सुन तस्करलाई २ लाखमा नागरिकता

बौद्धका जिम्मी भनिने कर्मा शेर्पाको सहयोगमा नागरिकता र राहदानी बनाएको याओ फुचेनको बयान

भाद्र २९, २०८०

मातृका दाहाल

काठमाडौँ — सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई हातमा लिएर फर्जी विवरणबाट नागरिकता लिने गरेको पुष्टि भएको हो ।

सत्तारूढ माओवादीका नेताहरूसँग सम्बन्ध विस्तार गरी दावा छिरिङ र दावाजिन वाङमार्फत चिनियाँ तस्करले फर्जी विवरणका आधारमा प्रतिथान नागरिकता/राहदानी बनाउन उक्त रकम तिर्ने गरेको भेटिएको छ । पैसा तिरेर नागरिकता र राहदानी पाउने विश्वास दिलाएपछि भारतबाट काठमाडौंसम्म आएको हाल प्रहरी नियन्त्रणमा रहेका एलेक्स भनिने याओ फुचेनले बयान दिएका छन् ।

‘म भारतबाट नेपालमा बिनाभिसा आएर गैरकानुनी रूपमा बसिरहेको छु, नेपाल आउनुको कारण सुनको कारोबार गरी पैसा कमाउने नै हो,’ बयानमा याओले भनेका छन्, ‘मेरो राहदानी भारतीय अदालतबाट फिर्ता नआएको र नेपालमा रहेका साथी अली भन्ने ली वेन सुङले मैले नेपालमा नेपाली नागरिकता र पासपोर्ट बनाएको छु, तपाईं पनि नेपाल आउनुहोस्, आरएमबी (चिनियाँ मुद्रा) १० हजार (करिब २ लाख रुपैयाँ) तिरेपछि बन्ने रहेछ भनेकाले लुकेर आएको हुँ ।’ 

हङकङबाट गत असार २९ मा स्कुटरको ब्रेक–सु तथा दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । ब्रेक–सुभित्र लुकाएर तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको योजनामा र भेपमा लुकाएर चिनियाँ नागरिक दावाजिन वाङमार्फत अवैध सुन भित्रिएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा ५ विदेशीले नेपाली राहदानी बोकेर हङकङ, चीन र दुबई आउजाउ गरेको भेटेपछि सीआईबीले कहाँबाट नागरिकता जारी भयो भन्नेबारे खोजबिन थालेको थियो । त्यही क्रममा नागरिकता र राहदानी बनाउन तस्कर गिरोहले २ लाख रुपैयाँसम्म बुझाउने गरेको खुलेको हो ।

गृह मन्त्रालयको छानबिनबाट पनि जिल्ला प्रशासन कार्यालय काभ्रेले दुई चिनियाँ तस्करलाई फर्जी विवरण पेस गरेर नेपाली नागरिकता दिलाएको पुष्टि भइसकेको छ । त्यसअघि थप २ चिनियाँले काभ्रे र एकले काठमाडौंबाट नागरिकता लिएको भेटिएको थियो । सुन तस्करी प्रकरणमा तस्करका नाइके किटान गरिएका एलेक्स भनिने तिब्बती मूलका बेल्जियन नागरिक याओ फुचेनले १० हजार आरएमबीमा नागरिकता र राहदानी बन्छ भनेर साथीले बोलाएपछि आएको बयान दिएका छन् । तर, आफ्नै अर्का चिनियाँ साथीले आफूबाट २ लाख ५० हजार भारतीय रुपैयाँ (४ लाख) रुपैयाँ लिएर तेञ्जिङ सोनाम तामाङको नामबाट नागरिकता र राहदानी बनाएको उल्लेख गरेका छन् । भारतमा सुन तस्करीमै पक्राउ परेपछि आफू ५ लाख धरौटीमा छुटेको तर राहदानी फिर्ता नआएपछि भागेर नेपाल आई यहींको राहदानी बनाएको आयोको बयानमा उल्लेख छ । भारतमा एलेक्सका नाममा आधार कार्ड बनाएर लुकेको पनि उनले खुलाएका छन् ।

