वास्तवमा कताकता पुष्पलालले ठहर्याएको संसदीय मूलबाटोको प्रतिरूप नै बहुदलीय जनवाद हो कि भन्ने देखिन्छ । २०२४/२५ सालतिर पुष्पलालले कोरेको कार्यनीतिलाई कामरेड मदन भण्डारीले नयाँ परिवेशमा परिभाषित गरेझैं लाग्छ
What you should know
नेपाली कम्युनिस्ट आन्दोलनका माउ थिए– कामरेड पुष्पलाल । कुनै समय ‘गद्दार पुष्पलाल’ लेखेका अर्का जीवित कामरेड मोहनविक्रम सिंहसमेतले पछिल्लो कालखण्डमा पुष्पलालको मूल्यांकन गर्दै लेखेका छन्, ‘वास्तवमा, नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेर सोही आन्दोलनमा जीवन बिताउनुभएको पुष्पलालले राजतन्त्रका विरुद्धको संघर्षमा जीवनको अन्त्यकालसम्म सम्झौताहीन ढंगले लड्नुभो । हामीले उहाँको त्यो योगदान, समर्पण र बलिदानको सम्मान गर्नुपर्छ, उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । पुष्पलाललाई गद्दार घोषित गर्नु गल्ती थियो, त्यसलाई पछि हामीले सच्यायौं’ (रातोपाटी, ७ साउन २०७७) ।
बहुमतको नेतृत्व गरेका महासचिव डा. केशरजंग रायमाझीको मूलधारको पार्टीले (जहाँ संयोगवश म आफैं पनि संगठित हुन पुगेको थिएँ) कम्युनिस्ट आन्दोलन धेरै टुक्रामा विभाजन हुन पुग्नुमा पुष्पलाललाई जिम्मेवार ठान्थ्यो ।
मोहनविक्रम सिंह, झापाली आन्दोलनकारीहरूले मात्र पुष्पलाललाई गाली वा अवमूल्यन गरेनन्, स्वयं पुष्पलालकै अगुवाइमा पार्टीका सांस्कृतिक तथा बौद्धिक फाँट हेर्ने युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनेको मुक्तिमोर्चा नामक सांस्कृतिक मोर्चाबाट मोदनाथ प्रश्रित, जीवराज आश्रित, मदन भण्डारी तथा वामदेव गौतम क्रान्ति गर्न अलग्गिए र पुष्पलाललाई गाली गर्दै को–अर्डिनेसन केन्द्र (कोके) मा सामेल हुन पुगे ।
तत्कालीन समयमा काठमाडौंमा मार्क्सवादी दर्शनशास्त्रका ज्ञाता मानिन्थे दिवंगत कामरेड कमर शाह । उनले कार्यकर्ता प्रशिक्षण चलाइरहेका बेला मैले सोधें, ‘साँच्चिकै कामरेड पुष्पलाल कम्युनिस्ट आन्दोलनमा विखण्डनकारी नै थिए त ?’ भद्र देखिने शाहले अलिक अनुहार खुम्च्याएर मलाई नै प्रतिप्रश्न गरे, ‘कसले भन्यो तिमीलाई त्यस्तो कुरा !’ मैले नाम भन्नुभन्दा अगावै उनले नै शालीन स्वरमा स्पष्टीकरण दिँदै भने, ‘पुष्पलाल हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव हो । पार्टीमा सैद्धान्तिक–वैचारिक अन्तरविरोध देखा परिरहन्छन् । मुद्दाहरूमा अल्पमत, बहुमत भइरहन्छ । साह्रै धेरै सैद्धान्तिक वैचारिक अन्तरविरोध भए र निराकरण नै गर्न नसकिने भयो भने विभाजनसमेत हुन्छ । जस्तो लेनिनको नेतृत्वको पार्टी पनि विभाजित भएको थियो । उहाँलगायत धेरै साथीहरूले कम्युनिस्ट आन्दोलनमा विभाजन रोज्नुभो । तर उहाँहरूले आफूभित्र पनि विभाजन रोक्न सक्नु भएन ।’
