राजनीतिमा भगवान् खोज्नु भनेको प्रश्न, आलोचना र संसारिक अपेक्षाबाट नेतालाई पर राख्नु हो, यसरी न त लोकतान्त्रिक पार्टी बन्छ, न त राज्यको लोकतन्त्रीकरण हुन्छ, जगजाहेर छ, राजनीतिमा ईश्वर र सेवकहरूको अवतार हुनु लोकतन्त्रकै सर्वाधिक निर्लज्ज अवस्था हो
हिँड्दा नयाँ ठाउँ मात्र हेरिँदैन, थाकका थाक रमाइला कुरा सुन्न र कथा बुन्न पनि पाइन्छ । डुलिबस्दा कहिलेकाहीँ यति रोचक मान्छेहरू भेटिन्छन् कि उनीहरूको कुरा टपक्क टिप्न र अरूलाई सुनाउन मन लाग्छ । यस पटक चैत अन्तिम साता एक जना त्यस्तै व्यक्तिसँग तेह्रथुम, वसन्तपुरमा भेट भयो । हेंवापारि पाँचखपन चुङ्खुरुङका ती व्यक्तिसँग कुरा गर्नलाई अनेक किस्सा थिए ।
असममा कुयर खेती गर्दाका किस्सा । मेघालयतिर गहिरा सुरुङमा पसेर कोइला निकालेका किस्सा । कुद्दै गरेको रेलबाट हामफालेका किस्सा । ब्रह्मपुत्रमा पौडी खेलेका किस्सा । नागाहिलतिर लाप्पा खेल्दाका किस्सा, गारुवालतिर मीत लगाएका किस्सा । अचेल उनी आफ्नै गाउँ फर्किएका छन् ।
वसन्तपुरको एक चिया पसलमा भेटिएका उनले राजनीतिको प्रसंग निकाल्दै भने– ‘हाम्रा नेता त सबका सब ईश्वर जस्ता पो भइगए भाइ । धूप, धुवाँर र आरती नगरी कामै नबन्ने ।’ रमाइलो पारामा उनले थपे– ‘पहिले उताबाट गाउँ फर्किएपछि राजनीति गरौं कि जस्तो लागेको थियो । तर यसो हेरी नियाल्दा, जब नेताहरू मठाधीशजस्ता र कार्यकर्ताहरू उनका सेवकजस्ता देखिए, मैले राजनीति गर्ने मनसुवा त्यागिदिएँ र अलैंचीको व्यापार पो थालें ।
एकबारको जुनीमा राजनीति नै गरेपछि के तेल मालिसको राजनीति गर्नु, हैन त भाइ ?’ उनले साधारण भाषामा गम्भीर प्रश्न गरे । रमाइलो भाकामा बोल्ने ती मनुवाले जे भने, त्यो समकालीन नेपाली राजनीतिको सटीक शब्दचित्र थियो ।
यो सत्य हो कि, आजकल हाम्रा पार्टीहरू धार्मिक मण्डलीजस्ता देखिन्छन् । नेता मठाधीश बनेका छन् । र, कार्यकर्ता बनेका छन् धर्मान्ध चरणदास । कांग्रेस, एमाले र माओवादीको त कुरै छाडौं, नयाँ र सुसंस्कृत (?) भनिएको रास्वपामा पनि त्यही हालत छ । एक जना भगवान्, बाँकी सबका सब भक्त । भगवान्को खेती पार्टीहरूमा मात्र छैन, स्वतन्त्र भनिएका बालेन शाहदेखि हर्क साम्पाङसम्म त्यस्तै छ । सबैका आ–आफ्नै भक्त छन् । र, सबै भक्तका आ–आफ्नै मठमन्दिर छन् । अर्थात्, सबैले आफ्नो अन्धास्थाको सिंहासनमा एक जना ‘प्रभु’ विराजमान गराएका छन् ।
