राष्ट्रवादी प्रियतावादको दीर्घता

नृजातीय राष्ट्रवादी सोचले सामाजिक न्याय, सांस्कृतिक विविधता एवं समतामूलक आर्थिक विकास सागसागै सबैको स्वैच्छिक सहभागिता जस्ता राष्ट्रिय एकताका आवश्यक र सकारात्मक अवयवहरूलाई ओझेलमा पारिदिन्छ ।

माघ ९, २०८१

सीके लाल

The longevity of nationalist patriotism

काठमाडौंमा विक्रम सम्वतको पुस महिना लाग्नासाथ ठिहिर्‍याउने जाडो, तारन्तार हाच्छिउँ आउने रुघाखोकी र सास फेर्नसमेत गाह्रो हुने वायु प्रदूषण सँगसँगै अन्धराष्ट्रवादको उन्माद पनि आकस्मिक नियमितता जस्तै फैलिन थाल्दछ ।

अन्य प्रकोपको उद्गमस्थल खुट्याउन कठिन भए पनि अन्धराष्ट्रवादको ज्वार भने दरबारमार्गको महेन्द्र सालिकमा एकछिनका लागि उर्लेर सुरु हुन्छ । सार्वजनिक वृत्तमा उपलब्ध जानकारीअनुसार राजा महेन्द्रको जन्म जेठमा, दुइटा विवाह क्रमशः वैशाख र माघमा, राज्यारोहण चैतमा, राज्याभिषेक वैशाखमा र मृत्यु माघमा भएको थियो ।

अचम्म के भने, उनका अनुयायीहरू महेन्द्र स्मृति दिवस शाही–सैनिक कू मार्फत राजा महेन्द्रले नेपालको १८ महिने प्रजातन्त्रीकरणको प्रारम्भिक प्रक्रियालाई लामो कालसम्म अवरुद्ध गरेको पुस १ गतेका दिन मनाउँछन् । उनी गद्दीनसीन राजाका जेठा छोरा थिए । बुवा बितेपछि पुरातन ज्येष्ठाधिकार प्रचलनअनुसार राजा भए । खासै पढेलेखेका नभए पनि वंशाणुगत शासकहरूमा अन्तर्निहित हुकुमी प्रवृत्ति (रुलिङ इन्स्टिंगक्ट) देखाउँदै झन्डै १७ वर्षसम्म राज गरे र कालले बोलाएपछि अपेक्षाकृत कम उमेरमा उनको मृत्यु भयो । उनले कुनै युद्ध जितेका होइनन् । स्वाधीनता संग्रामको नेतृत्व गरेका पनि होइनन् ।

बरु शाहहरूको जहाँनियाँ शासन सुदृढ गर्न आफ्नो सम्पूर्ण जीवन लगाएका हुन् । सामान्यजनले उनलाई सम्झिराख्नुपर्ने कुनै कारण छैन । इतिहासका पात्र हुन्, उनलाई इतिहासका पानाहरूमा नै रहन दिए हुन्थ्यो । मसान जगाए जस्तो बर्सेनि पुस १ मा गरिने संस्मरणले उनका केही सकारात्मक पक्षलाई समेत ओझेलमा पुर्‍याएर तानाशाही प्रवृत्तिलाई मात्र उजागर गर्दछ ।

नारायणहिटी हत्याकाण्डमा मारिनुअघि राजा वीरेन्द्रले आफ्नो दिवंगत पिताभन्दा लामो अवधिसम्म राज गरेका थिए । अधिकांश वंशाणुगत राजाहरूमा देखिने स्वाभाविक निरंकुशतालाई अनदेखा गर्ने हो भने उनको शासनकाललाई नेपालको कूटनीति, राजनीति, समाज, संस्कृति र अर्थतन्त्रमा आएको सुस्त तर क्रमिक सुधारको कालखण्डका रूपमा अर्थ्याउन मिल्छ ।

