अल–असदको पतनलाई शक्ति राष्ट्रहरूले अप्रत्याशित सत्ता पतन भनेका छन् । निरंकुश शासनको पतनको प्रकृति त्यस्तै हुन्छ ।
उत्साह र बदलाको भावनामा मानिसहरूले जे पनि गर्ने र भयमुनिको दशकौंको बसाइ जब अचानक समाप्त हुन्छ, पुरानो सत्ता र लालचका भौतिक प्रतीकहरूलाई सिरियाको मुख्य प्रशासकीय भवनमा नष्ट गरिरहेको घटनाका रूपमा देख्न सकिन्छ । साधारण सिरियाली नागरिकले दमास्कसमा पूर्वशासक असदको निवासलाई खुसीपूर्वक लुटेको दृश्य देख्दा असहज लाग्न सक्छ ।
सिरियाली सर्वसाधारणहरूले सत्ता महलको भग्नावशेषबाट उठाउँदै गरेका वस्तुहरू केवल पुरानो स्मृतिको उत्खनन मात्र नभएर प्रतीकात्मक बदला हो । यस्तो दुनियाँभर देखिने जानेमानेकै जनआक्रोशको प्रतिक्रियात्मक शैली हो । हालै मात्र सिरियाको घटनाभन्दा पहिले ढाकामा पलायन प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासको दृश्य उल्लेखनीय छ ।
जब निरंकुश शासन पूर्वी युरोप, एसिया, अफ्रिका र मध्यपूर्वमा ढलेका थिए, त्यहाँका हरेक सत्ता पलटमा व्यापक लुटपाट भएको थिएन । धेरैजसो देशमा विजयी शक्तिहरूले भीडभाड आउनुभन्दा अघि नै संरचना र स्मारकहरू सुरक्षित गर्थे । सिरियामा यसतर्फ सोच्ने कुनै राजनीतिक सुविचारित विद्रोही शक्तिको सर्वथा अभाव थियो भन्ने यिनै केही विकासक्रमले स्पष्ट गरेको छ ।
पतन निरंकुश सत्ताको स्मृति सुरक्षित गर्ने इच्छालाई विश्वका अनेकौं घटनाहरूले देखाएका छन् । इदी अमिनको गुप्तचर प्रहरीका खाली पहिचान पत्रहरू, सोभियत युगको क्रेमलिन टेलिफोन, बर्लिन पर्खालका टुक्राहरू र निरंकुश शासनहरू अचानक समाप्त भएका स्थानहरूका अन्य स्मृति वस्तुहरूलाई जनसमूहले लुटपाटकै शैलीमा प्रदर्शन गरेको इतिहासको स्मरणले दमास्कसको दर्दलाई अनौठो बनाउँदैन । तर अनौठो त अमेरिकी विश्वको खुफियातन्त्रको टाटपल्टाई अवश्य नै हो । किन अमेरिकी नेतृत्वको ‘फाइभ–आई’ खुफिया संयन्त्रले असद प्रशासन बहिर्गमन हुँदै गरेको मनस्थितिमा पुगेको अत्तोपत्तो पाएन ?