प्रभु अर्थात् ख्वामित । ख्वामित अर्थात् मालिक । सबैका आफ्नै दरबार छन् । सबैका आफ्नै आँगन, दलान र गजुर छन् । सबैका आफ्नै स्तुतिगान छन् । र, सेवकहरू हरदम आफ्नो भगवान्को सेवामा तल्लीन रहन्छन् । त्यहाँ कुनै प्रश्न छैन, कुनै आलोचना छैन । न राजनीति छ, न परिवर्तनको विमर्श र विचार । छन् त फगत भगवान्का पाउ र पाउमा समर्पित सेवकहरू । जसलाई लाग्छ, संसारकै सबैभन्दा ज्ञानी, उसका भगवान् । सबैभन्दा जान्ने, उसका ख्वामित ।
सबैभन्दा दूरदर्शी, उसका नाथ । राम्रा पनि उनै, बलशाली पनि उनै । कसैले भगवान्माथि थोरै प्रश्न गर्यो भने सेवकहरू जंगिन्छन् पाँच हात उफ्रिएर । त्यसपछि छुट्छ सुनिनसक्नु गालीको पर्रा । कसैले भगवान्को ज्ञानमाथि प्रश्न गर्न हुँदैन । कसैले प्रभुको चरित्रमाथि संशय गर्न हुँदैन । सेवकका लागि भगवान् नै अन्तिम सत्य हुन्, बाँकी सत्य थाहा छैन ।
सेवकका लागि भगवान्ले देखाएको तथ्य नै अन्तिम तथ्य हो, बाँकी तथ्य थाहा छैन । सेवकलाई अरू कोही मन पर्दैन, मात्र मनपर्छ आफ्नै मालिक । सेवकलाई मालिकको पाउपोस मनपर्छ । सिंहासन मनपर्छ । र, बेहिसाब मनपर्छ उनको मुस्कान र हेराइ । र, ऊ तिनै ख्वामितको पूजा, आरती र भजनमा मग्न हुन्छ । अर्थात्, नेपाली राजनीतिमा अहिले पार्टीहरू छैनन्, मठ मण्डली छन् । नेता छैनन्, मठाधीश छन् । र, कार्यकर्ता छैनन्, छन् फगत सेवकहरू । हाम्रो राजनीतिमा अहिले या त भगवान्को पूजा, आरती बिक्छ, या त बिक्छ आरोप, गाली र श्राप ।
यसरी हेर्दा, नेपाली राजनीतिमा अहिले राजनीति छैन, बाँकी सबैथोक छ । विचार छैन, सनक छ । एजेन्डा छैनन्, सत्ता छ । पार्टी छैन, मठ छ । आन्दोलन छैन, अराजकता छ । विनयशीलता छैन, अहंकार छ । नेता छैनन्, भगवान् छन् । कार्यकर्ता छैनन्, सेवक छन् । संवाद छैन, हल्ला छ । सम्बोधन छैन, फगत गाली छ । र, सबैभन्दा धेरै खडेरी परेको छ, विवेकशील कार्यकर्ताको । यस्तो यसकारण भइरहेको छ कि आम रूपमा नेपाली राजनीतिमा अहिले मान्छे छैनन् ।
