हरितगृह ग्यास उत्सर्जनका मानवीय संकट

तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि चढ्यो भने पृथ्वीको वर्तमान पद्धतिले नयाा र उग्ररूप देखाउन सक्छ भन्ने थियो, सन् २०२४ को तापक्रम विश्व जलवायु मापन केन्द्रहरूको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसको सीमा पार भइसकेको छ

चैत्र १, २०८१

डा. कृष्णप्रसाद ओली

The human crisis of greenhouse gas emissions

सन् २०१५ मा विश्व समुदायले संसारभर बढिरहेको हरितगृह ग्यास उत्सर्जनका कारण बढेको तापक्रमलाई औद्योगिक युग सुरु हुनुअगाडिको भन्दा २ डिग्री सेल्सियसमा बढ्न नदिने अठोट गर्‍यो । करिब तापक्रममा वृद्धि १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने लक्ष्य लियो । जसमा सम्पूर्ण पक्ष राष्ट्रहरूले हरितगृह ग्यास उत्सर्जन कम गरी सन् २०५० सम्ममा कार्बन तटस्थ प्रतिबद्धता जनाए ।

यो भनेको, सन् २०५० को समयपछि मानवीय क्रियाकलापहरूबाट जति कार्बनडाइअक्साइड निस्कन्छ सो मात्राको कार्बनडाइअक्साइड वायुमण्डलले स्वयं पचाउने वा हटाउने गर्दछ जसले गर्दा प्रकृति र वातावरणमा त्यसको नकारात्मक प्रभाव पर्दैन भन्ने हो ।

सो समयपछि पृथ्वीमा कार्बन तटस्थ रहन्छ भन्ने आशा एवं विश्वासका साथमा महत्त्वपूर्ण पेरिस सम्झौतामा हस्ताक्षर भयो । यदि वार्षिक तापक्रम करिब १.५ वा २ डिग्री सेल्सियसभन्दा माथि चढ्न थालेमा विभिन्न प्रकारका नकारात्मक प्रभावहरू देखा पर्न सक्ने कुरा विभिन्न नमुनाहरूले देखाए ।

सो लक्ष्य हासिल गर्ने सबैभन्दा अहम् पक्ष र हतियार भनेको सम्पूर्ण राष्ट्र र पृथ्वीका मानिसको व्यवहारमा नीतिगत कार्यान्वयनबाट सुधार गर्नु हो । सो प्राप्त गर्न अति नै कठिन भयो किनभने जलवायु पद्धतिको वर्तमान भौतिक पक्ष, पृथ्वीमा विकसित विद्यमान ऊर्जा पद्धतिहरूलाई नियाल्दा तापक्रम करिब १.५ डिग्री सेल्सियसभन्दा मुनि राख्ने भन्ने कुराचाहिँ युवा, राजनीतिकर्मी र अभियन्ताहरूका लागि एउटा बहस परिचालनका लागि भएको थलो र एजेन्डाजस्तो मात्र देखियो । अर्को अर्थमा भन्ने हो भने, यदि तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि चढ्यो भने पृथ्वीको वर्तमान 

आफ्नो पद्धतिले नयाँ र उग्ररूप देखाउन सक्छ । जो पहिलेको अवस्थामा नआउने हुन्छ । तर हामीले २०२४ को तापक्रम विश्व जलवायु मापन केन्द्रहरूको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसको सीमा पार गरेको पाइएको छ । यस वर्षको फेब्रुअरीमा विश्वको औसत तापक्रम १.५९ डिग्री पुगेको मापन भएको छ । आगामी दिनमा के हुन्छ भन्न सकिँदैन तर हामीले तोकेको मानक १.५ डिग्री सेल्सियस २०२४ मा पार भइसक्यो, अब कम हुन्छ हुन्न भन्न सकिने अवस्था छैन । 

जलवायु परिवर्तन र प्रभावसम्बन्धमा अध्ययन गर्ने अध्येता वैज्ञानिकहरूले भविष्यवाणी गरेका विषयका घटनाहरूजस्तै दीर्घकालीन तापक्रम र हावापानीको ढाँचाहरूमा परिवर्तन पनि हामीले अनुभव गर्न थालिसकेका छौं । उदाहरणका लागि जलवायु परिवर्तनका कारणवाट मानव अस्तित्वमा नै खतरा ल्याउने घटनाहरू जस्तै– आँधीबेहरी, चक्रवात, रोक्नै नसक्ने डढेलो, सुक्खाजर्ता, बाढीपहिरो र सामुद्रिक सतहमा बडाव जसले मानव जातिको अस्तित्वमा नै प्रभाव पार्न लागेको छ । 

