सहिद, सरकार र नागरिक

यसपटक संसद्मा हस्ताक्षर गरेर हिँड्ने, बैठकमा गएर निदाउने, भत्ताका लागि मात्र बैठकमा जाने, नीति नियमको कुरा नगर्ने व्यक्तिहरूलाई भने पाखा नै लगाउनुपर्छ

माघ २९, २०८२

उमेश कार्की

What you should know

 नेपालको इतिहासमा २३ र २४ भदौ कहिल्यै नमेटिने दिनका रूपमा अंकित भएको छ । सामाजिक सञ्जाल बन्दको विरोध र सुशासन पक्षमा नवयुवाहरूले शान्तिपूर्ण रूपमा सुरु गरेको आन्दोलनमा राज्यले गरेको चरम दमनका कारण रक्तपातमय हुन गयो । ७६ जनाको ज्यान गयो । सरकारी दमनको आक्रोशमा २४ भदौमा राज्यको सरकारी संरचना, निजी सम्पत्ति, मिडिया हाउस, व्यापारिक भवन आदिमा करोडौंको क्षति भयो ।

बाबुको काँध बनेका छोराछोरी कहिल्यै फर्केर आउने छैनन् । टुहुरा बालबालिकाको सहारामा सधैं कमी हुनेछ । त्यस्तै, शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूको गोलीको चोट सधैं चहराउनेछ । यी सारा दुःखद कुरा एकातिर छ । तर, यस जेन–जी आन्दोलनले हाम्रो यथार्थ धरातल बुझ्न सहयोग पनि गरेको छ । जस्तो, हाम्रो सुरक्षा, गुप्तचर निकायहरू कति कमजोर रहेछन् भन्ने विषयलाई यसले छर्लंग पारेको छ । किनकि त्यही कमजोरीले इतिहास बोकेका देशका महत्त्वपूर्ण संरचनाहरूको सुरक्षा हुन सकेन ।

आन्दोलनको यति लामो समय बितिसक्दा पनि केही प्रश्नहरू भने अझैं अनुत्तरित नै छन् । सायद छानबिन आयोगको प्रतिवेदनले त्यसबारे केही बोल्ला । तर, सरकारी संवैधानिक निकायहरू, न्यायालय, अख्तियार, सिंहदरबार र संसद् भवनमाथि किन आक्रमण भयो ? कसको कारण आक्रमण भयो ? परिणाममा आन्दोलनकारीहरूले के पाए ? उक्त आक्रमण सम्बन्धित निकायमाथि थियो वा संरचनामाथि ? आक्रमणपछि सम्बन्धित निकायहरूले आत्मसमीक्षा गरे त ? परिणामबाट गर्छन् त ? त्यो घटनाको जिम्मेवार को हो ? आन्दोलनकारी, सत्ताधारी दल, पुराना दल, नयाँ दल वा तेस्रो पक्ष ?

यस्ता प्रश्नको जवाफ समय वा भावी सरकारले देला । तर काख रित्तिएका आमाहरूको कहिल्यै काख भरिने छैन । बाबुको काँध बनेका छोराछोरी कहिल्यै फर्केर आउने छैनन् । टुहुरा बालबालिकाको सहारामा सधैं कमी हुनेछ । त्यस्तै, शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूको गोलीको चोट सधैं चहराउनेछ । उनीहरूमध्ये कतिपयले आफैंलाई सोध्न सक्लान्, कसका लागि आन्दोलन गरिस् ? के पाइस् ? भविष्यमा तेरो पुस्ताले कसरी सम्झिन्छ ? 

पछिल्लो समयलाई नजरअन्दाज गर्दा त्यो घटना रास्वपाले हाइज्याक गरेको प्रमाणित भएको छ । वार्ताको टेबुलमा बस्ने सुधन गुरुङ, अप्रत्यक्ष रूपमा सहभागी भएका बालेन, आन्दोलनपश्चात् मन्त्री भएका व्यक्तिहरू रास्वपामा समाहित भएर चुनावमा सहभागी भएकाले पनि यस्तो भन्न सकिन्छ । त्यस्तै, रास्वपा सभापति रवि लामिछानेमाथि लागेको मुद्दा संशोधन, फिर्ता गर्ने महान्यायाधिवक्ताबाट प्रयास हुँदा जेन–जीका तर्फबाट वार्तामा बस्नेहरू चुप हुनुले यस 

कुरामा थप बल पुग्छ । तर आन्दोलन नै रास्वपाले गरेको भन्न भने मिल्दैन । किनकि त्यस समयको घटना मेल खाँदैन । हाइज्याक भने गर्न खोजेको, गरेको देखिन्छ ।

निर्वाचन र राजनीतिक दल

तत्कालीन सरकारलाई आन्दोलनले बहिर्गमन गराइसकेपछि बनेको अस्थायी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनमा चुनाव घोषणा गरेका थिए । त्यसैले अहिले सरकार चुनाव गराउन लागिपरेको छ । सुरुका दिनहरूमा चुनाव टार्ने मनस्थिति बनाएका राजनीतिक दलहरू समेत चुनावमा होमिएका छन् । साथै, परिणाम आफ्नो पक्षमा पार्न तम्सिएका छन् ।

उनीहरू पूर्ववर्ती वर्षमा जस्तै आफ्नो वाचाबन्धनहरू लिएर जनताको घरदैलोमा जान थालेका छन् । यसपटक चुनावमा नयाँ कुरा पनि देखिएको छ । त्यो चुनावअघि नै दलले प्रधानमन्त्री घोषणा गरेर जानु र कुनै पनि ठूला दलहरूले गठबन्धन नगर्नु हो । 