अन्य प्रशिक्षार्थी साथीहरू र स्वयं प्रशिक्षक शाहको भावभंगी हेरेर मैले बहस लम्ब्याउन चाहिनँ । मलाई भने कामरेड पुष्पलाल र उनले बोकेको विचारबारे कौतूहल सुरु भयो ।
कामरेड पुष्पलाल र सैद्धान्तिक मतभेद
सहिद गंगालालका सहोदर माइला भाइ थिए– कामरेड पुष्पलाल । गंगालाल राणाविरोधी पहिलो आन्दोलन गरेको प्रजा परिषद्को सदस्य थिए । असाध्यै ठूलो दमन, धरपकड र मृत्युदण्डपश्चात् प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गर्न नेपाली कांग्रेस वि.सं. २००३ मा संगठित हुन पुग्यो । कामरेड पुष्पलाल पहिलो पटक त्यही पार्टीमा संगठित हुन पुगे । तर छिट्टै कांग्रेससँग उनको मोहभंग भयो । २२ वर्षको कलिलो जवानीमै २०–२२ पृष्ठको नेपाली राजनीतिक आन्दोलन, श्रमजीवी वर्गको आवश्यकता तथा समीक्षा र परिचयसहित कम्युनिस्ट घोषणापत्रको पहिलो अनुवाद गरे । श्रमजीवी वर्गको मुक्तिका लागि नेपालमा कम्युनिस्ट आन्दोलनको आवश्यकता महसुस गरेर भारत प्रवासमै अन्य साथीसँग मिलेर वि.सं. २००६ (सन् १९४९) मा कम्युनिस्ट पार्टीको स्थापना गरे । सोभियत क्रान्तिको ३२ वर्षपछि र चिनियाँ क्रान्ति सम्पन्न हुनु एक महिनाअघि उनकै अगुवाइमा नेपालमा कम्युनिस्ट पार्टी गठन हुन पुगेको थियो ।
तर नेपालको कम्युनिस्ट आन्दोलन न रसियन, न त चिनियाँ क्रान्तिबाट प्रत्यक्ष प्रभावित बन्न पुग्यो । बरु यो धेरै हदसम्म ग्रेट ब्रिटेन कम्युनिस्ट पार्टीको संसद्वादको लाइन हुँदै भारतीय कम्युनिस्ट पार्टीको संसद्वादबाट प्रभावित भएको देखिन्छ । नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको २००७ सालको आन्दोलनपछि नेपालको सम्पूर्ण राजनीति संसद्वादतर्फ नै उन्मुख थियो । स्वाभाविक रूपमा पुष्पलाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन आर्थिक–सामाजिक परिवेश, वर्गीय चेतना, संघर्षको परिवेश आदिलाई ध्यानमा राखेर तत्कालीन कार्यनीति संसदीय जनवाद नै बनाइनुपर्ने माग अगाडि सारेको थियो । यद्यपि, लोकतान्त्रिक गणतन्त्र कामरेड पुष्पलालको बटमलाइन थियो ।
‘कामरेड पुष्पलाल कम्युनिस्ट आन्दोलनभित्र उग्रवामपन्थ र चरम दक्षिणपन्थ एकसाथ हाबी हुन सक्छन् र तीबाट आन्दोलनलाई जोगाएर लैजान आवश्यक छ भन्ने सोच राख्थे । नभन्दै छोटो समयमै कम्युनिस्ट आन्दोलन लोकप्रिय बन्दै गयो । एकसे एक पढेलेखेका हस्ती आन्दोलनमा जोडिन पुगे । जस्तो मनमोहन अधिकारी, शैलेन्द्रप्रसाद उपाध्याय, डीपी अधिकारी, तुलसीलाल अमात्य, डा. केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर आदि’ (टंक कार्की, २० भदौ २०७९, ‘कम्युनिस्ट’) । वास्तवमा पछि जोडिएका अधिकांश यी कामरेडहरू सैद्धान्तिक वैचारिक वाक्पटुता भएका तर आवश्यक ठाउँमा जोखिम नमोल्ने र अनावश्यक ठाउँमा गिजोल्ने स्वभावका थिए ।