एकातिर हामी मानवजातिको असीमित उपभोग्य पदार्थहरूको उपभोगका कारण हरितगृह ग्यासमा वृद्धि भई विश्व तापक्रम बढेको छ । यसबाट आफू र पृथ्वी नै असुरक्षित भएको महसुस गरिरहेका छौं । विगत करिब ८० वर्षदेखि आणविक हतियारको विस्फोटनका डरले हाम्रो अस्तित्व नष्ट हुने कुरामा थर्कमान भई बाँचेका छौं किनभने त्यस्ता आणविक हतियारहरू हजारौंको संख्यामा तैनाथ गरिएका छन् । कतिपय एक मिनेटमै पड्काइने अवस्थामा रहेका छन् भने प्रायः सबै निर्देशित ठाउँहरूमा करिब एक घण्टाभित्र पृथ्वीको जुनसुकै ठाउँमा पुग्न सक्ने गरी मार हान्ने तैनाथी अवस्थामा छन् ।

विगत ६० वर्षदेखि प्रमुख आणविक हतियारयुक्त केही ठूला देशहरू मानव जातिको सभ्यता केन्द्रहरूलाई केही घण्टाभित्रमा नै खतम पार्न सक्ने क्षमता लिएर बसेका छन् । त्यसकारण आजको मानव जाति दुईधारे तरबार गर्दनमा राखेर बसेजस्तो अवस्थामा छ । जलवायु परिवर्तनको प्रभावबाट सम्पूर्ण मानव सभ्यता एकैचोटि ध्वस्त हुँदैन तर आणविक अस्त्रहरूको प्रयोगबाट भने छोटो समयमा भयावह अवस्था आई सम्पूर्ण मानव सभ्यतामा नै क्षति हुन जान्छ ।

आणविक विस्फोट भएमा ठूलो मात्रामा धूवाँ र धूलो वायुमण्डलमा थुप्रिन्छ । जसले गर्दा सौर्यप्रकाश धर्तीमा नपुगी तापक्रम स्वात्तै घट्छ । यस प्रक्रियालाई ‘आणविक हिउँद’ (न्युक्लियर विन्टर) भनिन्छ । प्रकाशको कमीका कारण कार्बन संश्लेषण (फोटोसिन्थेसिस) मा ह्रास आई कृषिप्रणाली नै खल्बलिने हुन्छ । जसले गर्दा भोकमरी र रोग फैलिने जोखिम उत्ति नै रहन्छ । पर्यावरणमा आउने व्यापक बदलावले सम्पूर्ण सभ्यता नै खतरा छ । सन् १९८० दशकमा कार्ल सागनले उक्त सिद्धान्त प्रवर्तन गरेका थिए ।

दोस्रो विश्वयुद्धपछि पनि धेरै ध्वंसात्मक युद्धहरू भएका छन् । जसमा भियतनाम, कोरिया, अफगानिस्थान युक्रेन र अन्य धेरै युद्धहरू पर्दछन् । जसमा लाखौं संख्यामा मानिस मारिएका छन् र कैयौं विस्थापित पनि भएका छन् । त्यस्ता युद्धका कारण भएका आर्थिक, मानवीय र भौतिक क्षतिको आंकलन गरिएका छन् । तर, त्यस्ता युद्धमा भएका विस्फोटक पदार्थहरूका कारण हुने जल, थल र वायुमण्डल प्रदूषणबारेमा पनि अध्ययन भएका छन् । 

अर्को कुरा, युद्धमा हुने विस्फोटनबाट उत्सर्जन हुने हरितगृह ग्यासका बारेमा पनि अध्ययन–अनुसन्धान हुन लागेका छन् । त्यस्ता युद्धहरूबाट पृथ्वीको तापक्रम वृद्धि गर्ने हरितगृह ग्यासहरूको उत्पादन कति हुन्छ ? त्यस्ता उत्सर्जनहरू साधारणतः सामान्य अवस्थामा राष्ट्रहरूबाट हुनेभन्दा कस्तो प्रकृतिका हुन्छन् ? सोबारेमा अब केही अनुसन्धानहरू आउन लागेका छन् ।

वर्तमान समयमा इजराइल र प्यालेस्टिनीहरूबीचको युद्ध जुन ७ अक्टोबर २०२३ देखि चलिरहेको छ । जसमा ४५ हजारभन्दा बढी प्यालेस्टिनी र करिब १२ सयभन्दा बढी इजराइली मरिसके । यो युद्धमा भएका विस्फोटनहरूबाट उत्सर्जित कार्बनका बारेमा घाना, संयुक्त अधिराज्य र संयुक्त राज्यअमेरिकाका वैज्ञानिकहरूले २०२४ मा अध्ययन गरेका थिए ।

सो अध्ययनमा पहिलो १२० दिनमा भएको उत्सर्जन नापिएको थियो । उनीहरूको शोधअनुसार युद्धमा पड्किएका बन्दुक, गोलाबारुद र बम विस्फोटहरूबाट करिब ४ लाख २० हजार २ सय ६५ र ६ लाख ५२ हजार ५ सय ५२ मेट्रिक टन कार्बनडाइअक्साइड बराबर पाइएको छ ।

