पहाडको जैविक पुनर्भरण : अस्तित्वको अन्तिम विकल्प

‘हरित क्रान्ति’ का नाममा भित्रिएका गह्रौं यन्त्र, एकल बाली प्रणाली र रासायनिक विषादीको प्रयोगले पहाडको संवेदनशील माटो खलबल्याएको छ । पहाडको एकीकृत कृषि–वन प्रणाली ध्वस्त छ । वन–बस्तुभाउ र खेतीको चक्रीय सम्बन्ध टुटेको छ । पहाडको माटो बगेर बंगालको खाडीमा मिसिएको छ ।

मंसिर २४, २०८२

सुजाता तामाङ, कृष्णप्रसाद पौडेल

Biological regeneration of mountains: The last option for survival

बिहीबार विश्व पर्वत दिवस ! सन् १९९२ मा रियो द जेनेरियो ब्राजिलमा संयुक्त राष्ट्रसंघले विकास र वातावरणसम्बन्धी अन्तर्राष्टिय सम्मेलन आयोजना गर्‍यो । सम्मेलनमा ‘खस्कँदो पर्यावरणको व्यवस्थापन : पहाडको दिगो विकास एउटा महत्त्वपूर्ण प्रस्ताव’ का रूपमा अनुमोदन भयो । यसको एक दशकपछि सन् २००२ लाई ‘अन्तर्राष्ट्रिय पर्वत वर्ष’ घोषणा गरी यसका विविध पक्षमा जागरण अभियानका कार्य भए । यसको सफलतासँगै संयुक्त राष्ट्रसंघले २००३ देखि डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउने निर्णय गर्‍यो । योसँगै विश्व कृषि तथा खाद्य संगठनले यो दिवस मनाउँदै आएको छ ।

वैज्ञानिकहरू हिमालयलाई ‘तेस्रो ध्रुव’ का रूपमा चिनाउँछन् । यसको कारण उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रबाहेक विश्वमा सबैभन्दा बढी हिउँ र हिमनदीको भण्डार यही हिमालय क्षेत्रमा हुनु हो । यसको हिउँ र हिमनदी भण्डारले विश्वको एक चौथाइभन्दा बढी जनसंख्याका लागि पानी आपूर्ति गर्छ । हिमालयको हिउँ र बरफ बिस्तारै पग्लिएर वर्षैभरि नदीहरूमा पानीको बहाव कायम राख्छ, जसले गर्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसको जीवन सम्भव भएको छ । यही हिमालयबाट उत्पन्न भएका गंगा, ब्रह्मपुत्र, सिन्धु र याङ्त्सेजस्ता विशाल नदीहरूकै कारण एसियाको खेतीपाती र यसैमा आधारित जीवन पद्धतिलाई हजारौं वर्षदेखि उन्नत बनाउन सम्भव भएको छ ।

तर, बढ्दो तापक्रमले हावा र पानीको चक्रीय प्रणालीमा व्यापक फेरबदल ल्याएको छ । पछिल्ला केही वर्षमा देखिएका मनसुनी वर्षाको गडबडी, अतिवृष्टि तथा अनावृष्टिजस्ता घटना यही मानव निर्मित जलवायु परिवर्तनकै कारण हुन् । यसको चक्रीय प्रभाव निरन्तर बढ्दो छ । यसलाई समय छँदै सच्याउन नसके समग्र जैविक चक्रमा अकल्पनीय विचलन आउँछ । यसबाट निश्चित तापक्रम, आर्द्रता र जैविक तत्त्वहरूको सन्तुलनमा सम्भव भएको अहिलेको सम्पूर्ण जैविक जगत्को विघटन तीव्र हुँदै जान्छ । यसको छनक आज हामीले भोगिरहेको संकटबाट सजिलै आकलन गर्न सकिन्छ । र, यसको सबैभन्दा छिटो प्रभाव प्राकृतिक व्यवहारभन्दा बाहिर कृत्रिमतामा बाँच्न अभ्यस्त मानव प्रजातिमा परिरहेको छ । अहिले नै धेरै प्रजातिहरू विलुप्त भइसकेका छन् र निरन्तर हुने क्रममा छन् । यो विविधता घटेसँगै प्राकृतिक लय नै खलबलिएको छ ।

हाम्रो ग्रहको मौसम, तापक्रम र जलचक्रको सन्तुलनमा यही हिमालयको अपरिहार्य भूमिका छ । २३.५ डिग्रीमा ढल्केर घुमिरहेको पृथ्वीमा हिमालयको सेतो भाग र यसमा पर्ने सूर्यको प्रकाशको परावर्तन एउटा यस्तो आयाम हो, जसले समग्र जल तथा वायुको सन्तुलनलाई कायम राख्न मुख्य भूमिका खेल्छ । यो सन्तुलनमा आउने गडबडीले सम्पूर्ण जलवायुमा असर पार्छ । यस अर्थमा यो हिमालय पृथ्वीका सूक्ष्म जीवदेखि विशाल जीवहरूको अस्तित्वसँग प्रत्यक्ष–परोक्ष जोडिएको छ ।