अल–असदको पतनलाई शक्ति राष्ट्रहरूले अप्रत्याशित सत्ता पतन भनेका छन् । तर निरंकुश शासनको प्रकृति त्यस्तै हुन्छ, जबसम्म यस्तो विस्फोट प्रकट हुँदैन, यस्ता सत्ता एकीकृत र अभेद्य देखिन्छन् । कम्तीमा असद बेनिटो मुसोलिनीजस्तै कुनै विजुलीको पोलमा झुन्डिएका छैनन् वा मुअम्मर अल–गद्दाफीजस्तै कुटिएका वा सद्दाम हुसेन जसरी सुलीमा चढ्नुपरेन । यो उनको सौभाग्य हो ।
पाँच दशक लामो असद–वंशज अधिनायकवादी शासन पतन हुँदै गर्दा पश्चिमको प्रभुत्ववादी विश्व व्यवस्था र उसले लादिरहेको मध्यपूर्वी क्षेत्रीय खेल मैदानसमेत नराम्रो गरी क्षतविक्षत भएको छ । आगामी दिनमा सिरिया पनि असफल हुनेछ, यदि यो बाह्य शक्तिहरूको पुनः प्रतिस्पर्धाको भूराजनीतिक रणमैदान बनाइएको खण्डमा ।
यदि सिरियाले स्वतन्त्र रूपमा विकसित हुने मौका पायो भने मात्र स्वाभाविक रूपमा फस्टाउन सक्नेछ । ‘सिरियाली नागरिक समाज वर्षौंको युद्धको थकान र घट्दो आशाका कारण आहत भएको छ । भविष्य बाह्य शक्तिहरू वा अस्थायी भू–राजनीतिक परिवर्तनहरूमा निर्भर गर्न सक्दैन । भविष्य तलबाट निर्माण गरिनुपर्छ’(वासिङ्टन पोस्ट, डिसेम्बर १३) ।
केवल सिरिया प्रशासनिक रूपले मात्र भए पनि केही उदार रूपले अघि बढेमा मात्र लाखौं शरणार्थीहरू घर फर्कन पाउनेछन् । युरोपेली फरेन काउन्सिलका फेलो तथा पूर्व सिरियाली पत्रकार जेनिन दी जिओभानी लेख्छन्– ‘यो सबै टर्कीको मौन समर्थनबिना सम्भव थिएन । अंकाराले १३ वर्षसम्म असदको कडा विरोध गर्यो, विभिन्न विपक्षी समूहहरूलाई समर्थन गर्दै करिब ४० लाख सिरियाली शरणार्थीलाई आफ्नो देशमा शरण दियो । अन्य शक्तिसमूह निर्माणसँगै एचटीएससँग सहकार्य गर्यो । करिब ३० लाख सिरियाली बसोबास रहेको टर्कीको सीमाक्षेत्रमा एचटीसीले शासन गर्दै आएको थियो । ती मानिसहरू अझै पनि टर्की–रूस सम्झौताको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छन् (वासिङ्टन पोस्ट, डिसेम्बर १३) ।
सिरियाली संघर्षले टर्की र अमेरिकाबीचको पहिल्यै जटिल बनेको सम्बन्धलाई रणनीतिक दुःस्वप्नमा बदलेको थियो । २०१४ मा अमेरिकाले सिरियाली कुर्दहरूको पिपल्स प्रोटेक्सन युनिट्स (वाईपीजी) लाई हतियार पठाएर आपसी सम्बन्धमा निर्णायक मोड निम्त्याएको थियो ।
यो समूहलाई टर्कीले आतंकवादी घोषणा गरेको छ । अमेरिकाले वाईपीजीलाई समर्थन गर्नॅ रणनीतिक आवश्यकता भएको कारणमा लामो समयसम्म टर्कीलाई इस्लामिक स्टेट (आईएसआईएस) लाई दबाउने दिशामा सहमत गराउन नसक्नुको परिणाम थियो । टर्कीको सीमाभित्र आईएसआईएसका गतिविधिप्रति अंकराको नजरअन्दाजपछि वासिङ्टनको कदम आत्मघाती सावित हुन पुगेको थियो । आफ्नो शत्रुलाई हतियार दिने अमेरिकाको निर्णयलाई एर्दोआनले धोका ठाने ।
