सन्तानलाई सम्पत्ति, इच्छापत्रको बहस

इच्छापत्रको व्यवस्था सम्पूर्ण सम्पत्तिमा नभई स्वआर्जनको सम्पत्तिमा मात्र लागू गर्नु उपयुक्त हुन्छ । यसो गर्दा स्वआर्जनको निजी सम्पत्तिमाथि स्वामित्ववालाको पूर्ण अधिकार स्थापित हुन्छ भने पैत्रिक सम्पत्तिमाथि अंश दाबी गर्ने छोराछोरीको अधिकार पनि सुरक्षित रहन्छ । आफ्नो आर्जन पनि उनीहरूले मागेका बखत दिनुपर्ने बाध्यकारी व्यवस्था वर्तमान युग सुहाउँदो पटक्कै छैन ।

आश्विन १०, २०८१

सुशीलबहादुर कार्की

Property to children, wills debate

नेपालको संविधानले मौलिक हकका रूपमा सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने सुनिश्चित गरेको छ । यी सबै हक प्रत्यक्ष रूपमा सम्पत्ति आर्जन, उपभोग र हस्तान्तरणसँग सम्बन्धित छन् । यहाँ चर्चा गर्न खोजिएको विषय निजी सम्पत्ति र यसको उपभोग तथा हस्तान्तरण गर्ने स्वतन्त्रताको हकबारे हो । 

के कुनै नेपालीले आफ्नो ज्ञान, सीप, परिश्रम आदिबाट आर्जन गरेको चल–अचल निजी सम्पत्ति स्वतन्त्र रूपमा आफूखुसी गर्न पाउँछ ? त्यस्तो सम्पत्ति बेचबिखन गर्न, दान दिन वा त्यसबाट कसैलाई बेदखल गर्न सक्छ ? वा आफ्नो मृत्युपश्चात् आफ्नो भाग कसैलाई इच्छाएर उसैले पाउने गरी इच्छापत्र बनाउन सक्छ ? यी प्रश्नका जवाफ खोज्न दुई प्रतिनिधि मुद्दाका बाबु पक्षको भनाइ हेरौं ।

एक, छोराले स्नातक सकेर व्यापार गर्दै थियो तर कोभिडपछि व्यवसाय डामाडोल भयो, ऊ कुलतमा फस्यो । भएको बचत सकेपछि अंश दाबी गर्‍यो । अंश दिन्न, तैंले उडाएरै सक्छस् बरु सकेको काम गर्, सहयोग गर्छु भनेको मानेन । मेरो स्वआर्जनको बाहेक पैत्रिकबाट मात्र अंश दिलाउन खोजेको अदालतले मानेन, पूरै अंश दिलाइदियो । उसको भागबाट उसकी श्रीमती र दुई बच्चाको भाग पनि बुहारीले छुट्याई लिई । छोराले भने आफ्नो भाग बेचेरै सक्यो । अहिले उसको बस्ने र गरिखाने टुंगो छैन । अंश दिनबाट रोक्न सकेको भए उसकै सम्पत्ति जोगिन्थ्यो, आखिर हाम्रो शेषपछि पाउने उही नै त थियो । 

दुई, बिहे भएको केही वर्षपछि छोराबुहारीबीच मन मिलेन र पारपाचुके गर्न बुहारीले सम्बन्धविच्छेद र अंश मुद्दा दायर गरिन् । हामी बूढाबूढी पनि मुद्दाका प्रतिवादी बनाइयौं, जबकि उनीहरू आफैंमा स्वावलम्बी छन् । मैले बाबुबाट पाएको केही पैत्रिक सम्पत्ति छ । मेरो अधिकांश सम्पत्ति रातदिन नभनी दुःख गरेर हाड, नंग्रा खियाएर कमाएको हुँ । सम्पत्तिको मोटामोटी हिसाब गरेर होला, मिलापत्र गर्ने भए नगद ५ करोड चाहिन्छ भन्ने खबर आइपुगेको छ । बुहारीको माइतीपट्टि सम्पत्ति प्रशस्तै छ तर त्यताको सम्पत्तिको कुरै नउठ्ने रहेछ । छोराको अंशमार्फत उनको भाग दिन आपत्ति पनि भएन । मेरो निजी आर्जनमा उनीहरूको कुनै भूमिका र योगदान छैन । बरु तिनका सामर्थ्यबाहिरका अनेक चाहना मैले पुर्‍याइदिँदै आएको थिएँ । म मरेपछि पाउलान् नै, तर अहिले अंशका रूपमा दिन्न भन्न पनि नपाउने ?

