गायत्री लम्साल लेख्छिन्– हामी कस्ता छौं ? क्षमता र क्षेत्राधिकार बाहिर गएर कोही बिरामी देखे डाक्टरले झैं सल्लाह दिन्छौं, विद्यार्थी भेटे गुरुले झैं उपदेश । के अब पनि हामीले यही गरिराख्ने ?
What you should know
आज–भोलि सबैमा काम गर्ने जाँगर घट्दो छ । कार्य–संस्कृतिमा ह्रास आएको छ । अनावश्यक कोलाहल र भीडमा रमाउने रमिते बनेका छौं हामी । बिना अर्थ, बिना सुझबुझ थपडी बजाउने दर्शक बनेका छौं । बेरोजगार छौं तैपनि व्यस्त छौं । आफ्ना लागि परेका बेला तातोपानी तताउने जाँगर छैन, तर सोसल मिडिया चहार्न र नकारात्मक टिकाटिप्पणी गर्न सबैलाई जाँगर छ । कुनै घटना घटेको छ भने त्यसको वास्तविकता खोतल्न होइन, भीडभाड बढाउँदा, हल्ला गर्दा, अनावश्यक नाराबाजी गर्दा र जुलुस निकाल्दा आफूलाई ‘ठूलो मान्छे’ महसुस गर्छौं ।
विप्रेषणले पालेको पेट लिएर अनावश्यक रूपमा अरूका कुरा काट्ने, केही पनि थाहा नभएको विषयमा विशेषज्ञ झैं अर्ती–उपदेश दिने हाम्रो दैनिकी छ । आत्मनिर्भरताको जग भीड, कोलाहल र कुरा काटेर बन्दैन । समग्र मुलुकको समृद्धि मिठा भाषण गर्दैमा हुँदैन । विकासका लागि त चाहे त्यो व्यक्तिको होस् वा देशको– काममै एकाग्रता चाहिन्छ । सबै आ–आफ्नो काममै रमाउन सक्नुपर्छ । आफ्नो आवश्यकता र उपलब्धिलाई केन्द्रविन्दुमा राखेर श्रम, सीप र क्षमताको भरपूर प्रयोग गर्नुपर्छ । ‘कर्मको फल मिठो हुन्छ’ भन्ने खै हामीले बुझेको ?
आफूले गरेका हरेक राम्रा–नराम्रा कामकुराको पूर्ण जिम्मेवारी हाम्रै हो । तर, हामी यो स्विकार्नै सक्दैनौं । ‘राम्रो भए आफूले गरेको, नराम्रो भए फलानाले’ भन्ने आमनेपाली हौं हामी । आफूले आफैंलाई ‘गतिलो’ र ‘ठूलो’ मानेर प्रगति–समृद्धि हुने भएको भए हामी नेपाली उहिल्यै विकसित देशका नागरिक बनिसक्थ्यौं । विडम्बना विकास त गर्न सकेनौं नै, भएका विकासलाई पनि विनाश गर्न एकजुट बनेका छौं । आफूमा आडम्बर पालेर आफ्नै मानसिकतालाई प्रदूषित बनाएका छौं । हामीलाई यही हाम्रा नकारात्मक सोच, विचार र प्रवृत्तिले अगाडि बढ्न दिएको छैन । राम्रो गर्नेलाई ‘राम्रो गरिस्, ल बधाई छ’ भन्नसमेत कन्जुस बन्दै गएका छौं । नराम्रो कामकुरालाई ‘यो गलत हो, यस्तो गर्न हुन्न’ भन्ने हिम्मत पनि हामीसँग छैन । हामी भीडले के भन्छ, हल्ला र कोलाहलको के निचोड हुन्छ ? त्यसैलाई ‘एस’ भनेरै मख्ख छौं ।
समयको हरेक पल अति महत्त्वपूर्ण हुन्छ, हामीले यो किन सोचेनौं ? एउटा समूह यस्तो निर्माण भएको छ, जसले बिहान उठेदेखि राति सुत्ने बेलासम्मै ‘आज मैले के गरें ?’ भनेर कहिल्यै सोच्दैन । बरु अरूमाथि नै चासो गरिबस्छ । ती सोसल मिडियामा अरूलाई अश्लील र अभद्र गालीगलौज गर्नुलाई नै आफ्नो दैनिकी बनाउँछन् ।
हामी कस्ता छौं ? क्षमता र क्षेत्राधिकार बाहिर गएर कोही बिरामी देखे डाक्टरले झैं सल्लाह दिन्छौं, विद्यार्थी भेटे गुरुले झैं उपदेश । के अब पनि हामीले यही गरिराख्ने ? ऊर्जाशील, अमूल्य समयलाई अनावश्यक अर्ती र उपदेश छाँट्नै खर्च गरिरहने ? यो एक्काइसौं शताब्दीका हामीलाई यी र यस्ता क्रियाकलाप गर्न पटक्कै सुहाउँदैन । आफूलाई कमजोर बनाएको हामी आफैंले हो । यसको दोष अरूलाई लगाउनु आफ्नै मानसिकताको कमजोरी हो । जब मानसिकता कमजोर हुन्छ तब आफूभित्र घमण्डको पोको निर्माण हुन्छ । अनि अरूले राम्रो गरेको देख्न र सुन्न सकिँदैन । अरूको चियोचर्चो र नकारात्मक टिकाटिप्पणी गरीगरी जीवन समाप्त पारिरहन्छौं । आफ्नै लागि यो ज्यादती कहिलेसम्म ?
त्यसैले आफूले आफैंलाई अथाह माया गरौं । मानवीय मूल्य अभिवृद्धि गर्न समय र पैसा खर्च गरौं । यसले नै हामीलाई सक्षम र आत्मनिर्भर बनाउँछ । मुलुकमा विकासका अथाह सम्भावना छन् । सकारात्मक ऊर्जाले भरिएको मस्तिष्क, जाँगरसहितको शरीरले हरपल काम गर्ने हो भने समृद्धिको सपना टाढा छैन । सबैले आफूमा निहित ज्ञान, सीप र क्षमताको भरपूर प्रयोग गर्ने बेला हो यो ।
अब रोजगारीका अवसर सिर्जना गरौं । नेतृत्वले निष्ठाको राजनीति गरौं । उच्च राजनीतिक संस्कारले ओतप्रोत बन्न सिकौं ।