केही अपरिपक्व जस्तो देखिए पनि शान्ति क्षेत्र घोषणाको प्रस्ताव, नियोजित नै भए पनि जनमत संग्रहको अभ्यास एवं व्यापक जनसंघर्ष तथा केही भारतीय दबाबका कारण संसदीय प्रजातन्त्रको पुनःस्थापना उनको शासनकालका उल्लेख्य घटनाहरू हुन् । हुकुमी राष्ट्रवादको तुजुक देखाउने महेन्द्रवादीहरू ठ्याक्कै त्यस्ता सबै अपेक्षाकृत उदार चरित्रले गर्दा राजा वीरेन्द्रलाई बिर्सन चाहन्छन् ।

शाह–राणा कुटुम्बका चाकरीबाजहरूले राजा वीरेन्द्रलाई सकेसम्म सम्झिन नचाहने अर्को पनि कारण छ— नारायणहिटी हत्याकाण्डमा उनको वंशनाशलाई सार्वजनिक अनुस्मरणबाट नमेटाइएसम्म त्यसपछि दोस्रो पटक राज्यारोहण गराइएका राजा ज्ञानेन्द्रको स्वीकार्यता पुनःस्थापित गर्न सकिने कुनै सम्भावना रहँदैन । दुई–दुई पटक राज्यारोहण गराइएका भए पनि राज्याभिषेकको वैदिक संस्कारमार्फत एक पटक पनि दैविक वैधानिकता (डिभाइन मैन्डैट) पाउन नसकेका राजा ज्ञानेन्द्र राजनीतिक राज्य प्रमुख र शासकीय सरकार प्रमुख त भए, तर ‘विष्णुका अवतार’ कहलिन सक्ने हैसियत कहिल्यै पनि पाउन सकेनन् ।

सायद त्यसैले उनलाई ‘पूर्व राजा’ भन्न थालिएको हो, नभए अन्य राजकीय पदहरू जस्तो दिव्य नरेश रहेका दैविक राजा शब्दसँग पूर्व, भूतपूर्व वा अवकाशप्राप्त जस्ता उपसर्गहरू जोडी राख्नु पर्दैन । देशको सबभन्दा सुरक्षित परिसरभित्र रहेका आफ्ना सर्वोच्च कमान्डर–इन–चिफको ज्यान जोगाउन नसकेको अवगालबाट जोगिन नेपाली सेनाका लागि पनि पुस १४ नसम्झिनु नै उचित लाग्दो हो । हुकुमी राष्ट्रवादका प्रसारकहरू पुस १४ बिर्सिन नै चाहन्छन्, तर राजा वीरेन्द्रका बहुतै सीमित प्रशंसकहरू समेत बरु उनलाई नारायणहिटी हत्याकाण्ड (जेठ १९ गते) भएको दिन सम्झिन रुचाउँछन् ।

कुनै बेला इसाईहरूले ग्रेगोरियन क्यालेन्डरअनुसार वर्ष परिवर्तनको अवसर जनाउने आनो डोमिनी (एडी) प्रणाली बदलिएर समन्वयी युग (कामन ईरा अर्थात् ‘सीई’) कहलिन थालेको पनि धेरै भयो । नेपाल सरकारले संयुक्त राष्ट्रसंघ सँगसँगै अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन वा विश्व बैंक जस्ता संस्थासँग पत्रव्यवहारमा सीई क्यालेन्डर नै प्रयोग गर्नुपर्ने हुन्छ ।

अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन, जापान र दक्षिण एसियाका भारत, पाकिस्तान तथा बंगलादेशमा सांस्कृतिक कर्म आ–आफ्ना पात्रोअनुसार गरिए पनि सरकारी कामकाजका लागि सीई क्यालेन्डर नै उपयोग हुने गरिएको छ । संसारका सबैजसो आधुनिक राज्यहरूमा सीई नै चलनचल्तीमा रहेकाले नेपालको राहदानीमा पनि त्यही समन्वयी पात्रोअनुसारको तिथिमिति उल्लेख गर्नुपर्ने हुन्छ । तर शान्तिदूत बुद्ध, वीर गोर्खाली, अग्लो सगरमाथा, रसिलो मःम परिकार र कहीँ नभएको हाँडीगाउँको जात्राको देशले आफ्नो महान् गौरवशाली परम्परा त त्यत्तिकै परित्याग गर्न मिलेन ।

