तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि चढ्यो भने पृथ्वीको वर्तमान पद्धतिले नयाा र उग्ररूप देखाउन सक्छ भन्ने थियो, सन् २०२४ को तापक्रम विश्व जलवायु मापन केन्द्रहरूको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसको सीमा पार भइसकेको छ
सन् २०१५ मा विश्व समुदायले संसारभर बढिरहेको हरितगृह ग्यास उत्सर्जनका कारण बढेको तापक्रमलाई औद्योगिक युग सुरु हुनुअगाडिको भन्दा २ डिग्री सेल्सियसमा बढ्न नदिने अठोट गर्यो । करिब तापक्रममा वृद्धि १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने लक्ष्य लियो । जसमा सम्पूर्ण पक्ष राष्ट्रहरूले हरितगृह ग्यास उत्सर्जन कम गरी सन् २०५० सम्ममा कार्बन तटस्थ प्रतिबद्धता जनाए ।
यो भनेको, सन् २०५० को समयपछि मानवीय क्रियाकलापहरूबाट जति कार्बनडाइअक्साइड निस्कन्छ सो मात्राको कार्बनडाइअक्साइड वायुमण्डलले स्वयं पचाउने वा हटाउने गर्दछ जसले गर्दा प्रकृति र वातावरणमा त्यसको नकारात्मक प्रभाव पर्दैन भन्ने हो ।
सो समयपछि पृथ्वीमा कार्बन तटस्थ रहन्छ भन्ने आशा एवं विश्वासका साथमा महत्त्वपूर्ण पेरिस सम्झौतामा हस्ताक्षर भयो । यदि वार्षिक तापक्रम करिब १.५ वा २ डिग्री सेल्सियसभन्दा माथि चढ्न थालेमा विभिन्न प्रकारका नकारात्मक प्रभावहरू देखा पर्न सक्ने कुरा विभिन्न नमुनाहरूले देखाए ।
सो लक्ष्य हासिल गर्ने सबैभन्दा अहम् पक्ष र हतियार भनेको सम्पूर्ण राष्ट्र र पृथ्वीका मानिसको व्यवहारमा नीतिगत कार्यान्वयनबाट सुधार गर्नु हो । सो प्राप्त गर्न अति नै कठिन भयो किनभने जलवायु पद्धतिको वर्तमान भौतिक पक्ष, पृथ्वीमा विकसित विद्यमान ऊर्जा पद्धतिहरूलाई नियाल्दा तापक्रम करिब १.५ डिग्री सेल्सियसभन्दा मुनि राख्ने भन्ने कुराचाहिँ युवा, राजनीतिकर्मी र अभियन्ताहरूका लागि एउटा बहस परिचालनका लागि भएको थलो र एजेन्डाजस्तो मात्र देखियो । अर्को अर्थमा भन्ने हो भने, यदि तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि चढ्यो भने पृथ्वीको वर्तमान
आफ्नो पद्धतिले नयाँ र उग्ररूप देखाउन सक्छ । जो पहिलेको अवस्थामा नआउने हुन्छ । तर हामीले २०२४ को तापक्रम विश्व जलवायु मापन केन्द्रहरूको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसको सीमा पार गरेको पाइएको छ । यस वर्षको फेब्रुअरीमा विश्वको औसत तापक्रम १.५९ डिग्री पुगेको मापन भएको छ । आगामी दिनमा के हुन्छ भन्न सकिँदैन तर हामीले तोकेको मानक १.५ डिग्री सेल्सियस २०२४ मा पार भइसक्यो, अब कम हुन्छ हुन्न भन्न सकिने अवस्था छैन ।
जलवायु परिवर्तन र प्रभावसम्बन्धमा अध्ययन गर्ने अध्येता वैज्ञानिकहरूले भविष्यवाणी गरेका विषयका घटनाहरूजस्तै दीर्घकालीन तापक्रम र हावापानीको ढाँचाहरूमा परिवर्तन पनि हामीले अनुभव गर्न थालिसकेका छौं । उदाहरणका लागि जलवायु परिवर्तनका कारणवाट मानव अस्तित्वमा नै खतरा ल्याउने घटनाहरू जस्तै– आँधीबेहरी, चक्रवात, रोक्नै नसक्ने डढेलो, सुक्खाजर्ता, बाढीपहिरो र सामुद्रिक सतहमा बडाव जसले मानव जातिको अस्तित्वमा नै प्रभाव पार्न लागेको छ ।
