सुशासन र संरचनागत सुधारको बाटो

सुशासनको प्रत्याभूति र आवश्यक मात्रामा सहजीकरण गर्न सक्दा मात्रै आर्थिक अवस्थामा बढोत्तरी हुन्छ । त्यसका लागि गर्नैपर्ने केही कामको अपेक्षा भइरहेका बेला अध्यादेशबाट भए पनि उक्त अपेक्षालाई सम्बोधन गर्न खोजिएको छ ।

माघ ८, २०८१

विष्णु रिजाल

Road to good governance and structural reforms

सरकारले हालै सार्वजनिक गरेका पाँचवटा अध्यादेशका बारेमा चर्चा चलिरहँदा त्यसको मुख्य उद्देश्य नागरिकलाई सुशासनको अनुभूति दिलाउनु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्नुभएको छ ।

विगतमा अध्यादेशहरू नागरिकलाई तत्कालै राहत उपलब्ध गराउनेभन्दा राजनीतिक जोड–घटाउमा आधारित भएर सार्वजनिक हुने गरेको पृष्ठभूमिमा सरकारको आलोचना भए पनि पाँचै अध्यादेशका अन्तरवस्तु कसैलाई नकारात्मक असर पर्ने खालका छैनन् । नागरिकलाई छिटो–छरितो सरकारी सेवा उपलब्ध गराउने, विदेशी पुँजी र प्रविधिलाई सहजीकरण गर्ने, आर्थिक क्रियाकलापलाई बढावा दिने र भूमिहीन नागरिकका समस्या समाधान गर्ने अध्यादेशका मुख्य उद्देश्यको विरोध गर्नुपर्ने कारण छैन । 

संसद् नबसेका बेला सरकारलाई अत्यावश्यक लागेका विषयमा अध्यादेश ल्याउन पाइने संवैधानिक प्रावधानअनुसार सरकार अघि 

बढ्दा त्यसलाई असंवैधानिक र गैरसंसदीय करार गर्नुभन्दा पहिले अध्यादेशका अन्तरर्वस्तु हेर्नु उपयुक्त हुन्छ । राजनीतिक विषयवस्तु (जस्तोः २०७८ मा एमालेलाई विभाजन गर्न ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश) भएमा त्यसका पक्ष वा विपक्षमा जनमत विभाजित हुनु र तीव्र प्रतिक्रिया उत्पन्न हुनुलाई अन्यथा मान्न सकिन्न । तर, हाल जारी अध्यादेशका लागि त सरकारलाई धन्यवाद दिँदै कार्यान्वयनका लागि निगरानी गर्नुपर्ने जनसरोकारका विषयवस्तुहरू छन् ।

हाम्रो कानुन निर्माण प्रक्रिया सुस्त, गतिहीन र दिक्कलाग्दो छ । जनताबाट निर्वाचित भएर वा नेतृत्वबाट मन पराएर संसद्मा पुग्नेहरूको ध्यान कानुन निर्माणमा देखिँदैन । वास्तवमा उनीहरूको मुख्य काम नै कानुन निर्माण गर्नु हो, विधायनसम्बन्धी काममा केन्द्रित हुने भएकाले उनीहरूलाई विधायक (ल मेकर) भनिन्छ । विडम्बना, नेपालमा जसरी पनि संसद्मा पुगेपछिको एक मात्र उद्देश्य कसरी मन्त्री बन्न सकिन्छ भन्नेमा छ । अनि जो–जो मन्त्री बन्न सक्दैनन्, उनीहरूको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा कुलो, बाटो, विद्यालय, स्वास्थ्य चौकी आदिमा दुई–चार पैसा लैजानमै केन्द्रित हुन्छ । यस तरिकाले संसद् कानुन निर्माणमा पूर्णतः उदासीन र झारा टार्ने हैसियतभन्दा माथि उठेको छैन । यसो भन्दैमा अध्यादेशबाट देश चलाउनुपर्छ र अहिले त्यसकारण अध्यादेश ल्याइएको हो भन्न खोजिएको होइन । आदर्शतः संसदीय लोकतन्त्रमा एउटा पनि अध्यादेश ल्याउनु हुन्न, सबै कानुन संसद्ले नै बनाउनुपर्छ । तर, व्यावहारिक कुरा गर्दा तत्कालै आवश्यक विषयमा अध्यादेश ल्याएर सम्बोधन गरिहाल्दा जनतालाई राहत हुन्छ भने दुई महिनाभित्र प्रतिस्थापन विधेयकमार्फत कानुन बनाउन सरकार र संसद् दुवैलाई दबाब पर्ने भएकाले यो पनि एउटा तरिका हुन सक्छ भनेरै संविधानमा त्यो प्रावधान राखिएको छ ।

हाम्रो संसद् असाध्यै अप्रभावकारी छ । संसद् चल्दा त्यहाँ भएका बहस म सकभर नछुटाई सुन्छु । हाम्रा कानुन निर्माताको अध्ययनको स्तर, ज्ञानको स्रोत, प्रस्तुतिको तरिका र विषयवस्तुको छनोट हेर्दा अधिकांशतः वडा, पालिका र जिल्ला समन्वय समितिभन्दा माथि उठ्न सकेको देखिँदैन । केहीले सार्वजनिक खपतका लागि सञ्चारमाध्यमा आएका विषयलाई उठाउँछन् । त्यसबाहेक विषयवस्तुमा केन्द्रित रहेर छलफल भएको र त्यसले कुनै महत्त्व स्थापित गरेको नजिर नै छैन । पालिका र प्रदेशहरूको संरचना बनेपछि विकास निर्माणलाई उनीहरूको जिम्मा छाडेर संघीय संसद्लाई सरकार र कानुन निर्माणमा मात्रै केन्द्रित नगर्दासम्म यही चक्र दोहोरिरहन्छ ।

संसद्मा कानुन निर्माणमा निर्णायक महत्त्व राख्ने निकाय संसदीय समितिहरू हुन्, जहाँ मसिनो गरी दफा–उपदफाबारे छलफल हुन्छ र कानुनको प्रारूप बन्छ । तर, यी महत्त्वपूर्ण समिति या अवसरको सन्तुलन मिलाउनका लागि अनुपयुक्त व्यक्तिको हातमा पुगेका छन्, या त नेतृत्व तहको बेवास्ताको चेपुवामा परेका छन् । केही दिनअघि राज्य व्यवस्था समितिमा सदस्यहरूको उपस्थितिको आँकडा सार्वजनिक हुँदाको एउटा प्रतिनिधि घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ । समितिका ५२ वटा बैठकमध्ये नेपाली कांग्रेसका एक महामन्त्री ४८ वटा बैठकमा अनुस्थित भएछन् भने अर्काचाहिँ ४० बैठकमा अनुपस्थित भएछन् । सुशासन, प्रभावकारी राज्य सञ्चालन, परिवर्तनको अनुभूति र पुस्तान्तरणका पक्षमा लक्ष्यदार भाषण गर्नेहरूको त यो अवस्था छ भने अरू सदस्यहरूको के हालत होला ? प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा २७ सदस्यमध्ये ७ जना उपस्थित रहेको र गणपूरक संख्या पुर्‍याउन थप ७ जनाको हस्ताक्षर गरिएको समाचार पनि अनौठो छैन । यस्ता घटनाले हाम्रा विधायकको ध्यान केमा छ भन्ने देखाउँछ र कसरी संरचनागत सुधार हुन्छ भन्ने गम्भीर प्रश्न खडा गर्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अनुभूति हुने गरी शासनको प्रत्याभूति दिनका लागि हरसम्भव कोसिस गरिरहनुभएको छ । दिनदिनै रातिसम्म बैठक गर्नुहुन्छ, मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता नै गर्नुभएको छ, मन्त्रालयगत प्रगतिका सूचकलाई मापन गर्न सक्ने गरी संयन्त्र विकास गर्नुभएको छ । लामो समयदेखि हुन नसकेका विभिन्न आयोग, परिषद्, समिति, संयन्त्र आदिका बैठक पनि नियमित आयोजना गरिरहनुभएको छ । तर पनि, अपेक्षित परिणाम आउन नसक्दा प्रधानमन्त्रीमा हुटहुटी र दबाब देखापरेको छ । यही कारण उहाँ अध्यादेश जारी गरेर भए पनि नागरिकलाई सुशासनको अनुभूति दिलाउने निष्कर्षमा पुगेको देखिन्छ ।

सामान्यतः सहज अवस्थामा संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदैनन् । नेपालमा २००७ सालबाटै दुईवटा प्रमुख विचारधाराका रूपमा विकास भएका र त्यसका दुई प्रमुख प्रतिनिधि पात्रका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा धेरै कोणबाट प्रश्न उठेका छन् । राजनीतिक रूपमा अनेक आलोचना खेप्दाखेप्दै पनि यस समीकरणको एउटा प्रमुख काम मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक क्रियाकलाप बढाउनु रहेको समीकरण बन्दाको सातबुँदे सम्झौतामै उल्लेख छ । सुशासनलाई प्रत्याभूत गर्न सक्दा र आवश्यक मात्रामा सहजीकरण गर्न सक्दा मात्रै आर्थिक अवस्थामा बढोत्तरी हुन्छ । त्यसका लागि गर्नैपर्ने केही कामको अपेक्षा भइरहेका बेला अध्यादेशबाट भए पनि उक्त अपेक्षालाई सम्बोधन गर्न खोजिएको छ । 

सरकार गठनको छ महिना पूरा भएको छ । यस अवधिमा पहिलेभन्दा मुलुकको आर्थिक अवस्थामा पक्कै सुधार भएको छ । पुँजी बजारमा उल्लेखनीय प्रगति भएको छ । राजनीतिक स्थिरताका कारण लगानीको वातावरण पनि बनेको छ । तर, त्यसअनुकूल आर्थिक क्रियाकलाप बढ्न सकिरहेका छैनन् । छ महिनामा नेपाल राष्ट्र बैंकले ४० पटक बैंकहरूबाट पैसा तानेका समाचार सुखद छैनन् । बैंकमा पैसा छ, मानिस ऋण लिन हिच्किचाइरहेका छन् । हिजो १४/१५ प्रतिशत ब्याजदर हुँदा ऋण लिन प्रतिस्पर्धा भएकामा आज ब्याजदर एकल अंकमा झर्दा पनि मानिसमा चासो छैन । आखिर यो सबै किन भइरहेको छ ? कांग्रेस–एमाले मिल्दा पनि के कारणले उत्साह आउन सकेको छैन ? यस कुरामा वर्तमान समीकरणको मात्र होइन, भावी राजनीतिको मार्गरेखा पनि निर्धारण हुने बाटोमा छ । कांग्रेस–एमाले मिल्दा पनि मुलुकमा केही हुन सकेन भन्ने छाप पर्‍यो भने हाम्रा विकल्प साँघुरिँदै गएका छन् भन्ने बुझ्नुपर्छ । समाजमा अराजकता, निराशा, घृणाा र अतिरञ्जना फैलाउने पंक्तिको यसै पनि कमी हुन्न । पर्दाभित्रबाट सक्रिय हुनेहरू दिनरात नभनी लागेकै छन्, पर्दाबाहिर निस्केकाहरू हाकाहाकी पुराना दल र नेताको विकल्प खोज्ने नाममा घृणाको व्यापारमा छन् । यस्तो बेलामा यी प्रश्नहरूको जवाफ दिने भनेकै कामबाट हो ।

कांग्रेस–एमालेको समीकरण मजबुत छ । विपक्षीले जति मुख मिठ्याए पनि, सरकार आजै ढल्छ भनेर अस्थिरता सिर्जना गर्न खोजे पनि वर्तमान सरकार बलियो छ । किनभने, यो सरकार ढलेमा प्रधानमन्त्री हुने शेरबहादुर देउवा नै हुन्, जुन पद उहाँका लागि गत असारमै उपलब्ध थियो । पुष्पकमल दाहालको सरकार धर्मराएपछि नयाँ समीकरण सफल हुन नदिन किस्तीमै बोकेर प्रधानमन्त्री पद बूढानीलकण्ठ पुर्‍याउँदा पनि देउवाले ओलीसँग सहकार्य सुरु गरेको छ महिना भएको छ । यसबीच जति काम भएका छन्, दुई शीर्ष नेताकै सहमति र सहभागितामै भएका छन् । अनि प्रधानमन्त्री ओलीले छ महिनामा तीन पटक आफ्नो सरकारको आयुका बारेमा सार्वजनिक रूपमै बोलेर आश्वस्त तुल्याइरहनुभएको छ । यस्तो बेलामा कुनै बाह्य शक्तिको उक्साहटमा समीकरण परिवर्तन नै गरे पनि बाँकी तीन वर्ष कोही व्यक्ति निरन्तर प्रधानमन्त्री हुन सक्दैन । ठूला र स्थापित दलको सरकार त चल्दैन भने भ्यागुताको धार्नी तीन वर्ष कायम रहने सम्भावना स्वतः हुन्न । यस्तो बेलामा सत्ताको तीव्र घ्राणशक्ति रहेका देउवाले दायाँ–बायाँ गर्ने प्रश्नै छैन । बरु, चुनौतीको विषयचाहिँ के छ भने सरकार बलियो हुने, परिणाम कमजोर हुने कुराले दुवै पार्टीका लागि मिसन–०८४ महँगो पर्न जान्छ ।