वि.सं. २००७ को क्रान्तिका नाममा भारतीय मध्यस्थतामा राणा–राजा–कांग्रेसबीच भएको त्रिपक्षीय सम्झौतालाई तत्कालीन नेकपाले विरोध गर्यो । चिनियाँ क्रान्ति सम्पन्न भइसकेको अवस्थामा त्यसको प्रस्ताव नेपालसम्म नआइपुगोस् भन्ने हेतुले विश्वशक्ति राष्ट्र अमेरिका र संसदीय प्रणालीमा विश्वास गर्ने भारतले नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता तथा कार्यक्रममाथि भारतीय निगरानी रहनु कुनै अनौठो हुन्थेन । र्याडिकल प्रोग्राम भएको पार्टीलाई कसरी विस्थापित गर्ने भन्ने कन्स्पिरेसीको ताकमा रहेका शक्तिहरूको बलमा नै नवोदित प्रजातन्त्रमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो ।
प्रतिबन्ध फुकाउने नाममा नै पहिलो महाधिवेशनसम्म आइपुग्दा पुष्पलालबाट प्रस्तावित गणतान्त्रिक जनतन्त्रको मुद्दालाई अतिवाद भनेर पन्छाएर संवैधानिक राजतन्त्र मान्ने गरी मोडरेट धारका कामरेड मनमोहन अधिकारीलाई महासचिवमा स्थापित गरियो । वास्तवमा यहींबाट सुरु भएको थियो कम्युनिस्ट आन्दोलनलाई भुत्ते बनाउने अभियानको सुरुवात । प्रमुख उत्पादनको साधनका रूपमा र खेतीयोग्य जमिनको न्यायोचित वितरणका लागि भूमिसुधार, औद्योगीकरणमार्फत रोजगारीको प्रबन्ध, शिक्षा र स्वास्थ्यजस्ता महत्त्वपूर्ण सेवा क्षेत्रमा जनताको पहुँचको ग्यारेन्टी जस्ता जनवादी कार्यक्रम क्रमिक रूपमा निस्तेज पारिँदै लगिए ।
राजाको ‘कू–देता’ तथा कम्युनिस्ट आन्दोलनमा विभाजन
२००७ सालको आन्दोलनपछिको सम्झौताले प्रजातान्त्रिक शक्ति बलियो हुनुको साटो राजतन्त्र बलियो हुँदै गएको थियो । किनकि, क्रान्ति भनिएको आन्दोलन सम्झौतामा टुंगिएको थियो । अधिकांश ठूला पार्टीका नेता–कार्यकर्ता सम्भ्रान्त परिवारबाट पार्टीमा छिरेका थिए, चाहे त्यो कांग्रेस होस् या गोरखा दल वा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी । वास्तवमा सामन्ती सोच र कार्यशैली सबै दलमा प्रभावशाली देखिएको थियो । कतिपय नेतागण सिद्धान्त, विचार र संस्थाभन्दा पद र प्रतिष्ठा प्यारो भएकाले नै राजा महेन्द्रको औजार बन्न पुगेका थिए । २०१७ साल तिनकै आडमा घटाइएको थियो ।
स्वतन्त्र भारत आर्थिक–सामाजिक ढाँचामा संरचनागत परिवर्तन गर्न नसक्दा गतिवान् बन्न सकिरहेको थिएन । स्टालिनको देहावसानपछिको सोभियत संघमा आन्तरिक अविश्वासले ग्रस्त हुने क्रम बढेको थियो र सोभियत संघ तथा चीनका बीच ठूलो सैद्धान्तिक मतमतान्तर उत्पन्न भइसकेको थियो । अमेरिकालगायत पुँजीवादी विश्व दोस्रो विश्वयुद्धमा गुमेको हैकमलाई पुनःस्थापित गर्न शीतयुद्धको खेतीमा