एकातिर हामी मानवजातिको असीमित उपभोग्य पदार्थहरूको उपभोगका कारण हरितगृह ग्यासमा वृद्धि भई विश्व तापक्रम बढेको छ । यसबाट आफू र पृथ्वी नै असुरक्षित भएको महसुस गरिरहेका छौं । विगत करिब ८० वर्षदेखि आणविक हतियारको विस्फोटनका डरले हाम्रो अस्तित्व नष्ट हुने कुरामा थर्कमान भई बाँचेका छौं किनभने त्यस्ता आणविक हतियारहरू हजारौंको संख्यामा तैनाथ गरिएका छन् । कतिपय एक मिनेटमै पड्काइने अवस्थामा रहेका छन् भने प्रायः सबै निर्देशित ठाउँहरूमा करिब एक घण्टाभित्र पृथ्वीको जुनसुकै ठाउँमा पुग्न सक्ने गरी मार हान्ने तैनाथी अवस्थामा छन् ।
विगत ६० वर्षदेखि प्रमुख आणविक हतियारयुक्त केही ठूला देशहरू मानव जातिको सभ्यता केन्द्रहरूलाई केही घण्टाभित्रमा नै खतम पार्न सक्ने क्षमता लिएर बसेका छन् । त्यसकारण आजको मानव जाति दुईधारे तरबार गर्दनमा राखेर बसेजस्तो अवस्थामा छ । जलवायु परिवर्तनको प्रभावबाट सम्पूर्ण मानव सभ्यता एकैचोटि ध्वस्त हुँदैन तर आणविक अस्त्रहरूको प्रयोगबाट भने छोटो समयमा भयावह अवस्था आई सम्पूर्ण मानव सभ्यतामा नै क्षति हुन जान्छ ।
आणविक विस्फोट भएमा ठूलो मात्रामा धूवाँ र धूलो वायुमण्डलमा थुप्रिन्छ । जसले गर्दा सौर्यप्रकाश धर्तीमा नपुगी तापक्रम स्वात्तै घट्छ । यस प्रक्रियालाई ‘आणविक हिउँद’ (न्युक्लियर विन्टर) भनिन्छ । प्रकाशको कमीका कारण कार्बन संश्लेषण (फोटोसिन्थेसिस) मा ह्रास आई कृषिप्रणाली नै खल्बलिने हुन्छ । जसले गर्दा भोकमरी र रोग फैलिने जोखिम उत्ति नै रहन्छ । पर्यावरणमा आउने व्यापक बदलावले सम्पूर्ण सभ्यता नै खतरा छ । सन् १९८० दशकमा कार्ल सागनले उक्त सिद्धान्त प्रवर्तन गरेका थिए ।
दोस्रो विश्वयुद्धपछि पनि धेरै ध्वंसात्मक युद्धहरू भएका छन् । जसमा भियतनाम, कोरिया, अफगानिस्थान युक्रेन र अन्य धेरै युद्धहरू पर्दछन् । जसमा लाखौं संख्यामा मानिस मारिएका छन् र कैयौं विस्थापित पनि भएका छन् । त्यस्ता युद्धका कारण भएका आर्थिक, मानवीय र भौतिक क्षतिको आंकलन गरिएका छन् । तर, त्यस्ता युद्धमा भएका विस्फोटक पदार्थहरूका कारण हुने जल, थल र वायुमण्डल प्रदूषणबारेमा पनि अध्ययन भएका छन् ।
अर्को कुरा, युद्धमा हुने विस्फोटनबाट उत्सर्जन हुने हरितगृह ग्यासका बारेमा पनि अध्ययन–अनुसन्धान हुन लागेका छन् । त्यस्ता युद्धहरूबाट पृथ्वीको तापक्रम वृद्धि गर्ने हरितगृह ग्यासहरूको उत्पादन कति हुन्छ ? त्यस्ता उत्सर्जनहरू साधारणतः सामान्य अवस्थामा राष्ट्रहरूबाट हुनेभन्दा कस्तो प्रकृतिका हुन्छन् ? सोबारेमा अब केही अनुसन्धानहरू आउन लागेका छन् ।
वर्तमान समयमा इजराइल र प्यालेस्टिनीहरूबीचको युद्ध जुन ७ अक्टोबर २०२३ देखि चलिरहेको छ । जसमा ४५ हजारभन्दा बढी प्यालेस्टिनी र करिब १२ सयभन्दा बढी इजराइली मरिसके । यो युद्धमा भएका विस्फोटनहरूबाट उत्सर्जित कार्बनका बारेमा घाना, संयुक्त अधिराज्य र संयुक्त राज्यअमेरिकाका वैज्ञानिकहरूले २०२४ मा अध्ययन गरेका थिए ।