आन्दोलनपछि चुनावमा होमिएका राजनीतिक दलहरूले केही नयाँलाई अवसर दिएको देखिए पनि सबैमा त्यस्तो देखिएन । फौजदारी कसुर, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार जस्ता गम्भीर खालका कसुरको आरोप लागेका वा मुद्दा चलिरहेका व्यक्तिहरूलाई समेत केही राजनैतिक दलहरूले टिकट दिएका छन् ।

त्यस्ता आरोपित उम्मेदवारहरूले कसुर गरे गरेनन्, त्यो त अदालतले भन्ला । तर यस्ता आरोप लागिसकेका व्यक्तिलाई चुनावमा सहभागी गराउँदा भने राजनीतिक दलहरूको उही पुरानो शैली देखिन्छ । अर्कोतिर समानुपातिक निर्वाचनमा त नातावाद नै हाबी भएको पनि देखियो । यसले देशमा यत्रो आन्दोलन हुँदा पनि राजनीतिक दल कति पनि सजग भएनछन् भन्ने बुझ्न सकिन्छ । 

आन्दोलनपछि चुनावमा होमिएका राजनीतिक दलहरूले केही नयाँलाई अवसर दिएको देखिए पनि सबैमा त्यस्तो देखिएन । फौजदारी कसुर, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार जस्ता गम्भीर खालका कसुरको आरोप लागेका वा मुद्दा चलिरहेका व्यक्तिहरूलाई समेत केही राजनैतिक दलहरूले टिकट दिएका छन् ।त्यस्तै, सामाजिक सञ्जालमा गर्न हुने/नहुने काम गरेर भाइरल भएका पात्रहरूलाई समेत राजनीतिक दलले चुनावी टिकट दिएका छन् । जुन एक अर्थमा चिन्ताजनक कुरा हो । किनकि त्यस्ता व्यक्तिहरूले जनताको आवाज बोल्नेमा शंका गर्न सकिन्छ । केही उम्मेदवारले त राजनीति भनेको अरूलाई गाली गर्नु मात्रै हो भन्ने धारणा बोकेको हो कि भन्ने देखिन्छ । यसले गर्दा दलहरूमा देश परिवर्तनको भन्दा पनि ‘पपुलिजम’ को भोक बढ्ता देखिन्छ । चुनावमा होमिरहेका धेरै राजनीतिक दलहरूले अझै घोषणापत्र ल्याएका छैनन् । घोषणापत्रबाट नै आमजनताले दलको मनोविज्ञान बुझ्ने हो । त्यसकारण पनि राजनीतिक दलको घोषणापत्रमा संघीय लोकतान्त्रिक व्यवस्था, धर्म निरपेक्षतामा स्पष्ट धारणा हुनुपर्छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक रूपमा पछाडि परेका नागरिकको उत्थान कसरी गर्ने ? राज्यका संवैधानिक निकायहरूलाई व्यवहारमा कसरी मजबुत बनाउने ? सरकारी कार्यालयहरूमा बैंकिङको जस्तो सेवा र होटलको जस्तो सत्कार दिने खालको सरकारी सेवा कसरी बनाउने ? सडक, शिक्षा, स्वास्थ्य, वातावरणसम्बन्धी के छ नीति ? जस्ता कुरामा दललहरूले आफ्नो धारणा दिनुपर्छ, न कि प्रधानमन्त्रीको टाउको देखाएर पपुलिजमका आधारमा भोट माग्नुपर्छ ।

निर्वाचन र जनता

नेपालमा चिया पसल, चौतारा, बाटोदेखि जुनसुकै ठाउँमा भ्रष्टाचार, महँगी, बेरोजगारी जस्ता विभिन्न पक्षको बहस विरोध भइरहेको हुन्छ । तर हामी जनता पनि चुनावको मुखमा आएर यस्ता विषय भुल्ने गर्छौं । अनि चुनावपछि ऐंठनमा पर्ने गर्छौं । अब यसपटक यसबाट बाहिर आउनुपर्छ । हाम्रो होइन, राम्रोलाई मतदान गर्नुपर्छ । पछिल्लो समयमा बहुमतको भूत सवार गराएर प्रधानमन्त्रीको टाउको देखाएर भोट माग्न थालिएको छ । जुन एक हदले ठीकै हो । तर, यस पटक संसद्मा हस्ताक्षर गरेर हिँड्ने, बैठकमा गएर निदाउने, भत्ताका लागि मात्र बैठकमा जाने, नीति नियमको कुरा नगर्ने व्यक्तिहरूलाई भने पाखा नै लगाउनुपर्छ ।

बैठक वा गाउँमा बिरलै झुल्कने, जनताको दुःखलाई नजरअन्दाज गर्ने, सामान्यतया नेपाली पढ्न नजान्ने, कानुन बनाउन पेस भएका मस्यौदामा के व्यवस्था गरेको छ भन्ने विषय थाहा नहुने, माथिका टाउके नेताहरूले भनेको कुरामा हो मा हो मिलाउनेलाई पनि बिदा गर्नुपर्छ । फौजदारी कसुर, भ्रष्टाचार जस्ता गम्भीर खालका आरोप लागेका व्यक्ति तथा नातावादबाट आएकाहरूलाई पनि रोक्नुपर्छ । यो समयमा शान्तिपूर्ण तरिकाले चुनाव हुनु मात्रै ठूलो विषय होइन भन्ने बुझ्नुपर्छ । चुनावपछि सदनमा कस्ता मान्छे पठाउँदै छौं, त्यसलाई बढी ख्याल गर्नुपर्छ ।

उमेश कार्की

Link copied successfully