थियो । यस प्रकारको अन्योलग्रस्त विश्व परिस्थितिको लाभ उठाएर राजा महेन्द्रले निर्वाचित संसद् भंग गरेर सत्ता हत्याएका थिए । केही वर्षभित्रै सत्तारूढ कांग्रेसका झन्डै बहुमत सदस्य राजाको कदमलाई स्वीकार गर्दै राजाको कू–देतामा विलिन भए, प्रमुख प्रतिपक्षी अस्तित्वविहीन हुन पुग्यो । तत्कालीन नेपाली कांग्रेसले राजाको कदमविरुद्ध सशस्त्र संघर्षको आह्वान गर्यो । नेपाल कम्युनिस्ट पार्टी भने यो जटिल राजनीतिक परिस्थितिको समीक्षा गर्दागर्दै विभाजित हुन पुग्यो । पार्टी केन्द्रीय कमिटीमा बहुमतमा रहेका महासचिव डा. केशरजंग रायमाझी पक्षले संसदीय व्यवस्थाको पुनःस्थापनाको वकालत गर्यो, पुष्पलालले विघटित संसद्को पुनःस्थापनाको पक्षमा वकालत गरे भने मोहनविक्रमले संविधानसभाको निर्वाचनको माग गरे र आ–आफ्नो बाटो लागे ।
कामरेड पुष्पलालको अवमूल्यन
कांग्रेस छोडेर कम्युनिस्ट बनेकामा पुष्पलालप्रति कांग्रेस कति पूर्वाग्रही थियो, त्यो त थाहा भएन । तर नेपालमा शासन कांग्रेसले मात्र गर्न सक्छ भन्ने दम्भ उसमा देखिन्थ्यो । यसले गर्दा २०३७ सालमा सम्पन्न जनमतसंग्रहमा समेत कांग्रेसले कम्युनिस्टहरूसँग सहकार्य गर्ने उत्साह जनाएन । यद्यपि पुष्पलालले संसद् पुनःस्थापनाको लाइनलाई कहिल्यै त्यागेनन् । ‘कम्युनिस्ट र कांग्रेस मिलेर राजतन्त्रविरुद्ध संयुक्त संघर्ष नै ‘आजको मूलबाटो’ हो भनेर त्यही शीर्षकमा संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सारेका थिए’ (नेत्रप्रसाद पन्थी, २०७१, ‘पुष्पलाल : जीवन, कृतित्व र शिक्षा’, मेट्रो फाइन प्रिन्ट) ।
संयुक्त जनआन्दोलनको कार्यदिशालाई घोर दक्षिणपन्थी ठान्ने नेकपाभित्र प्रथम महाधिवेशनदेखि नै सम्भ्रान्तहरूको एउटा तप्का थियो । जो बढी क्रान्तिकारी देखिनुपर्ने, वस्तुगत विश्लेषण गर्नु नपर्ने, आममानिसको चाहना र इच्छा के हो भनेर बुझ्न नपर्ने जमात आजजस्तै हिजोको कम्युनिस्ट आन्दोलनमा पनि थियो । वास्तवमा कांग्रेसलाई दरबारिया शक्तिझैं अति दक्षिणपन्थी देख्ने संकीर्णता उनीहरूले पालेका थिए । तिनलाई आजको आँखाबाट हेर्दा निरंकुश राजतन्त्र र सामाजिक प्रजातन्त्रवादीको बीचमा सैद्धान्तिक वैचारिक भेद के हुन्छन्, निरंकुशता र लोककल्याणकारी राज्यबीचमा के अन्तर रहन्छन् भन्ने सामान्य परिभाषाका कुरा पनि थाहा नभएको प्रतीत हुन्छ । जस्तो बीपीको सरकारले गरेको बिर्ता उन्मूलन, साना तथा मझौला किसानको पक्षमा जसको जोत उसको पोत नाराअनुरूपको भूमि सुधार गर्ने योजना वास्तवमै सामन्तवादको अन्त्यका लागि सशक्त कार्यक्रम थिए । यद्यपि, त्यो समयमा कांग्रेस समाजवादी कम लोककल्याणमा आधारित मिश्रित पुँजीवादी पक्षधर बढी थियो । तर राजतन्त्रभन्दा धेरै गुणा प्रगतिशील र लोकतन्त्र बहालीका लागि गरिने संघर्षको एक भरपर्दो सहयात्री कांग्रेस नै बन्न सक्छ भन्ने पुष्पलालको आकलन थियो ।
