कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
सम्पादकीय

सुन अनुसन्धानको सन्देश

आश्विन २, २०८०

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

सुन अनुसन्धानको सन्देश

अन्तरदेशीय संगठित गिरोह संलग्न ‘६१ केजी सुन प्रकरण’ अनुसन्धान टुंगिएर न्यायिक निरूपणका लागि जिल्ला अदालत काठमाडौं पुगेको छ । यस प्रकरणमा जोडिएका पाँच कर्मचारी, नौ विदेशी नागरिकसहित २९ जनाविरुद्ध अदालतमा साढे ३ अर्ब रुपैयाँको बिगो र कसुरअनुसार कैद सजाय मागदाबी गरिएको छ ।

ढिलो–चाँडो अदालतबाट फैसला जेजस्तो रूपमा आउने भए पनि राज्य संयन्त्रले यसमा गरेको अनुसन्धान प्रशंसनीय छ । यस अनुसन्धानले कम्तीमा तस्करीको एउटा अन्तरदेशीय जालो भत्काएको छ, गिरोहको राजनीतिक र प्रशासनिक तहसँग जोडिएको साँठगाँठ सतहमा ल्याइदिएको छ । यसले अवैध कारोबारका नयाँ आयामहरूसमेत खुलासा गरिदिएकाले नियन्त्रणका लागि नियम–कानुन अझ मजबुत बनाउन सम्बन्धित पक्षलाई घचघच्याइदिएको छ ।

सवारीसाधनका ‘ब्रेक सु’ को आवरणमा हङकङबाट भित्र्याइएको ६१ केजी सुन गत साउन २ मा बरामद गरेर राजस्व अनुसन्धान विभागले भन्सार छलीमा अनुसन्धान अघि बढाएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासपछि सिनामंगलमा पुर्‍याइएका बेला बरामद गरिएको थियो । त्यसपछि पक्राउ परेका व्यक्तिको बयान र प्राप्त तथ्य–प्रमाणका आधारमा अनुसन्धानको दायरा अझ फराकिलो बनाउनुपर्ने निष्कर्षका साथ सरकारले गत साउन २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिएको थियो । प्रहरी अनुसन्धानका क्रममा ११ महिनाको अवधिमा गिरोहले ब्रेक सुको आवरणमा ३ सय ६३ केजी सुन भित्र्याएको खुलेको छ । यसलाई विमानस्थल भन्सारको जाँचपास प्रणाली फितलो रहेको अर्थमा मात्र बुझ्न मिल्दैन, त्यहाँ रहेका सम्बन्धित कर्मचारीहरूको मिलेमतोबिना यति ठूलो मात्राको सुन पटक–पटक भित्रिन सम्भव नै छैन । यसले विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई मजबुत बनाएर मात्र पुग्दैन, कर्मचारीमाथि नियमित निगरानी पनि उत्तिकै आवश्यक छ भन्ने देखाएको छ ।

प्रहरी अनुसन्धानमा सुन तस्करीको मुख्य अभियुक्तका रूपमा दावाजिन वाङलाई किटान गरिएको छ । बिचौलिया बनेर व्यवस्थापन गर्ने भूमिकामा दावा छिरिङलाई देखाइएको छ । फरार रहेका दावाजिन र हाल थुनामा रहेका दावा छिरिङको सत्तारूढ माओवादी नेताहरू पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री वर्षमान पुन र माओवादी पूर्वनेता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसँग निकटता खुलेको छ । पूर्वमन्त्री वर्षमानका भाइ प्रनिश दावा छिरिङकी पत्नी अमला रोका सञ्चालक रहेको भियाना कम्पनीमा साझेदार रहेको पाइएको छ । तस्करी प्रकरणमा अमला फरार छिन् । सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दीपेशलाई सोधपुछ गरेर छाडेको थियो । महराका छोरा राहुल भेप (विद्युतीय चुरोट) लुकाएर गरिएको सुन तस्करी प्रकरणमा थुनामा छन् । अदालतमा पुगेको मुद्दामा माओवादी नेता र उनीहरूका परिवारजन कसैलाई पनि प्रतिवादी बनाएको छैन । कतै सत्ताको आडमा उनीहरूलाई जोगाइएको त होइन भन्ने संशय पनि छ । यस प्रकरणमा संलग्नता छ/छैन, नखुले पनि उनीहरूसँग रहेको सम्बन्धका आडमा गिरोहले कारोबार गरेको प्रस्टै बुझिन्छ । सुन तस्करीको धन्दामा संलग्न पाँच विदेशीले नेपालबाटै नागरिकता र राहदानी लिएका थिए । किर्ते गरेर उनीहरूलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयमा रातारात कर्मचारी फेरबदल गरेको पनि खुलेको छ । यो हर्कत राजनीतिक तहको साथबिना सम्भव छैन ।

गिरोहले नेपाल भित्र्याएको सुन भारतसम्म तस्करीबाटै पुग्ने गरेको पाइएको छ । अवैध रूपमा भित्रिएको सुनमा लगानी गर्ने केही व्यापारीको पहिचान पनि भएको छ । यो सुन किन्न अवैध धन प्रयोग भएको र त्यो धन हुन्डी तथा क्रिप्टो करेन्सीमार्फत विदेश पुग्ने गरेको पाइएको छ । चिनियाँ तस्करले करिब ४ अर्ब रुपैयाँ क्रिप्टो र अन्य माध्यमबाट हात पारेको तथ्य सीआईबीले उजागर गरेको छ । सुन तस्करीबाट आर्जित ३ अर्ब ५५ करोडभन्दा बढी रकम यूएसडीटी, करिब ३० करोड भारु अन्य माध्यम र १३ करोड रुपैयाँ क्यासिनोमार्फत कारोबार गरेको भेटिएको छ । यो कारोबार चिनियाँ नागरिकले नेपालमै बसेर गरेको देखिएको छ । मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउने यस्ता अवैध कारोबार नियन्त्रणका लागि राज्यले जतिसक्दो छिटो कदम चाल्न आवश्यक छ ।

अवैध सुन बरामद र अनुसन्धान राजस्व अनुसन्धान विभागको अग्रसरतामा अघि बढेको थियो । यसमा करिब तीन सातापछि सीआईबी जोडिएको थियो । गिरोहको राजनीतिक दलका नेताहरूसँग हिमचिम रहेको खुल्दै जाँदा गृह मन्त्रालयअन्तर्गतको सीआईबीले गर्ने अनुसन्धानमाथि पनि संशय उत्पन्न भएको थियो । गिरोहसँग सम्बन्ध रहेका भनिएका नेतालाई अनुसन्धानको दायरामा नल्याए पनि सीआईबीले सुन तस्करीसँग जोडिएका धेरै तथ्य–प्रमाणलाई बाहिर ल्याएको छ । सुन तस्करीको अनुसन्धानमा यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । सुन प्रकरणका अरू पक्ष खुल्ने सम्भावना अझै छ । अहिले ब्रेक सुमार्फत भित्र्याइएको सुनको पहिलो चरणको अनुसन्धानका आधारमा अदालतमा मुद्दा लगिएको र बाँकी अनुसन्धान अघि बढाइसकेको सीआईबीको भनाइ छ । भेपमार्फत सुन तस्करीको अनुसन्धान पनि चलिरहेको छ । राजनीतिक दलहरूबीचको सहमतिका आधारमा सरकारले जाँचबुझ आयोग पनि गठन गर्दै छ । जुनसुकै निकाय र तहबाट अनुसन्धान भए पनि यस्ता आपराधिक गतिविधि नियन्त्रण हुने गरी निष्कर्षमा पुर्‍याउनुपर्छ । सुन प्रकरण राज्य संयन्त्रको अपराध अनुसन्धान क्षमता परख गर्ने अवसर पनि हो ।

प्रकाशित : आश्विन २, २०८० ०६:३७
×