न्यायपूर्ण समाज निर्माण गर्नु, गुठी र बिर्ता किसानको पूर्ण स्वामित्वमा पुर्याउनु, अनुपस्थित भूस्वामित्वको अन्त्य गर्नुलगायत सामाजिक न्यायका क्षेत्रमा ठोस काम हुन जरुरी छ । पिस्कर विद्रोह र देशभरका यस्तै अन्य विद्रोहको आवाज आज पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
What you should know
वर्तमानमा हामी जुन राजनीतिक स्वतन्त्रता, आर्थिक तथा सामाजिक विकासका सम्भावनाको आलोकमा छौं– यो यत्तिकै प्राप्त भएको होइन । अझै हामीले गर्नुपर्ने धेरै छ । यद्यपि आज हामीले प्राप्त गरेको स्वतन्त्रता र मान्छे भएर बाँच्न पाउने आधार सजिलै बनेको होइन ।
आजको स्थितिमा आइपुग्न धेरै कठिन संघर्ष र बलिदान भएको छ । पुरानो राज्य प्रणालीले जनताको जीवनस्तर उकास्नु त परैको कुरा, उल्टै अनेकन दमन र शोषण गर्थ्यो । मुलुकको विकासमा कुनै रुचि राख्दैनथ्यो । विधिको शासन, मानवअधिकारका विषयमा छलफलसमेत गर्न चाहँदैनथ्यो ।
एउटा क्रूर र अलोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध अनवरत लडाइँपश्चात् नै नागरिकले बोल्न पाउने अधिकार स्थापना भएको हो । आजको नयाँ पुस्ता त्यही बोल्न पाउने अवसरको उपभोग गरिरहेको छ । यो पुस्ता आजको व्यवस्थाविरुद्ध बोल्छ र उसले त्यस समयको कथा पनि थाहा पाउनु जरुरी छ ।
विगतलाई ठीक ढंगले बुझेर सही दृष्टिकोण बनाइयो भने मात्रै सुन्दर भविष्यको मार्गचित्र अवलम्बन गर्न सहज हुनेछ । आज मुलुकमा देखापरेको नयाँ सम्भावनालाई विगतका उपलब्धिको प्रकाशमा हेरिनुपर्छ ।
शोषण र अन्यायविरुद्धका सबै संघर्षको दूरगामी महत्त्व त हुन्छ नै, तर कतिपय विद्रोहको भने विशिष्ट महत्त्व रहन्छ । पिस्कर विद्रोह कहिल्यै भुल्न नसकिने संघर्ष बनेर इतिहासमा अंकित छ । नेपालको राजनीतिक आन्दोलनमा पिस्कर विद्रोहले दिएको सन्देश अहिले पनि निकै वजनदार ठानिन्छ ।
माघे संक्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जात्रा लाग्ने गर्छ । सहरबजारका पसलहरू चाकु, घिउ, तिलौराले सजिन्छन् । अरू बेला सुनसान हुने पिस्करमा जात्राका बेला महादेवथान, धुस्कुन, तौथली, टेकानपुर, चोगटी क्षेत्रका सर्वसाधारणको ठूलो भीड लाग्छ । रातैभर जाग्राम बसेर बत्ती बाल्ने चलन छ । रात कटाउन नाचगान गरिन्छ । अल्पसंख्यक थामी जातिको बाहुल्य रहेको क्षेत्र भएकाले जात्रामा उनीहरूको सांस्कृतिक जीवन र पहिचान देख्न सकिन्छ ।
४१ वर्षअघिको पिस्करको स्थिति ज्यादै भिन्न थियो । गाउँमा अत्याचार धेरै थियो । तर, अत्याचारबारे बोल्न सक्ने स्थिति थिएन । विद्यालय नाम मात्रैको थियो, गरिबी व्याप्त थियो । अधिकांश किसान ज्याला–बोहनी, सिकर्मी–डकर्मी काम गरेरै गुजारा चलाउँथे । खेतीयोग्य जमिन प्रायः नहुनु, भए पनि उब्जनी कम हुनु, पाखोरेखो जग्गा पनि ठूलाठालुकै हुनु, अधियाँ बुझाउनुपर्ने हुनुजस्ता कारण थिए विपन्नताका । निगालोका डोका, डाला, थुन्छे, भकारी बनाउँथे थामीहरू । दुःख धेरै हुन्थ्यो, त्यसका तुलनामा आम्दानी निकै कम । थामीका छोराछोरीहरू स्कुल जाने कमै हुन्थे । बाल विवाह, धामी–झाँक्री प्रथा व्याप्त थियो । झैंझगडा, मुद्दामामिला भइरहन्थ्यो । गाउँ अशान्त र बेथितिमै चलिरहेको थियो ।
राणा शासनको चरम शोषण र दमनविरुद्ध प्रजातन्त्रको स्थापना भए पनि गरिब किसानको पक्षमा पञ्चायती शासकले कुनै ठोस काम गरेका थिएनन् । युगौंदेखि सामन्ती निरंकुशताको जुवामुनि जोतिँदै आएका नेपाली श्रमजीवी गरिब किसानलाई शोषण र दमनको पञ्जाबाट सधैंका लागि मुक्त गर्न नयाँ धारबाट आन्दोलन अगाडि बढाउन जागरण पैदा भइरहेको थियो । २०३५ को जनमतसंग्रहमा पञ्चायत र बहुदलबीचको टकरावमा पञ्चायत पक्षको जित भएपछि आन्दोलनमा लागेका सुधारवादका पक्षधर युवालाई विभिन्न जेलनेलको सजाय भयो । आफ्नो दमनलाई चरमोत्कर्षमा लैजान सरकारी पक्ष र गाउँका स्थानीय सामन्त लालायित थिए ।
जनतामा उठेको आन्दोलन दबाउन सरकारीस्तरबाटै सशस्त्र प्रहरीको परिचालन गरिएको थियो । २०४१ सालकै माघे संक्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जनचेतना जगाउने हिसाबले प्रगतिशील सांस्कृतिक कार्यक्रम भइरहेको स्थानमा सरकारले प्रहरी परिचालन गर्यो । इले थामी र वीरबहादुर थामीको गोली हानी हत्या गर्यो ।
त्यसपछि सयौं राउन्ड गोली चलाएर २ जना किसानको हत्या तथा दर्जनौंलाई घाइते पारेको विरोधमा आन्दोलन देशका करिब ५० जिल्लामा फैलियो, लाखौं पर्चा वितरण गरिए । दर्जनौं आमसभा तथा जुलुस भए । सिन्धुपाल्चोकका २३ जना तथा देशैभरि सयौं आन्दोलनकारी पक्राउ परे । त्यस आन्दोलनलाई देश र विदेशबाट समर्थन प्राप्त भयो भने निरकुंशतन्त्र र पञ्चायती शासकको हत्यारो चरित्रलाई पनि नांगो पारिदियो ।
गरिब थामी जातिको बाहुल्य रहेको पिस्करमा आर्थिक उपार्जनको अवसर अत्यन्तै न्यून थियो । एउटा सानो झुप्रोभित्र बाख्रा, कुखुरा र मान्छे बस्ने एउटै ठाउँ हुन्थ्यो । सम्पत्तिका नाममा फुटेर चुहिने भएको कुच्चिएको सिलावर थाल, कराई, पानी खाने माटाको घैंटो, एक–दुई वटा हँसिया, कोदालो यस्तै–यस्तै मात्रै हुन्थ्यो । जाडोमा पनि प्रायः थामी जाति ओढ्ने–ओछ्याउने र न्याना लुगा जोरजाम गर्दैनथे । ती वनबाट खोजेर ल्याएको झिक्राहरूले आगो सल्काउँथे र त्यसै न्यानोमा रात बिताउँथे ।
स्थानीय हुनेखाने सामन्तले कृषि क्षेत्रमा काम गर्ने गरिब थामीसँग गर्ने व्यवहार अत्यन्तै क्रूर प्रकृतिको थियो । आफूमाथि जस्तोसुकै अत्याचार भए पनि उनीहरू ऋणलगायतको जीवन निर्वाहसँग सम्बन्धित कामका कारण बँधुवा भएकाले यस्तो ज्यादतीविरुद्ध बोल्न सक्दैनथे भने स्वतन्त्र निर्णय लिने हिम्मत हुँदैनथ्यो ।