त्यसैगरी, युद्ध हुनुअगाडि भौतिक संरचनाहरू निर्माण गर्दा र युद्धपछि पुनर्निर्माण गर्दा उत्सर्जन हुने कार्बनको इस्टिमेट गर्दा करिब ४ करोड ७६ लाख ६९ हजार ९७ र ६ करोड १४ लाख ४३ हजार ७ सय ३९ अनुमान गरिएको छ । सो भनेको करिब १३५ देशहरूबाट सामान्य अवस्थामा हुने कार्बन उत्सर्जनको मात्रा हो । यसमा सो अध्ययनमा उनीहरूले युद्धका बेला भएको कार्बन उत्सर्जनको मात्रा र युद्धपछि 

पुनर्उत्थान पूरा गर्दासम्म हुने कार्बन उत्सर्जनको गणनाबारे पुष्टि गरेका छन् । यसरी एकातिर जीवाष्म ऊर्जाको प्रयोग, सरसामान र खानाको प्रयोग र उपयोगमा सामान्य व्यापारजस्तो भइरहेको  भने अर्कोतर्फ युद्धका कारणबाट हुने हरितगृह ग्यासको प्रभावको रोकथामबारे अहम् कूटनीतिक कार्य पनि गरिएको छैन ।

अझ युद्धका लागि खरबौं डलर खर्चेर आणविक हतियारहरू परिष्कृत गर्ने काम भइरहेको छ । त्यस्ता हतियारहरूको दुर्भाग्यपूर्ण विस्फोट हुन गएमा भयावह हुन सक्छ । एउटा अनुमानअनुसार यदि भारत र पाकिस्तानबीच आणविक युद्ध भयो भने करिब २ अर्बभन्दा बढी मानिस मर्ने र यदि अमेरिका र रसियाबीच यस्तो युद्ध भएमा ५ अर्बभन्दा बढी मर्न सक्छन् भन्ने छ ।

बिरामी र दीर्घकालसम्म विकिरणले पार्ने प्रभाव पर्ने, अन्य जैविक र पारिस्थितिकीय प्रणालीमा पर्ने प्रभावले बाँकी रहेका मानिस र पशु भोजनविहीन र अनिकालका सिकारमा पर्न सक्छन् । त्यसकारण आफैंले सिर्जना गरेको यस्तो भयको हुरीमा उभिएर आधुनिक मानवहरू विकास गर्न खोज्दै छन् ।

कृत्रिम मानव निर्माणदेखि कृत्रिम बौद्धिकताको विकासमा भएका सफलता, स्वचालित गाडी र यानहरू, स्वचालित मेसिनहरू, अर्धमेसिन भएका मान्छे र असंख्य क्षेत्रहरूमा छलाङ मारिरहे पनि एकआपसमा र राष्ट्रहरूबीच हुनुपर्ने सहकार्य र सहयोगको अभावमा शंकाका घेराभित्र बन्दी बनी आफैं असुरक्षित भएको छ । त्यसर्थ, यस्ता अहम् मुद्दाहरूलाई सम्बोधन गर्न विभिन्न किसिमका अन्तरदेशीय र क्षेत्रीय द्वन्द्व तथा युद्धको खतरा कम गर्न आवश्यक कूटनीतिक पहलको जरुरी छ । 

वर्तमान पृथ्वी र मानव जाति अहिले एकदमै अशान्तिको अवस्थाबाट गुज्रिरहेका छन् । यसबाट मुक्ति पाउन जलवायु परिवर्तनको प्रभावको मुद्दा होस्, युद्ध वा हातहतियरसम्बन्धी, आणविक हतियारसम्बन्धी होस, यी सबै कुरामा कूटनीतिक पहल र सहयोग आदान–प्रदान आवश्यकता छ ।

एकातिर जलवायु परिवर्तनका कारण मानव अस्तित्वमा नै प्रश्नचिह्न खडा भएको कुरामा सहमति भई पेरिस सम्झौता र त्यसले निर्देशित पक्षराष्ट्रका बैठक र समितिमा सम्मिलित हुने तर अर्कोतर्फ अत्याधुनिक विषाक्त हातहतियारको खेतीमा गर्ने बढ्दो लगानीले मानव जातिलाई कालो सुरुङमा मात्र धकेल्छ । त्यसर्थ, नेपालजस्ता देशहरूले सम्भ्रान्त देशहरूसँग कूटनीतिक वार्तामार्फत यी र यस्ता कार्यहरू कम र समाधान गर्नका लागि कूटनीतिक लबिइङ गर्नुपर्छ ।

–वातावरणविद्समेत रहेका ओली हाल चीनका लागि नेपाली राजदूत छन् ।

डा. कृष्णप्रसाद ओली राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष ओली चीनका लागि नेपाली राजदूत हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा वातावरण विज्ञका रुपमा काम गरेका थिए ।

Link copied successfully