछुट्टै विषय हेर्ने हुन्छन् । महासचिवको पोस्टको टाइटलमै एजेन्डाहरु लेखिएको हुन्छ । जस्तै: सुशासन महासचिव हुन्छन्, कोष्ठकमा त्यो लेख्छौं । पदाधिकारीहरु चाहिँ चुनावमा लड्न नपाउने व्यवस्था गरेका छौं । सदस्य र अरु साथीहरु चुनावमा लाग्नुहुन्छ, पदाधिकारी पार्टी काममा लाग्ने हो । चुनावको माहोल बन्यो भनेर राजीनामा दिएर तत्काल मैदानमा उत्रिने भन्ने पनि हुँदैन । राजीनामा दिएपछि पनि ६ महिना कुलिङ पिरियड हुनुपर्ने व्यवस्था गरेका छौं ।
रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठसँग पनि कुराकानी भइरहेका विषय आएका थिए, केही टुंगो लाग्यो कि छैन ?
विभिन्न पोजिसनका लागि नामहरु आएका छन् । तर, टुंगिइसकेको छैन । उहाँ (सुमना श्रेष्ठ) सहित धेरैसँग छलफल भएको छ । तर, अहिलेसम्म उहाँ आइसक्नुभएको छैन ।
सम्बन्धित समाचार :