त्यसैले नेपालमा भने भारतभन्दा फरक देखाउनका लागि भारतकै उज्जैनका मिथकीय सम्राट् विक्रमादित्यसँग जोडिएको विक्रम सम्वतलाई चन्द्रशमशेरको शासनकालमा सरकारी कामकाजका लागि आधिकारिक पात्रो घोषणा गरिएको दिनदेखि त्यही पञ्चाङ्ग अद्यापि प्रचलनमा छ । अब प्रतापी महाराजाहरूको हुकुमलाई युगौंयुगसम्म शिरोपर गरिरहनु बफादार प्रजाहरूको कर्तव्य हुन आउँछ, त्यसैले विक्रम सम्वतको प्रयोगलाई बेठिक ठहर्‍याउन मिलेन ।

शाह–राणा कुटुम्बको निगाहले गर्दा समाजमा सम्मानित भएको परिवारका नयाँ पुस्ताका स्वामीभक्त व्यक्तिहरू बेलुकीपख सीई नयाँ वर्ष मनाउनुअघि दिउँसो भने फेसनपरस्त नृजातीय राष्ट्रवादको दम्भी प्रदर्शन गर्न ‘राष्ट्रीय पोसाक दिवस’ र ‘टोपी दिवस’ मनाउने चलन सुरु गरेका छन् । अन्धराष्ट्रवादको त्यस्तो भद्दा प्रदर्शनको उत्प्रेरक सायद भारतका हिन्दुत्ववादीहरू हुन्, जो २५ दिसम्बरका दिन क्रिसमसको साटो ‘तुलसी पूजन दिवस’ र १४ फेब्रुअरीका दिन भैलेन्टिन डे नभएर ‘मातृ–पितृ पूजन दिवस’ मनाउनुपर्ने धारणालाई व्यापक बनाइरहेका छन् । देखासिकी फेसन छिटो फैलिन्छ, त्यसैले मधेशीहरूका लागि १ जनवरी अब ‘धोती दिवस’ पनि भइसकेको छ ।

विभाजक राष्ट्रवाद

दलविहीन प्रजातन्त्रको मान्यताअनुसार निर्दलीय उम्मेदवार भएर काठमाडौं महानगरको कार्यकारी प्रमुखमा निर्वाचित भएका र त्यसअघि ‘हिपहप’ जगत्मा र्‍यापर बालेन शाहका रूपमा चिरपरिचित ‘महामेयर’ बालेन्द्र शाहले नाफा क्षेत्रका विद्यालयहरूलाई ‘नेपालीपन झल्कने’ नाम राख्नुपर्ने उर्दी जारी गरेका छन् । नृजातीय राष्ट्रवादको डढेलो यस्तै प्रकारको प्रियतावादी फिलिङ्गोबाट फैलिने हो ।

शाहहरूको अधिनायकवादी शासनकालमा पञ्चायती व्यवस्थाका प्रचारकहरूद्वारा परिकल्पना गरिएको ‘नेपालीपन’ अवधारणामा हिन्दु धर्म, नेपाली भाषा, शाह–राणा कुटुम्ब, सैन्य केन्द्रीयता र गोर्खाली साम्राज्यको थरघर भएका भारदारहरूमा प्रचलित सामाजिक एवं सांस्कृतिक मूल्य र मान्यताको प्रधानता छ ।