टर्कीको अमेरिकासँगको सम्बन्ध बिग्रँदै गएका बेला रुसले त्यसको फाइदा उठायो । मस्कोले २०१५ मा असद शासनलाई बचाउन सिरियामा हस्तक्षेप गर्दा पुनः टर्कीका स्वार्थहरू टक्राउन पुगे । सिरियामा रुसको बलियो स्थितिले गर्दा एर्दोआनले भ्लादिमिर पुटिनसँग सहकार्य गर्नॅबाहेक अरू विकल्प देखेनन् । परिणामत मस्कोको अनुमतिपछि मात्र टर्कीले २०१९ मा उत्तरी सिरियामा कुर्दहरूमाथि सैन्य हस्तक्षेप गर्न पाएको थियो ।
एर्दोआनले एस–४०० रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेपछि अमेरिका र नेटोसँग विवाद उत्पन्न गराउँदै केही समय पहिले उनलाई कजानको पुटिन–सी जिनपिङ शिखर समिटसम्म लतारिन बाध्य पार्यो । तर असदको पतनसँगै शक्ति सन्तुलन एर्दोआनको पक्षमा सरेको छ । रुसको कमजोर अवस्थाले टर्कीलाई सिरियामा स्वतन्त्रता मात्र दिएको छैन, ती स्थानहरूमा मस्कोको प्रभावलाई आफ्नो उत्तारधिकारमा ल्याउन पनि पाएको छ ।
असदको पतनले टर्कीलाई इरानसँगको सम्बन्धमा पनि फाइदा पुर्याउनेछ । यी दुई देश लामो समयदेखि क्षेत्रीय प्रतिद्वन्द्वी रहेका छन् । सिरियामा, इरान–समर्थित फौजहरूले आईएसआईएसविरुद्ध लड्न अमेरिका समर्थित वाईपीजीसँग समन्वय गर्दा केही क्षेत्रमा टर्की समर्थित समूहलाई अलग्याएका थिए । इराकका राज्य प्रायोजित अर्धसैनिक पपुलर मोबिलाइजेसन फोर्सेस नामक समूह र इरान समर्थित मिलिसियाहरूले टर्कीको कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्धको लडाइँलाई थप जटिल बनाएका छन् ।
अमेरिका र टर्कीले आतंकवादी घोषित पीकेके टर्कीमा सक्रिय सशस्त्र पृथकतावादी समूह हो । दक्षिण ककेससमा पनि अंकरा र तेहरानले फरक उद्देश्यहरू पछ्याएका छन् । टर्कीले अजरबैजानसँगको सहकार्यलाई सुदृढ गरेको छ, तर इरानले यसलाई धम्कीको रूपमा हेर्छ । इरानले टर्कीसँग विवादित सम्बन्ध रहेको आर्मेनियासँग बनाएको मैत्रीपूर्ण सम्बन्धले विचित्र मध्यपूर्वी शक्ति सम्बन्धलाई देखाउँछ ।
तर इजरायली युद्धले गाजामा इरानी संरक्षणको ‘प्रतिरोधी अक्ष’ लाई तहसनहस पारिरहेको परिवेशमा असदको पतनले इरान यथार्थमै कमजोर बनेको छ । सिरियालाई गुमाउँदा इरानको शक्ति प्रदर्शन क्षमता सीमित भएको बेला इराक, सिरिया र दक्षिण ककेसस क्षेत्रसम्म गठबन्धनका लागि टर्कीलाई बाटो खुलेको छ ।
असदको पतनले एर्दोआनलाई वासिङ्टनसँग मेलमिलापको अवसर पनि उपलब्ध गराइदिएको छ । सिरियामा अमेरिकाको सैन्य उपस्थिति र वाईपीजीसँगको अमेरिकी सहकार्यले द्विपक्षीय सम्बन्धलाई तनावपूर्ण बनाएको हो । २०१९ मा, राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ताको घोषणा गर्नेबित्तिकै वासिङ्टनका सिरियाली कऽर्द सहयोगीहरूमाथि अंकाराले सैन्य हमलाको आदेश दिएको थियो । त्यसबाट क्रूद्ध ट्रम्पले टर्कीमाथि प्रतिबन्ध लगाउँदै सिरियाली तेल प्रतिष्ठानहरूको सुरक्षार्थ थोरै संख्यामा सेना खटाएर जवाफ फर्काएका थिए । अमेरिकी सेना फिर्तीको ट्रम्प–एर्दोआन चाहना ट्रम्पको दोस्रो कार्यकालमा पूरा हुने सम्भावनाको नजिक आएको छ ।
ट्रम्प कार्यकालको सुरुवातसँगै टर्कीले आईएसआईएसलाई नियन्त्रणमा राख्ने प्रतिबद्धता जनाउने र अमेरिकाले सिरियाबाट आफ्नो सेना फिर्ता गर्ने सम्झौता भएमा अन्यथा नमाने हुन्छ ।
असदको आश्चार्यजनक बहिर्गमनलगत्तै अन्तरिम प्रशासन पूर्णरूपमा ह्यात तहरिर अल–साम (एचटीएस) को कब्जामा पुगेको छ । दुई दशकसम्मका भीषण हमलाबाट आफैं पराजित भएर जसरी अमेरिका काबुलबाट भागेपछि तालिवानले नियन्त्रणमा लिएको थियो, यसको दोस्रो संस्करण दमास्कसमा देखिएको मान्नु अस्वाभाविक हुने छैन ।
‘सधैंभर क्रान्तिले प्रगतिशील मार्ग नै बनाउँछ भन्ने कुनै ग्यारेन्टी हुँदैन’ भन्ने लेनिनको प्रसिद्ध थेसिस (राज्य र क्रान्ति : सन् १९१८) को दमास्कसमा पुनरावृत्ति भएको छ । त्यो पनि साढे दुई दशकका अधिनायकले लेनिनकै भूतपूर्व देशमा शरण लिँदै गर्दा अमेरिकी विश्वले आतंककारी करार गरेको र मस्कोले सिरियामै सेना उतारेर ध्वस्त पार्ने लक्ष्य बनाएको समूहले विघटित राज्यको दाबी गर्नु विचित्र विडम्बनाका रूपमा उद्घाटित भएको छ ।
जुन समूहले दमास्कस प्रशासन हात पारेको छ, जसलाई इरानले मुख्य दुश्मन सम्झेको छ । इजरायलले असद–पश्चातको सिरियामा बमवारी गर्दै छ, बाँकी अरब दुनियाँले कतै केही नभएजस्तो गरी मौनता साँधिरहेको यो कस्तो उलटपुलट हो ? तर एचटीसी नाइके अल–साराले सिरियालाई स्थायी रूपमा इद्लिबमाजस्तै सुन्नी प्रभुत्ववादी मुलुकका रूपमा सिरियालाई चलाउन सक्ने कुनै सम्भावना भने देखिँदैन (द इकोनोमिस्ट : २०२४) ।
जहाँ मुख्य ४ वटा र सहायक अरू आधा दर्जन बढी विभिन्न नामका समूहहरूले सिरियाका विभिन्न प्रान्त, जिल्ला र क्षेत्रमा प्रशासन चलाउँदै आएका छन् । अन्ततः सन् २०११ को अरब वसन्तको लोकतान्त्रिक भनिएको लहरको दमास्कसमा एक दशकपछि दुःखद् अवसान हुन पुगेको छ । ‘अब के हुनेछ भन्ने कुरा अनिश्चित छ, तर यसले क्षेत्रका लागि गहिरो प्रभाव पार्ने निश्चित छ (द इकोनोमिस्ट : डिसेम्बर १४)।’