यो प्रसंगलाई खास सन्दर्भमा बुझिने नै छ भन्ने अपेक्षाका साथ यति भन्छु कि, या त यहाँ छन् सिंहासनमा विराजमान ख्वामित, या त छन् तिनका अन्धभक्त सेवकहरू । यहाँ मान्छेको अर्थ हो, ज्ञान, विवेक, सत्व र स्वतन्त्रता भएको विवेकशील मान्छे । अर्थात्, लौकिक मान्छे । यस्तो मान्छे, जो चमत्कारमा भन्दा कर्ममा विश्वास गर्छ । यस्तो मान्छे, जोसँग दुःख र सुखहरू साथसाथै छन् । यस्तो मान्छे, जोसँग सद्गुण पनि छन् र कमजोरीहरू पनि छन् । यस्तो मान्छे जो आलोचनालाई स्वीकार गर्छ र स्याबासीमा मुस्कुराउँछ । किनभने मान्छे अलौकिक हुँदैन, सांसारिक हुन्छ ।
यो मान्छेको स्वाभाविक र प्राकृतिक चरित्र हो । यहाँ विवेकशील मान्छे यसकारण भनिएको हो कि, उसले जीवनको गहिरो अर्थ बोध गर्छ, सोच्छ, कल्पना गर्छ र अगाडि बढ्छ । ऊ राम्रो र नराम्रो छुट्याउँछ । ऊ तर्क गर्छ । ऊ सत्यको अन्वेषण गर्छ र त्यसको पक्षमा उभिन्छ ।
उसमा भावनात्मक, शारीरिक, मानसिक र सामाजिक अप्ठ्यारा, अन्तरद्वन्द्व र अभिप्रेरणाहरू हुन्छन् । र, ऊ जीवनलाई जीवनकै आँखाबाट हेर्छ । तर जब मान्छे दासमा फेरिन्छ, तब उसको स्वतन्त्र विवेक सकिन्छ र उसको मन, वचन र कर्म सबै मालिकको चरणमा समर्पित बन्न पुग्छ । अहिले नेपाली राजनीतिमा यही देखिँदै छ कि, कार्यकर्ता नेताको प्यारो बन्ने नाममा ‘मान्छेबाट दासमा’ पतन भएको छ । र, आफ्नो मालिकलाई काँधमा बोकेर ऊ विवेकमाथि घोडा कुदाइरहेको छ ।
प्रश्न आउँछ, कसैलाई आफ्नो नेता भगवान् झैं लाग्छ त तिमीलाई के ? कुरालाई खास अर्थ र प्रसंगमा बुझौं । जस्तो, भगवान् लौकिक जगत्ले निर्माण गरेको एक अलौकिक रहस्य हो । भनिन्छ, पहिले मान्छेले भगवान् बनाए र त्यसपछि बन्यो भगवान्ले मान्छे बनाएको कथा । भगवान्को रोमाञ्चक कथाले भन्छ, यो संसार फगत मायाजाल हो । यस्तो मायाजाल, जहाँ विज्ञान गौण छ । विचार गौण छ । चराचर जगत् गौण छ ।
कानुन, नीति र नियम गौण छ । सबै मित्थ्या । ज्ञानमा पनि उनै भगवान् सर्वोच्च, ध्यानमा पनि उनै । शक्तिमा पनि उनै सर्वोच्च, विवेक र वरदानमा पनि उनै । भाग्य र कर्म सबै उनको चरणमा । उनै चमत्कारी, उनै लीलाधारी । त्यसैले त भगवान् जगत्का पिता, भगवान् जगत्का पालनहार । उनै पालनहार, उनै संहारक ।
विचार गरौं त, हाम्रा नेताहरूलाई हामीले पनि यही रूपमा हेर्न चाहेको हो, जस्तो अनेक अवतारहरूमा पालनहारहरू प्रकट हुन्छन् । अथवा, के राजनीति अलौकिक संसारको मायावी खेल हो ? जस्तो, आजका सेवकहरू आफ्ना प्रभुको महिमागान गाउँछन् र सबै कुरा उनका चरणमा समर्पित गर्छन् ।
‘मान्छे, नेता र भगवान्’ यी तीन शब्दले मानव जीवन, सामाजिक प्रयत्न र आध्यात्मिक विश्वासका विभिन्न आयामहरूको प्रतिनिधित्व गर्छन् । यी तीनको बीचमा आधारभूत फरकहरू छन् । जस्तो, मान्छे भनेको साधारण व्यक्ति हो, जसको जीवनमा सीमित शक्ति, ज्ञान र अनुभव हुन्छ । मान्छेमा प्रेम, डर, खुसी, दुःख, कमजोरी र गल्तीहरू मनग्गे हुन्छन् ।
मान्छेको विशेषता भनेको उसको सीमितता र सिक्ने क्षमता हो । ऊ गल्तीबाट सिक्छ र आफ्नो जीवनलाई अझ सुन्दर र अर्थपूर्ण बनाउन स्वयं प्रयत्न गर्छ । मान्छे समाजको आधारभूत इकाइ हो, उसमा कुनै असाधारण शक्ति वा दैवी गुण हुँदैन । अनि नेता ? आम मान्छे र नेतामा यही फरक हुन्छ कि नेताले आफैंभित्रका र समाजका अन्तरद्वन्द्व र
अप्ठ्याराहरूमाथि संघर्ष गर्छ । तर आम मान्छे आफ्नै अन्तरद्वन्द्व, अप्ठ्यारा र उल्झनमा घुमिरहन्छ । नेता अरूका बारेमा सोच्छ, आम मान्छे आफ्नै कर्मको गोलचक्करमा ढुक्क रहन्छ । तर, जब मान्छे बन्न नसकेका नक्कली मान्छेहरू भगवान् बनेर राजनीतिमा प्रकट हुन्छन्, त्यसपछि के हुन्छ ? अथवा, जब राजनीतिको भीडमा मान्छे कम र सेवकहरू ज्यादा देखिन्छन्, त्यो राजनीति हुन्छ कस्तो ? आजको राजनीतिक कुरूपता नै यही हो कि यहाँ दल छैनन्, मण्डली छन् । नेता छैनन्, भगवान् छन् । कार्यकर्ता छैनन्, सेवक छन् । असलमा, नेपाली राजनीतिको आजको सबैभन्दा चर्को दुःख नै यही हो । यस्तो लाग्छ, हरदिन
आफ्नो स्तुतिगान सुन्दासुन्दा कतै हाम्रा स्वघोषित भगवान्हरू आफूमा दिव्य शक्ति निहित छ भन्ने भ्रममा त छैनन् ? स्वयंमा दिव्य शक्ति निहित छ भन्ने भ्रमले आत्ममुग्ध हुनुजति अलोकतान्त्रिक, अमानवीय र पत्रु कुरा अरू के हुन्छ ?
सोचौं त, साँच्चै नेता भगवान् बन्यो भने के होला ? सायद, उसलाई मठ वा मन्दिरमा विराजमान गराउनुपर्ला । उसलाई फूल, प्रसादले पूजा गर्नुपर्ला । नेताको दैनिक आरती होला । लाचार, अपहेलित र पापी भक्तहरू (?) उसको चरणमा पर्नुपर्ला । तपस्या गर्नुपर्ला । चरण सेवा गर्नुपर्ला । चरणपाद शिरमा राखेर रमाउनुपर्ला । वर माग्नुपर्ला । त्यसपछि भन्नुपर्ला– ‘प्रभु म तिम्रै शरण परें, श्राप वा आशीर्वाद जे दिने हो, ख्वामितको मर्जी ।’
के हामीले चाहेको राजनीति यस्तै हो, जहाँ नेता भगवान् बनोस् र हामी यसरी नै उसको शरण पर्दै रहुँ ? के हामीले बनाउन चाहेको पार्टी यस्तै हो ? के हामीले बनाउन चाहेको राज्य र सरकार यस्तै हो ? के हामीले खोजेको नेतृत्व त्यस्तै हो ?