हामीलाई संरचनागत सुधार चाहिएको छ । प्राथमिकता र योजनाविहीन विकासले अस्तव्यस्तता सिर्जना गरेको छ । मुलुकमा ५४ वटा विमानस्थल छन्, तीमध्ये जम्मा २२ वटा सञ्चालनमा छन् । कतिपय विमानस्थलको वार्षिक आम्दानी एक हजार रुपैयाँ पनि छैन । योजनाहरू पहुँच र प्रभावका भरमा हाल्ने परिपाटीले विकासमा अराजकता सिर्जना भएको छ । मुग्लिन–पोखरा सडक हेरौं वा मुग्लिन–बुटवल वा धुलिखेल–काठमाडौं हेरौं, ती सडक यात्रा गर्दा सरकार र नेतालाई नसराप्ने यात्रु नै पाइँदैन । मन्त्रीले सचिव–सहसचिव बोलाउने, योजना प्रमुख बदल्ने, छिटो काम सक्न निर्देशन दिने शैलीले टालटुले काम त होलान् तर संरचनागत सुधारमा कुनै योगदान गर्दैनन् । किन कुनै पनि आयोजना तोकिएको समयमा पूरा हुँदैनन् ? योजनाको डिजाइन, ठेक्का वा अरू केमा समस्या छ र उस्तै प्रकृतिका समस्या देखभर पुनरावृत्त भइरहन्छन् ? मन्त्रालयको नेतृत्व गर्नेले समाधान गर्नुपर्ने मुख्य विषय यो हो, जसलाई संरचनागत सुधारबाहेक अरू बाटोबाट बदल्न सकिन्न । मन्त्रीले अनुगमन गर्ने, अझ क्यामरा बोकाएर छड्के गर्ने, मिडियाका अगाडि निर्देशन दिने जस्ता कामले समय कटाउन र म पनि छु है भन्नका लागि बाहेक केही अर्थ राख्दैनन् । 

नागरिकले बलियो सरकारबाट केही बलिया अपेक्षा राखेका छन् । विकासको बहस धेरै भयो, विभिन्न रूप र रङका सरकार देखिए/भोगिए । सशस्त्र द्वन्द्व, शाही प्रतिगमन, शान्ति प्रक्रिया, संक्रमणकाल, निर्वाचनमा विलम्ब, संविधान निर्माण हुन नसकेका जस्ता अनेक कारण देखाएर हामीले नगरेको योजनाबद्ध विकासले यस सहजकालमा ठोस आकार ग्रहण गर्ने अपेक्षा बिलकुल जायज छ । तीन पटक प्रधानमन्त्री भइसक्नुभएका, समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकांक्षा निर्माण गर्नुभएका र अरूले भन्दा भिन्न काम गरेर जनतामा आशा जगाउनुभएका प्रधानमन्त्री ओलीलाई संसद्को पहिलो दलको समर्थन भएका बेला मुलुकले चीरकालसम्म स्मरणमा राख्ने काम हुनुपर्छ । त्यसका लागि उत्तरी छिमेकीसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गरेर जगाएको आशालाई त्यसमा संलग्न १० आयोजनामार्फत नेपाली जमिनमा अवतरण भएको हेर्न नागरिकलाई हतार छ । 

केही पनि हुँदैन र केही पनि गर्न सकिँदैन भन्ने हीन मनोविज्ञानबाट नागरिकलाई माथि उठाउनका लागि बोल्ड कदमको आवश्यकता छ । प्रधानमन्त्री ओलीले बारम्बार भन्ने गर्नुभएकै छ, ‘आजका विकसित देशहरूले धनी भएर विकास गरेका होइनन्, विकास गर्दै धनी भएका हुन् ।’ नेपाल पनि धनी हुनु छ, विकसित हुनु छ । यस मनोविज्ञानलाई तत्कालीन र दीर्घकालीन दुवै हिसाबले सम्बोधन गर्न सक्दा सानातिना होहल्ला र भ्रमका खेतीको खण्डन गर्दै हिँड्नु पर्दैन, पानीका फोका सावित हुन्छन् । यसको सुरुआत संरचनागत सुधारबाट गर्नुपर्छ । त्यस दिशामा योगदान दिन सक्दा अध्यादेशहरूले मुलुकलाई ठूलो गुन लगाएको मानिनेछ ।

विष्णु रिजाल विष्णु रिजाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

Link copied successfully