हिमालयले पृथ्वीको वायुमण्डलीय चक्रीय प्रवाहमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । उत्तरतर्फ पर्खालजस्तै उभिएको विशाल पर्वत शृंखलाले उत्तरबाट आउने चिसो र सुक्खा हावा रोकेर भारतीय उपमहाद्वीपलाई कठ्यांग्रिने चिसोबाट बचाउँछ । हिन्द महासागरबाट आउने मनसुनी हावा रोकेर भारी वर्षा गराउँछ । यसै कारण यो क्षेत्र विश्वको सबैभन्दा उर्वर भूमिमध्ये एक हुन पुगेको छ । हिमालयको यो प्राकृतिक संरचनाले एसियाका विभिन्न भौगोलिक क्षेत्रमा फरक–फरक जलवायु क्षेत्रहरू सिर्जना गरी जैविक विविधतालाई समृद्ध बनाएको छ ।

तर, आज मानव जातिले जीवाश्म इन्धनको अत्यधिक प्रयोग गरेर बढाएको हरितगृह ग्यासको मात्रासँगै समग्र पृथ्वीको वायुमण्डलमा तापक्रम बढ्दै गएको छ । जलवायु परिवर्तनको समस्या विश्वव्यापी जीवाश्म इन्धनको अत्यधिक प्रयोग र औद्योगिक विकाससँग जोडिएको छ । यसलाई सच्याउन ‘सहमति र सहकार्य’ भन्दै साझेदारका शिखर सम्मेलन सुरु भएको पनि तीन दशक भइसकेको छ । उत्सर्जन घटाउने, दिगो विकासका मापदण्ड पालना गर्ने, प्रभावित क्षेत्र र समुदायलाई आर्थिक–प्राविधिक सहायताका योजना र प्रतिबद्धतासमेत गरिएका छन् । तर, यसतर्फका पाइला सुस्त मात्रै छैन, कतिपय अर्थमा निष्प्रभावीसमेत छ, जुन निकै अत्यासलाग्दो अवस्था हो ।

जलवायु संकटको यो विश्वव्यापी परिदृश्यसँगै नेपालको पहाडी कृषि प्रणालीको आफ्नै मौलिक संकट पनि गहिरिँदै गएको छ । नेपालको भौगोलिक बनावट आफैंमा विशिष्ट छ । कुल भूभागको करिब २५ प्रतिशत मात्रै समथर क्षेत्र छ भने बाँकी ठूलो हिस्सा पहाड र हिमालले ओगटेको छ । तर, विडम्बना ! आज यही भूगोलको जीवन पद्धति र खेती प्रणाली गम्भीर संकटको भुमरीमा फसेको छ ।

मानव प्रजाति र सभ्यताको उद्गमस्थल मानिने यो पहाडको समृद्ध किसान–समाज, संस्कृति र प्रकृतिबीचको अन्तरसम्बन्धलाई आधुनिक विकासका नाममा क्षतविक्षत पारिएको छ । पहाडी भूगोलको विशेषता र मर्म नबुझी समथर मैदानको कृषि विकासलाई पहाडको भिरालो कान्लामा जबर्जस्ती लाद्न खोज्दा हाम्रो कृषि प्रणाली मात्रै असफल भएको छैन, सिंगो पहाडी प्रकृति र यसमा निर्माण भएको संस्कृति नै पलायनको बाटोमा छ ।

मुख्यतः ‘हरित क्रान्ति’ का नाममा भित्रिएका गह्रौं यन्त्रहरू, एकल बाली प्रणाली र रासायनिक मल तथा विषादीको प्रयोगले पहाडको संवेदनशील माटोलाई खलबल्याइदियो । यहाँको जैविक विविधतामा आधारित मिश्रित खेती प्रणाली मासेर ‘व्यावसायिक खेती’ का नाममा एकल बाली लगाउन उक्साउनु नै ठूलो भूल थियो । यसले पहाडको एकीकृत कृषि–वन प्रणाली ध्वस्त पार्‍यो । वन, बस्तुभाउ र खेतीको चक्रीय सम्बन्ध टुट्यो । जथाभावी खनेका बाटाले पानीका मूल र तिनको भूमिगत प्रवाह अवरुद्ध भयो । परिणामस्वरूप, आज पहाडको माटो बगेर बंगालको खाडीमा मिसिँदै छ भने पहाडका मानिसहरू रोजगारीको खोजीमा खाडी जान बाध्य छन् ।