लोकतान्त्रिक वैचारिकीले भन्छ, मान्छे न त भगवान् हो, न त सर्वगुण सम्पन्न दिव्य मानव । नेतामा न त एक्लै संसार बदल्ने ईश्वरीय गुण हुन्छ, न त क्षमता । नेता मान्छे नै हो । तर ऊ आफ्नो व्यक्तिगत हित र आकांक्षाभन्दा माथि उठेर समूहको हितमा समर्पित हुन्छ, त्यसैले नेता हुन्छ । कोही पनि नेता अद्भुत, सर्वशक्तिमान वा सर्वज्ञानी हुँदैन । नेतामा पनि मानवीय कमजोरीहरू हुन्छन् ।
नेतामा पनि शक्ति र ज्ञानका सीमाहरू हुन्छन् । अलौकिक संसारको भगवान्ले चमत्कार पनि गर्लान् तर लौकिक संसारमा नेताले नीति, योजना र कार्यान्वयनमार्फत परिणाम दिनुपर्छ । नेता सामूहिकताको प्रतीक हो, भगवान् एक्लै लड्छ । अतः कसैले नेतालाई भगवान् ठान्छ र बाँकी सबैलाई सेवक, दास वा याचक ठान्छ भने त्योभन्दा भयानक अर्थहीन र पत्रु कुरा अर्को केही हुँदैन ।
अर्थात्, नेतालाई भगवान् मान्नु राजनीतिको सबैभन्दा विकृत अवस्था हो । जब मान्छेबाट कोही भगवान् बन्न पुग्छ, तब त्यहींबाट अन्धभक्ति सुरु हुन्छ । त्यसपछि राजनीतिमा आलोचनात्मक चेत र लौकिक जवाफदेहिता सकिन्छ । मान्छे स्वतन्त्र र सार्वभौम रहँदैन, ऊ एक तुच्छ प्राणीमा फेरिन्छ । चरणदासहरूलाई सोधौं, के हाम्रो राजनीतिको भाष्य अब यही बनाउने हो ? अन्यथा स्पष्ट छ, राज्य भगवान्ले चलाउने होइन । राजनीति भगवान्ले गर्ने होइन । त्यसैले राजनीतिमा भगवान् खोज्नु भनेको प्रश्न, आलोचना र संसारिक अपेक्षाबाट नेतालाई पर राख्नु हो । यसरी न त लोकतान्त्रिक पार्टी बन्छ, न त राज्यको लोकतन्त्रीकरण हुन्छ । जगजाहेर छ, राजनीतिमा ईश्वर र सेवकहरूको अवतार हुनु लोकतन्त्रकै सर्वाधिक निर्लज्ज अवस्था हो ।
वस्तुतः लोकतन्त्र कुनै भाग्यविधाताको ईश्वरीय चमत्कारमा चल्ने शासन व्यवस्था होइन । लोकतन्त्रमा पार्टी मठ मण्डलीजस्ता हुँदैनन् । लोकतन्त्रमा नेता न त ईश्वरजस्तो चामत्कारिक हुन्छ, न त भाग्यविधाता । लोकतन्त्र एक चलायमान व्यवस्था हो । जहाँ नेताको योग्यता, क्षमता, इमान र नैतिक मूल्यहरूको अर्थ हुन्छ । जहाँ प्रश्न, आलोचना र आत्मआलोचनाहरूमा विश्वास गरिन्छ ।
जहाँ विरोध हुन्छ र त्यही विरोधको जगमा राज्य, राजनीति र नेतृत्वले निरन्तर आफूलाई परिस्कृत गर्दै लैजान्छ । लोकतन्त्रमा राज्य ईश्वरले नभई लोकले चलाउँछन् । र, नेतृत्व सामूहिक प्रक्रियाबाट निर्माण हुन्छ । लोकतन्त्रमा राज्य, राजनीति, पार्टी र सरकारका स्वामी हुन् लोक । र, नेता उनीहरूकै बीचबाट निर्माण भएको एक साझा अगुवा हो, जोसँग गुण र दोषहरू हुन्छन् । र, ऊ आफ्ना दोषहरूबाट निवृत्त हुन स्वयं कठोर प्रयत्न गरिरहेको हुन्छ ।
यसरी हेर्दा, राजनीतिमा व्यक्तिको देवत्वकरण निकै खतरनाक अवस्था हो । अतः त्यसलाई रोकौं । रोकौं नेतालाई भगवान् हुनबाट र रोकौं कार्यकर्तालाई सेवक हुनबाट । रोकौं मान्छे बन्न नसकेकाहरूलाई भगवान् बन्नबाट र राजनीतिलाई अलौकिकताको संसारबाट जमिनमा टेकाउँ । लोकतन्त्र विवेकशील मान्छेले निर्माण गरेको राजनीतिको उदात्त आकाश र धर्ती हो, जहाँ प्रत्येक नागरिक सार्वभौम र स्वतन्त्र भएर उड्न सकोस् । अहिलेका लागि यति त भन्नै पर्छ– ‘मान्छेलाई मान्छे नै हुन दिऊँ, अन्यथा भगवान् र सेवकको खेलले हाम्रो लोकतन्त्रलाई कसैगरी उँभो लगाउँदैन ।’