बहुराष्ट्रिय गणतन्त्रमा राष्ट्रियताका समावेशी र सहभागितामूलक परिभाषा पहिल्याउनुको साटो आफ्नो नृजातीय वर्चस्वको पक्षपोषण गर्न रुचाउने खस–आर्य बुद्धिजीवी र बहुसंख्यकवादी सत्ताको आशुलिपिक (स्टेनोग्राफर) हुनुमा प्रसन्न हुने मिडियाकर्मीले गर्दा राज्य व्यवस्था पटकपटक फेरिए पनि सन् १७६८ देखि सन् १८१६ का बीच संस्थाकरण गरिएको गोर्खाली साम्राज्यको हठधर्मिता—विजित क्षेत्रमा सांस्कृतिक वर्चस्व कायम गरेर राजनीतिक नियन्त्रणलाई निरन्तरता दिने—अहिलेसम्म लगभग यथावत् छ ।

भारतको ‘हिन्दुत्व राजनीतिक दर्शन’ होस् वा अमेरिकाको ‘अमेरिका प्रथम’ शुद्धतावाद, नृजातीय राष्ट्रवादको सबभन्दा ठूलो समस्या के हो भने त्यस्तो सोचले सामाजिक न्याय, सांस्कृतिक विविधता एवं समतामूलक आर्थिक विकास सँगसँगै सबैको स्वैच्छिक सहभागिता जस्ता राष्ट्रिय एकताका आवश्यक र सकारात्मक अवयवहरूलाई ओझेलमा पारिदिन्छ । विविधताको अस्वीकरणले खास गरेर वञ्चित, तिरस्कृत र बहिष्कृत अल्पसंख्यकहरूको आत्मसम्मानलाई चोट पुर्‍याउँछ ।

व्यापक सामूहिकता र समन्यायमा आधारित प्रगतिको साटो सम्भ्रान्त वर्चस्वको रुढिवादी यथास्थितिमा गर्व गर्ने राष्ट्रवाद स्थापित हुन पुग्दछ । सके बाहिरिया नभए आन्तरिक शत्रु उत्पादन गरेर सुरक्षा बलहरूको स्थायी परिचालनबाट आफ्नो वर्चस्वलाई निरन्तरता दिन त्यसपछि स्थापित सम्भ्रान्तलाई सहज हुन पुग्छ । प्रजातन्त्रका विभिन्न विकृत स्वरूपहरू जस्तै अल्पतन्त्र, धनाढ्यतन्त्र, लुटतन्त्र, अधमतन्त्र वा निर्वाचित तानाशाही जस्ता पथभ्रष्टता (ऐबरेशन्स) नृजातीय राष्ट्रवादका स्वाभाविक परिणति हुन् ।

सधैँ बाह्य युद्ध र आन्तरिक विद्रोह नै हुन्छ भन्ने छैन, तर निरन्तर अस्थिरताले नृजातीय सत्तालाई स्थायी रूपमा सैन्य बलमा निर्भर रहनुपर्ने बाध्यता सिर्जना गरिदिन्छ । बर्मा, बंगलादेश, श्रीलंका र पाकिस्तान मात्र नभएर मानव इतिहासमा विविधता–आधारित प्रजातन्त्रको सबभन्दा ठूलो राजनीतिक प्रयोग मानिएको भारतको सत्तासमेत सुस्तरी आरक्षक राज्य (पलिस स्टेट) बन्ने क्रममा छ ।

आरक्षक राज्यको अवधारणाअनुसार राजनीतिक उद्देश्यका लागि परिचालित सुरक्षा बलले नागरिक गतिविधिको निरन्तर अनुगमनद्वारा तिनलाई अधिनायकवादी व्यवस्थाप्रति प्रतिबद्ध रहन बाध्य बनाउँछ । नागरिकको साटो सुरक्षा बलको केन्द्रीयता आरक्षक राज्यको आधारभूत मान्यता हो ।

सन् २००८ मा गणतन्त्रको घोषणा भएपछि राज्य सञ्चालनको नियमित दिनचर्याबाट इतिहासका पानाहरूमा सीमित गरिएका गोर्खाली विजेता पृथ्वीनारायण शाहको राजनीतिक केन्द्रीयतालाई पुनःस्थापित गर्ने श्रेय नेपाली सेनालाई दिइनुपर्दछ । राजा र रानीका तस्बिरहरू विस्थापित गरिएपछि नेपाली सेनाले तिनको खाली ठाउँ पूर्ति गर्न राजनीतिक प्रधानताको निसान राजा पृथ्वीनारायण र सांस्कृतिक वर्चस्वका प्रतीक पद्यकार भानुभक्तलाई सम्मानित द्वि–मूर्तिका रूपमा स्थापित गरेको थियो ।

राजा पृथ्वीनारायणको तस्बिर त सायद नेपाली सेनाका प्रत्येक एकाइमा झुन्ड्याउनैपर्ने निर्देशन नै छ । केही वर्षअगाडि जंगी अड्डाले पृथ्वीनारायण शाह अध्ययन केन्द्रको स्थापना गरेको समाचार पनि प्रकाशित भएको थियो । राजा पृथ्वीनारायणको विजय अभियानले गर्दा आफ्नो पहिचान र गोर्खाली वीरताको सान स्थापित गर्न सफल भएकाले नेपाली सेनालाई गणतान्त्रिक व्यवस्थामा समेत पहिला शाह बडामहाराजप्रति भक्तिभाव कायम रहनु अस्वाभाविक होइन ।

एउटा अपेक्षाकृत तन्नम भुरेटाकुरे दरबारको सेवक, पुरेत र पहरेदारबाट विशाल गोर्खाली साम्राज्यका भारदार बन्न पुगेका खस–आर्य सम्भ्रान्तका सन्तानहरू आफ्ना अन्नदाताप्रति कृतज्ञ भई नै रहनुपर्दछ । शाह–राणा कुटुम्बको झन्डै तीन शताब्दीको शासनकालमा बिहे–व्रतबन्धदेखि मृत्यु संस्कार र श्राद्धसम्म दान–दक्षिणा पाउने, मृतकको पाप मोचनका लागि काट्टो खाने एवं सेवा गरेबापत मेवाको रूपमा मनग्गे इनाम–बक्सिस थाप्ने जमातका सन्ततिले पनि नेपालका डाँडाकाँडा र मैदान ढाकिसकेका छन् ।

त्यो समूह आफ्ना पुर्खाहरूको प्रतिपालकहरूप्रति अनुगृहित रहने नै भयो । त्यसैले नेपालमा स्वेच्छाले पुस २७ का दिन पृथ्वी जयन्ती मनाउन चाहनेहरूको जमात सानो छैन । समस्या त्यस अवसरलाई तथाकथित ‘राष्ट्रिय एकता दिवस’ घोषणा गर्ने निर्णयमा छ ।

सन् २००४ तिर राजा ज्ञानेन्द्रको निगाहबाट लगभग ९ महिनाका लागि प्रधानमन्त्री पदमा नियुक्ति पाउन सफल तत्कालीन नेपाली कांग्रेस–प्रजातान्त्रिकका संस्थापक सभापति शेरबहादुर देउवाले त ‘गोर्खाली राजाबाट न्याय’ पाएका थिए, तर कर्णाली पश्चिमका बासिन्दाले राजा पृथ्वीनारायणलाई ‘राष्ट्र निर्माता’ मान्नुपर्ने यथेष्ट कारण रहेको देखिँदैन ।

खस, गुरुङ र मगर जस्ता जनजाति लडाकाहरूको शूरताबेगर गोर्खाली विजय अभियान सफल हुन सक्ने थिएन, त्यसैले राजा पृथ्वीनारायणको सम्मानमा तिनले आफ्नो पनि गुणगाण भेट्नु सामान्य हो । तर गोर्खाली विजेताबाट कमारा–कमारीको हैसियतमा झारिएका एक समयका लडाकु तामाङ, सुसंस्कृत थारू वा कोशीपूर्वका अधिकांश आदिवासीका लागि वर्चस्ववादका प्रतीक पुरुषको अन्धभक्ति तिनको अस्मितामाथि भएका प्रहारहरूको यादगार हो ।

राजा पृथ्वीनारायण होऊन् वा लडाका जंगबहादुर कुँवर, आफ्ना पूज्य पूर्वजको यथोचित जयन्ती मनाउने स्वतन्त्रता सबै समुदाय र समूहले पाउनुपर्दछ । त्यस्तो कर्मकाण्डलाई बहुराष्ट्रिय राज्यका सबै सामान्यजनमा थोपर्ने निर्णयलाई भने राजनीतिक अतिचारको श्रेणीमा राख्न मिल्छ ।

तर राष्ट्रपति रामचन्द्र पौडेल वा खस–आर्यका नृजातीय मुख्तियार हुनुका साथै नेकपा–एमालेका सर्वेसर्वा र चौथो पटकको देशका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली जस्ता खारिएका राजनीतिकर्मीहरू किन विभाजक राष्ट्रवादको प्रतीक व्यक्तिलाई जनसम्मानको वैधानिकता प्रदान गर्न तँछाडमछाड गर्छन् ? सम्भाव्य व्याख्या सायद सामान्यजनलाई लठ्ठ तुल्याउने राष्ट्रवादी प्रियतावादको जनोत्तेजकतामा भेट्टाउन सकिन्छ ।

सामूहिक आत्ममुग्धता

व्यक्तिका योग्यता, कौशल, विशेषता, पराक्रम एवं उपलब्धि जस्ता गुण र कर्म मापन गर्ने वस्तुगत आधारहरू हुन्छन् । कुनै पनि समूहको निपुणता वा परिपूर्णताको वस्तुनिष्ठ मूल्यांकन भने असम्भव कर्म हो । दक्षिण एसियाको सबभन्दा विपन्न र पछौटेपनले ग्रस्त अफगानिस्तानले बेलायत, रुस र अमेरिका जस्ता दुनियाँका महाशक्तिहरूलाई युद्धमा परास्त गरेर कहिल्यै कसैको उपनिवेश नरहेको उपलब्धिमा गर्व गर्न सक्दछ ।

देश नै टाट पल्टिन लागेको केही दिनअघिसम्म श्रीलंका आफ्नै बलबुतामा संसारको सबभन्दा विध्वंसकमध्ये एक मानिने गुरिल्ला समूह तमिल टाइगर्सलाई दमन गर्न सकेकामा मक्ख थियो । चिनियाँहरूको सह पाएर हिमाली क्षेत्रबाट भारतीय अनुगमनकर्तालाई हटाएको उपलब्धिमा रमाउने राजा महेन्द्रका प्रशस्तिगायकहरूले जम्माजम्मी ५ लाख जति जनसंख्या भएको माल्दिभ्सले उस्तै काम बिनाकुनै तामझाम सम्पन्न गरेको देख्न 

सक्छन् । भारत दुनियाँमा सबभन्दा धेरै भोकानांगाहरूको देश भएर के भो र, तिनलाई संसारको सबभन्दा पुरानोमध्ये एक मानव सभ्यताको सञ्चालक भएकोमा गौरव छ । सबभन्दा उत्पादक उमेरका झन्डै एकतिहाइ जनसंख्यालाई लाहुर पठाएर तिनको विप्रेषण खाएर बाँचेका नेपालीहरू कत्ति पनि लाज नमानी आफ्नो राष्ट्रवादी अडानको अतिरञ्जित बखान गर्ने गर्दछन् । 

संकटको समयमा आत्मसम्मानसहित बाँच्नका लागि सामूहिक आत्ममुग्धता सामान्यजनमा स्वाभाविक रूपले उत्पन्न हुन्छ । सामान्यजनको त्यही कमजोर नसो समातेर महत्त्वाकांक्षी शासकहरू प्रियतावादको व्यापार गर्छन् ।