करिब २५ मिलियन जनसंख्या भएको युद्धग्रस्त मुलुकका टर्की र युरोपमा मात्र ५ मिलियन बढीले शरणार्थीको जीवन बिताइरहेका छन् । उनीहरूको केवल आशा जस्तोसुकै प्रशासन भए पनि घर फिर्ती नै पहिलो प्रथामिकता हुने कुरा स्वतः स्पष्ट छ । टर्कीमा ३ मिलियन सिरियालीहरू बसोबास गरिरहेका छन् । एचटीएसको समर्थकको रूपमा रहेको टर्कीले नयाँ दमास्कस प्रशासनसँग सम्झौता गर्न यही बाध्यताले पनि तानिरहेको हुनुपर्छ ।
असदको पतनमा खुला रूपले खुसी मनाउने नेता रिसेप तैयप एर्दोआन मात्रै देखिएका छन् । तर कुर्दहरू र अन्य अल्पसंख्यकहरूलाई प्रोक्सी शक्तिका रूपमा स्थापित गराएर सिरिया निर्माण गर्ने अंकाराको नीतिले कुर्द स्वायत्तताको दशकौं लामो चाहनालाई झन् कमजोर बनाउने तथ्यलाई भने एर्दोआनले नजरअन्दाज गरिरहेका छन् । एर्दोआन इच्छालाई सहजै पश्चिमी विश्वले खुला छुट दिने सम्भावना पटक्कै छ्रैन ।
विभिन्न शक्तिकेन्द्रहरू निर्णायक क्षणका विजेता र पराजितहरूको घोषणा गर्न व्यस्त छन् । असद शासन व्यवस्था स्वयं, इरान, रसिया र हिजबुल्लाहलाई पराजित शक्ति मान्न सकिन्छ । तर, विजेताहरूको सूची बनाउन भने सजिलो छैन । तर असदको पतनले टर्कीको प्रभाव र प्रतिष्ठालाई सिरिया र विस्तारित क्षेत्रीय भू–राजनीतिमा महत्त्वपूर्ण बनाएकै छ ।
उत्तरी सिरियामा, टर्कीको सहयोग र धेरै वर्षको सैन्य तथा प्रशासनिक प्रभुत्वले विपक्षी शक्तिहरूलाई सुदृढ क्षमतासहितका शक्तिका रूपमा अघि ल्याएको अवश्य नै हो । सिरियाली विपक्षीहरूको शासन गर्ने क्षमताको परख हुन भने बाँकी नै छ । तर एचटीएस र अन्य विद्रोही समूहहरूले नयाँ सिरिया निर्माण गर्ने जिम्मेवारी असद सत्तालाई ढाल्नु भन्दै धेरै कठिन र चुनौतीपूर्ण छ भन्ने आत्मसात गरेमा मात्र राजनीतिक विकासक्रमले स्वाभाविक बाटो लिन सक्छ ।
सिरियामा ढलेको सत्ता सबैलाई ज्ञात छ, तर के कुराले मुलुकलाई पर्खिरहेको छ भन्ने कुरा न विद्रोही समूह, न विश्व–शासक शक्ति केन्द्रलाई अत्तोपत्तो नभएजस्तो देखिएको छ । पश्चिमी भूरणनीतिकारहरूले गैर–साम्प्रदायिक अन्तरिम सरकार र राजनीतिक प्रक्रिया, पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्न नयाँ क्षेत्रीय र अन्तर्राष्ट्रिय ब्लकबाट सुरु होस् भन्न थालेका छन्(फरेन पोलिसी : २०२४) ।