त्यो समय चीन र सोभियत धुरीमा कम्युनिस्ट अन्तर्राष्ट्रियता विभाजित हुन पुग्यो । चीन जनवादी क्रान्तिको निरन्तरताको पक्षपोषण गरिरहेको थियो भने सोभियत संघ राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम तेस्रो विश्वका मुलुकलाई फिट हुन्छ भन्ने दबाब दिइरहेको थियो । रुस र चीन दुवै आफ्नो विचारलाई बलियो बनाउन जुटेका थिए । यी दुईको लडाँइमा संसारभरका कम्युनिस्ट सबैभन्दा बढी विभाजित हुन पुगे । जस्तो भारतमा सीपीएम र सीपीआई जस्तै । पुष्पलाल चीनको नयाँ जनवादको क्रान्तिकारी प्रक्रियालाई नजिक ठान्थे किनकि नेपाली र दक्षिण एसियाली परिवेश मिल्थ्यो । यद्यपि सत्तारूढ चीनले अगाडि सारेको ग्रेट लिप फरवार्ड कार्यक्रम र चिनियाँ सांस्कृतिक क्रान्तिको विपक्षमा थिए उनी । यसले गर्दा उनी चीनको नजिक थिएनन् । रुसले त उनलाई समर्थन गर्ने कुरै थिएन । चिनियाँ जनवादी क्रान्तिको बाटोको पक्षधर देखिए तापनि उनले सशस्त्र क्रान्ति नै राष्ट्रिय मुक्तिका लागि एकमात्र औजार हो भन्ने ठानेनन् ।
पुष्पलाल र जनवाद
बीपीको भौतिक अवसानपछि कांग्रेसभित्र क्रमिक रूपमा संयुक्त जनआन्दोलनका लागि माहोल पैदा हुँदै गयो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेसलाई संयुक्त आन्दोलनतर्फ मोडे । मदन भण्डारी नेतृत्वको माले, मनमोहन–साहना नेतृत्वको मार्क्सवादी, नेकपाका मूलधार, विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा, तुलसीलाल अमात्यले नेतृत्व गरेका घटक कांग्रेससँग संयुक्त जनआन्दोलनका लागि तयार हुन पुगे । २०४६ को पहिलो जनआन्दोलन सफल भएर २०१७ मा गुमेको संसदीय व्यवस्थाको पुनःस्थापना हुन पुग्यो । सफलताको सैद्धान्तिक श्रेय एकाध व्यक्तिबाहेक वामपन्थीले कामरेड पुष्पलाललाई दिए । कांग्रेससँगै कामरेडहरू सत्तारूढ बन्न पुगे । तर पुष्पलालले अर्थ्याएको जनवाद कमजोर बन्दै गयो ।
२०४८ को पहिलो आमनिर्वाचनपछि मूलधार बन्यो नेकपा (एमाले) । सशक्त प्रतिपक्षी पार्टीका रूपमा उसको उदय भयो । मनमोहन अधिकारी अध्यक्ष तथा मदन भण्डारी महासचिव रहेको त्यो पार्टी २०४९ पछि पूर्ण संसदीय पार्टी बन्न पुग्यो र महासचिव भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम अगाडि सारे । वास्तवमा कताकता पुष्पलालले ठहर्याएको संसदीय मूलबाटोको प्रतिरूप नै बहुदलीय जनवाद हो कि भन्ने देखिन्छ । २०२४/२५ सालतिर पुष्पलालले कोरेको कार्यनीतिलाई कामरेड मदन भण्डारीले नयाँ परिवेशमा परिभाषित गरेझैं लाग्छ । सोभियत संघको पतनले विश्व कम्युनिस्ट आन्दोलन कमजोर भएको सन्दर्भमा २०४९ पछि कांग्रेसले सोसियल डेमोक्रेटिक लाइन छोड्यो ।