भारतका चर्चित राजनीतिक विश्लेषकमध्येका एक मानिने निर्नैतिक चिन्तक प्रताप भानु मेहता कान्तिपुर कन्क्लेभ–२०२४ विचारोत्सवका लागि गएको नोभेम्बर महिना काठमाडौं आएका थिए । बाल्यकालको पालनपोषण परम्परागत हिन्दु समाज एवं अधिकांश वयस्क शिक्षादीक्षा बेलायत तथा अमेरिकामा भएकाले होला, चिन्तक प्रताप भानु राजनीतिक मुद्दाहरूमा पनि निर्नैतिक दृष्टिकोण राख्ने गर्दछन् ।

व्यक्तिगत नैतिकता अन्तःस्करण र स्वविवेकबाट आउने हुँदा त्यस्तो प्रवृत्तिको तथ्यपरक विश्लेषण सहज छैन । सार्वजनिक नैतिकताका मानकहरू भने राजनीतिक, बौद्धिक वा सांस्कृतिक सत्ताले निर्धारण गर्ने गर्दछ । त्यो तरल र गतिशील हुन्छ ।

कुनै बेला ‘जसको तरबार, उसको दरबार’ मान्यताले गर्दा भाइ–भैयाद र गोत्र हत्या गरेर राज हत्याएकाहरूको टाउकोमा श्रीपेच चढाउन आफ्नो कालखण्डका प्रकाण्ड पण्डितहरूबीच तँछाडमछाड हुन्थ्यो । आर्यहरूको आनुवांशिक श्रेष्ठतालाई आधार बनाएर यहुदीहरूको नरसंहार गर्ने हिटलरका पक्षमा त्यस बखतका जर्मन कवि, कलाकार, वैज्ञानिक र दार्शनिकहरू लाम लागेका थिए । निर्नैतिक 

चिन्तक व्यक्तिगत तवरले जति नै नैतिक भए पनि अनैतिक यथार्थलाई समेत आलोचना गर्न हतारिँदैन, ऊ केवल सतर्क व्याख्या गर्छ । सायद त्यसैले होला, सन् २०१४ मा नरेन्द्र मोदीको विजयलाई प्रताप भानुले ‘स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा गौरवशाली राजनीतिक विजयको पटकथा’ भनेर प्रशंसा गरेका थिए ।

काठमाडौंको आफ्नो प्रस्तुतिमा समेत उनले बेवास्ता गरेको तथ्य के थियो भने, अन्य किसिमका प्रियतावाद जसरी सामूहिक आत्ममुग्धताको आगोमा घिउ थप्ने नृजातीय बहुसंख्यकवादको प्रभुत्ववादी विचारले सामान्यजनमा न कुनै प्रलोभन पस्किनुपर्छ, न त कुनै डर देखाउनुपर्छ, केवल यथास्थितिको सौन्दर्यको निरन्तर बखान गरे पुग्छ ।

व्यावहारिक निर्नैतिकताको दर्शन सँगसँगै आदर्शवादी निर्नैतिकतालाई अँगाल्दै खराबमध्ये सबभन्दा कम खराबको छनोट र निरन्तर परिष्करणका लागि संघर्ष गर्ने बाटोलाई सबैखाले प्रियतावादको विकल्पका रूपमा स्थापित गर्न सकिन्छ । वामपन्थसँग तर्सिएर दक्षिणपन्थका लागि बाटो सम्याउने उदारवादीहरू भने प्रियतावादको निरपेक्ष आलोचना नगरेर त्यस शक्तिशाली उत्प्रेरकको सकारात्मक प्रयोगका बारेमा चिन्तन गर्न ढिलो भने भइरहेको छ ।

सीके लाल राजनीतिक विश्लेषक लाल कान्तिपुरका नियमित स्तम्भकार हुन् । उनकाे नेपालीय हुनलाई‍‍ ..., ह्युमन राइट्स, डेमोक्रेसी एण्ड गभर्न्यान्स लगायतका पुस्तक प्रकाशित छन् । कान्तिपुरका अलवा विभिन्न प्राज्ञिक जर्नल तथा पुस्तकमा उनका लेखहरु प्रकाशित छन् ।

Link copied successfully