छोरीहरूका नाममा

हाम्रो समाजमा व्याप्त रहेको ‘तिमी छोरी हौ, त्यसैले यस्तो गर’ भन्ने शब्द आजका छोरीहरूलाई स्वीकार्य छैन

चैत्र २०, २०८१

गायत्री लम्साल

In the name of daughters

छोरी भन्नेबित्तिकै चाहे जोसुकै होऊन्, उसलाई बुझ्ने सवालमा, उसको जीवन उसले जिउने सवालमा हाम्रो मानसिकता निकै कमजोर छ । छोरी भन्नाले समस्त नारी जगत्लाई बुझाउँछ । हाम्रा आमा, दिदीबहिनी, छोरी, भाउजू–बुहारी, सासू सबै कसै न कसैका छोरी हुन् । यी सबै सम्बन्धका सूचकलाई हरेक छोरीले बहन गर्नुपर्छ । 

घरबाटै हेरौं न, विभेदका व्यवहार । ‘छोरी तिमी बिहानै उठ्नुपर्छ । तिमी छोरी हौ, घरधन्दाको काम गर । सरसफाइको काम गर अनि भान्साकोठाको काम गर । मिठो बोल, सुस्तरी बोल ।’ यत्ति मात्र कहाँ हो र ? ‘साँझ नपर्दै घर आऊ । छोरी मान्छे साँझ बाहिरका मान्छेसँग बरालिनु हुँदैन’ आदि–इत्यादि । 

हाम्रा सोचाइमा किन हुँदैन परिवर्तन ? उही बाबा–आमाका सन्तान छोराले ‘गर्ल फ्रेन्ड’ बनाएको छ भन्दा त्यो प्रतिष्ठाको विषय बन्छ । अर्कोतिर छोरी कोही केटा मान्छेसँग बोल्दासमेत शंकाको दृष्टिले हेरिन्छ । कुनै साथीभाइसँग पिकनिक जान्छु भन्दा तीन पुस्ता सोधेर अनुमति लिनुपर्छ । कतै एक्लै हाइकिङ गएर सोसल मिडियामा फोटो राख्दासमेत त्यो फोटो कसले खिचिदियो भन्दै शंकाको कोर्राले हिर्काइन्छ ।

यहाँ हरेक दिन बलात्कार भइरहँदा, घटना जहाँसुकैका र जसको भए तापनि बलात्कार गर्ने हाम्रा छोरा र बलात्कृत हुने हाम्रै छोरी हुन् भनेर हामीले कहिले बुझ्ने ? परिवारभित्रका हरेक छोरालाई राम्रो चरित्रको र नैतिकवान् बनाउन हामी किन सक्दैनौं ? अझै पनि छोराले नराम्रो गरे तापनि राम्रो अनि छोरीले राम्रो गर्दासमेत नराम्रो देख्ने हाम्रो खराब मानसिकता कहिले छोड्ने ? 

बाहिरका कुरा छोडौं, छोरी हाँसेको, छोरीले आफूलाई मनपर्ने लुगा लगाएको, आफूलाई इच्छा लागेको काम गरेको, आफूलाई मनपर्ने खानेकुरा खाएको आफ्नै घरपरिवारका सदस्यलाई समेत मन पर्दैन । छोरीले जघन्य हिंसा सहेर, पारिवारिक अपराध सहेर आफ्नो घरपरिवारको इज्जत धान्नुपर्ने, जस्तासुकै हिंसा सहेर पनि जोसँग बिहे भएको छ, ऊसँगै सहेर बस्नुपर्ने अर्थात् हाम्रो समाजको भाषामा भन्दा घर खानुपर्ने भनेर कुन कानुनमा लेखेको छ ? असह्य हिंसा सहेर पनि त्यही घरमा त्यही लोग्नेसँग, त्यही घरपरिवारसँग बस्नुपर्छ भन्ने बाबा–आमा छौं भने हामी बाबा र आमा हुन लाज लाग्नुपर्ने होइन र ? एउटा घरपरिवारबाट नै हिंसा पाएकी छोरीले बाहिरबाट न्याय खोज्दा कति ठाउँमा, कति पटक झन् ठूला हिंसा खप्नुपर्छ भन्नेबारेमा हामीले किन सोच्न सकेका छैनौं ?

सृष्टि सुचारु राख्नका लागि छोराछोरीको समान भूमिका रहन्छ । यौवनतासँगै हाम्रो भाषामा विवाह गर्नु जैविक आवश्यकता पनि हो । यसो भनिरहँदा बिहे भएपछि छोरीको लोग्ने जस्तो भए तापनि घरपरिवारबाट जस्तो व्यवहार गरे तापनि छोरीले घर खानुपर्छ भन्ने भाष्य आजको समाजले निर्माण गर्नु हुँदैन । यहाँ यसो भनिरहँदा हिंसा छोरीले मात्र सहेका छन् भन्न खोजेको होइन । केही छोराहरूमा पनि हिंसा भएको हुन सक्छ । नेपालमा मात्र नभएर विश्वव्यापी रूपमा हेर्दा छोराहरूभन्दा छोरीहरू धेरै संख्यामा विभिन्न प्रकारका हिंसामा परेको कुरा सत्य हो । जोसुकै भए तापनि हिंसामा पर्नु भएन । हिंसा सहनु भएन । हामी सबै मिलेर हिंसारहित समाजको निर्माण गर्न सक्नुपर्छ । 

