चुनाव : विवेक परीक्षणको निर्णायक अवसर

७ फागुन २००७ मा नेपालमा प्रजातन्त्र आएको थियो । त्यसको ७५ वर्षपछि चालु फागुन महिनामै सम्पन्न हुन गइरहेको आमनिर्वाचन विशेष परिस्थितिजन्य सन्दर्भमा उभिएको छ । यो निर्वाचन राज्य, समाज र नागरिक चेतनाबीचको सम्बन्ध पुनः परिभाषित हुने ऐतिहासिक विन्दु उपस्थित छ ।

फाल्गुन १४, २०८२

यादव अर्याल

Elections: A crucial opportunity for a test of sanity

What you should know

हामी बाँचिरहेको समकालीन वैश्विक समाजको सामूहिक दुखान्तका प्रमुख उत्प्रेरक हुन्– ‘इलुजन ट्र्याप’ र ‘अल्गोरिदम पपेट’ । बेलगाम सूचना प्रवाह र सम्प्रेषणको प्रदूषित विविधताले नेपाली समाजलाई वैचारिक रूपमा अवरुद्ध बनाएको धेरै समय भइसकेको छ । विगत केही दशकदेखि देश राजनीतिक थकान र आशाबीचको तीव्र अन्योलले संक्रमित छ ।

हिजोआज सामाजिक विवेक ‘अल्गोरिदम’ ले छनोट गरेका कस्मेटिक सामग्रीका घेराभित्रै सीमित छ । परिणामतः समाज आलोचनात्मक चिन्तन र फरक मतप्रतिको स्वाभाविक सहिष्णुताभन्दा पूर्वनिर्धारित धारणाको अस्वाभाविक नवीकरणतर्फ उद्यत छ ।

सूचना प्रशस्त छ, आवाज धेरै छन् तर व्यावहारिक दिशाबोध कमजोर छ । विवेकको संकट गहिरिँदै छ । समाजमा एकातिर निरन्तर राजनीतिक असफलताबाट उत्पन्न आजित भावना छ, अर्कोतिर परिवर्तनप्रतिको क्षीण आशा । आजित समाज र थकित सामाजिक मनोविज्ञानबाट उत्पन्न हुने कुनै पनि सामूहिक निर्णय प्रायः अधकल्चो, प्रतिक्रियात्मक र अदूरदर्शी हुने जोखिम उच्च हुन्छ । जब समाज मानसिक रूपमा थकित हुन्छ, उसले दीर्घकालीन रूपमा सोच्न सक्दैन ।

तत्काल राहत, सजिलो समाधान र भावनात्मक सन्तुष्टिलाई प्राथमिकता दिन थाल्छ । यस्तो अवस्थामा लोकतान्त्रिक निर्णय पनि विवेकको परिणाम होइन, थकानको प्रतिक्रिया बन्न पुग्छ । हाम्रो समाजका हरेक क्रिया–प्रतिक्रिया विषाक्त छन् । यही नै आजको नेपाली समाजले सामना गरिरहेको सबैभन्दा गम्भीर चुनौतीसँगै अनुभवजन्य संरचनागत यथार्थ हो ।

७ फागुन २००७ मा नेपालमा प्रजातन्त्र आएको थियो । त्यसको ७५ वर्षपछि चालु फागुन महिनामै सम्पन्न हुन गइरहेको आमनिर्वाचन विशेष परिस्थितिजन्य सन्दर्भमा उभिएको छ । यो निर्वाचन राज्य, समाज र नागरिक चेतनाबीचको सम्बन्ध पुनः परिभाषित हुने ऐतिहासिक विन्दु उपस्थित छ ।

फ्रान्सेली दार्शनिक जोसेफ मेस्त्रले कुनै सन्दर्भमा भनेका थिए, ‘हरेक राष्ट्रले आफ्नो क्षमताअनुसारको नेता पाउँछ । नेतृत्वको गुणस्तर अन्ततः नागरिक चेतनाको स्तरसँग अन्तरसम्बन्धित हुन्छ । यो समय नागरिक चेतनाको परीक्षा हो– हामी स्वतन्त्र नागरिकका रूपमा उभिन सक्षम छौं कि अझै राजनीतिक क्याडर, भावनात्मक बफादारिताको हिस्सामै सीमित छौं भन्ने प्रश्न यहीं ठोक्किन्छ ।