अब जलवायु संकट सम्बोधन नगरी पहाडमा जीवन फर्काउन सम्भव हुँदैन । यो कार्य जलवायु संकटले पारेका प्रकृति र वातावरणका घाउहरू पुर्ने अभियानबाट सुरु हुन्छ । तर, यस्तो अवस्थामा यो जटिल समस्याको दिगो समाधानको सुरुवात कहाँबाट गर्ने भन्ने प्रश्न पेचिलो छ । पृथ्वीकै जैविक सन्तुलनमा मुख्य प्रभाव पार्ने साथै अहिलेको जलवायु परिवर्तनबाट धेरै र छिटो प्रभाव परिरहेको यस भूभागको जैविक पुनरुत्थान गर्ने कार्य नै सुरुवाती बिन्दु हुनुपर्छ ।

यो कार्य अहिलेको जस्तो हिमताल बचाउने वा रूख रोप्ने अभियान मात्रै होइन, प्रकृतिको लयसँग मिल्ने, दिगो जीवनशैली अपनाउने, अहिलेको विकासभन्दा भिन्न उन्नतिको अभियान हुनुपर्छ । अर्को अर्थमा यसलाई नै ‘दिगो जैविक पुनर्भरण’ यात्रा भन्न सकिन्छ । विगतका गल्ती–कमजोरीबाट पाठ सिक्दै प्रकृतिसँग मेल खाने एकीकृत कृषि–वन खेती प्रणालीको पुनःस्थापना र त्यसकै आधारमा पहाडी समाजको उन्नतिको ढाँचा बनाउनु नै पहाड पुनरुत्थानको पहिलो कार्यभार हो । यो जीवन सहज बनाउने मात्रै होइन, विश्व समाजलाई नै नयाँ बाटो देखाउने अवसर पनि हो ।

यसका लागि हामीले सबैभन्दा पहिले पहाड बचाउने सामूहिक दायित्व र अवसर बुझ्नु जरुरी छ । योसँगै समग्र पहाडी क्षेत्रको पुनरुत्थान सम्भव छ र ‘यो गर्न सकिन्छ’ भन्ने दृढ संकल्प लिने आँट गर्नुपर्छ । हामी सबैले यो एक व्यक्ति वा समूहको मात्रै जिम्मेवारी होइन, बरु सम्पूर्ण मानव जातिको ‘आफू’ र सन्ततिको भविष्य बचाउने सामूहिक दायित्व हो भन्ने मनन पनि गर्नुपर्छ । हिमालको काखको पुनर्भरण यात्राले यस क्षेत्रमा प्राकृतिक सन्तुलन मात्रै ल्याउँदैन, खाद्य तथा स्वास्थ्य संकट भोगिरहेका करोडौं मानिसको ऊर्जा बन्दोबस्त सुनिश्चित हुन्छ भन्ने तथ्य आत्मसात् गरिनुपर्छ ।

खाना र दैनिक जीवनका अन्य आवश्यकता पूरा नभएरै सिंगो हिमालय क्षेत्रका बासिन्दा अन्यत्र भौंतारिएको अवस्था छ । यसलाई सम्बोधन नगरी हिमालयको काखमा रहेको पहाडको पुनर्भरण यात्रा सम्भव हुँदैन । हामी सबैलाई थाहा छ– भोको पेटले शारीरिक मात्र होइन, मानसिक कामसमेत गर्न सक्दैन । अहिलेको युवा पुस्ता आफ्नै ऊर्जा बन्दोबस्तमा आश्वस्त हुन नसकेर आशंका र दुविधाको भारीले थिचिएका छन् । कतिपय युवा विचलित छन् । यो पुस्तालाई भरोसा र हौसला दिएर मात्रै पुनर्भरण यात्रा सम्भव हुन्छ । किनकि आफ्नै भविष्यमा ठूलो जोखिम देखेको ऊर्जाशील पुस्ताले मात्रै यो कार्यभार वहन गर्न सक्छ ।

हिमाल हाँसे मात्रै पृथ्वी बाँच्छ, माटो बाँचे मात्रै मानव रहन्छ । यही चेतसँगै पहाड पुनर्भरणको मार्गचित्र र कार्यान्वयनका रणनीतिक कोसेढुंगाहरू पहिचान गर्ने साझा दृष्टिकोणसँगै यो यात्रा सुरु हुनेछ । कतिपय अर्थमा खानाका लागि गरिने खेतीपातीको जैविक जागरणसँगै यो अभियान सुरु भइसकेको छ । प्रकृतिसम्मत विकासमा विश्वस्त र कार्यरत सबैले ऐक्यबद्धतासहित हातेमालो गर्दै सहकार्यको थालनी गरौं ।

सुजाता तामाङ

कृष्णप्रसाद पौडेल पौडेल कृषिविज्ञ हुन् ।

Link copied successfully