२०२० को मुलुकी ऐनलाई विस्थापित गर्न विधिशास्त्रका आधुनिक र मान्य सिद्धान्त अंगीकार गर्दै नयाँ मुलुकी देवानी संहिता, २०७४ आयो । यसले पुराना व्यवस्थालाई परिस्कृत, सरलीकृत र आधुनिकीकरण गरेको भए पनि व्यक्तिको सम्पत्तिसम्बन्धी अधिकारलाई भने अंशबन्डाको व्यवस्थामार्फत संकुचित गरेको पाइन्छ । अर्थात्, अंशबन्डा र सम्पत्तिसम्बन्धी कानुनअनुसार श्रीमान्–श्रीमतीलाई एकातिर राख्दा पनि उमेर पुगेका छोराछोरी छन् भने उनीहरूलाई अंश नदिई वा उनीहरूको मञ्जुरीबिना आफ्नै आर्जनको सम्पत्ति पनि आफूखुसी गर्न पाइँदैन, गरे बदर हुने सम्भावना हुन्छ । विधिशास्त्रीय मान्यताअनुसार निजी सम्पत्ति निर्धारणका लागि आवश्यक पर्ने प्रमुख आधारमा निरपेक्ष रूपमा स्वामित्व ग्रहण गर्ने, उपभोग गर्ने, हस्तान्तरण गरिदिने अधिकारका अलावा अरूलाई निषेध वा बेदखल गर्ने अधिकारलाई समेत लिइन्छ । पश्चिमा विकसित मुलुकमा पहिलेदेखि नै यसको अभ्यास पाइन्छ । भारतमा हिन्दु उत्तराधिकार अधिनियम, १९५६ का व्यवस्था धेरै हदसम्म हाम्रोसँग मिल्दाजुल्दा छन् । तर पनि त्यहाँको कानुनले हाम्रोजस्तो संकुचित व्यवस्था गरेको छैन ।

स्वआर्जनको सम्पत्ति आफूखुसी गर्न नपाइनु : सम्पत्तिको परिभाषा, यसको प्रकार र व्यवस्थापनका तौरतरिकाबारे मुलुकी देवानी संहिता, २०७४ को ‘सम्पत्तिसम्बन्धी कानुन’ को भागमा ९ बुँदामा उल्लेख गरी निजी सम्पत्तिलाई परिभाषित गरिएको छ (दफा २५६) । यस दफाको अन्त्यमा ‘कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस संहिताको अधीनमा रही आफूखुसी गर्न पाउनेछ’ भनी निजी सम्पत्तिको मालिकलाई अधिकार सम्पन्न बनाइएको छ । निजी सम्पत्ति आफूखुसी गर्न पाउने भन्ने व्यवस्था जति स्वतन्त्र र उत्साहजनक देखिन्छ, त्यसलाई अंशबन्डाको कानुनी व्यवस्थाद्वारा त्यति नै संकुचित बनाइएको छ । निजी सम्पत्ति अन्य अंशियार जस्तैः दाजु, भाइ, दिदी, बहिनी वा बाबुआमाबीच बन्डा गरिरहनु पर्दैन । तर, दफा २५७ (३) ले ‘...बाबु, आमा र छोराछोरीबीच अंशबन्डा गर्ने प्रयोजनका लागि बाबुआमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको सम्पत्ति मानिनेछ’ भनी सम्पत्तिमाथि छोराछोरीको निर्बाध जन्मसिद्ध हक स्थापित गरी निजी सम्पत्तिको अधिकारमा ठूलो अंकुश लगाइएको छ । 

यो व्यवस्थाले निजी सम्पत्तिमाथि छोराछोरीको सुनिश्चित अंश हकले उनीहरूको भविष्य सुरक्षित बनाएजस्तो देखिए पनि यसले ल्याएको परिणाम सुखद छैन । स्वआर्जनको निजी सम्पत्तिसमेतलाई छोराछोरी अधीनस्थ बनाइएका कारण आफ्नै आर्जन पनि आफूले चाहेबमोजिम स्वतन्त्र रूपमा बेचबिखन गर्न, दान वा हस्तान्तरण गर्न नपाई परिवारमा झैझगडा हुने, मुद्दामामिला पर्नेजस्ता हैरानी खेप्नु परिरहेको छ । मुद्दा दायर गर्नेको पक्षबाट हेर्दा अधिकारको लडाइँका रूपमा लिन सकिएला तर स्वआर्जनको सम्पत्ति धनीको पक्षबाट हेर्ने हो भने तस्बिर फरक देखिन्छ । कुनै दिन छोराछोरीले मुद्दा हालिदिए भने व्यापार व्यवसायमा लगाएको वा जुनसुकै सम्पत्तिमा अंशभाग लगाउनुपर्ने हुन्छ ।

पश्चगामी प्रावधान : जंगबहादुरले संवत् १९१० मा जारी गरेको मुलुकी ऐनमा समेत ‘बाबुले आफ्ना खुसीले अंश गरिदिए पाउने अन्यथा मेरो जीउ छउन्जेल अंश दिन्न भने छोराको कर लाग्दैन’ भन्ने व्यवस्था थियो । २०२० को मुलुकी ऐनमा पनि अंशबन्डाको १० नं. मा ‘बाबुआमाको जीउ छउन्जेल अंश दिन छोराछोरीले बाबुआमालाई बाध्य गराउन सक्ने छैनन्’ भन्ने थियो । हालको संहितामा यस्तो प्रतिबन्धकारी व्यवस्था नराखी अंश दिन्न होइन कि अहिले दिन्न भन्नेसम्मको अधिकार पनि बाबुआमालाई दिइएको छैन । 

उमेर पुगेका सन्ततिले बाबुआमासँग जहिले पनि पैत्रिक र उनीहरूको निजी आर्जनसमेत गोश्वारा सम्पत्तिबाट अंश माग्न पाउने अधिकार सुनिश्चित गरिएको छ । यसले छोराछोरीको हकमा वर्तमान कानुनले दिएको स्वतन्त्रताभन्दा स्वच्छन्दता बढी देखिन्छ । अझ छोराछोरीलाई बाबुआमाको सम्पत्तिप्रति परनिर्भर र आसे हुने त्रास बढाएको छ । हालको संहिता अन्तर्राष्ट्रिय असल अभ्याससँग मिल्दो बनाइएको दाबी गरिए पनि यो अंशसम्बन्धी प्रावधान नेपालकै पुरानो मुलुकी ऐनभन्दा पश्चगामी हुन पुगेको छ । 

सम्बन्धविच्छेद र सम्पत्ति दाबी : बढ्दै गएको सम्बन्धविच्छेदलाई बिनाअध्ययन–अनुसन्धान विकृति हो भनेर निचोड निकाल्नु हतार हुन सक्छ । बरु विवाहित पुरुष–महिला आफ्नो अधिकारप्रति सचेत भएको र कानुनी उपचार खोज्न जागरुक हुनुलाई सकारात्मक मान्न सकिन्छ । तर पनि एकाध मुद्दामा बिहे गरेको छोटो समयमै श्रीमान्का कारण कुनै आधार देखाएर अंश दाबी गर्दै सम्बन्धविच्छेद गर्ने प्रवृत्ति देखिन्छ । श्रीमान्विरुद्ध अंश मुद्दा दायर गर्दा सम्पत्ति त श्रीमान्को बाबुआमाको सम्पत्तिबाट नै आउने हुन्छ, तसर्थ यस्तोमा केटाको योग्यताभन्दा पनि सासू–ससुराको सम्पत्ति देखेर गरेको बिहे हो कि भन्ने सवाल उठ्छ नै । 

अर्कोतर्फ वास्तविक रूपमा श्रीमान् वा परिवारबाट अन्यायमा परेका, पूर्ण रूपमा श्रीमान्मा आश्रित, छोराछोरीको हेरचाह पनि आफैं गर्नुपर्नेजस्ता विषय गाँसिएका सम्बन्धविच्छेदका मुद्दामा त्यस्ता महिलाको जीविकाको आधार वा भरणपोषण सुरक्षित गर्नु अनिवार्य र महत्त्वपूर्ण सर्त हो । विवाह हुनेबित्तिकै सम्बन्धविच्छेद गर्नुपर्ने र वर्षौं त्यही घरमा बिताएका श्रीमती/बुहारीलाई एउटै टोकरीमा हालेर हेर्नु पनि न्यायसंगत हुँदैन । पीडित महिलाले श्रीमान्को अंश पाउनैपर्छ तर कमसेकम सासू–ससुराले नचाहे उनीहरूको स्वआर्जनको निजी सम्पत्तिबाट होइन । 

सम्पत्ति मुद्दा अदालतलाई भार : सर्वोच्च अदालतको ४ वर्षयताको वार्षिक प्रतिवेदन हेर्ने हो भने सबै तहका अदालतमा अंशबन्डालाई उछिनेर सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको संख्या शीर्ष स्थानमा छ । सर्वोच्चको पछिल्लो (२०७९/८०) वार्षिक प्रतिवेदनअनुसार सम्बन्धविच्छेदका ४०,१८३ र अंशबन्डाका ३७,२५३ मुद्दा विचाराधीन थिए । सम्बन्धविच्छेदको मुद्दा दायर हुँदैमा अंश मुद्दा पनि अनिवार्य सर्त वा समानान्तर रूपमा दायर हुन्छ भन्ने छैन तर अधिकांशमा दुवै मुद्दा लगाउका रूपमा दायर हुन्छन् । धेरैमा लेनदेन गरेर वा नगरेर पनि तल्लो अदालतमै मेलमिलाप पनि हुन्छ । यसका साथै देवानी मुद्दाअन्तर्गत सम्पत्तिसँग जोडिएका जग्गासम्बन्धी र लिखत बदरका मुद्दा पनि उल्लेखनीय संख्यामा पर्दै आएका छन् । 

स्वआर्जनको सम्पत्तिमा इच्छापत्र : सुरुमा भारतमा पनि हिन्दुहरूका लागि इच्छापत्रको व्यवस्था थिएन । तर १५४ वर्षअघि सन् १८७० मा पहिलो पटक हिन्दुले पनि इच्छापत्रमार्फत सम्पत्ति हस्तान्तरण गर्न सक्ने कानुन जारी भयो । जसले सम्पत्तिको अधिकार पूर्ण रूपमा त्यसको हकदारमा रहने सुनिश्चितता प्रदान गर्‍यो । हाम्रो समस्याको मूल जड भनेको निजी सम्पत्तिको हस्तान्तरणलाई छोराछोरी अधीनस्थ बनाइनु हो । यसलाई सुधार्न गर्नुपर्ने कार्य कानुनी व्यवस्थामा संशोधन हो । मूलतः संहिताको सम्पत्तिसम्बन्धी कानुनको महलमा रहेको दफा २५७ (३) को खारेजी भए पनि यो सँगसँगै समग्रमा अंशबन्डा, अपुताली, दान बकस, सम्बन्धविच्छेद मात्र नभई अन्तर्राष्ट्रिय कानुनसँग सम्बन्धित प्रावधानको पनि सम्बोधन हुनुपर्छ ।

मौजुदा मुलुकी देवानी संहिता, २०७४ ले सम्पत्ति हस्तान्तरणमा इच्छापत्र प्रणाली (बिल सिस्टम) लाई अवलम्बन गर्न नसक्नु एउटा त्रुटि हो । यो संहिताको वर्तमान व्यवस्थाको मस्यौदा गर्न ‘देवानी कानुन सुधार तथा परिमार्जन कार्यदल मस्यौदा समिति’ ले धेरै मुलुकका देवानी कानुनको अध्ययन, सरोकारवालासँगको छलफल र परामर्श गरेको थियो । नेपालमा पनि इच्छापत्र प्रणाली उचित हुने देखी ‘इच्छापत्रसम्बन्धी व्यवस्था’ को प्रस्ताव गरेकामा विधेयक पारित गर्ने बेलामा संसद्ले यसलाई पूर्ण रूपमा उपेक्षा गर्‍यो । केही वर्षपछि लागू हुने गरी यो व्यवस्था कायम राख्न सकिन्थ्यो तर त्यस्तो गरिएन ।

