मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन : ओली

'मदन भण्डारी फाउन्डेसन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन’

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Madan Bhandari Foundation not made by party: Oli

What you should know

काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन् । सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले फाउन्डेसनबारे धारणा राखेका हुन् । 

मदन-आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउन्डेसन बनेको ओलीको भनाइ थियो । मदन भण्डारी फाउन्डेसन एमाले पार्टी र कम्युनिस्ट आन्दोलनप्रति निष्ठाका साथ स्थापना नभएको उनले बताए ।

पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्था सामूहिक संस्था हुनुपर्ने ओलीको भनाइ थियो । नेताहरूको नाममा प्रतिष्ठान स्थापना गर्ने र पछि व्यक्तिले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने पनि उनको भनाइ थियो ।

‘पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्‍यो, पहिला प्रधानमन्त्री भएपछि भ्याउँदिन भनेर, एउटाबाट अर्कोमा चेन्ज गर्ने भयो । सधैँ त्यो गुठी केही व्यक्तिहरूले त्यो पद छोड्दै नछोडेर, अनि त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई समर्थकको रुपमा राख्ने, बहुमत लिइराख्न आफूसँग लिने, त्यसलाई नियन्त्रण गर्ने, त्यो संस्था कब्जाभित्र त्यो एउटा आन्दोलनको पक्षमा, विचारको पक्षमा, परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन कि व्यक्तिको ठगी खाने भाँडो हुने की पार्टीप्रति निष्ठा हुने आन्दोलनप्रति निष्ठा होइन,' ओलीले भने, 'मदन भण्डारी फउन्डेसन पार्टीले बनाएको होइन । आफैँ बनाएको हो, अरु ढंगले ।'

केही प्रतिष्ठान पार्टीले बनाएको भएपनि मदन भण्डारी फाउन्डेसन भने एमालेले नबनाएको ओलीको भनाइ थियो । 'जतिबेला मदन-आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो, पर्सी जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित भए,' ओ‌लीले भने, 'त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउन्डेसन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’

अध्यक्ष ओलीले प्रतिष्ठानहरू ठगी खाने भाँडोका रुपमा स्थापित हुनु नहुने बताए । 

कान्तिपुर

Link copied successfully