१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना नियन्त्रणमा चीनबाट के सिक्ने ?

चीनले मानव इतिहासमा एकाएक यति ठूलो सामाजिक दूरी स्थापित गर्न सक्यो, जसमा बाह्य समाजमा मानव अधिकारको स्वर गुन्जियो तर यथार्थमा यो मानव अधिकार र जीवनरक्षाकै खातिर थियो ।
लक्ष्मी लम्साल

यति बेला विश्वभरि महामारी बनेको कोरोना भाइरस चार महिनाअघि चीनको हुवेई प्रान्तस्थित वुहान सहरमा फैलन थाल्दा विश्वपरिदृश्य अर्कै थियो । यो विषाणुका कारण सैयौं चिनियाँको ज्यान गइरहँदा पश्चिमा जगत् भने चीनमाथि दोषारोपण गरिरहेको थियो ।

कोरोना नियन्त्रणमा चीनबाट के सिक्ने ?

अहिले चीन क्रमशः कोरोना संकटबाट मुक्त भइरहेको छ, तर समय छउन्जेल चीनमाथि राजनीतिक, आर्थिक, सामाजिक र जातीयता विषय उछालेर प्रहार गर्न व्यस्त रहेका पश्चिमा मुलुकहरू समय घर्किएपछि बल्ल चिनियाँ रोकथाम प्रणाली सिक्न खोजिरहेका छन् । चिनियाँ चिकित्सक तथा वैज्ञानिकहरूले अचेल आफ्नो समय विभिन्न मुलुकसँग भिडियो कन्फरेन्सका लागि खर्चिरहेका छन् । यतिखेर चीनले आफ्ना सहायताकर्मीलाई धमाधम अति प्रभावित देशहरूमा पठाइरहेको छ ।


चीनले कोरोना भाइरसको संक्रमणका लागि चालेका केही अमूल्य कदममा जनता र राज्यबीचको घनिष्ठ सम्बन्धले ठूलो काम गरेको छ, जुन नेपालका लागि पनि सिक्नलायक हुन सक्छन् । पहिलो हो राज्यको गाम्भीर्य । ढिला पक्कै भएको हो तर चीनले जतिखेर गाम्भीर्य देखाउन थाल्यो त्यो खेलाँची पक्कै थिएन । डिसेम्बर ३१ मा ‘रहस्यमय सार्सजस्तो निमोनिया’ को हल्ला चल्न थालेको थियो । त्यो हल्लाले चर्को रूप लिन जनवरी तेस्रो सातासम्म कुर्नुपर्‍यो । नजिकिँदै गरेको ‘स्प्रिङ फेस्टिभल’ अर्थात् नयाँ वर्षको रमझम र वार्षिक बिदाले पनि अलमल भएको हुन सक्छ ।


जनवरी २३ मा वुहान सहर लकडाउन भएपछि चाहिँ सारा चीन एकैचोटि तरंगित भयो । राज्यको गाम्भीर्यको संकेत त्यहाँनेर देखिन्छ, जतिखेर राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङ आफैं कार्यक्षेत्रमा खटिन थाले । उनीहरूको सक्रियताले प्रस्ट्याएको के हो भने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ र कार्यान्वयन तीव्र रूपमा गरिनुपर्छ । सीको नेतृत्वमा चीनका सारा अंग अविराम खटिए भने काम नगर्ने पदाधिकारी धमाधम कारबाहीमा परे । यति चुस्त निर्णय लिन सम्भवतः अन्य मुलुकमा भए निकै कसरत गर्नुपर्थ्यो । कतिपय देशको हालत अहिले उदांगो नै भइसकेको छ ।