सम्पूर्ण सम्पत्तिमा इच्छापत्र प्रणालीमा जान उपयुक्त छैन भने भारतमा हिन्दुहरूका लागि जारी ‘हिन्दु उत्तराधिकार ऐन, १९५६’ अनुसारको व्यवस्था लागू गर्नु उपयुक्त देखिन्छ । जसअनुसार सम्पत्तिलाई पैतृक सम्पत्ति र स्वआर्जनको सम्पत्ति गरी दुई भागमा विभाजन गर्न सकिन्छ । पितापुर्खाबाट आएको पैतृक सम्पत्तिमा सबै अंशियारको समान अंश लाग्ने व्यवस्था गर्ने र स्वआर्जनको सम्पत्तिमा आफू बाँचुन्जेल पूर्ण रूपमा आफूखुस गर्न पाउने र मृत्योपरान्त इच्छापत्र बनाएको भए सोहीबमोजिम जोसुकैलाई दिन मिल्ने व्यवस्था गर्न सकिन्छ । यदि इच्छापत्र बनाएको रहेनछ भने त्यस्तो स्वआर्जनको सम्पत्ति निजको शेषपछि बाँकी अंशियारबीच अंशभाग वा अपुताली लाग्ने व्यवस्था राख्न सकिन्छ । तसर्थ, इच्छापत्रको व्यवस्था सम्पूर्ण सम्पत्तिमा नभई स्वआर्जनको सम्पत्तिमा मात्र लागू गर्नु हाम्रा लागि उपयुक्त हुन्छ । यसो गर्दा स्वआर्जनको निजी सम्पत्तिमाथि स्वामित्ववालाको पूर्ण अधिकार पनि स्थापित हुन्छ भने पैत्रिक सम्पत्तिमाथि अंश दाबी गर्ने छोराछोरीको अधिकार सुरक्षित हुन्छ । 

वार्षिक ३७ हजारभन्दा बढी पर्ने अंश मुद्दालगायत हजारौंको संख्यामा पर्ने अन्य पारिवारिक र सम्पत्तिसम्बन्धी विवादमा यसले उल्लेखनीय कमी ल्याउन सक्छ । प्रस्तुत उपाय अवलम्बन नगर्दासम्म उस्तै परम्परावादी पारिवारिक विवाद र अदालती झमेलामा रुमल्लिरहने पीडाबाट मुक्ति पाइने देखिँदैन । 

निष्कर्ष 

संयुक्तबाट एकल परिवारतिर मोडिँदो पारिवारिक संरचना, विश्वव्यापीकरण, सहरीकरण, औद्योगिकीकरण, आप्रवासन, रोजगारी र उद्यमशीलताका नयाँ अवसरले समाजको चरित्र फेरिँदो छ । तर, वर्तमान अंश र सम्पत्तिसम्बन्धी कानुनी व्यवस्था छोराछोरीलाई आत्मनिर्भर बन्नेतर्फ उत्प्रेरित गर्नेभन्दा बाबुआमाको सम्पत्ति छँदै छ भनेर निष्क्रिय रहने र बाबुआमाप्रति निर्भर हुन प्रेरित गर्ने खालको छ । अर्कोतर्फ, एउटा व्यक्तिले दुःखकष्ट झेलेर आर्जन गरेको सम्पत्तिमा निजकै अधिकार कटौती हुने तर त्यसका लागि कुनै योगदान नगरेका छोराछोरीको हक जन्मेकै आधारमा मात्र कायम हुने वंशवादी व्यवस्था अबको समाजमा उपयुक्त देखिँदैन । 

स्वभावतः बाबुआमाले छोराछोरीको कल्याण र हित नै सोच्छन् र सम्पत्ति पनि यथोचित समयमा हस्तान्तरण गर्छन् नै । तर आफ्नो आर्जन पनि उनीहरूले मागेका बखत दिनुपर्ने बाध्यकारी व्यवस्था वर्तमान युग सुहाउँदो छैन । जसरी हाम्रो संविधानले हरेक व्यक्तिलाई सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्नेलगायत सम्पत्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ, हस्तान्तरण गर्ने हकलाई पनि छोराछोरीको अधीनस्थ नबनाई स्वतन्त्र रूपमा गर्न पाउने सुनिश्चित गर्न जरुरी छ । नपर्दा वा नभोगेसम्म सामान्य लाग्ने अंश र सम्पत्तिसम्बन्धी मुद्दा आफूलाई परेपछि मात्र संवेदनशील लाग्छन् । तसर्थ, अब अंशबन्डाको युगबाट इच्छापत्र प्रणालीको नयाँ युगतर्फ प्रस्थान गर्न यी कानुनमा समयसापेक्ष सुधार गर्न जरुरी छ । 

प्रस्थानविन्दु-विचार शृंखला

सुशीलबहादुर

Link copied successfully