आजका प्यारा छोरीहरू आफ्नो पहिचानमा ढुक्कले बाँच्नका लागि आफूले–आफूलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सिनर्जी ल्याउन सुरु गरौं । पहिलो कुरा म महिला हुँ, मसँग अदम्य साहस छ, क्षमता छ, यसको भरपुर प्रयोग किन नगर्ने ? हरेक छोरीले, हरेक दिनको पहिलो माया आफूले आफूलाई गरौं । समय, श्रम र आम्दानीको लगानी आफ्ना लागि गरौं । आफूले आफूलाई गरेको मायाले कहिल्यै घात गर्दैन ।

समयको लगानी आफ्नो शिक्षा सिक्न, विभिन्न सीपमूलक क्षमता आर्जन गर्न, योग–अभ्यास गर्न, रचनात्मक क्रियाशीलताका लागि गरौं, जसले गर्दा आफू सक्षम बन्न, आत्मनिर्भर हुन सकिन्छ । पैसाको लगानी गुणात्मक ज्ञानका लागि, पोषणयुक्त खानेकुराका लागि गर्न जरुरी छ । आफूले आफ्नो लागि गरेको लगानीले घाटा हुँदै हुँदैन । 

महिलाले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन पनि जरुरी छ । म एउटा महिला भएर धेरै हिंसा सहेँ भने अब मेरा छोरीहरू यसबाट माथि उठ्न सक्नुपर्छ । आफूले केही गर्न नसक्ने अनि दुःख गरेर प्रगति गरेका महिलाको खुसी देखेर खुट्टा तान्ने र कुरा काट्ने गरेर बस्नु भएन । महिलाको अस्तित्व भनेको उसको लोग्ने हो, लोग्ने नहुँदा मेरो अस्तित्व नै हुँदैन भन्ने पहिचानविहीन सोचका छोरीहरू अबको समाजमा स्वीकार्य हुँदैन । 

हरेक घर–परिवारमा सानोदेखि नै आफ्ना छोराछोरीलाई समान व्यवहार र समान ‘स्कुलिङ’ गरौं । नैतिक शिक्षा दुवैलाई सिकाऔं । भान्साकोठाको काम, सरसफाइको काम र अन्य बाहिरी कामहरू गर्ने, साथीहरूसँग खेल्ने र घुम्न जानेजस्ता सबै कुराको अवसर दुवैलाई समान रूपमा दिनुपर्छ । हाम्रो समाजमा व्याप्त रहेको ‘तिमी छोरी हौ, त्यसैले यस्तो गर’ भन्ने शब्द आजका छोरीहरूलाई स्वीकार्य छैन । यदि यस्ता शब्द आफ्नै घरपरिवारमा भनिन्छ भने त्यसको जवाफ दिन सक्नुपर्छ अबका छोरीहरूले ।

पुरुषहरूले महिलालाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने तौरतरिकामा ठूलो समस्या छ । आज पनि धेरै पढेलेखेका, जागिर र इलम गर्ने पुरुषले समेत महिलालाई एउटा वस्तुसरह सोच्ने, बुझ्ने र त्यस्तै व्यवहार गर्ने प्रवृत्ति व्यापक छ । बिहे गर्नु अगाडि तिमी मेरी सबैथोक हौ, देवी हौ भन्दै प्रेम प्रस्ताव राख्ने अनि उनैलाई बिहे गरेपछाडि एउटा निजी वस्तुसरह मान्ने धेरै पुरुष छन् हाम्रो समाजमा ।

छोराहरूले गल्ती गरेको बेला छोरीहरूसँग झुकेर माफ माग्दा छोराहरूलाई नै फाइदा हुने हो । अबका छोरीले छोरासँग समान व्यवहार चाहन्छन्, समान माया, ममता र आदर सत्कार चाहन्छन् । श्रीमती हुन् भन्दैमा, बुहारी हुन् भन्दैमा एउटा वस्तुलाई जस्तो गरिने घरव्यवहार अब स्वीकार्य छैन । यस्ता व्यवहार गर्ने छोराको घर धान्ने, घर खाने ठेक्का अबका छोरीले लिनु हुँदैन ।

त्यसैले छोराहरू पनि घरलाई स्वर्ग बनाउनका लागि आमा सँगसँगै काममा जुट । दिदीबहिनीसँगै सबै काम सँगै गर्दा खुसी भएर गर । ऊर्जा निकालेर गर । त्यसैगरी जीवनका सुखदुःखमा सहयात्री भएर आएकी श्रीमतीसँग त झन् सबै कामकुरामा हातेमालो गर, विशुद्ध माया गर, जीवन जिउने कलामा, रमाइलोमा साथै अन्य सबै कुरामा आफूलाई जस्तै आफ्नी श्रीमतीलाई पनि समान अवसर देऊ । 

छोरीहरूले अब हाम्रै दुर्बलताविरुद्ध पनि लड्नु छ । घरपरिवारका लागि, इष्टमित्र, आफन्त र छरछिमेकको इज्जत धान्न भन्दै अति व्यस्त भएर आफ्नो जीवनलाई अस्तव्यस्त नपारौं । हरेक छोरीहरू पहिला आफ्ना लागि व्यस्त भएर आफूलाई व्यवस्थित बनाऔं । शारीरिक रूपमा, मानसिक रूपमा र आर्थिक रूपमा आफू सशक्त बन्दा कसैले हेप्न सक्दैन । हिंसा गर्न सक्दैन । अहिले छोरीहरू आत्मनिर्भर बन्ने क्रम बढ्दो छ । यसले सबै छोरीहरूमा थप उत्साह र ऊर्जा थपिएको छ ।

गायत्री लम्साल गायत्री लम्साल निजामती सेवामा आबद्ध छिन् । उनी समसामयिक बिषयमा कान्तिपुरमा लेख्छिन् ।

Link copied successfully