हाम्रा राजनीतिक दलहरूले घोषणापत्र ल्याउन ढिलाइ गर्दै घरदैलो कार्यक्रम गरेको देख्दा ‘व्यक्तिप्रधान’ राजनीतिको चेतावनी निम्त्याएको अनुभूति गरेको छु ।
What you should know
काठमाडौँ — कान्तिपुर दैनिकले हालै दलहरूले नीतिका आधारमा नभई व्यक्तित्वका आधारमा मतदातालाई प्रभावित पार्दा निर्वाचन नै ‘नीतिप्रधान’ नभई ‘व्यक्तिप्रधान’ बनाएको सामग्री पस्किएको थियो । ती सामग्री पढ्नुअघि म, एक जेन–जी, कुन जनप्रतिनिधि रोज्ने र मतदाताको जिम्मेवारी निर्वाह गर्ने भनेर केही हदसम्म पक्का भइसकेको थिएँ । तर ती सामग्री पढेपछि भने राजनीतिक दलहरूको घोषणापत्र र नीतिहरू आउनुअगावै कुनै पक्ष अँगाल्नु केवल निराशाको भावना र अन्तरज्ञान मात्रैबाट प्रभावित भई पूर्वाग्रह राख्दा, मतदानजस्तो ठूलो जिम्मेवारीलाई अन्याय गरेको हो कि भन्ने सोच महसुस गरें ।
यस प्रसंगमा जोनाथन हाइटको पुस्तक ‘द राइटियस माइन्ड : ह्वाई गुड पिपल आर डिभाइडेड बाई पोलिटिक्स एन्ड रिलिजन’ निकै समय सान्दर्भिक लाग्छ । पुस्तकमा हाइटले विभिन्न ‘इम्पिरिकल’ परीक्षण र अनुसन्धानमार्फत ‘सोसल इन्ट्युइसनिस्ट मोडल’ को परिकल्पना गरेका छन्, जसको मुख्य सार भनेकै ‘तर्कले अन्तरज्ञानलाई पछ्याउँछ’ अर्थात् पहिले अन्तरज्ञान उत्पादित हुन्छ भने तर्कको सिर्जना सो अन्तरज्ञानलाई औचित्यता दिनका लागि नै हुन्छ ।
अन्तरज्ञान र तर्कको सम्बन्धलाई हाइटले एक हात्ती र माहुतेको रूपकद्वारा चित्रण गरेका छन्, जसमा उनले हात्ती (अन्तरज्ञान) मानवको विकासात्मक क्रममा बन्दै आएको एक स्वचालित प्रक्रिया र माहुते (तर्क) भाषामा आधारित नियन्त्रित क्षमता रहेकै कारण हात्तीले आफ्नो दाम्लो यही माहुतेलाई दिएको भनी विश्लेषण गरेका छन् । यस सम्बन्धमा हात्ती माहुतेभन्दा बलवान भए पनि एक तानाशाहसरह नभई एक वकिल र उसको ‘क्लाइन्ट’ सरह हुन्छ र यसको उत्पत्ति मनुष्यको सत्यतातर्फ नभई जीवित रहने प्रवृत्ति रहेको बताउँछन् । तर हाइटले यस्तो हुँदाहुँदै पनि हामीले हात्ती र माहुतेलाई ‘कन्फरमेसन बायस’ गर्ने प्रवृत्तिबाट आन्तरिक मनन र बाहिरी सामाजिक छलफलद्वारा माहुतेलाई पनि अन्तरज्ञानको प्राथमिकताको स्तरसरह विकसित गर्न सक्छौं भनी स्पष्ट पारेका छन् ।
यही सन्दर्भमा २३ भदौको रक्ताम्य दिन र २४ भदौ विध्वंसात्मक दिनको इतिहासलाई एउटा निर्वाचनले बिर्सन नदियोस् भन्ने मेरो अटल आशा छ । तर यस आशासँगै हाम्रा राजनीतिक दलहरूले घोषणापत्र ल्याउन ढिलाइ गर्दै घरदैलो कार्यक्रम गरेको देख्दा ‘व्यक्तिप्रधान’ राजनीतिको चेतावनी निम्त्याएको अनुभूति गरेको छु । यस किसिमको राजनीतिले हामी मतदाताको ‘नीति’ प्रतिको तार्किक भूमिका बिर्साउँछ र हाम्रो सारा निर्णय लिन सक्ने क्षमता तर्कको माहुतेलाई नभई अन्तरज्ञानको हात्तीलाई मात्रै दिन्छ ।