यता एमालेले वास्तविक जनवादी संघर्षलाई संसद्वादमा फ्युजन गराउँदै लग्यो । संसद्वाद हाबी हुँदै गयो, जनवादको मूलअर्थ जस्तो सबैका लागि स्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी, सबैका लागि आवासको प्रबन्ध, सबैका लागि मुलुकभित्र रोजगारी प्रबन्ध, सबैका लागि उत्पादनका साधनमाथि (अर्थात् जल, जंगल, जमिन, फ्क्याट्री आदि) पहुँच आन्दोलन तुहिँदै गयो । अर्को अर्थमा जनताको अग्रगामी दस्ता (पिपुल्स फ्रन्ट) कमजोर बन्दै गयो । जनवादलाई बलियो बनाउने नाममा २०५२ सालबाट नेकपा (माओवादी) ले सशस्त्र आन्दोलन सुरु गर्यो । १० वर्ष युद्ध लड्यो तर फेरि पुष्पलालले बताएकै संयुक्त जनआन्दोलनको बाटो अख्तियार गर्यो । गणतन्त्र प्राप्त भयो । तर उसले पनि वास्तविक जनवादी कार्यक्रमलाई समात्न सकेन ।
हिजोआज डेढ दर्जन हाराहारीमा कम्युनिस्ट पार्टी छन् । ठूला भनिएका एमाले र माओवादीमा जनवाद भने मरिसकेको छ । तमाम असफलताका बाबजुद सत्तामा बसिरहने (पार्टी सत्ता), जनवादी–केन्द्रीयतालाई केन्द्रीयतामा मात्र सीमित तुल्याउने काम यी पार्टीहरूले गरिरहेका छन् । आफूलाई मूलधार ठान्ने कम्युनिस्ट पार्टीका अध्यक्षहरू वास्तवमा सामन्तका प्रतीकझैं लाग्छन् । ज्ञानेन्द्रलाई राजगद्दीको भोक नमेटिएझैं यिनमा अध्यक्ष भइरहने भोक कहिल्यै मेटिन्न जस्तो छ । कांग्रेसले सेटिङमा अघि सारेको राजनीतिक, सामाजिक तथा आर्थिक एजेन्डाहरूभन्दा भिन्न यिनीहरूमा कुनै पार्टीसँग जनवाद स्थापना गर्ने आफ्ना मौलिक एजेन्डा छैनन् ।
किन जनवादी कार्यक्रमलाई आफन्तहरूले नै मारे र सिध्याए– यो प्रश्नको उत्तर दिन पुष्पलाल आज जीवित छैनन् । संयुक्त जनआन्दोलनको पाठ अगाडि सारिरहँदा संसद्वादमा जनवादी कार्यक्रमको मात्र होइन, राजनीतिक संस्कार र संस्कृतिको समेत अकाल मृत्यु हुन सक्छ । त्यसका लागि जनताको संसद् बलियो बनाउन कस्ता वैकल्पिक उपाय खोज्ने र रोज्ने भन्ने प्रश्नको उत्तर दिन पनि कामरेड पुष्पलाल उपस्थित छैनन् । आज श्रमजीवी वर्गको वर्गीय हित खोज्न कुनै पनि कार्यक्रमको आवश्यकता मूलधारका कम्युनिस्टहरूको कार्यक्रममै छैन । यस्तो सैद्धान्तिक वैचारिक अनिकालमा कमरेड पुष्पलालको याद आउँछ । उनी नेपाली जनवादका पिता थिए ।
२०१७ सालको कू–देतापछि पुष्पलाल भारतमै बसे र भारतमै २०३५ साउन ६ गते प्राण त्याग गरे । सहयात्रीहरू भन्छन्– पुष्पलालले जीवनभर कठोर संघर्ष गरे । तर जनवाद शब्दले उनकै अनुयायीहरूबाट जोखिम बेहोरिरहेको छ । जनवादको मुक्ति नै आजको कार्यभार हो । के उनका अनुयायीहरू यसका लागि संघर्ष गर्न तयार छन् ?