सो अध्ययनमा पहिलो १२० दिनमा भएको उत्सर्जन नापिएको थियो । उनीहरूको शोधअनुसार युद्धमा पड्किएका बन्दुक, गोलाबारुद र बम विस्फोटहरूबाट करिब ४ लाख २० हजार २ सय ६५ र ६ लाख ५२ हजार ५ सय ५२ मेट्रिक टन कार्बनडाइअक्साइड बराबर पाइएको छ ।
त्यसैगरी, युद्ध हुनुअगाडि भौतिक संरचनाहरू निर्माण गर्दा र युद्धपछि पुनर्निर्माण गर्दा उत्सर्जन हुने कार्बनको इस्टिमेट गर्दा करिब ४ करोड ७६ लाख ६९ हजार ९७ र ६ करोड १४ लाख ४३ हजार ७ सय ३९ अनुमान गरिएको छ । सो भनेको करिब १३५ देशहरूबाट सामान्य अवस्थामा हुने कार्बन उत्सर्जनको मात्रा हो । यसमा सो अध्ययनमा उनीहरूले युद्धका बेला भएको कार्बन उत्सर्जनको मात्रा र युद्धपछि
पुनर्उत्थान पूरा गर्दासम्म हुने कार्बन उत्सर्जनको गणनाबारे पुष्टि गरेका छन् । यसरी एकातिर जीवाष्म ऊर्जाको प्रयोग, सरसामान र खानाको प्रयोग र उपयोगमा सामान्य व्यापारजस्तो भइरहेको भने अर्कोतर्फ युद्धका कारणबाट हुने हरितगृह ग्यासको प्रभावको रोकथामबारे अहम् कूटनीतिक कार्य पनि गरिएको छैन ।
अझ युद्धका लागि खरबौं डलर खर्चेर आणविक हतियारहरू परिष्कृत गर्ने काम भइरहेको छ । त्यस्ता हतियारहरूको दुर्भाग्यपूर्ण विस्फोट हुन गएमा भयावह हुन सक्छ । एउटा अनुमानअनुसार यदि भारत र पाकिस्तानबीच आणविक युद्ध भयो भने करिब २ अर्बभन्दा बढी मानिस मर्ने र यदि अमेरिका र रसियाबीच यस्तो युद्ध भएमा ५ अर्बभन्दा बढी मर्न सक्छन् भन्ने छ ।
बिरामी र दीर्घकालसम्म विकिरणले पार्ने प्रभाव पर्ने, अन्य जैविक र पारिस्थितिकीय प्रणालीमा पर्ने प्रभावले बाँकी रहेका मानिस र पशु भोजनविहीन र अनिकालका सिकारमा पर्न सक्छन् । त्यसकारण आफैंले सिर्जना गरेको यस्तो भयको हुरीमा उभिएर आधुनिक मानवहरू विकास गर्न खोज्दै छन् ।
कृत्रिम मानव निर्माणदेखि कृत्रिम बौद्धिकताको विकासमा भएका सफलता, स्वचालित गाडी र यानहरू, स्वचालित मेसिनहरू, अर्धमेसिन भएका मान्छे र असंख्य क्षेत्रहरूमा छलाङ मारिरहे पनि एकआपसमा र राष्ट्रहरूबीच हुनुपर्ने सहकार्य र सहयोगको अभावमा शंकाका घेराभित्र बन्दी बनी आफैं असुरक्षित भएको छ । त्यसर्थ, यस्ता अहम् मुद्दाहरूलाई सम्बोधन गर्न विभिन्न किसिमका अन्तरदेशीय र क्षेत्रीय द्वन्द्व तथा युद्धको खतरा कम गर्न आवश्यक कूटनीतिक पहलको जरुरी छ ।
वर्तमान पृथ्वी र मानव जाति अहिले एकदमै अशान्तिको अवस्थाबाट गुज्रिरहेका छन् । यसबाट मुक्ति पाउन जलवायु परिवर्तनको प्रभावको मुद्दा होस्, युद्ध वा हातहतियरसम्बन्धी, आणविक हतियारसम्बन्धी होस, यी सबै कुरामा कूटनीतिक पहल र सहयोग आदान–प्रदान आवश्यकता छ ।
एकातिर जलवायु परिवर्तनका कारण मानव अस्तित्वमा नै प्रश्नचिह्न खडा भएको कुरामा सहमति भई पेरिस सम्झौता र त्यसले निर्देशित पक्षराष्ट्रका बैठक र समितिमा सम्मिलित हुने तर अर्कोतर्फ अत्याधुनिक विषाक्त हातहतियारको खेतीमा गर्ने बढ्दो लगानीले मानव जातिलाई कालो सुरुङमा मात्र धकेल्छ । त्यसर्थ, नेपालजस्ता देशहरूले सम्भ्रान्त देशहरूसँग कूटनीतिक वार्तामार्फत यी र यस्ता कार्यहरू कम र समाधान गर्नका लागि कूटनीतिक लबिइङ गर्नुपर्छ ।
–वातावरणविद्समेत रहेका ओली हाल चीनका लागि नेपाली राजदूत छन् ।
