ओली-भण्डारी तिक्तता बढ्दो : किन रोकियो सदस्यता नवीकरण?

गत वर्ष सदस्यता नवीकरण गरेकी भण्डारीले ‘मदन जयन्ती’ को अवसरमा असार १४ मा सक्रिय एमालेको राजनीतिमा आउने घोषणा गरेकी थिइन्। त्यसपछि उनले पार्टी नेतृत्वका लागि आफू सक्रिय भएको बताएपछि एमाले अध्यक्ष ओली उनीविरुद्ध खनिँदै आएका छन्।

भाद्र ७, २०८२

गंगा बीसी

Oli-Bhandari growing bitterness: Why membership renewal stopped?

What you should know

काठमाडौँ — विगतका अत्यन्तै निकट सहकर्मी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबीच तिक्तता बढ्दै गएको छ। भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि दुई नेताबीचको सार्वजनिक रूपमै पोखिन थालेको छ।

गत वर्ष सदस्यता नवीकरण गरेकी भण्डारीले ‘मदन जयन्ती’ को अवसरमा असार १४ मा सक्रिय एमालेको राजनीतिमा आउने घोषणा गरेकी थिइन्। त्यसपछि उनले पार्टी नेतृत्वका लागि आफू सक्रिय भएको बताएपछि एमाले अध्यक्ष ओली उनीविरुद्ध खनिँदै आएका छन्।

केन्द्रीय कमिटीबाट उनको सदस्यता निलम्बनको अवस्थामा राखिएको छ । तिक्तता यतिसम्म बढेको छ कि प्रदेश र जिल्ला कमिटीमा विद्याको सदस्यताबारे धारणा राख्न निषेध गरिएको छ। साउन ५ र ६ मा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’ राखेपछि भण्डारी आक्रोशित भएकी थिइन्। केन्द्रीय कमिटी बैठकमा ओलीले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने निर्णय सुनाएका थिए ।

साउन ८ मा पत्रकार सम्मेलन गरी भण्डारीले आफ्नो सदस्यता नवीकरण गरिसकेकाले खोस्न नसक्ने बताएकी थिइन् । तर उनको सदस्यता नवीकरण विवाद अहिले पनि कायम छ । शुक्रबार प्रधानमन्त्री ओलीले भण्डारीले पार्टी केन्द्रीय कार्यालयका कर्मचारी झुक्याएर सदस्यता नवीकरण गरेको आरोप लगाए । 

भण्डारीले बिहीबार ‘मदन भण्डारीको ७५औं जन्मजयन्ती’ मनाउन काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेपछि ओली झन् आक्रोशित भएका छन् । केन्द्रीय कार्यालयमा शुक्रबार उनले भण्डारीले सदस्यता परित्याग गरेको बताए ।

Oli-Bhandari growing bitterness: Why membership renewal stopped?शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओली।

‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएका छन् । राष्ट्रपति हुने बेलामा उहाँले सदस्यता परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ । उहाँ सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो,’ उनले भने, ‘रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर रसिद लिएर त हुँदैन नि । छाडेको सदस्यता नवीकरण हुँदैन । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’ 

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता प्यारो लागेको भए उतिबेलै राष्ट्रपति पद अस्वीकार गर्नुपर्थ्यो भन्ने तर्क गरे । पार्टीका असन्तुष्ट व्यक्तिहरू जम्मा गरेर पार्टीलाई असहयोग गरेको उनको आरोप थियो । 

‘मेरो सदस्यता प्यारो छ भनेर त्यो बेला राष्ट्रपति हुन नजानुपर्थ्यो,’ उनले भनेका छन्, ‘सदस्यता नवीकरण गर्ने हो भने पार्टीमा कुरा गर्नुपर्थ्यो । उहाँले पार्टीमा कुरा गर्नुभएको छैन । नयाँ सदस्यता लिन प्रक्रियामा आउनुभएको छैन । पार्टीले दुई–दुई पटक राष्ट्रपति बनायो, फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भनेर पार्टीले कल्पना पनि गरेको थिएन ।’ 

भण्डारीले सम्पर्क कार्यालय खोलेकोमा समेत ओलीले आपत्ति जनाए । ‘उहाँ आएर पार्टीमा सहयोग पुर्‍याउनुपर्ने, एकतामा बल पुर्‍याउनुपर्ने। पार्टीमा असन्तुष्ट मान्छेहरूलाई भेला गरेर लागिरहनुभएको छ,’ उनले प्रश्न गरे, ‘जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोल्नुपर्छ ? अहिलेदेखि कार्यालय खोलेर पार्टीविरुद्ध क्रियाशील हुने ?’ 

भदौ ५ गते थापागाउँमा सम्पर्क कार्यालय सुरु गर्दै भण्डारीले आफ्नो सदस्यतामा केन्द्रीय कार्यालय च्यासलले प्रश्न उठाएकोमा आपत्ति जनाएकी थिइन् । ‘हुन त मेरो सदस्यताको बारेमा प्रश्न छ । साथीहरू नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । नेकपा एमाले अहिले भयो, मैले नेकपा माले हुँदा देखिनै सदस्य भएको हो । २०३७ सालमा सदस्यता लिएको हुँ । ४५ वर्ष भएछ,’ उनले भनिन्, ‘राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर जानैपर्छ भन्यो । मैले गएर शपथ खाएँ ।’ 

Oli-Bhandari growing bitterness: Why membership renewal stopped?

राष्ट्रपतिको रूपमा आफूले मर्यादित ढंगले काम गरेको उल्लेख गर्दै एमालेको कार्यकर्ताको रूपमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाइन् । ‘मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राम्ररी राष्ट्रको गौरव बढ्ने गरी गरेको छु । यो सबै इतिहासको पाना खुला छन्,’ उनले भनिन्, ‘मैले सार्वजनिक रूपमा भनेको छु, म आलोचनाभन्दा बाहिर छैन । तर तथ्यका आधारमा हुनुपर्छ । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु । म गरिरहन्छु ।’ 

साउन ६ मध्यरातमा केन्द्रीय कमिटीले ‘संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय’ गरेको थियो । त्यसको तीन दिनपछि पत्रकार सम्मेलन गर्दै भण्डारीले आफ्नो सदस्यता कसैले खोस्न नसक्ने दाबी गरेकी थिइन् ।

‘मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु,’ उनले भनिन्, ‘मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो ।... कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन ।’ तत्कालीन समय कोशी–सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको बताएकी थिइन् ।

‘जननेता मदन भण्डारीले समृद्ध नेपाल, सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभएको थियो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,’ उनले भनिन्, ‘पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन ।’ उनले २०७२ कात्तिक ११ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि विज्ञप्ति जारी गरी पार्टी सदस्यताबाट अलग भएको बताएकी थिइन् । 

भण्डारीलाई रोक्न एमाले केन्द्रीय कमिटीले गरेको निर्णय

साउन ५ र ६ को केन्द्रीय कमिटीले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको थियो । राष्ट्रपतिको भूमिका अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्त्वको भएकाले दलीय आवद्धताबाट पूर्ण रूपमा मुक्त रहेकोले दलीय राजनीतिमा फर्कने निर्णय संविधानको मर्म अनुकूल नभएको भन्दै उनलाई राजनीतिमा फर्किन नहुने निर्णय गरिएको थियो ।

‘केन्द्रीय कमिटीको यो बैठक संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गर्दछ,’ एमालेको निर्णयमा भनिएको छ, ‘राष्ट्रपति संस्थाको यही गरिमामय ओहदालाई ध्यानमा राखेर त्यस जिम्मेवारीमा निर्वाचित हुने व्यक्ति आफ्नो दलीय या अन्य संस्थागत आबद्धताबाट पूर्ण रूपमा मुक्त भएर निष्पक्ष भूमिकामा रहने र पदमा रहँदा संवैधानिक सीमाभित्र रहेर काम गर्ने व्यवस्था नेपालको संविधानले गरेको छ ।’ 

एमालेले ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम भएकाले उल्लेख गर्दै पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा गरिमामय ढंगले ती ओहदाहरूलाई उचित न्याय र उत्कृष्ट कार्य सम्पादन गरेकाले प्रशंसा गर्दै उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो । 

असार १४ मदन जयन्तीमा ओली र भण्डारी एउटै मंचमा थिए । जुन मंचबाट भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । ओलीले भण्डारी सक्रिय राजनीतिमा आउँदैमा फरक नपर्ने बताएका थिए । ‘मदन भण्डारीको ७४औं जन्मजयन्तीलाई लिएर केहीले विभिन्न आश र अपेक्षा गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ — यहीबाट एमाले ध्वस्त हुन सुरु गर्छ भन्ने सपना देखेर बसेका छन्,’ उनले आपत्ति जनाए, ‘कुनै बम, बन्दुक, बारुद, गोला पड्किने वाला छैन । आश नगरे हुन्छ । नेकपा (एमाले) एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आश पनि कस्ता–कस्ता आश गरेका होलान् । आश गरेर बसेका छन् ।’ 

ओली आफ्नो धारणा राखेर हिँडेपछि भण्डारीले आफू एमालेमा जोडिन पाउँदा गर्व महसुस भएको बताएकी थिइन् । ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,’ उनको भनाइ थियो, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु, र यसमा म गर्व गर्दछु ।’ 

भण्डारीलाई ओलीले दिएको बलियो साथ

२०५० जेठ ३ मा पोखराबाट चितवन जाने क्रममा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि उनकी पत्नी भण्डारी सक्रिय राजनीतिमा आएकी थिइन् । एमालेमा अल्पमतमा रहेको बेला ओलीले ‘मदन भण्डारी फाउन्डेशन’ मार्फत गतिविधि गर्दै आएका थिए । 

उनी राजनीतिमा सक्रिय भएदेखि अध्यक्ष ओलीको दह्रो समर्थन रहँदै आएको भए पनि पछिल्लो समय तिक्तता बढ्दै गएको हो। भण्डारी पहिलो पटक २०७२ कात्तिक १२ देखि २०७४ फागुन २९ र दोस्रो पटक २०७४ फागुन ३० देखि २०७९ फागुन २९ सम्म राष्ट्रपति भएकी थिइन् । 

उनी विक्रम संवत २०५४ को माघमा भएको छैठौं राष्ट्रिय महाधिवेशनबाट पहिलो केन्द्रीय कमिटी सदस्य, २०५९ को सातौं महाधिवेशनबाट पनि पुनः केन्द्रीय सदस्य, २०६५ को आठौं महाधिवेशनबाट एकैपटक केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०७१ को नवौं महाधिवेशनले पुनः उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित गरेको थियो ।

तत्कालीन एमाले मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको वि.सं. २०५० सालको उपनिर्वाचन काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित भएकी थिइन् । २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचन गरी काठमाडौंका अन्य क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०५४ मा वातावरण तथा जनसंख्या र २०६६ सालमा रक्षा मन्त्री भएकी थिइन् । विद्यार्थी, महिला संघ, जिफन्टको नेतृत्वमा रहेर काम गरेकी थिइन् ।

गंगा बीसी

Link copied successfully