११ महिनामा एकै गिरोहबाट ३६३ केजी सुन तस्करी

याओ र अली सुनसहित पक्राउ परेका थिए । अली छुटेर नेपाल भित्रिए । लगत्तै उनले काभ्रेबाट नागरिकता र त्यसकै आधारमा राहदानी बनाए । केही पछि याओ पनि तस्करकै योजनामा लुकेर नेपाल आई राहदानी र नागरिकता लिएको भेटिएको हो । याओ नेपाल आउनुअघि भारतमै सुन तस्कर चिनियाँ नागरिक हु होइछ्याङसँग सम्पर्क भएको रहेछ । ‘हुले तपाईंलाई आवश्यक परेको छ भने मैले नेपाली नागरिकता र पासपोर्ट बनाइदिन सक्छु भनेपछि मैले त्यसको लागि कति पैसा लाग्छ भन्दा भारु २ लाख ५० हजार चाहिन्छ भने,’ उनले भनेका छन्, ‘मैले निजलाई उक्त रकम दिई मेरो नामको नेपाली नागरिकता प्रमाणपत्र र पासपोर्ट बनाउन फोटो निजकै मोबाइल फोनबाट खिचेर दिएको हुँ । हुले सन् २०२१ अक्टोवर अन्तिमतिर दिल्ली गुडगाउँ आएर मलाई होटलमा भेटी मेरो फोटो टाँसिएको १२४२६०४२ नम्बरको मेसिन रिडेबल नेपाली पासपोर्ट बनाएर दिएका हुन् ।’

बयानमा याओले सन् २०२१ अक्टोबरमा आफूले नागरिकता र राहदानी पाएको स्वीकार गरेका छन् । उक्त राहदानी हुले काठमाडौंमा सेल्टर लिएर तस्करीको धन्दा चलाइरहेका दावाजिन वाङ र दावा छिरिङको सेटिङमा बनाएको पाइएको हो । वाङ पूर्वसभामुख कृष्णबहादुर महराको परिवारसँग निकट रहेको खुलेको छ । भेप प्रकरणमा वाङ फरार छन् । उनीसँगको सम्बन्ध खुलेपछि महराका छोरा राहुल हाल सीआईबीको हिरासतमा छन् । 

दावा रोल्पाकी माओवादी कार्यकर्ता अमला रोकासँग विवाह गरेर नेपालमा सुन तस्करीको अखडा चलाउनेमध्येका एक हुन् । माओवादी शीर्ष नेताहरूसँग निकट सम्बन्धमा रहेका उनी र एलेक्ससहित सीआईबीले ब्रेकसुमा सुन ल्याएको प्रकरणमा ४४ विरुद्ध साढे ३ अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाउन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ । 

दावाले फर्जी विवरण पेस गरेर काभ्रेबाटै निमा तामाङ र अर्का चिनियाँ तस्करले पासाङ तामाङका नामबाट २०७४ पुस २० मा काभ्रेको नमोबुद्ध नगरपालिका–१, स्थायी ठेगाना राखेर नागरिकता लिएका थिए । त्यसलगत्तै दुवैले काठमाडौंबाट राहदानी लिएका थिए । यो प्रकरणमा उपसचिव कृष्णबहादुर कटुवाल संयोजक रहेको गृह मन्त्रालयको छानबिन समितिले सुन तस्करलाई फर्जी विवरणका आधारमा नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल र नागरिकता फाँटकै नासु रामचन्द्र अर्याललाई कारबाही सिफारिस गरेको छ ।

याओले भने बयानमा आफूलाई बौद्धका जिम्मी भनिने कर्मा शेर्पाको सहयोगमा नागरिकता र राहदानी बनाएको बयान दिएका छन् । अनुसन्धान स्रोतका अनुसार यो सेटिङमा दावा र दावाजिनको समूहमार्फत नै तस्करलाई नागरिकता लिएको खुलेको हो । नागरिकता बनाएबापत् गिरोहले स्थानीय तहबाट फर्जी सिफारिस गर्ने र प्रशासनबाट नागरिकता जारी गर्ने प्रक्रियामा सामेललाई घूस दिने गरेको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयका एक अधिकारीले सुन तस्करी सँगसँगै नागरिकता र राहदानी चिनियाँ गिरोहको हातमा कसरी पुग्यो भन्ने विषय सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘अहिले सुन तस्करीको पहिलो चरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । भेपसँग जोडिएको अर्को प्रकरणको अनुसन्धान जारी छ,’ ती अधिकारीले भने, ‘अब मुद्दा बुझाइएको प्रतिवेदनको दोस्रो अनुसन्धान अघि बढाउँछौं । त्यस क्रममा फर्जी विवरणबाट सुन तस्करलाई नागरिकता र राहदानी दिनेमाथि विस्तृतमा अनुसन्धान गर्छौं ।’

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully