झापा लाग्नुअघि विराटनगरमा उनलाई सोधिएको थियो– ‘तपाईंको राजनीतिक यात्रा कहिले सुरु हुन्छ ?’ फर्केर पुलुक्क हेर्दै भनिन्, ‘चाँडै आउँछ ।’ लगत्तै अर्को प्रश्न थियो– ‘एमाले अध्यक्ष कहिले बन्ने ?’ जवाफमा भनिन्, ‘बेला आएपछि ।’
काठमाडौँ — जेठ ११ देखि सुरु भएको चीनको १० दिने भ्रमण सकेर फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी २३ गते विराटनगर ओर्लिएपछि तराईको मौसमभन्दा बढ्दा अहिले एमालेको आन्तरिक राजनीति तातेको छ । गुम्सिँदो अवस्थामा रहेका एमालेका नेता र कार्यकर्ता यतिबेला भण्डारीको छहारी लाग्दै छन् ।
उता अध्यक्ष केपी ओलीनिकट भएर त्यसको लाभांश पाएका नेता/कार्यकर्ता भने भण्डारीको सक्रियताबाट तरंगित छन् । विगतमा नेता र कार्यकर्ताहरूबीच मात्रै ओली र भण्डारीको कित्ताकाट भइरहेको थियो । यस पटक पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री नै एकअर्काप्रति राजनीतिक छेडछाडमा उत्रिएपछि एमालेभित्र मौलाइरहेको छदम समूहबन्दी केही सतहमै देखिएको छ ।
२४ जेठमा प्रधानमन्त्री ओली मोरङको कटहरी गाउँपालिकामा एउटा सामुदायिक अस्पताल उद्घाटन गर्दै थिए । भण्डारी ओलीकै गृहजिल्ला झापामा आयोजित एक समारोहमा प्रमुख अतिथि थिइन् । काठमाडौं फर्किएलगत्तै ओलीले अनेरास्ववियुको अधिवेशन उद्घाटन समारोहमा भण्डारीलक्षित कडा अभिव्यक्ति दिएका थिए । उनले पार्टीभित्र गुटबन्दीमा नलाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
‘यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो–उस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन । को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष । अहिले महाधिवेशन घोषणै भएको छैन,’ अध्यक्ष ओलीले भनेका थिए ।
उता, ६ दिन लामो पूर्वको भ्रमण सकेर काठमाडौं फर्किने क्रममा मंगलबार विराटनगर विमानस्थलमा भण्डारीले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहन नपर्ने प्रतिक्रिया दिएकी छन् ।
‘म कहिल्यै गुटबन्दी नगरेर मूलधारको राजनीति गरिरहेको मान्छे । म अध्यक्ष हुने कुराले अरु आकांक्षीका मनमा केही प्रश्न उठेको हुन सक्छ,’ उनले भनिन्, ‘म जुन पार्टीमा जन्में, हुर्कें र यो स्थानमा पुगें, त्योभन्दा फरक सोच्ने कुरा भएन । म अरू वामपन्थी र क्षेत्रीय पार्टीहरूले समेत समर्थन गरेर देशको राष्ट्रपति भएको हुँ । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीज्यूले मलाई नै तोकेर, ताकेर भन्नुभयो होला भन्ने लाग्दैन ।’
विराटनगरमा शुक्रबार दिउँसो स्थानीय तहका उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनमा सम्बोधन गरेपछि पूर्वराष्ट्रपति भण्डारीलाई कार्यक्रम स्थलबाट बाहिरिने क्रममा पत्रकारहरूले सोधेका थिए– तपाईंको राजनीतिक यात्रा कहिले सुरु हुन्छ ? भण्डारीले फनक्क फर्केर भनिन्, ‘चाँडै आउँछ ।’ लगत्तै पत्रकारको अर्को प्रश्न थियो– पूर्वराष्ट्रपतिज्यू, राजनीतिमा त सक्रिय भइसक्नुभयो, तपाईं एमाले अध्यक्ष कहिले बन्ने ? यो प्रश्नमा उनले भनिन्, ‘बेला आएपछि ।’ यति जवाफ दिएपछि गाडी चढेर बाहिरिएकी पूर्वराष्ट्रपति भण्डारी सिधै झापा आएकी थिइन् ।
एकअर्काप्रति मौखिक छेडखानीका यी अभिव्यक्तिले एमालेभित्र बढ्दै गएको गुटबन्दी झल्काउँछ । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी २०७९ पछि उच्च ओहदाबाट बिदा भइन् । राष्ट्रपतिको कार्यकालपछि केही समय गुपचुप बसेर उनले अहिले राजनीतिक सक्रियता बढाएकी छन् ।
उनको सक्रियताले एमालेको आन्तरिक समीकरण तरंगित छ । पछिल्लो चार महिनामा यो उनको दोस्रो विराटनगर यात्रा हो । यसअघि १४ माघमा विराटनगर आएका बेला मोरङमै केन्द्रित रहेकी भण्डारी यस पटक भने मावा खोला तरेर झापासम्म पुगिन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा एमालेकै ब्यानरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बनिन् ।
भण्डारीको यस पटकको भ्रमणको ‘राडार’ अलि फराकिलो छ । उनले २३ जेठमा विराटनगरमा उपमेयर/उपाध्यक्षहरूको राष्ट्रिय भेलामा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउनु र त्यसको भोलिपल्ट झापामा एमालेकै आधिकारिक ब्यानरमा प्रमुख अतिथि बन्नु विगतको भन्दा फरक परिदृश्य हो ।
एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा देखा परेपछि एमालेभित्र उनको सक्रिय पुनरागमनको विषय अब अड्कलबाजीमा सीमित रहेन । ओलीभन्दा इतरसमूहमा रहेका एमाले मोरङका नेता विनोद ढकालले भण्डारीको सक्रियता राजनीतिमा फर्किनैका लागि भएको बताए । ‘पुनः पार्टी राजनीतिमा आउने उहाँको मनसाय देखिन्छ,’ ढकालले भने, ‘उहाँको त्यही इच्छामा हामीले सहयोगी भूमिका खेल्न खोजेका हौं ।’
दुई दिन प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा बसाइँमा पूर्वराष्ट्रपति भण्डारी विभिन्न कार्यक्रम तथा पार्टी कार्यकर्ता भेटघाटमा व्यस्त बनिन् । झापामा उनलाई पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, पार्टीका उपाध्यक्ष शिव ढुंगेललगायतले स्वागत गरेका थिए । विराटनगरबाट झापा आउने क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग एमाले प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईहरू सँगै थिए । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा आइपुगेकी थिइन् ।
उनी झापामा विभिन्न कार्यक्रममा सहभागी भइरहँदा पार्टीका जिल्ला र विभिन्न तहका नेतासँग उनको संवाद भइरह्यो । उनले एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरिन् । झापा शिवसताक्षीमा रहेको झापा इनर्जीको अवलोकन गर्न स्थलमै देखिइन् ।
नारी सञ्चार गृहले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न भ्याइन् । विराटनगरबाट पूर्वराष्ट्रपति भण्डारीसँगै आएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज राई, पार्टी उपाध्यक्ष टीकाराम चेम्जोङलगायत पनि दुई दिनसम्म साथमै थिए । उनीहरूबाहेक झापाका हरिचरण शिवाकोटी, प्रेम गिरी, शिव ढुंगेल, सुवास भट्टराई, सभामुख पत्नी टीका घिमिरेलगायत पनि उनी सँगै हिँडे । उनले अखिल नेपाल महिला संघका केन्द्रीय नेतृत्वदेखि जिल्ला तहका महिला नेतृलाई छुट्टै भेटघाट गरेको स्रोत बताउँछ । भेटघाट र संवादबाट झापामा भण्डारीको बसाइँ केही महिनाअघि विराटनगरको जमघटलाई बिर्साउने खालको रहेको कार्यकर्ताबीच चर्चा थियो ।
भण्डारीको सक्रियता गत २ पुसमा पोखराबाट सुरु भएको हो । पोखरामा उनले कोशी प्रदेशमा जस्तै पाँच दिनसम्म स्थानीय एमाले नेताहरू र सामाजिक संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । त्यसपछि माघ १४ मा कोशी प्रदेशमा एक साता लामो भ्रमण गरेकी थिइन् । कोशी भ्रमणबाट फर्किएलगत्तै मोरङमा भएको पार्टी निर्वाचनमा आफूनिकट मानिएका उम्मेदवारको जित र त्यसमा उनको अप्रत्यक्ष प्रभाव देखिन सुरु भयो ।
विराटनगर महानगर कमिटी र विराटनगरकै मानगढ खानेपानी उपभोक्ता समिति निर्वाचनमा पनि ओलीइतरका उम्मेदवारले जित हासिल गरे । कोशी प्रदेशमा भण्डारीलाई एमालेका पुराना नेता विनोद ढकालको साथ रह्यो । ढकाल विगतमा अध्यक्ष ओलीका निकै निकट मानिन्थे । तर प्रदेश सम्मेलनपछि उनी ओलीप्रति असन्तुष्ट बनेका थिए । सम्मेलनमा ओलीले ढकाललाई छोडेर घनश्याम खतिवडालाई प्रदेश अध्यक्ष बनाएका थिए । त्यसयता ढकाल र ओलीबीच दूरी बढ्यो । त्यसपछि ढकाललगायतले भण्डारीको सक्रियतामा सहयोगी भूमिका खेल्न थाले ।
कोशीबाट फर्किएपछि भण्डारी गत ५ फागुनमा थाइल्यान्ड भ्रमणमा गएकी थिइन् । थाइल्यान्डबाट फर्किएपश्चात् काठमाडौंमा ओलीको पुस्तक लोकार्पण कार्यक्रममा सहभागी हुँदै उनले ओलीको मुक्तकण्ठले प्रशंसा पनि गरिन् । उनलाई ओलीसँग पूर्ण टकरावभन्दा पनि एमालेभित्र फरक किसिमको भूमिका निर्माणको खोजीमा रहेको संकेत गरेकी थिइन् । तर जेठ २४ मा झापाको कार्यक्रममा पहिलो पटक पार्टी ब्यानरमा प्रमुख अतिथि बनेपछि भने त्यसलाई ओलीले पनि रुचाएनन् र उनी लक्षित टिप्पणी गरे ।
ओलीको सार्वजनिक आक्रोश र भण्डारीको प्रतिक्रिया हेर्दा दुई नेताबीच सहज सहकार्य भइरहेको जस्तो भने देखिँदैन । झापाका ओलीनिकट एक एमाले नेताले राष्ट्रपति भइसकेको व्यक्ति संसदीय राजनीतिमा आउने सम्भावना ज्यादै न्यून रहेको दाबी गरे । ‘तर, सार्वजनिक जिम्मेवारीमा नआउने गरी पार्टी चलाउने गरी आउन सक्ने सम्भावनाचाहिँ जीवितै छ,’ ती नेताले भने, ‘तर, अध्यक्ष ओलीले नचाहुन्जेलसम्म त्यो प्रायः असम्भव नै देखिन्छ ।’