राज्यले गम्भीरतापूर्वक लिनुका अन्य संकेत के थिए भने सर्वत्र तत्काल चुस्त परीक्षण प्रणाली स्थापित भयो । संक्रमितहरूलाई धमाधम अलग्याइयो । जनतालाई सामाजिक दूरी कायम राख्न प्रेरित गरियो । १४ देशसँग सिमाना जोडिएको चीनको हरेक नाकामा तुरुन्तातुरुन्तै ‘चेकप्वाइन्ट’ प्रणाली खडा गर्दै ‘स्क्रिनिङ’ सुरु गरियो ।

सिक्नुपर्ने दोस्रो कुरा हो, तीव्र जाँच–पडताल र सुलभता । चीनमा कुनै नागरिक छैन होला जसले कोरोना भाइरस फैलिएयता आफ्नो परीक्षण गराउन नपाएको होस् । सर्वसाधारणले पटक पटक यताउता निस्किँदा वा भित्रिँदा यस्ता परीक्षणमा भाग लिनैपर्छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनले एक एक नागरिकको स्वास्थ्य परीक्षणमा राज्य प्रणालीका मानिसलाई प्रत्यक्ष जोड्नु चानचुने कसरत थिएन । यी परीक्षण सबै निःशुल्क थिए । संक्रमित भएको पुष्टि हुँदा उपचार सेवा पनि निःशुल्क नै थियो ।


तेस्रो कुरा ‘फलोअप’ र ‘आइसोलेसन’ । कोरोना भाइरसको संकेत तुरुन्तै देखिने होइन । अतः १४ दिन वा बढीको अवधिमा हरेक नागरिकलाई दैनिक रूपमा फलोअप गरिराख्नुपर्ने हुन्छ । संक्रमित पुष्टि भए उससित सम्पर्कमा रहेका परिवारका सदस्यदेखि साथीभाइसम्मको जालो उधिन्नु, फेरि उनीहरूको पनि जाँच–पडताल गर्नु र पिछा जारी राख्नु कठिन काम हो । नेपालका सन्दर्भमा हरेक नागरिकको फलोअप गर्ने क्षमता र आइपरेको खण्डमा आइसोलेसन गर्न सक्ने पूर्वाधार अपुग भएको ठानिएको छ । अतः सरकारले स्व–क्वारेन्टाइनको अवधारणा अघि सारेको हुनुपर्छ । दीर्घकालसम्म टिक्ने पूर्वाधार निर्माण असम्भव भए पनि तत्काल स्थानको छनोट गर्नु पनि नेपालजस्तो मुलुकमा सानोतिनो सफलता हुँदैन ।


शीघ्र सामाजिक दूरी बनाउन सक्नु चीनबाट सिक्न सकिने चौथो विषय हो । चिनियाँ सडकमा दैनिक सैयौं मानिससँग कुम ठोकिन्छ । सार्वजनिक यातायातमा अनगिन्ती अनुहारसँग मुखामुख भइन्छ । चोकहरूमा अपरिचित जोकोहीसँग पनि नाच्ने, व्यायाम गर्ने गरिन्छ । यस्तो भीडभाडयुक्त मुलुकमा मानिसबीचको दूरी कायम राख्नु गाह्रो काम हो । हुन त नेपाल बुझेका चिनियाँहरू भन्छन्, ‘नेपालीहरूमा जम्काभेट हुँदा पनि केही समय उभिएर गफिने र आत्मीयता देखाउने राम्रो संस्कार छ ।’ आपसी घनिष्ठता कम राख्ने चिनियाँलाई स्वार्थीको संज्ञा पनि दिइन्छ तर कोरोना भाइरसको यस्तो स्थितिमा मानिस मानिसबीच दूरी राख्नुको अर्थ छ । रेस्टुरेन्ट, बार, संग्रहालय, शिक्षालय, बसपार्क, पर्यटकीयस्थललगायत भीडभाड हुने क्षेत्रमा मानिस मानिसबीचको दूरी टाढा पार्नु ठूलो चुनौती हो, जुन बल्ल मात्रै नेपालले गर्न खोज्दै छ । चीनले मानव इतिहासमा एकाएक यति ठूलो सामाजिक दूरी स्थापित गर्न सक्यो, जसमा बाह्य समाजमा मानव अधिकारको स्वर गुन्जियो तर यथार्थमा यो मानव अधिकार र जीवनरक्षाकै खातिर थियो ।