झन्डै साढे १३ हजार वर्ष पहिलेको मानव सभ्यता र मोहम्मद पैगम्बरको चोथौ पुस्तासम्म इस्लामलाई सेक्युलर विचारमा हिँडाउने एलेप्पो र दमास्कस यतिबेला शासन पतनसँगै राज्य नै पतन भएको लिबियाजस्तै अवस्थामा लड्खडाइरहेको छ । एउटा सिरियाली राज्यका आवश्यक संस्था र संयन्त्रहरूलाई कायम राख्ने आवश्यकताको पूर्णतः अभाव छ । सन् २०१७ सम्म अमेरिका, रुस र टर्की तथा इरानसमेतको विचित्र गठबन्धनबाट आईएसआईएस आतंकवादी प्रभुत्वलाई नामेट पारेको सिरिया त्यसको ५ वर्षलगत्तै कसैले पनि जिम्मेवारी लिन तयार नहुने निरीह अवस्थामा आइपुगेको छ ।
‘धेरै सिरियालीहरूले नयाँ विकासक्रमलाई धैर्यपूर्वक स्विकारे, यो असदको शासनभन्दा धेरै राम्रो हुनेछ भन्ने उनीहरूको विश्वास हो । च्याथम हाउसको एक छलफलमा हैदहैदले भनेका छन्– ‘शासन पतनसँगै, मानिसहरूले पहिलेजस्तो सहनशीलता देखाउन सक्ने सम्भावना अब कम हुन सक्छ (वालस्ट्रिट जर्नल, डिसेम्बर १३) ।’
एचटीएसलाई इद्लिबमा आधारित ‘मुक्त सरकार’ को विस्तारका रूपमा दमास्कसको प्रशासन सम्हाल्न बाध्य पार्ने विश्व शक्तिकेन्द्रको रणनीति लोकतान्त्रिक विश्व व्यवस्थाको नीति बन्न त सक्दैन नै । जसरी राष्ट्रपति–निर्वाचित ट्रम्पले सिरिया पतन र उत्थानमा अमेरिका संलग्न नहुने अलगाववादी अभिव्यक्ति दिएका छन्, वास्तवमा त्यो अमेरिकी नीति हुनै सक्दैन्थ्यो ।
ट्रम्प अभिव्यक्ति निरीह सिरियाली र उत्तेजित बेन्जामिन नेतान्याहूलाई गरिएको थप नरसंहारकारी रुझानको प्रवर्द्धन मात्र हो । १९६७ को संयुक्त राष्ट्रसंघको सम्झौता र १९७३ को अनुबन्ध उल्लंघन गर्दै नेतान्याहूले गोलानहाइट कव्जा गरेर क्षेत्रीय शक्तिहरूलाई थप तरंगित गराएका छन् । यो नेतान्याहू दुस्साहस ट्रम्प–ट्वीटकै ढाडसले पलाएको बुझ्न कठिन छैन ।
सिरियाको छिमेकमा २००३ मा सद्दाम हुसेनको सुन्नी शासन पतनपछि बग्दादमा सिया र कुर्दहरूको नेतृत्वमा नयाँ शक्ति संरचना बनाइएको थियो । सद्दाम हुसेनको विरोधका नाममा सुन्नी समुदायको बहिस्कारले तत्कालै इराक र त्यस क्षेत्रमा अतिवादको लहर फैलियो । परिणामतः अलकायदा इन इराकदेखि इस्लामिक स्टेटको उदयसम्मका घटनाको विश्व समुदाय र टर्कीले स्मरण गर्नु आवश्यक छ ।
सिरियालाई दोस्रो इराक बन्नबाट रोक्ने भनेको अलवाइट र सिया समुदायको बहिस्करण वा अपराधीकरण गर्ने रबैयामा लगाम लगाउनु हो । समुदायगत असन्तुष्टि व्यवस्थापनका लागि दमास्कसमा समावेशी अन्तरिम प्रशासनको आवश्यकता पर्छ । तर सिरियामा इरानको प्रभाव र समुदायगत सञ्जाललाई नामेट पार्ने नाममा पश्चिमी खुफियातन्त्रले जेजस्तो सुलह गरिरहेको छ, त्यसले थप जोखिमलाई नै चर्काउने दिशामा लक्षित देखिन्छ । यतिबेला संयुक्त राष्ट्रसंघ–नेतृत्व र पश्चिम–समर्थित जेनेभा प्रक्रियाभन्दा २०१६ को अन्त्यमा सुरु भएको अस्ताना प्रक्रिया (टर्की, रसिया र इरानको नेतृत्व) नै सिरियाको संकट हो भन्ने पश्चिमी भाष्यले पश्चिम एसियालाई विश्व भूरणनीतिक भट्टी बनाउने योजना रहेको बुझ्न सकिन्छ ।
