निर्मला हत्याको ८ वर्ष : कहाँ पुग्यो नयाँ अनुसन्धान ?

निर्मला पन्त हत्याको आठ वर्ष बितिसक्दा पनि प्रहरी अनुसन्धान टुंगोमा पुगेको छैन, पीडित परिवार अझै न्यायको प्रतीक्षामा छन्।

श्रावण १०, २०८३

भवानी भट्ट

Eight Years Since Nirmala’s Murder: How Far Has the New Investigation Reached?

What you should know

कञ्चनपुर — ठ्याक्कै आठ वर्ष बित्यो, कञ्चनपुरको निम्बुखेडामा निर्मला पन्तको बलात्कारपछि हत्या भएको। हरेक वर्षझैं यसपालि पनि यो घटना भएको दिनमा निर्मलाकी आमा दुर्गादेवी पन्तलाई सञ्चारकर्मी र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूको टन्नै फोन आउँछ। सबैले उही र उस्तै शैलीमा सोध्छन्, ‘न्यायको आशा अझै छ ?’, ‘कहिले न्याय पाइएला जस्तो लाग्छ ?’, ‘छोरीको सम्झना आउँछ ?’ यस्तै–यस्तै। दुर्गादेवीसँग यी र यस्ता प्रश्नहरूको उत्तर छैन। उनले सुनाइन्, ‘अब के भन्न बाँकी रह्यो र ?’

त्यसो त बेला–बेलामा उनको मनमा आशा पनि पलाउँछ। सञ्चारकर्मीले नयाँ–नयाँ खबर सुनाउँदै प्रश्न गर्दा उनलाई केही भइहाल्छ कि भन्ने पनि हुन्छ। जस्तो कि चार महिनाअघि प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन सम्बन्धी अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा १५ सदस्यीय छानबिन समिति गठन गर्‍यो।

त्यसो त केही दिनयता सामाजिक सञ्जालमा निर्मला पन्तको घटनासँग सम्बन्धित अनेकन भिडियोहरू सामाजिक सञ्जालमै फेरि देखिन थालेका छन्। केही मानिसहरूले घटनाबारे अनेकन अड्कल सुनाउँदै अन्तर्वार्ता पनि दिएका छन्। तर यस्ता कुराले भने दुर्गादेवीको बेचैनी मात्र बढाइदिएको छ। ‘आठ वर्षसम्म अपराधी पत्ता लगाउन सकेको छैन। हामीलाई जसले अपराध गरेको छ, त्यही चाहिएको हो,’ दुर्गादेवीले भनिन्, ‘समाचार र फेसबुकमा पुराना भिडियो देखाउँदा हामीलाई दुःख लाग्छ। खाली त्यस्ता पुराना भिडियो नदेखाइदिनुहोला।’

पछिल्लो पटक प्रहरीले गठन गरेको नयाँ छानबिन टोलीबारे उनले फेसबुक र समाचारबाटै सुनेकी हुन्। तर अहिलेसम्म त्यसबारे ठोस जानकारी भने पाएकी छैनन्। न त उनीकहाँ कोही पुगेको छ। ‘हाम्रो यहाँ आउनु पनि पर्दैन, अपराधी पत्ता लगाइदिनुस्,’ उनले भनिन्, ‘जसले अपराध गरेको हो, त्यसैलाई जेल हालियोस्।’

अचेल दुर्गादेवीलाई यो विषयमा कसैले कुरा नकोट्याइदिए हुन्थ्योझैं लाग्छ। घरमा आउने पत्रकारदेखि अन्य मानिस कसैसँग पनि उनी यस विषयमा कुरा गर्न रुचाउँदिनन्। हरेक वर्ष साउन १० नजिकिने बेला उनलाई फेरि त्यही पीर हुने गरेको छ। आठ वर्षदेखि दोहोरिने त्यही प्रश्नले वाक्कदिक्क हुने उनले बताइन्। यस्तै प्रश्नको सामना र न्यायको आशामा बिताएका आठ वर्ष, र यो बीचमा उनले गरेका संघर्ष कम छैनन्।

  Eight Years Since Nirmala’s Murder: How Far Has the New Investigation Reached?

०७५ साउन १० मा साथीको घरमा अध्ययन गर्न गएकी १३ वर्षीया किशोरी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका १८ निम्बुखेडानजिकै उखुबारीमा मृत भेटिएकी थिइन् । प्रहरी अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । घटना लगत्तैबाट उनको न्यायका लागि आन्दोलन सुरु भएको थियो । 

घटना भएको २५ औं दिनमा प्रहरीले भीमदत्त नगरपालिका २ उल्टाखामकै दिलिपसिंह विष्टलाई दोषीका रुपमा सार्वजनिक गरेपछि आन्दोलन झनै चर्किएको थियो । त्यसपछि प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ का शनि खुनाको मृत्यु समेत भयो । आन्दोलनकारी र प्रहरीतर्फ घाइते समेत भए । प्रहरीले विष्टलाई २५ औं दिनमा छाडेको थियो । 

त्यतिबेला घटनाको छानबिनका लागि गृह मन्त्रालयले उच्चस्तरीय टोली गठन गरेको थियो भने प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगले पनि छुट्टाछुट्टै छानबिन समिति बनाएका थिए । गृह मन्त्रालयले गठन गरेको टोलीसँगै राष्ट्रिय मानवअधिकार आयोग र तत्कालीन एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले पनि अनुसन्धानमा लापरबाही भएको ठहर गरेका थिए । यही कारण तत्कालीन एसपी डिल्ली विष्टसहित ८ प्रहरी निलम्बनमा परे । प्रमाण नष्ट गरेको र अनुसन्धानका क्रममा यातना दिएको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा पनि चल्यो । अदालतबाट उनीहरूले सफाइ पाए । 

अनुसन्धानका लागि प्रहरीमा सबैभन्दा धेरै छानबिन समिति गठन भएको र आर्थिक रुपमा समेत धेरै खर्च भएको घटनाको रुपमा यसलाई बुझिन्छ । यति मात्रै होइन सय जना भन्दा बढीको डिएनए परीक्षणदेखि १ हजार जना भन्दा बढीलाई अनुसन्धानका लागि सोधपुछ समेत भइसकेको छ । अहिले पनि यो क्रम जारी नै छ। 

पछिल्लो पटक प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन सम्बन्धी अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा १५ सदस्यीय छानबिन समिति गठन भएको छ । अनुसन्धान टोलीले पुराना समितिले गत चैतदेखि नै अनुसन्धानको काम गरिरहेको छ । तर यस विषयमा एसएसपी पंगेनीले भने केही बोल्न चाहेनन् । ‘अहिले यो विषयमा हामी केही बोल्दैनौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयमा हुने हरेक भेटघाट तथा पत्रकार सम्मेलनमा सोधिने प्रमुख प्रश्न यही बन्ने गरेको छ । बुधबार प्रहरीले गत आर्थिक वर्षको वार्षिक गतिविधि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि सञ्चारकर्मीले फेरि दोहोर्‍याए, ‘निर्मला घटनाको अनुसन्धान के भइरहेको छ ?’ 

पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै एसपी नेत्रमणि गिरीले निर्मला घटनालाई विभाग र जिल्लाले पनि पहिलो प्राथमिकतामा राखेको बताए । उनले बाहिर प्रहरीले केही नगरेको जस्तो देखिए पनि निर्मला प्रकरणलाई विशेष प्राथमिकताका साथ हेरिएको बताए । ‘यो घटनालाई राष्ट्रले नै सबैभन्दा महत्वका साथ हेरेको छ, हाम्रो विभागले पनि निकै गम्भीर ढंगले हेरेको छ,’ एसपी गिरीले भने, ‘सिआइबीबाट पनि विशेष टीम गठन भएको छ, उक्त टीमले आफ्नो हिसाबले काम गरिरहेको छ ।’ उनले विगतमा भएका अनुसन्धानहरुको मिसिल अध्ययन गर्नेदेखि अन्य विषयमा पनि अध्ययन गर्ने काम भइरहेको बताए । 

‘हामी पनि चुप लागेर बसेका छैनौं, केही हुन्छ की ? केही निश्कर्षमा पुग्न सकिन्छ की ? भनेर लागेका छौं,’ एसपी गिरीले भने, ‘अहिलेसम्म केही भएको छैन भन्ने होइन, विभागदेखि पनि त्यतिकै महत्वका साथ हेरेको छ, हामीले पनि त्यसैगरी काम गरिरहेका छौं ।’ उनले पछिल्लो समय अनुसन्धानका लागि गठित सिआइबीको विशेष टोलीसँग पनि निरन्तर समन्वय भइरहेको बताए । टोलीले आवश्यक सूचना लिनेदेखि अन्य काममा सम्पर्क भइरहेको बताए । एसपी गिरीले सर्वसाधारणसँग पनि केही सूचना भएमा गोप्य रुपमा उपलब्ध गराउन समेत आग्रह गरेका छन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully