नेपो बेबी नेपोटिजमको छोटो रूप हो, जसले नातावाद, कृपावादलाई प्रश्रय दिन्छ, ‘राम्रोलाई हाम्रो’ भन्दा ‘हाम्रोलाई राम्रो’ मान्ने परिपाटी स्वार्थकै उपज हो ।
What you should know
सन्तुलित मनोदशाको स्वस्थ मान्छेले सामान्यतः आफ्नो फाइदा हेर्छ नै । स्वार्थीलाई धेरैले मन नपराउनु र समाजसेवीलाई मन पराउनुमा पनि यो कुरा लागू हुन्छ । अरू छोड्नुस् न, गहिरिएर मनन गर्ने हो भने भगवान् हुन्छ भन्नु/मान्नु वा भक्तिभाव देखाउनुमा पनि यो कुरा लागू हुन्छ ।
कसैको सोच काम/कुराले यथार्थमा कसैलाई फाइदा हुन्छ/हुँदैन, त्यो पछि थाहा हुने कुरा हो, तर हरेकलाई वर्तमानमा फाइदा हुन्छ भन्ने लाग्छ नै । यहाँ ‘फाइदा’ भन्नाले पैसा मात्रै होइन– सम्बन्ध, आनन्द, राम्रो महसुस गर्नु, अरूले राम्रो सोचोस् भन्नु, आफ्ना कसैको भलाइ होस् भन्नु वा कुनै न कुनै आशा राख्नु आदि हो । हावा नचली पात हल्लिन्न भनेजस्तै यहाँ जसले जे गरे पनि आ–आफ्नो फाइदा हेरेरै अथवा फाइदा होला भनेरै गरिरहेका हुन्छन् । कुनै फाइदा छैन भन्ने लाग्यो भने नातागोता, साथीभाइ, छरछिमेकहरू टाढा हुने कारण पनि यही हो, शास्त्रले पनि यसै भन्छ ।
जबसम्म आफ्नो काम बन्दैन तबसम्म मात्रै मान्छेले अरूलाई महत्त्व दिन्छ । नाउ चढेर नदी पार गरिसकेपछि नाउको के मतलब ? आफ्नो काम सकिएपछि सबैलाई बेवास्ता गर्छ यो संसार । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी’ भन्ने भनाइ यसै चर्चित भएको पक्कै होइन । एक हातले ताली त बज्दैन, जिन्दगीको संगीत कहाँ बज्नु ?
मान्छेले जन्मँदै इच्छा/चाहना लिएर आउँछ । त्यसैले जीवन रहेसम्म आफ्नो फाइदा हेर्ने क्रम जारी राख्छ मान्छे । मृत्युपश्चात् आफ्नो वा नजिकका व्यक्तिको स्वर्गमा बास होस् भन्ने कामना गर्दा पनि यो कुरा झल्किन्छ । वास्तवमा हामीमा भएको यही गुणले नै हामीलाई यस्तो बनाएको हो । साँच्चिकै भन्नुपर्दा इच्छा छ त जीवन छ, आशा छ अनि अरू धेरै अनगिन्ती कुरा छन् । केही हदसम्मको फाइदा हेर्नु भनेको हामी स्वस्थ हुनुको प्रमाण पनि हो । किनकि यस्तो फाइदा परामनोविज्ञान र मनोआध्यात्मिक क्षेत्र हो । पूरै संसार त्यागेको सन्त–महात्माले त मोक्ष र परमार्थको इच्छा जीवितै राखेको हुन्छ, तसर्थ केही कतै आशै नराख्ने, फाइदै नहेर्ने वा चाहनै छैन भन्ने व्यक्ति कि मानसिक रोगी हुन्छ कि ढोंगी । निःस्वार्थ भावले केही काम/कुरो गर्दा सिधै फाइदा नदेखिए पनि अप्रत्यक्ष रूपमा त्यसले दिने मनको शान्ति/आनन्दको फाइदा भने अवश्य हुन्छ ।
कसैले निःस्वार्थ भावले वा अरूको फाइदाका लागि केही कामहरू गर्छ– जस्तै समाजसेवा, धार्मिक कार्यक्रम, स्वास्थ्य शिविर, निःशुल्क भोजन वा सेवाहरू, सार्वजनिक स्थलहरूको सरसफाइ, मद्दत आदि । त्यसको अप्रत्यक्ष फाइदा उसलाई हुन्छ नै । साँच्चै भन्नुपर्दा धेरै बाठो व्यक्ति, संघसंस्था, व्यापारी, राजनीतिज्ञ, धार्मिक गुरुहरूले पनि यही कुरा बुझेरै फाइदालाई पहिलो प्राथमिकतामा राखेर कुनै काम गर्नुभन्दा सामाजिक सेवाभाव देखाउँदै परोक्ष रूपमा धेरै फाइदा लिइरहेका हुन्छन्, जुन सामान्य मानिसले बुझ्दैनन् ।
यस संसारमा जति उथलपुथल भएका छन्, सबै स्वार्थ नमिलेरै भएका हुन् । परिवारमा पनि एकअर्काले विभिन्न तरिकाले चाहेअनुसार फाइदा लिइन्जेल मात्रै शान्ति कायम हुन्छ नत्र झगडा, अशान्ति, वैमनस्य, काटमारकै स्थिति आउन सक्छ । आफ्नो फाइदा हेर्दा अरूको पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ, अर्थात् साइकलजस्तै सन्तुलनमा राख्नुपर्ने हुन्छ फाइदालाई, नत्र दुर्घटना निम्तिन्छ । जसरी कुनै व्यापारीले १०–१५ प्रतिशतसम्म नाफा खाँदा हामी सहर्ष स्विकार्छौं, त्यसैगरी समाजका हरेक क्षेत्रमा भएका गतिविधि स्विकार्नुको विकल्प हुन्न ।
गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनले देशै उथलपुथल पार्यो । र, यसले अन्तर्राष्ट्रिय रूपमा चर्चा परिचर्चा पायो । त्यसलाई पनि स्वार्थको सन्तुलनका निमित्त वा साइकलको पांग्रा बिग्रेर भएको घटना मान्न सकिन्छ । राजनीति गर्नेले आफ्नो मात्रै फाइदा हेर्दा इतिहासदेखि वर्तमानसम्म धेरै जनआन्दोलन देशले झेल्नुपरेको छ । लोभले लाभ, लाभले विलाप भन्ने भनाइ हाम्रो जीवनमा धेरैपल्ट चरितार्थ भइरहेको हुन्छ ।
नेपो बेबी नेपोटिजमको छोटो रूप हो, जसले नातावाद, कृपावादलाई प्रश्रय दिन्छ । आफ्ना वा नजिककालाई विशेष प्राथमिकता, अवसर र फाइदा दिने, ‘राम्रोलाई हाम्रो’ भन्नुभन्दा पनि ‘हाम्रोलाई राम्रो’ मान्ने परिपाटी पनि स्वार्थको उपजै हो ।
आजभोलि सामाजिक सञ्जालमा पोस्ट्याइएका सामग्री हेर्ने हो भने पनि सबैले आ–आफ्नै दुनो सोझ्याएको र सोहीअनुसार डम्फु बजाएको प्रस्टै हुन्छ । अझै धेरैले त नक्कली पहिचानमै समाजलाई द्विग्भ्रमित पारिरहेका हुन्छन् । लाभको पदमा रहेर विभिन्न राजनैतिक दलका नेता तथा सरकारी कर्मचारीले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाए भनेर जेन–जी आन्दोलनमा धेरैको घर तथा व्यक्तिगत सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरियो । यो स्वार्थको