मंगलबार पाँचथर सदरमुकाम फिदिम आइपुगेका साम्पाङले फिदिम माविको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पाँचथर — श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनाव अघि मेचीदेखि महाकालीसम्म पार्टीको संगठन विस्तार गर्ने बताएका छन् ।
मंगलबार पाँचथर सदरमुकाम फिदिम आइपुगेका साम्पाङले फिदिम माविको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पार्टी दर्ता र संगठन विस्तारसँगै अब आफ्नो संगठन निर्वाचन अभियानमा होमिएको उनको भनाइ थियो । काम,दाम र नामका आधारमा हुने विभेदले देश विकास हुन नसकेको टिप्पणी गर्दै धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले कामको सम्मान र भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो संगठन केन्द्रित रहने बताए ।
काम,नाम र दाम मात्रै नभएर पदका आधारमा मान्छे ठूलो-सानो नहुने भएकाले आफ्नो पार्टीले नेता र कार्यकर्ता नभनेर सबैलाई श्रमदाता भन्ने अभियान सुरु गरेको टिप्पणी गरे ।
राजनीतिक दलले कार्यकर्तामाझ गुलियो मीठो भाषणले नभएर देशको माटोमा श्रम र पसिना बगाएर मात्रै देश विकास हुने उनको भनाइ थियो ।
२०४६ सालपछि मुलुकमा विभिन्न दलले आलोपालो नेतृत्व गरे पनि विकास र समृद्धि आउन नसकेको भन्दै साम्पाङले आउँदो निर्वाचनमा पुराना अनुहार छोडेर नयाँलाई साथ दिने उनको विश्वास थियो ।
चलाएको श्रम अभियानबाटै आफूलाई देश विदेशले चिनेका बताउँदै साम्पाङले भने, 'महाकालीको सिमाना रक्षा गर्न मेचीका ढुंगा उचालेर पास गर्दै त्यहाँ पुर्याएर गाह्रो लगाउन मिल्ने गरी संगठन निर्माण गर्छौं,त्यही शक्तिको आडमा देशको नेतृत्व गर्दै मुहार बदल्छौं,’ साम्पाङले भने ।
झण्डै डेढ घण्टा लामो सम्बोधनमा साम्पाङले कांग्रेस, एमाले र माओवादी नेताहरुलाई व्यंग्य गर्दै उपस्थित नागरिकलाई हँसाउनुका साथै आफूले रचेका गीत गाएर समर्थकहरुलाई नचाएका थिए ।
साम्पाङको कार्यक्रममा सहभागी हुन जिल्लाका विभिन्न स्थानीय तहबाट नागरिक आएका थिए । साम्पाङले उपस्थित भएका सबैलाई मुठीमा माटो बोक्न लगाएर माटोकै लागि कसम खुवाउने भन्दै पार्टी सदस्यता लिएको शपथ खुवाएका छन् ।