कृषि मजदुरको ज्याला प्रतिदिन ४ माना धान थियो । त्यो ४ माना पनि पूरा भरिँदैनथ्यो अर्थात् सामान्तहरूले भरेर दिने मानो नै सानो हुन्थ्यो । अन्नमा ढुंगा, माटो, भुस आदि मिसाइएको हुन्थ्यो । जस्तोसुकै अन्न दिए पनि गरिबहरू प्रतिकार गर्न सक्दैनथे । त्यसबाहेक बेठी, गुहार, टीका, फुर्का आदि नाम दिएर वर्षको ५/७ वटा खेतालाको ज्याला दिँदैनथे । ज्याला असाध्यै कम र कामको घण्टा अत्यधिक भएकाले गाउँका गरिबहरूको जीवनस्तर कष्टकर बन्दै गइरहेको थियो ।
वर्गीय समाजको अस्तित्व नै शोषण तथा विभेदकारी संरचनामा आधारित हुन्छ । आर्थिक शोषणलाई स्थायित्व दिनकै निम्ति राजनीतिक, सामाजिक तथा धार्मिक–सांस्कृतिक शोषणलाई सामन्तवर्गले प्रश्रय दिन्छन् । पिस्करमा हुने शोषणलाई यही दृष्टिकोणबाट अलग गर्न सकिँदैनथ्यो । राजनीतिक रूपमा जनता सचेत र संगठित हुने प्रयत्न गर्दा दमन हुनु, सामाजिक विभेदको विरोध गर्दा ‘उग्रवादी’ भएको आरोपमा मुद्दा लाग्नु, धर्म र सामन्ती संस्कृतिलाई मलजल गरी पुरोहित वर्गलाई समाजको चालक शक्ति बनाउनेतर्फ जोड दिनुले यी भनाइहरूको पुस्ट्याइँ हुन्छ ।
२०१६ मा बिर्ता उन्मूलन हुँदा पनि यहाँका किसानले कुनै अधिकार पाएनन् । गुठी व्यवस्थालाई सरल गरेको भनी जति प्रचार गरे पनि यहाँका पुरेत, जिम्मुवाल, मुखिया आदिले गरिबलाई गुठीका नाममा सताउन छाडेनन् । २०२१/२२ मै जोताहा फाराम किसानका नाममा भरिएको र जोताहाको निस्सा पाएकालाई नापीको समयमा स्वामित्व नदिएर सोलोडोलो रूपमा डाँडाकाँडा र खोल्साहरूलाई साँध–सिमाना बनाई सबै गुठीभित्र पारियो । र, बिर्तालाई गुठीमा परिणत गरियो । जग्गा जोताहा परिवारका नाममा हुनुपर्ने र गुठी जमिन रैकर हुनुपर्ने माग गर्दै किसानले पटक–पटक संघर्ष गर्दा सामन्ती शोषणको आधार धार्मिक मान्यतामाथि आँच पुग्ने ठानेर किसानका मागतर्फ सरकारले कुनै ध्यान पुर्याएन ।
पञ्चायती राजनीतिक व्यवस्था वर्गीय रूपले जमिनदार तथा ठूला आर्थिक हैसियत बोकेकाहरूको एकलौटी हित गर्ने गरी बनाइएको संविधान नियम–कानुनअनुसार चल्ने व्यवस्था थियो । यस व्यवस्थाको प्रशासन, न्यायालय र राजनीतिक निकायले हुनेखाने वर्गले बोलेको कुरा लागू गर्ने र सम्पन्न वर्गको वकालत गर्ने गर्थे । यसको प्रभाव पिस्करमा पनि यही किसिमले परेको थियो । विपन्न समुदायका आर्थिक र सामाजिक भलाइका संघर्ष राजनीतिक अधिकारका संघर्षसँग एकदमै घनिष्ठ रूपमा जोडिएका थिए । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरू एकअर्काका परिपूरक रहेछन् भन्ने निष्कर्ष बन्न लामो संघर्षबाट प्राप्त अनुभवले मद्दत गरेको थियो ।
पिस्करका युवा पुस्तामा बिस्तारै त्यहाँ हुने सामन्ती शोषणको विरुद्ध केही त गर्नै पर्छ भन्ने सोच देखापर्न थालेको थियो । खासगरी २०२७/२८ ताका गाउँ पञ्चायतको चुनाव लड्दा केही युवाले शोषण, अन्याय र अत्याचारको विरोधमा भेला–बैठक गर्न थालेका थिए । किसानले असंगठित आन्दोलन स्वस्फूर्त रूपमा आ–आफ्नै ढंगले गर्दा भोग्नुपरेका अप्ठ्याराले पनि एकताबद्ध भई संघर्ष गर्न प्रेरित गरिरहेको थियो । विपन्न वर्ग तथा लैंगिक असमानता नै आर्थिक तथा सामाजिक अन्तरविरोधका जगहरू हुन् । यिनै अन्तरविरोध नै राजनीतिक अन्तरविरोधमा अभिव्यक्त हुन थाल्यो ।
तीसको दशकमा पञ्चायती शासन राजनीतिक रूपले निकै दमनकारी थियो । भूमिगत कम्युनिस्ट पार्टीहरू विभाजनका कारण छिन्नभिन्नकै अवस्थामा थिए । एकातिर ग्रामीण क्षेत्रका जनता परम्परागत विभेद, आर्थिक शोषण र गरिबीबाट मुक्त हुन चाहन्थे, अर्कातिर कम्युनिस्ट पार्टीको संगठनात्मक गतिविधि बढ्दै थियो । जमिनदारको धानको भकारी कब्जा गर्ने, जाली तमसुक च्यात्नेदेखि सांस्कृतिक कार्यक्रममार्फत वर्गीय चेतना बढाउने कार्यसम्म पनि ती अघि बढिरहेका थिए । पछिपछि यस्ता गतिविधिका रिपोर्ट स्थानीय प्रशासनसम्म पुग्न थाले ।
२०३५/३६ को विद्यार्थी आन्दोलनदेखि जनमतसंग्रहसम्म आइपुग्दा सिन्धुपाल्चोकमा पञ्चायतविरोधी जनचेतना धेरै माथि उठिसकेको थियो । किसानहरू संगठित गतिविधिमा सक्रिय भइरहेका थिए । महिला समुदायमा समेत पार्टी–काम घनीभूत ढंगले अघि बढेको थियो । राजधानीसँग मात्र होइन, चीनसँग समेत जोडिएको जिल्लामा यस्ता गतिविधि बढ्नुलाई शासक वर्गले आपत्तिको विषय बनाई निगरानी बढाएको थियो ।
पिस्करको संघर्ष र प्रतिरोध सामन्ती सत्ताविरुद्ध थियो । त्यसले परिवर्तन गर्न खोजेको समाज अहिले कस्तो भएको छ ? लामो समयदेखि उत्पीडन भोग्दै आइरहेका त्यहाँका अल्पसंख्यक थामी, पहरी जातिलगायतले नेपाली समाजलाई गुणात्मक रूपले समुन्नत बनाउन गरेको योगदान अहिले हामी भुल्दै त छैनौं ? यी प्रश्नहरू ज्युँका त्युँ छँदै छ । हिंसात्मक दमनविरुद्ध निकै साहसिक र बलिदानपूर्ण संघर्ष गरेर प्राप्त भएका उपलब्धि पर्याप्त नभए पनि धेरै महत्त्वपूर्ण छन् ।
जब माघे संक्रान्तिले हाम्रा ढोकाहरू ढकढक्याउन थाल्छ, पिस्करको कहालीलाग्दो दमन र प्रतिरोधको ज्वाला मनभरि सलबलाउन थाल्छ । बेग्लै वर्ग–घृणा उम्लिन्छ र परिवर्तनका पानाहरूमा हराउँदै गरेका वर्गीय मुद्दाहरूको खोजीको चिन्ताले सताउन थाल्छ । न्यायपूर्ण समाज निर्माण गर्नु, गुठी र बिर्ता किसानको पूर्ण स्वामित्वमा पुर्याउनु, अनुपस्थित भूस्वामित्वको अन्त्य गर्नुलगायत सामाजिक न्यायका क्षेत्रमा ठोस काम हुन जरुरी छ । पिस्कर विद्रोह र देशभरका यस्तै अन्य विद्रोहको आवाज आज पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