सन्तुलन बिग्रेर पनि भएको हो भन्न सकिन्छ । अति गर्दा खती हुन्छ, विष बन्छ, अति गर्नु अत्तिसार नगर्नु भन्ने भनाइ फेरि एकपल्ट हाम्रोसामु चरितार्थ भएको छ । कुनै पनि लाभको पदमा भएका, शक्तिशाली वा प्रसिद्ध व्यक्ति/संस्थाहरूले आफूसँगै देशलाई पनि समृद्ध बनाएको भए सायद हामीमा ‘धनी हुनु भनेको पाप हो’ जस्ता भाष्य निर्माण हुँदैनथ्यो । कुनै पनि समाजमा जब नेता, कर्मचारी, व्यापारी, धार्मिक गुरुहरू स्वार्थी हुन थाल्छन्, सामान्य जनतामा वितृष्णा बढ्न थाल्छ अनि विभिन्न रूपमा विस्फोट हुन थाल्छ । विस्फोटको कारणचाहिँ सन्तुलनमा आउने प्रयासका लागि हो भन्ने मान्नुपर्छ ।
जब देशमा गरिबी, भ्रष्टाचार, नातावाद, बेथिति मौलाउन थाल्छ अनि स्वार्थको द्वन्द्व सुरु हुन्छ । विभिन्न समयको अन्तरालमा हुने जनविद्रोह, आन्दोलन, अस्थिरता यसैको उपज हुन्, जसले समाजमा फेरि सन्तुलन कायम गरी केही समयका लागि भए पनि शान्ति स्थापना गराई देशलाई अगाडि बढाउँछ ।
मानव जीवनमा इच्छा र आवश्यकता स्वाभाविक नै हुन् । तर, जब यी तत्त्व असन्तुलित हुन्छन् र मान्छेहरूले पाएसम्म अरूका हक अधिकार मिच्दै अघि बढ्छन्, त्यहाँ लोभ र स्वार्थ जन्मिन्छ, जुन समाजका लागि खतरनाक र हानिकारक हुन्छ । हुनलाई त मन्दिर, चर्च, गुम्बा, गुरुद्वारा, मस्जिद बनाउने पनि मान्छे नै हुन् अनि त्यहाँ गएर शुद्ध मनले प्रार्थना/पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ भनेर लोभ देखाई मान्छेलाई भक्तजन/दर्शनार्थी/चेला/चपेटा बनाउने पनि मान्छे नै हुन् । गहिरिएर हेर्ने हो भने भगवान्सँग आफ्ना लागि केही माग्नेहरू पनि भिखारी हुन् । भिखारी बाहिर बसेरै पैसा माग्छन्, भक्तजनहरू भित्र गएर अनेकथरी माग्छन् । यसरी मान्छेले व्यवहारमा झन् झन् स्वार्थी, लोभी र कपट हुने अभ्यास गरिरहेका हुन्छन् ।
मान्छेमा सम्पत्ति, शक्ति, सुविधा र सम्मानको लालसाको अन्त्य कहिल्यै हुँदैन । कुनै व्यापारीले धेरै मुनाफा कमाउने लोभ लालचमा मिसावटयुक्त सामान बेच्न थाल्छ भने ग्राहकको स्वास्थ्यमा खेलवाड हुन गई समाजमा विश्वासको संकट पैदा हुन्छ । केवल आफ्नो मात्र फाइदा सोच्ने बानीले अरूको पीडा वा आवश्यकतालाई बेवास्ता गर्छ मान्छे । जसरी परिवारको सुख, समृद्धिका लागि घरमा शान्ति जरुरी छ, देशको समृद्धिका लागि पनि यही नियम लागू हुन्छ । तसर्थ हामीमा स्वाभाविक रूपमा भएको इच्छा, चाहनालाई इच्छाशक्तिमा रूपान्तरित गर्नु, लोभ, लालच र स्वार्थमा विकास हुन नदिनु नै बुद्धिमानी हुन्छ ।