यति मात्रै नभई, अहिले प्रचलित देवत्वकरण र राक्षसीकरणको भाष्यलाई बढावा दिँदै यसले भोलिको दिनमा ‘भक्ति’ लाई जन्म दिन सक्छ । भक्तिको घातकताका बारेमा भारतीय संविधानका पिता कहलिएका डा. भीमराव अम्बेडकरले सो संविधान जीवित राख्न मुख्य तीन कुरालाई ध्यानमा राख्नैपर्छ भन्ने प्रसंगमा ‘भक्तिलाई राजनीतिमा मिश्रण गर्नु हुँदैन, भक्तिले धर्ममा मोक्षतर्फ डोर्याउने गर्छ भने राजनीतिमा अवनति र तानाशाहीतर्फ धकेल्ने गर्छ’ भनेर दिएका चेतावनी हाम्रो हालैको चुनावी परिवेशमा झनै सान्दर्भिक देखिन्छ ।
हाम्रो पूर्वजनप्रतिनिधिहरूप्रतिको हालको व्यवहारबाट प्रस्ट देखिन्छ, यद्यपि पूर्वजनप्रतिनिधिहरू या नयाँ जनप्रतिनिधिहरू, सबैलाई हामीले आफ्नो तार्किक माहुतेको मूल्यांकनबाट मुक्ति दिनु कदापि हुँदैन । हाइटको मनुष्यको निर्णय लिन सक्ने क्षमताको स्पष्टीकरण र अम्बेडकरको चेतावनीलाई मध्यनजर गर्ने हो भने हामी मतदाताहरूले जुन प्रतिनिधिलाई छान्ने छौं, सो प्रतिनिधिलाई ‘किन मत दिने ?’ भन्ने प्रश्नको जवाफ अन्तरज्ञान र तर्कको मिश्रण, जसमा तर्कले अन्तरज्ञानसरहको प्राथमिकस्तर पाएको स्वरूपमा आउनुपर्छ । तसर्थ घोषणापत्र र नीतिबिनाका जस्तोसुकै जवाफ पनि अपूरो र अधुरो हुन्छ ।
घोषणापत्र र नीतिहरू हाम्रा प्रतिनिधिहरूलाई उत्तरदायी बनाउन सकिने एक आधारभूत माध्यम हो, एक किसिमको करारीय दायित्व हो । हाम्रो अन्तरज्ञानी हात्तीलाई त भदौका ती अविस्मरणीय स्मृतिले जीवित राख्दै आएको छ । यसको व्यापकता हाम्रो पूर्वजनप्रतिनिधिहरूप्रतिको हालको व्यवहारबाट प्रस्ट देखिन्छ, यद्यपि पूर्वजनप्रतिनिधिहरू या नयाँ जनप्रतिनिधिहरू, सबैलाई हामीले आफ्नो तार्किक माहुतेको मूल्यांकनबाट मुक्ति दिनु कदापि हुँदैन । यही तार्किक माहुतेले हामीलाई ‘को’ भन्ने अन्योलता मेटाउन सहयोग पुर्याउँछ र ‘किन’ भन्ने प्रश्नको जवाफ दिन सक्षम बनाउन सक्छ ।
हाइटले तार्किक क्षमतालाई ‘साझेदारी मोडल’ मार्फत अन्तरज्ञानकैसरह ल्याउन दिएका सुझाव विमर्श केन्द्रित छ– आफू स्वयंसँगको विमर्श र सामाजिक विमर्श । अहिलेको चुनावी परिवेशमा हामी सबै मतदाताहरूलाई अन्तरज्ञान र तार्किक क्षमताको ‘साझेदारी मोडल’ को आवश्यकता अनुभूति गर्दै तार्किक क्षमताको उत्थानका लागि नीति र घोषणापत्र अत्यावश्यक ठानेको छु । सो मोडलले पक्कै पनि दुवै व्यक्ति र नीतिलाई मूल्यांकन गर्दै जनप्रतिनिधि रोज्न र प्रचलित ‘व्यक्तिप्रधान’ राजनीतिलाई पनि नियन्त्रणमा ल्याउन सक्छ ।
तसर्थ इतिहास बिर्सनु भनेको पक्कै पनि कुनै सभ्यताको विनाशलाई निम्त्याउनु हो तर इतिहासलाई मतदानको तराजुमा निष्पक्ष ढंगले जोख्न अर्को पल्लामा नीति तथा घोषणापत्र पक्कै पनि चाहिन्छ र जोख्नेले पनि अन्तरज्ञान मात्रै नभई तर्कको सहायता लिनुपर्ने हुन्छ ।
