जमिनदारी शोषणविरुद्धको त्यो पिस्कर आन्दोलन

न्यायपूर्ण समाज निर्माण गर्नु, गुठी र बिर्ता किसानको पूर्ण स्वामित्वमा पुर्‍याउनु, अनुपस्थित भूस्वामित्वको अन्त्य गर्नुलगायत सामाजिक न्यायका क्षेत्रमा ठोस काम हुन जरुरी छ । पिस्कर विद्रोह र देशभरका यस्तै अन्य विद्रोहको आवाज आज पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

माघ १, २०८२

सरेश नेपाल

That Piskar movement against landlord exploitation

What you should know

वर्तमानमा हामी जुन राजनीतिक स्वतन्त्रता, आर्थिक तथा सामाजिक विकासका सम्भावनाको आलोकमा छौं– यो यत्तिकै प्राप्त भएको होइन । अझै हामीले गर्नुपर्ने धेरै छ । यद्यपि आज हामीले प्राप्त गरेको स्वतन्त्रता र मान्छे भएर बाँच्न पाउने आधार सजिलै बनेको होइन । 

आजको स्थितिमा आइपुग्न धेरै कठिन संघर्ष र बलिदान भएको छ । पुरानो राज्य प्रणालीले जनताको जीवनस्तर उकास्नु त परैको कुरा, उल्टै अनेकन दमन र शोषण गर्थ्यो । मुलुकको विकासमा कुनै रुचि राख्दैनथ्यो । विधिको शासन, मानवअधिकारका विषयमा छलफलसमेत गर्न चाहँदैनथ्यो । 

एउटा क्रूर र अलोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध अनवरत लडाइँपश्चात् नै नागरिकले बोल्न पाउने अधिकार स्थापना भएको हो । आजको नयाँ पुस्ता त्यही बोल्न पाउने अवसरको उपभोग गरिरहेको छ । यो पुस्ता आजको व्यवस्थाविरुद्ध बोल्छ र उसले त्यस समयको कथा पनि थाहा पाउनु जरुरी छ । 

विगतलाई ठीक ढंगले बुझेर सही दृष्टिकोण बनाइयो भने मात्रै सुन्दर भविष्यको मार्गचित्र अवलम्बन गर्न सहज हुनेछ । आज मुलुकमा देखापरेको नयाँ सम्भावनालाई विगतका उपलब्धिको प्रकाशमा हेरिनुपर्छ । 

शोषण र अन्यायविरुद्धका सबै संघर्षको दूरगामी महत्त्व त हुन्छ नै, तर कतिपय विद्रोहको भने विशिष्ट महत्त्व रहन्छ । पिस्कर विद्रोह कहिल्यै भुल्न नसकिने संघर्ष बनेर इतिहासमा अंकित छ । नेपालको राजनीतिक आन्दोलनमा पिस्कर विद्रोहले दिएको सन्देश अहिले पनि निकै वजनदार ठानिन्छ ।

माघे संक्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जात्रा लाग्ने गर्छ । सहरबजारका पसलहरू चाकु, घिउ, तिलौराले सजिन्छन् । अरू बेला सुनसान हुने पिस्करमा जात्राका बेला महादेवथान, धुस्कुन, तौथली, टेकानपुर, चोगटी क्षेत्रका सर्वसाधारणको ठूलो भीड लाग्छ । रातैभर जाग्राम बसेर बत्ती बाल्ने चलन छ । रात कटाउन नाचगान गरिन्छ । अल्पसंख्यक थामी जातिको बाहुल्य रहेको क्षेत्र भएकाले जात्रामा उनीहरूको सांस्कृतिक जीवन र पहिचान देख्न सकिन्छ ।

४१ वर्षअघिको पिस्करको स्थिति ज्यादै भिन्न थियो । गाउँमा अत्याचार धेरै थियो । तर, अत्याचारबारे बोल्न सक्ने स्थिति थिएन । विद्यालय नाम मात्रैको थियो, गरिबी व्याप्त थियो । अधिकांश किसान ज्याला–बोहनी, सिकर्मी–डकर्मी काम गरेरै गुजारा चलाउँथे । खेतीयोग्य जमिन प्रायः नहुनु, भए पनि उब्जनी कम हुनु, पाखोरेखो जग्गा पनि ठूलाठालुकै हुनु, अधियाँ बुझाउनुपर्ने हुनुजस्ता कारण थिए विपन्नताका । निगालोका डोका, डाला, थुन्छे, भकारी बनाउँथे थामीहरू । दुःख धेरै हुन्थ्यो, त्यसका तुलनामा आम्दानी निकै कम । थामीका छोराछोरीहरू स्कुल जाने कमै हुन्थे । बाल विवाह, धामी–झाँक्री प्रथा व्याप्त थियो । झैंझगडा, मुद्दामामिला भइरहन्थ्यो । गाउँ अशान्त र बेथितिमै चलिरहेको थियो ।

राणा शासनको चरम शोषण र दमनविरुद्ध प्रजातन्त्रको स्थापना भए पनि गरिब किसानको पक्षमा पञ्चायती शासकले कुनै ठोस काम गरेका थिएनन् । युगौंदेखि सामन्ती निरंकुशताको जुवामुनि जोतिँदै आएका नेपाली श्रमजीवी गरिब किसानलाई शोषण र दमनको पञ्जाबाट सधैंका लागि मुक्त गर्न नयाँ धारबाट आन्दोलन अगाडि बढाउन जागरण पैदा भइरहेको थियो । २०३५ को जनमतसंग्रहमा पञ्चायत र बहुदलबीचको टकरावमा पञ्चायत पक्षको जित भएपछि आन्दोलनमा लागेका सुधारवादका पक्षधर युवालाई विभिन्न जेलनेलको सजाय भयो । आफ्नो दमनलाई चरमोत्कर्षमा लैजान सरकारी पक्ष र गाउँका स्थानीय सामन्त लालायित थिए ।

जनतामा उठेको आन्दोलन दबाउन सरकारीस्तरबाटै सशस्त्र प्रहरीको परिचालन गरिएको थियो । २०४१ सालकै माघे संक्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जनचेतना जगाउने हिसाबले प्रगतिशील सांस्कृतिक कार्यक्रम भइरहेको स्थानमा सरकारले प्रहरी परिचालन गर्‍यो । इले थामी र वीरबहादुर थामीको गोली हानी हत्या गर्‍यो ।

त्यसपछि सयौं राउन्ड गोली चलाएर २ जना किसानको हत्या तथा दर्जनौंलाई घाइते पारेको विरोधमा आन्दोलन देशका करिब ५० जिल्लामा फैलियो, लाखौं पर्चा वितरण गरिए । दर्जनौं आमसभा तथा जुलुस भए । सिन्धुपाल्चोकका २३ जना तथा देशैभरि सयौं आन्दोलनकारी पक्राउ परे । त्यस आन्दोलनलाई देश र विदेशबाट समर्थन प्राप्त भयो भने निरकुंशतन्त्र र पञ्चायती शासकको हत्यारो चरित्रलाई पनि नांगो पारिदियो । 

गरिब थामी जातिको बाहुल्य रहेको पिस्करमा आर्थिक उपार्जनको अवसर अत्यन्तै न्यून थियो । एउटा सानो झुप्रोभित्र बाख्रा, कुखुरा र मान्छे बस्ने एउटै ठाउँ हुन्थ्यो । सम्पत्तिका नाममा फुटेर चुहिने भएको कुच्चिएको सिलावर थाल, कराई, पानी खाने माटाको घैंटो, एक–दुई वटा हँसिया, कोदालो यस्तै–यस्तै मात्रै हुन्थ्यो । जाडोमा पनि प्रायः थामी जाति ओढ्ने–ओछ्याउने र न्याना लुगा जोरजाम गर्दैनथे । ती वनबाट खोजेर ल्याएको झिक्राहरूले आगो सल्काउँथे र त्यसै न्यानोमा रात बिताउँथे । 

स्थानीय हुनेखाने सामन्तले कृषि क्षेत्रमा काम गर्ने गरिब थामीसँग गर्ने व्यवहार अत्यन्तै क्रूर प्रकृतिको थियो । आफूमाथि जस्तोसुकै अत्याचार भए पनि उनीहरू ऋणलगायतको जीवन निर्वाहसँग सम्बन्धित कामका कारण बँधुवा भएकाले यस्तो ज्यादतीविरुद्ध बोल्न सक्दैनथे भने स्वतन्त्र निर्णय लिने हिम्मत हुँदैनथ्यो । 

कृषि मजदुरको ज्याला प्रतिदिन ४ माना धान थियो । त्यो ४ माना पनि पूरा भरिँदैनथ्यो अर्थात् सामान्तहरूले भरेर दिने मानो नै सानो हुन्थ्यो । अन्नमा ढुंगा, माटो, भुस आदि मिसाइएको हुन्थ्यो । जस्तोसुकै अन्न दिए पनि गरिबहरू प्रतिकार गर्न सक्दैनथे । त्यसबाहेक बेठी, गुहार, टीका, फुर्का आदि नाम दिएर वर्षको ५/७ वटा खेतालाको ज्याला दिँदैनथे । ज्याला असाध्यै कम र कामको घण्टा अत्यधिक भएकाले गाउँका गरिबहरूको जीवनस्तर कष्टकर बन्दै गइरहेको थियो । 

वर्गीय समाजको अस्तित्व नै शोषण तथा विभेदकारी संरचनामा आधारित हुन्छ । आर्थिक शोषणलाई स्थायित्व दिनकै निम्ति राजनीतिक, सामाजिक तथा धार्मिक–सांस्कृतिक शोषणलाई सामन्तवर्गले प्रश्रय दिन्छन् । पिस्करमा हुने शोषणलाई यही दृष्टिकोणबाट अलग गर्न सकिँदैनथ्यो । राजनीतिक रूपमा जनता सचेत र संगठित हुने प्रयत्न गर्दा दमन हुनु, सामाजिक विभेदको विरोध गर्दा ‘उग्रवादी’ भएको आरोपमा मुद्दा लाग्नु, धर्म र सामन्ती संस्कृतिलाई मलजल गरी पुरोहित वर्गलाई समाजको चालक शक्ति बनाउनेतर्फ जोड दिनुले यी भनाइहरूको पुस्ट्याइँ हुन्छ । 

२०१६ मा बिर्ता उन्मूलन हुँदा पनि यहाँका किसानले कुनै अधिकार पाएनन् । गुठी व्यवस्थालाई सरल गरेको भनी जति प्रचार गरे पनि यहाँका पुरेत, जिम्मुवाल, मुखिया आदिले गरिबलाई गुठीका नाममा सताउन छाडेनन् । २०२१/२२ मै जोताहा फाराम किसानका नाममा भरिएको र जोताहाको निस्सा पाएकालाई नापीको समयमा स्वामित्व नदिएर सोलोडोलो रूपमा डाँडाकाँडा र खोल्साहरूलाई साँध–सिमाना बनाई सबै गुठीभित्र पारियो । र, बिर्तालाई गुठीमा परिणत गरियो । जग्गा जोताहा परिवारका नाममा हुनुपर्ने र गुठी जमिन रैकर हुनुपर्ने माग गर्दै किसानले पटक–पटक संघर्ष गर्दा सामन्ती शोषणको आधार धार्मिक मान्यतामाथि आँच पुग्ने ठानेर किसानका मागतर्फ सरकारले कुनै ध्यान पुर्‍याएन ।

पञ्चायती राजनीतिक व्यवस्था वर्गीय रूपले जमिनदार तथा ठूला आर्थिक हैसियत बोकेकाहरूको एकलौटी हित गर्ने गरी बनाइएको संविधान नियम–कानुनअनुसार चल्ने व्यवस्था थियो । यस व्यवस्थाको प्रशासन, न्यायालय र राजनीतिक निकायले हुनेखाने वर्गले बोलेको कुरा लागू गर्ने र सम्पन्न वर्गको वकालत गर्ने गर्थे । यसको प्रभाव पिस्करमा पनि यही किसिमले परेको थियो । विपन्न समुदायका आर्थिक र सामाजिक भलाइका संघर्ष राजनीतिक अधिकारका संघर्षसँग एकदमै घनिष्ठ रूपमा जोडिएका थिए । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू एकअर्काका परिपूरक रहेछन् भन्ने निष्कर्ष बन्न लामो संघर्षबाट प्राप्त अनुभवले मद्दत गरेको थियो । 

पिस्करका युवा पुस्तामा बिस्तारै त्यहाँ हुने सामन्ती शोषणको विरुद्ध केही त गर्नै पर्छ भन्ने सोच देखापर्न थालेको थियो । खासगरी २०२७/२८ ताका गाउँ पञ्चायतको चुनाव लड्दा केही युवाले शोषण, अन्याय र अत्याचारको विरोधमा भेला–बैठक गर्न थालेका थिए । किसानले असंगठित आन्दोलन स्वस्फूर्त रूपमा आ–आफ्नै ढंगले गर्दा भोग्नुपरेका अप्ठ्याराले पनि एकताबद्ध भई संघर्ष गर्न प्रेरित गरिरहेको थियो । विपन्न वर्ग तथा लैंगिक असमानता नै आर्थिक तथा सामाजिक अन्तरविरोधका जगहरू हुन् । यिनै अन्तरविरोध नै राजनीतिक अन्तरविरोधमा अभिव्यक्त हुन थाल्यो । 

तीसको दशकमा पञ्चायती शासन राजनीतिक रूपले निकै दमनकारी थियो । भूमिगत कम्युनिस्ट पार्टीहरू विभाजनका कारण छिन्नभिन्नकै अवस्थामा थिए । एकातिर ग्रामीण क्षेत्रका जनता परम्परागत विभेद, आर्थिक शोषण र गरिबीबाट मुक्त हुन चाहन्थे, अर्कातिर कम्युनिस्ट पार्टीको संगठनात्मक गतिविधि बढ्दै थियो । जमिनदारको धानको भकारी कब्जा गर्ने, जाली तमसुक च्यात्नेदेखि सांस्कृतिक कार्यक्रममार्फत वर्गीय चेतना बढाउने कार्यसम्म पनि ती अघि बढिरहेका थिए । पछिपछि यस्ता गतिविधिका रिपोर्ट स्थानीय प्रशासनसम्म पुग्न थाले ।

२०३५/३६ को विद्यार्थी आन्दोलनदेखि जनमतसंग्रहसम्म आइपुग्दा सिन्धुपाल्चोकमा पञ्चायतविरोधी जनचेतना धेरै माथि उठिसकेको थियो । किसानहरू संगठित गतिविधिमा सक्रिय भइरहेका थिए । महिला समुदायमा समेत पार्टी–काम घनीभूत ढंगले अघि बढेको थियो । राजधानीसँग मात्र होइन, चीनसँग समेत जोडिएको जिल्लामा यस्ता गतिविधि बढ्नुलाई शासक वर्गले आपत्तिको विषय बनाई निगरानी बढाएको थियो ।

पिस्करको संघर्ष र प्रतिरोध सामन्ती सत्ताविरुद्ध थियो । त्यसले परिवर्तन गर्न खोजेको समाज अहिले कस्तो भएको छ ? लामो समयदेखि उत्पीडन भोग्दै आइरहेका त्यहाँका अल्पसंख्यक थामी, पहरी जातिलगायतले नेपाली समाजलाई गुणात्मक रूपले समुन्नत बनाउन गरेको योगदान अहिले हामी भुल्दै त छैनौं ? यी प्रश्नहरू ज्युँका त्युँ छँदै छ । हिंसात्मक दमनविरुद्ध निकै साहसिक र बलिदानपूर्ण संघर्ष गरेर प्राप्त भएका उपलब्धि पर्याप्त नभए पनि धेरै महत्त्वपूर्ण छन् । 

जब माघे संक्रान्तिले हाम्रा ढोकाहरू ढकढक्याउन थाल्छ, पिस्करको कहालीलाग्दो दमन र प्रतिरोधको ज्वाला मनभरि सलबलाउन थाल्छ । बेग्लै वर्ग–घृणा उम्लिन्छ र परिवर्तनका पानाहरूमा हराउँदै गरेका वर्गीय मुद्दाहरूको खोजीको चिन्ताले सताउन थाल्छ । न्यायपूर्ण समाज निर्माण गर्नु, गुठी र बिर्ता किसानको पूर्ण स्वामित्वमा पुर्‍याउनु, अनुपस्थित भूस्वामित्वको अन्त्य गर्नुलगायत सामाजिक न्यायका क्षेत्रमा ठोस काम हुन जरुरी छ । पिस्कर विद्रोह र देशभरका यस्तै अन्य विद्रोहको आवाज आज पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

सरेश नेपाल

Link copied successfully