स्वतन्त्र नागरिक हुनुको राजनीतिक हैसियत कुनै जन्मसिद्ध अधिकार मात्रै होइन– यो निरन्तर अभ्यास, संयम अनुशासन र विवेकपूर्ण छनोटको परिणाम हो । जब नागरिक आफ्नो निर्णय क्षमतालाई विचारविहीन दल, गैरलोकतान्त्रिक नेतृत्व वा असंगठित भीडमा सुम्पिन्छ, तब उसले नागरिक स्वतन्त्रताको गरिमा गुमाउँछ ।

हामी आज नेपाली राजनीतिको परिभाषित विरोधाभास र सामूहिक उन्मादको समयमा बाँचिरहेका छौं । एकातिर लोकतन्त्रको भाषा बोलिन्छ, अधिकारको चर्चा हुन्छ, अर्कोतिर नागरिक व्यवहारमा त्रास, उत्तेजना, असहिष्णुता र अन्ध–निष्ठा मौलाउँदै छ । यो विरोधाभास केवल राजनीतिक संरचनामा होइन, हाम्रो सामाजिक मनोविज्ञानकै जडता बनेको छ ।

निर्वाचन र मतदानको मूल ध्येय व्यक्ति चयन होइन, विचारको छनोट हो । तर, हाम्रो आजसम्मको राजनीतिक संस्कृतिले यो आधारभूत सत्यलाई स्विकार्न सकेको छैन । हामी उम्मेदवारको नाम, अनुहार, भावनात्मक अपिल वा ‘मोमेन्टरी’ उत्तेजनामै निर्णय गर्छौं । तर, उसले बोकेको एजेन्डा, नीति, दृष्टिकोण र दीर्घकालीन प्रभावमाथि गम्भीर विमर्श गर्दैनौं । यही कारण लोकतन्त्र प्रक्रिया त बन्छ तर चेतना बन्न सक्दैन । 

हामीले मतदान गर्दा व्यक्तिलाई होइन, उसले प्रतिनिधित्व गर्ने विचारलाई केन्द्रमा राख्नुपर्छ । परिवर्तनको आधार व्यक्तित्व होइन, विचार हुन्छ । व्यक्ति परिवर्तनशील हुन्छ तर विचारले संस्थागत दिशा दिन्छ । यसका लागि यस पटकको परिस्थितिजन्य आमनिर्वाचनमा हाम्रो सामूहिक वैचारिक मतैक्यता आवश्यक छ, जसले भावनात्मक ध्रुवीकरणलाई होइन बरु विवेकपूर्ण सहमतिलाई प्राथमिकता दिन सकोस् ।

आज हामी अभूतपूर्व राजनीतिक अन्योल र तरलताको अवस्थामा उभिएका छौं । राज्यको वैधता, संस्थाको विश्वसनीयता र राजनीतिक प्रक्रियाप्रति नागरिकको भरोसा एकसाथ दुर्घटनाग्रस्त छ । यस्तो अवस्थामा हाम्रो विवेकपूर्ण अभिमतलाई सचेत चेतनासहित प्रयोग गरिएन भने यो संकट थप संस्थागत गर्ने माध्यम पनि बन्न सक्छ ।

सामाजिक सञ्जाल, सार्वजनिक फोरम र राजनीतिक–सामाजिक संवादहरूमा विचारभन्दा निन्दा, तर्कभन्दा आरोप र विवेकभन्दा क्षुब्धता हाबी छ । यो अभिव्यक्तिको संकट मात्रै होइन, संयमित शिल्प–कलाको क्षय हो । आज सामाजिक अश्लीलता सामान्यीकरण हुँदै गएको छ । असहमतिको भाषा सभ्य छैन, आलोचनाको शैली जिम्मेवार छैन । विचारको टकराव आवश्यक हुन्छ तर व्यक्तिमाथिको आक्रमणले समाजलाई बौद्धिक रूपमा शिथिल बनाउँछ । जब संवाद संस्कारहीन बन्छ, तब लोकतन्त्र स्वरूपहीन हुन्छ ।