पाँचौं कुरा, नेता र जनताबीचको सौहार्द सहकार्य । जनतालाई राज्यले लागू गरेको नीति वैज्ञानिक र कानुनी हिसाबले जायज छ भनेर प्रस्ट्याउन सक्नुपर्छ । चिनियाँ राष्ट्रपति सीले मातहतका निकायहरूलाई निर्देशन दिने क्रममा बारम्बार कानुनी शासनका आधारमा अनुशासित भएर कार्यसम्पादन गर्न भनिरहेका हुन्थे । वुहानमा रहेका सबै राजनीतिक निकाय र तह एक–एकले जनतासँग प्रत्यक्ष जोडिएर कार्यभार सम्हालिरहेका छन् । यो त्यहाँ मात्रै होइन, पूरा चीनभरि देखिएको एउटा गजबको राजनीतिक सक्रियता हो ।


सिक्न सकिने छैटौं कुरा अनुशासन हो । चिनियाँहरू राष्ट्रप्रेमी भएकाले पनि हुन सक्छ, विपत्तिको घडीमा निकै अनुशासित र जातीय एकताले ओतप्रोत भए । जनताले सरकारमाथि विश्वास गरे । सरकारको निर्णय पनि विवेकपूर्ण देखियो । यसरी उनीहरू एकअर्काका लागि मित्रवत् रूपमा खटिए ।


प्राथमिकता र रणनीति

चीनले महामारी रोकथामका लागि मुख्यतः तीन वटा प्राथमिकताका सूची बनाएर तीव्र गतिमा कार्ययोजना तयार पार्‍यो । पहिलो, भाइरसका स्रोतहरू कटौती । दोस्रो, प्रसारण मार्गमा अवरोध । तेस्रो, जोखिममा परेकाको हेरचाह । यस्तै, चीनले अपनाएका चार रणनीतिले उसको महामारी नियन्त्रण अभियानलाई शतप्रतिशत नतिजा दिने हैसियतमा पुर्‍याउँदै छ । कुनै पनि लक्ष्यमा पुग्न सही गन्तव्य पछ्याउनु जरुरी थियो, अतः चीनले महामारी नियन्त्रणको निर्दिष्ट लक्ष्यमा पुग्नका लागि चार ‘शीघ्रताका रणनीति’ अवलम्बन गरेको देखिन्छ । शीघ्र रोकथाम, शीघ्र अनुसन्धान, शीघ्र रोग निदान र शीघ्र क्वारेन्टाइन ।


अन्य मुलुकमा जस्तै प्रारम्भिक चरणमा चीनमा पनि कतिपय कुरा अभाव देखिए । त्यसका बाबजुद हरेक कुराको कसरी व्यवस्थापन गरियो भन्ने कुरा सबैभन्दा सिक्न लायक विषय हो । विश्वका विकसित मुलुकमा ‘ट्वाइलेट पेपर’ का लागि भएका लडाइँझगडा हेर्ने हो भने चीनमा यस्तो देख्नु परेन । चीनले अभावको शृृंखला तत्कालै तोडेकाले जीवन निर्वाहमा ठूलो उतारचढाव आएन, जसबाट जनताको असन्तुष्टिको पारो उति माथि उक्लिन पाएन । चीन अझै पनि घरेलु भाइरस सखाप पार्दै बाह्य मुलुकलाई सघाउने तहमा उत्रिँदै छ । हुन सक्छ, सिक्न सकिने कुराको सूची अझै लामो बन्नेछ ।


-लम्साल चिनियाँ अन्तर्राष्ट्रय रेडियो (सीआरआई), बेइजिङमा कार्यरत छन् ।

प्रकाशित : चैत्र १२, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?