पश्चिमी विश्वले अंकारा, मस्को र तेहरानलाई जवाफ दिने रणनीति बनाइरहँदा सिरियाली राज्यको अस्तित्वको प्रश्नदेखि कुनै बेला नासेरले अघि सारेको ‘अरब विश्व’ को पुनरुदय भएर रणनीतिक द्वन्द्वको नयाँ संस्करण बन्ने खतरा गोचर हुँदै छ । मस्कोको शक्ति कति हो भन्नेमा वासिङ्टनका सबै प्रकारका विश्लेषणहरू एकपछि अर्को गरी गलत सिद्ध हुँदै आएका छन् ।
त्यसमाथि ट्रम्प–पुटिन सम्बन्ध र अमेरिकाभित्र मागा–मतदाता रिझाउने वाध्यता बनेको युक्रेन युद्धको पूर्णविरामले मस्कोलाई फेरि शक्ति केन्द्रको प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने निश्चितजस्तै छ । पश्चिमी विश्वका लागि अंकारा र तेहरानलाई संयोजन गरेर आफ्नो वर्चस्व कायम गर्न जति कठिन छ, त्योभन्दा कैयौं गुना सहज मस्कोका लागि छ । यतिबेला मस्कोको योजनामा बेइजिङले समेत समर्थन गर्ने र मस्कोलाई साउदी अरबले अस्वीकार गर्न नसक्ने स्थितिले पश्चिम एसियाको द्वन्द्ध पुनः मस्को र वासिङ्टनको हानथापको परिणाम बन्दै जाने स्थितिमा आइपुगेको छ ।
पश्चिमी विश्वले सिरिया संकटमा आफू अघि नसरेर इराक, जोर्डन, कतार र साउदी अरेबिया गठबन्धन बनाउने कोसिस गरिरहेको छ । सिरियालाई अस्ताना समूह र गैरअरब राज्यहरूबाट बनेको भन्ने भाष्यमा उनीहरू रहेका छन् । सिरिया अरब–बहुल राज्य मात्र नभएर सन् १९५८ को इजिप्ट–सिरिया सम्झौताले अरब विश्वकै कल्पना गरेको थियो भन्ने तथ्य स्मरणीय छ ।
सिरियामा भइरहेका घटना क्रमलाई हेरिरहेका क्षेत्रीय अरब शासकहरू, यतिबेला सबैभन्दा बढी भयभित छन् । २०१० को मध्यतिर अरब स्प्रिङपछिको संक्रमणले यसै दिशामा सोच्न बाध्य पार्छ । यस्तो चुनौतीपूर्ण समयमा अरब मुलुकहरूसँग ईयू र अमेरिकाको दाउपेचले धेरै कुरा निर्धारण गर्नेछ । सिरियाका लागि विभिन्न सहायता र पुनर्निर्माण प्याकेजहरूको तत्कालै आवश्यकता छ । तर यस दिशामा अझै पनि टर्की, पश्चिमी विश्व र प्रमुख अरब मुलुकहरूले पहलकदमी नलिने प्रवृत्तिले निर्दयी विश्व अव्यवस्थाको पटाक्षेप गर्दै छ ।
विश्वशक्ति रिक्तताको टाटपल्टाइले मध्यपूर्वमा सङ्कीर्ण–अतिवादको उत्थानका लागि संवेदनात्मक ऊर्जामा तेल खन्याइरहेको छ । यस्तो परिदृश्यमा मस्को–बेइजिङ र दिल्लीको अघोषित गठबन्धन कसरी अघि बढ्छ भन्ने अझै पटाक्षेप हुन बाँकी छ । वासिङ्टनभन्दा बढी यी शक्तिहरू दूरी र स्वार्थका हिसाबले सिरियासहितको पश्चिम एसियासँग धेरै नजिक छन् ।