पब्लिक इन्टेलेक्चुअल विष्णु सापकोटाले भनेका छन्, ‘जुन समाजले पढ्दैन, त्यो समाजले चिन्तन गर्दैन र तर्क बुझ्दैन ।’ यो भनाइ आजको नेपाली समाजमा अत्यन्त सान्दर्भिक छ । हाम्रो अधिकांश समाजले पढ्दैन । पढ्नु केवल अक्षर चिन्नु होइन, विचारसँग जुध्न जान्नु हो । नपढ्ने समाजलाई सजिलै परिचालन गर्न सकिन्छ । आजको नेपाली समाज ‘डिजिटल अल्गोरिदम’ द्वारा अनियन्त्रित तवरले दिग्भ्रमित छ । नेपाली बहुसंख्यक समाज बोल्छ धेरै, सोच्छ कम र बहकिन्छ बढी । वर्तमान नेपाली समाजको ठूलो हिस्सा तर्कभन्दा ‘अट्रिसन’ मा अभ्यस्त छ । तथ्यभन्दा अफवाह, विश्लेषणभन्दा भावनात्मक विचलन प्रभावकारी बनेको छ । यस्तो अवस्थामा निर्वाचन विचारको उत्सव नभई भावनाको युद्ध बन्ने जोखिम छ ।

यसै पनि यो अवस्था आकस्मिक होइन, लामो समयदेखि हामीले बेवास्ता गर्दै आएको सामाजिक–राजनीतिक दुर्व्यसनको परिणाम हो । यदि यो प्रवृत्तिलाई सच्याउन सकिएन भने लोकतन्त्र केवल प्रक्रियामा सीमित रहनेछ, चेतनामा रूपान्तरण हुने छैन ।चुनाव भइरहनेछ, सरकार बदलिँदै जानेछन् । तर, नागरिक चेतनाको आयाम उस्तै रहनेछ । यस्तो लोकतन्त्रले न न्याय दिन सक्छ, न समावेशिता, न दीर्घकालीन स्थायित्व ।

फागुन–२१ त्यसैले एक मिति मात्रै होइन, चेतनाको परीक्षा हो । प्रश्न यो होइन कि को जित्छ, प्रश्न यो हो हामी कस्ता नागरिकका रूपमा उभिन्छौं ? ‘एक्सट्रिम’ भावनाले निर्देशित जत्थाका रूपमा कि विवेकले निर्देशित स्वतन्त्र नागरिकका रूपमा ?

अन्ततः यस निर्वाचनमा हामीले परिस्थितिको वस्तुनिष्ठ विश्लेषणसहित राजनीतिक चेतनाको दीर्घायु प्रयोग गर्ने छौं । कोरा राजनीतिक वाणीले भ्रमित हुने छैनौं । आत्मचिन्तन र तार्किक जिज्ञासाले प्रेरित हुने छौं । हामी भदौ २३ सम्झिने छौं र भदौ २४ लाई किञ्चित् नजरअन्दाज गर्ने छैनौं । त्योसँगै लोकतन्त्रको सुन्दर मुकाम भनिने मतदानस्थलबाट सानदार ‘मत–विद्रोह’ गर्ने छौं । र, फागुन २१ पछि हरेक ‘आमनेपाली नागरिक’ ले जित्ने छन् र देशले जित्ने छ । राष्ट्रिय स्वार्थले जित्ने छ । समयको बहावले जित्ने छ ।

यो अवसरलाई गम्भीर आत्ममूल्यांकनको क्षण बनायौं भने यही निर्वाचनबाट हामी आफैंले नयाँ राजनीतिक संस्कृतिको बीजारोपण गर्ने छौं । तर, यदि यसलाई पनि अघिल्ला चुनावझैं भावनात्मक उत्सवमै सीमित राख्यौं भने हामी स्वयं स्टाटस क्वोइज्म (यथास्थितिवाद) को निरन्तरताका जिम्मेवार हुनेछौं । यो असाधारण अवसर गुमाउनु राष्ट्रको भविष्यसँग गरिएको गम्भीर धोकाधडी ठहर्ने छ ।

यहाँ अर्को यक्ष प्रश्न पनि छ– फागुन २१ ले के दिन्छ ? निर्वाचन त हुन्छ नै तर निर्वाचन पछि के हुन्छ ? निर्णय हामी नागरिकको सामूहिक विवेकमै निर्भर छ– समकालीन परिवर्तनको ‘सचेत अंशियार’ बन्ने कि फगत ‘एब्स्ट्र्याक दर्शक !’

यादव अर्याल अर्यालले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully